१. विषय प्रवेश
साहित्यलाई सिर्जना र समालोचना गरी दुई पाटोबाट हेर्ने गरिन्छ । पूर्वीय तथा पाश्चात्य साहित्य जगत्मा सिर्जनालाई हेर्ने समीक्षात्मक दृष्टिकोणलाई आलोचना वा समालोचना भन्ने गरिन्छ । वर्तमान नेपाली सन्दर्भमा आलोचना भन्नासाथ नकारात्मक टिप्पणी र समालोचना भन्दाचाहिँ शिष्ट विश्लेषण भन्ने बुझाइ विकसित हुँदै गएको देखिन्छ तर यस क्षेत्रमा समालोचनाभन्दा पहिले आलोचना शब्दले नै सिर्जनाको समग्रताको विश्लेषण गर्ने क्षेत्रलाई सङ्केत गरेको देखिन्छ । त्यसैले कृतिविश्लेषणका सन्दर्भमा आलोचना र समालोचना दुवैको अर्थ एउटै हो । यसका लागि लेखकको ज्ञाननिर्मित बौद्धिक दृष्टिकोण आवश्यक हुन्छ । व्यक्तिको हृदयको पाटो सबल छ भने ऊ सर्जक बन्छ र मस्तिष्कको पाटो सबल छ भने ऊ समालोचक बन्छ । हार्दिकता सिर्जनाको आधार हो भने बौद्धिकता समालोचनाको आधार हो । साहित्यको उत्पत्तिकालदेखि नै सर्जक र समालोचकका बिचको गुणात्मक मूल्यका बारेमा विभिन्न विमर्शहरू हुने गरेका छन् । तिनका बिचमा हुने गरेको शीतयुद्ध होस् वा आन्तरिक द्वन्द्वले सिर्जना र समालोचना दुवैलाई अप्रत्यक्ष फाइदा पुर्याएको छ । यस लेखमा सिर्जनालाई हेर्ने दृष्टिकोण निर्माण गर्दै जाँदा प्रवर्तन भएको समालोचनाका बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।
२. समालोचनाको सैद्धान्तिक स्वरूप
‘आ+लोच्+अन (ल्युट्)+आ (टाप्)’ निर्माण प्रक्रियाबाट बनेको ‘आलोचना’ शब्दको अर्थ हेर्नु, दर्शन गर्नु वा अवलोकन गर्नु भन्ने हुन्छ अथात् ‘आ–समन्तात्, लोचनम्–अवलोकनम् इति आलोचनम्, स्त्रियाम्–आलोचना’ यस्तो प्रक्रियाबाट बनेको ‘आलोचना’ शब्दमा सम्यक् अर्थ दिने ‘सम्’ उपसर्ग वा बराबर अर्थ दिने ‘सम’ पद जोडिँदा ‘समालोचना’ शब्द बन्दछ । सम्+आलोचना बनोटबाट निर्माण भएको ‘समालोचना’ शब्दको अर्थ कृतिलाई चारैतिरबाट राम्ररी हेर्नु भन्ने हुन्छ भने सम+आलोचना बनोट प्रक्रियाबाट निर्माण भएको ‘समालोचना’ शब्दको अर्थ कृतिको गुण र दोषलाई बराबर रूपमा हेरेर विश्लेषण गर्नु भन्ने हुन्छ । यी दुवैको अर्थ र आशयमा त्यत्ति ठुलो भिन्नता पाइँदैन त्यसैले समालोचना भनेको सिर्जनालाई हेर्ने आलोचनात्मक दृष्टिकोण नै हो ।
अङ्ग्रेजीमा आलोचना वा समालोचनालाई ‘क्रिटिसिज्म’ (Criticism) भनिन्छ । यहाँ प्रयोग भएका ‘क्रिटिक्’ (Critic) शब्दले मूल्याङ्कन कर्तालाई र ‘इज्म’ (Ism) शब्दले प्रक्रियालाई सङ्केत गरेको छ । त्यसैले पाश्चात्य जगत्मा समालोचनालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । कुनै पनि सिर्जनालाई सैद्धान्तिक ज्ञान, व्यावहारिक अनुभव र सामाजिक सन्दर्भसँग जोडेर विश्लेषण गरी निष्कर्ष निकाल्ने काम समालोचनामा हुने गर्दछ । यसमा स्रष्टागत अनुभूति र द्रष्टागत दृष्टिकोण दुवैको आवश्यकता पर्दछ ।
विश्वसाहित्यमा समालोचनाको इतिहास पनि सिर्जनाको जत्तिकै पुरानो छ । पाश्चात्य साहित्यमा प्लेटो (इसापूर्व ४२८—३४८) लाई पहिलो समालोचकका रूपमा हेर्ने गरिन्छ । प्लेटोदेखि नै पाश्चात्य साहित्यमा साहित्यिक कृतिहरूको तर्कसङ्गत मूल्याङ्कन गर्ने पद्धतिलाई समालोचना भन्ने गरेको पाइन्छ । यसै कुराको थप पुष्टि गर्दै समालोचक अभि सुवेदी भन्छन्, “विश्वभरि साहित्यका अनेक विधाहरूका मान्यता प्राप्त संरचनाहरूलाई आधारमा राखेर मूल्याङ्कन गर्ने पद्धति भएको विधा नै समालोचना हो ।” यस कुराले पनि पूर्वस्थापित सिद्धान्तका आधारमा कृतिलाई हेर्ने, विश्लेषण गर्ने र तार्किक निष्कर्ष निकाल्ने पद्धतिका रूपमा समालोचनालाई सङ्केत गरेको देखिन्छ । पाश्चात्य साहित्यका प्राचीन इतिहासलाई हेर्दा प्लेटो, एरिस्टोटल जस्ता समालोचकहरूले कृतिविश्लेषण र मूल्याङ्कनका लागि प्रशस्त आधारशिला तयार गरिदिएको देखिन्छ । प्लेटो र एरिस्टोटलसँगै सुरु भएको शास्त्रीयतावादी समालोचना पद्धति र सत्रौँ शताब्दीपछि विकास भएको नवशास्त्रीयतावादी समालोचना पद्धतिमार्फत होरेस, पिएर कोर्नेई, निकलस ब्बालो आदिले समालोचनाका क्षेत्रमा विशेष योगदान दिएको पाइन्छ । त्यसपछि स्वच्छन्दतावादी समालोचना पद्धति र त्यसपछि देखापरेका विभिन्न नयाँ नयाँ सिद्धान्त, विचार र शैलीहरूका माध्यमबाट पाश्चात्य समालोचना प्रणालीले निकै व्यापकता हासिल गर्यो । यसपछि आइए रिचडर्स, टिएस. इलियड हुँदै वर्तमानसम्म आइपुग्दा युरोप र अमेरिकाका विभिन्न क्षेत्रमा मात्र नभएर पाश्चात्य समालोचनाको प्रभाव विश्वभर फैलिएको देखिन्छ ।
पूर्वीय जगत्मा आचार्य भरतमुनि (इसापूर्व प्रथम शताब्दीतिर) लाई पहिलो समालोचकका रूपमा हेर्ने गरिन्छ । उनको ‘नाट्यशास्त्र’लाई पूर्वीय जगत्को प्रथम समालोचनात्मक कृति मान्ने गरिन्छ । पूर्वीय जगत्मा प्रायः सैद्धान्तिक कृतिहरू अथवा लक्षणग्रन्थहरूका माध्यमबाट समालोचनात्मक पद्धतिको विकास भएको देखिन्छ । भरतमुनिको ‘नाट्यशास्त्र’पछि छैटौँ शताब्दीका भामहको ‘काव्यालङ्कार’ हुँदै आनन्दवद्र्धनको ‘ध्वन्यालोक’, विश्वनाथको ‘साहित्यदर्पण’ र जगन्नाथको ‘रसगङ्गाधर’सम्म आइपुग्दा पूर्वीय काव्यशास्त्रीय विवेचनाका आधारहरू रस, अलङ्कार, ध्वनि, गुण, रीति, वक्रोक्ति आदि सबैको सैद्धान्तिक स्थापना भइसकेको देखिन्छ । यिनैका आधारमा दक्षिण एसियाली विभिन्न भाषाका साहित्यिक कृतिहरूको विश्लेषण भएको पाइन्छ ।
नेपाली समालोचनाको इतिहासमा मोतीराम भट्टलाई प्रथम नेपाली समालोचक मान्ने गरिन्छ । नेपाली कविताको माध्यमिक कालमा मोतीराम भट्टद्वारा लिखित ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ (१९४८) नै नेपाली साहित्यको प्रथम समालोचनात्मक कृति मानिन्छ । यसपछि सूर्यविक्रम ज्ञवालीको ‘नैवेद्य समालोचना’ (१९७९), नरेन्द्रमणि दीक्षितको ‘युरोपीय साहित्यको नमुना’ (१९९५), बाबुराम आचार्यको ‘पुराना कवि र कविता’ (२००३) हुँदै वर्तमानसम्म आइपुग्दा नेपाली समालोचनामा पनि एकातिर पाश्चात्य समालोचनाका विभिन्न वाद र प्रणालीहरूको प्रभाव देखिन्छ भने अर्कातिर पूर्वीय समालोचना सिद्धान्तको प्रत्यक्ष उपस्थिति देखिन्छ । विश्वसाहित्यमा जस्तै पछिल्लो समयमा देखापरेका उत्तरआधुनिक अनेकौँ शैली, मान्यता र सिद्धान्तको प्रयोग वर्तमान नेपाली समालोचनामा पनि देखापरेको छ ।
३. समालोचना हुनका लागि के के चाहिन्छ ?
समालोचना मूलतः दुई प्रकारका हुन्छन्— सैद्धान्तिक समालोचना र व्यावहारिक समालोचना । गहन अध्ययन, अनुसन्धान र विश्लेषण गरी नयाँ सिद्धान्तको निर्माण गरिने समालोचनालाई सैद्धान्तिक समालोचना भनिन्छ भने पूर्वनिर्धारित सिद्धान्तका आधारमा कुनै कृतिको विश्लेषण गरी निष्कर्ष निकाल्ने समालोचनालाई व्यावहारिक वा प्रायोगिक समालोचना भनिन्छ । उल्लिखित भरतमुनि, भामह, विश्वनाथ आदिका लक्षणशास्त्रहरू सैद्धान्तिक समालोचनाका उपज हुन् । पूर्वीय काव्यशास्त्रमा व्यावहारिक समालोचनाको थालनी राजशेखरको ‘काव्यमीमांसा’बाट भएको मानिन्छ । नेपालीमा लेखिने अधिकांश समालोचनाहरू व्यावहारिक समालोचना नै हुन् ।
व्यावहारिक वा प्रायोगिक समालोचनाका लागि लेखक, कृति र समीक्षक तीनओटा कुराको अनिवार्य उपस्थिति देखिन्छ । लेखकको काम सिर्जना गर्ने हो, यसपछि उसको भूमिका समाप्त हुन्छ तर त्यो कृतिचाहिँ समालोचकका लागि आधार बन्ने गर्दछ । समालोचनाका लागि रोमन याकोब्सनले एउटा सङ्केतपद्धतिको निर्माण गरेका छन् जसको पहिलो स्वरूप ‘प्रेषक — सन्देश — प्रेषिती’को शृङ्खलामा देखिन्छ भने दोस्रो स्वरूप ‘लेखक — लेखन — पाठक’को शृङ्खलामा देखिन्छ । यसैलाई भाषीय कृत्यसँग जोडेर उनले ‘भावात्मक — काव्यात्मक — गुणार्थक’ गरी अर्को शृङ्खला निर्माण गरेका छन् । यसको आशय सर्जक, सिर्जना, समालोचक र पाठकबिचको अन्तरसम्बन्धको सैद्धान्तिक अभिरेखाङ्कन हो । यसरी नै अब्राम्सले पाश्चात्य समालोचनामा चारओटा मूल चरित्र देखापरेको उल्लेख गरेका छन् । ती हुन्— (क) अनुकृतिमूलक, (ख) सम्प्रेषमूलक, (ग) अभिव्यक्तिमूलक र (घ) वस्तुपरक । यीमध्येमा अनुकृतिमूलक चरित्रले प्लेटो कालीन प्राचीन सौन्दर्य चेतनामूलक समालोचना पद्धतिलाई चिनाउँछ, सम्प्रेषणमूलक चरित्रले सिडनी कालीन अनुकृतिलाई व्याख्यात्मक रूपमा प्रस्तुत गर्ने पद्धतिलाई चिनाउँछ, अभिव्यक्तिमूलक चरित्रले वर्डस्वर्थ कालीन रोमान्टिक पद्धतिलाई चिनाउँछ भने वस्तुपरक चरित्रले अठारौँ शताब्दीको अन्त्यपछि देखापरेको काव्यात्मक संरचना र तथ्यका आधारमा गरिने विश्लेषणको स्वरूपलाई चिनाउँछ । यसरी हेर्दा समालोचनाको फ्रेम एकै प्रकारको नभएर विधा, सिद्धान्त, शैली र प्रक्रियाअनुसार फरक हुने गर्छ भन्ने कुरा थाहा पाइन्छ ।
सामान्यतया समालोचनाले साहित्यिक कृतिहरूको वर्गीकरण, व्याख्या, विश्लेषण र मूल्याङ्कन गर्छ भन्ने मान्यता राख्ने समालोचक नेत्र एटमले साहित्यिक समालोचनाका लागि पाँचओटा क्षेत्रहरूको स्पष्ट सङ्केत गरेका छन्—
(क) कृतिलाई स्वायत्त र एक्लै पूर्ण ठान्ने — कृतिको रूप, विषयवस्तु र पृष्ठमा अङ्कित शब्दहरूमा मात्र केन्द्रित भई बाह्य सन्दर्भ पक्षबाट कृति मुक्त रहने क्षेत्र ।
(ख) कृतिलाई त्यसकै प्रकाशित समय र स्थानसँग जोड्ने — कृतिका लेखक र ऊ बाँचेको सामाजिक, आर्थिक, बौद्धिक परिवेश र विचारधाराको रचना, प्रसारको पद्धति र पहिला पाठकहरूको परिकल्पनासँग कृतिलाई सन्दर्भित गरेर मूल्याङ्कन गरिने क्षेत्र ।
(ग) कृतिलाई त्यसको प्रकाशनभन्दा अघिको साहित्यिक र सामाजिक इतिहाससँग जोड्ने — कृतिले परम्परामा गरेको पुनरावृत्ति, विस्तार, मोडसिर्जना आदिलाई हेरेर मूल्याङ्कन गरिने क्षेत्र ।
(घ) कृतिलाई त्यसको प्रकाशनभन्दा पछिको साहित्यिक र सामाजिक इतिहाससँग जोड्ने — पछिल्लो समय र पुस्ताको पठन, लेखन र चिन्तनमा पार्ने प्रभाव तथा कृतिको सामाजिक बुझाइ र अर्थको रूपान्तरणमा केन्द्रित हुने क्षेत्र ।
(ङ) कृतिलाई बाह्य धारणासँग अन्तरसम्बन्धित गर्ने — कलाको सैद्धान्तिक मानक वा मापन प्रणाली, शाश्वत सत्य वा आत्मिक अस्तित्वसँग कृतिलाई जोडेर मूल्याङ्कन गरिने क्षेत्र । (सङ्क्षिप्त साहित्यिक शब्दकोश, पृष्ठ २५२–२५३)
समालोचनाका बारेमा यति कुरा थाहा पाइसकेपछि अब तिनका आवश्यक अङ्ग वा तत्त्वका बारेमा पनि थाहा पाउनु जरुरी हुन्छ । अन्य विधाहरूका जस्तै समालोचनाका पनि आवश्यक तत्त्व वा अङ्गहरू हुन्छन् जसले समालोचनालाई विधागत स्वरूप प्रदान गर्दछन् । एउटा द्रष्टा चेतना भएको व्यक्तिले कुनै कृति पढिसकेपछि उसका मनमा एक प्रकारको प्रभाव उत्पन्न हुन्छ, उसभित्र प्राप्त ज्ञानका अनेकौँ सैद्धान्तिक तरङ्गहरू खेल्न थाल्दछन् र उसलाई त्यस कृतिमाथि केही न केही लेख्ने इच्छा जागृत हुन्छ । उक्त इच्छालाई समालोचनामा उतार्नका लागि उसलाई न्यूनतम तत्त्वका बारेमा जानकारी हुनु आवश्यक छ । समालोचक एटमले मूल्यनिर्णय, व्याख्याविश्लेषण, सैद्धान्तिकीकरण र शोधपरकता जस्ता चारओटा कुरालाई समालोचनाका लागि आवश्यक तत्त्वहरू मानेका छन् । जसले समालोचना गर्ने योजना बनाएर कुनै कृतिको विशिष्ट अध्ययन गरी समालोचना गर्नका लागि बस्दछ उसले निम्नलिखित अङ्गहरूमा ध्यान दिनु जरुरी छ—
(क) मूल्यनिर्णय
कृतिको मूल्य निर्धारण समालोचनाका लागि आवश्यक हुने गर्दछ । निर्धारित कृतिलाई सोही कृतिका वैशिष्ट्यका आधारमा वा समतुल्य अन्य कृतिसँगको तुलनात्मक विश्लेषणका आधारमा मूल्याङ्कन गर्ने काम समालोचनाका लागि अनिवार्य मानिन्छ । आद्योपान्त परिचयात्मक प्रस्तुति समालोचना होइन, कृतिमाथिको आलोचनात्मक दृष्टि समालोचना हो त्यसैले कुनै कृतिमाथि आलोचनात्मक दृष्टि राखिसकेपछि त्यो कुन स्तरको कृति हो भन्ने कुराको मूल्यनिर्णय समालोचकले दिनुपर्ने हुनाले यसलाई अनिवार्य तत्त्व मानिएको हो ।
(ख) व्याख्याविश्लेषण
कुनै कृतिमाथि मूल्यनिर्धारण गरेपछि त्यसको पुष्टि हुनु अनिवार्य छ । मूल्यनिर्णय समालोचकका तर्फबाट त भयो तर त्यसलाई पाठकीय स्वीकृतिको पनि आवश्यकता पर्दछ । त्यसका लागि आवश्यक सैद्धान्तिक वा व्यावहारिक साक्ष्यका आधारमा कृतिको व्याख्याविश्लेषण गर्ने काम समालोचनाका लागि अर्को अनिवार्य कार्य हो । कृतिभित्रका विश्लेष्य पक्षहरूलाई छनोट गरेर तिनका बारेमा तार्किक व्याख्या र विश्लेषण गर्दा समालोचकको विचार स्थापनाका लागि सहयोग पुग्ने हुनाले व्याख्याविश्लेषण यसका लागि महत्त्वपूर्ण मानिएको हो ।
(ग) सैद्धान्तिकीकरण
कुनै कृतिमाथिको समालोचनाका लागि पूर्वस्थापित सिद्धान्त विश्लेषणको आधार बन्ने गर्दछ । अर्थात् विश्लेष्य कृतिलाई पनि कुनै निश्चित सिद्धान्तमा ढालेर त्यसका धनात्मक र ऋणात्मक पक्षहरूको विश्लेषण गर्न सकिन्छ । कृतिमा प्रस्तुत विषय वा बाह्य बनोट र आन्तरिक बुनोटको सैद्धान्तिकीकरणले एकातिर सम्बन्धित समालोचनालाई थप प्रामाणिक बनाउँछ भने अर्कातिर त्यसैका आधारमा नयाँ सिद्धान्त निर्माण गर्न पनि सकिन्छ । सैद्धान्तिक धरातलमा टेकेर कृतिको विश्लेषण गर्नका लागि अथवा त्यसैका जगमा नयाँ सिद्धान्तको प्रवर्तन गर्नका लागि समालोचना गरिने हुनाले सैद्धान्तिकीकरण समालोचनाका लागि अनिवार्य तत्त्व मानिन्छ ।
(घ) शोधपरकता
शोधपद्धतिको अनुसरण समालोचनाका लागि अनिवार्य पक्ष हो । समालोचनामा काल्पनिक कुराहरूलाई पूर्णतः निस्तेज नै गर्नुपर्दछ । भावनात्मक एवम् हार्दिक सन्दर्भहरूलाई समालोचनामा प्रवेश हुन नदिनका लागि शोधपरकताको आवश्यकता पर्दछ । आफ्नो अनुभवको अंश पनि छिर्न नदिएर वस्तुता, सत्यता, तथ्य वा प्रमाणका आधारमा निष्कर्षसम्म पुग्ने काम नै शोधपरक लेखन हो । शोधमा जे बोल्छ, तथ्य मात्र बोल्छ त्यसैले यसमा भावुकता वा वैयक्तिक प्रभावको स्थान हुँदैन । समालोचनालाई पनि वस्तुपरक वा प्रामाणिक बनाउने हो भने शोधपरक शैलीमा कृतिको विश्लेषण अनिवार्य हुनु पर्दछ ।
(ङ) प्रामाणिक एवम् आधिकारिक निष्कर्ष
समालोचना हार्दिक उत्पादन नभएर बौद्धिक सामग्री हो त्यसैले यसमा समालोचकले आधिकारिक निष्कर्ष प्रस्तुत गर्नै पर्दछ । जब समालोचना शोधपरक मार्गमा अगाडि बढ्दछ त्यसले निष्कर्षका लागि क्रमशः प्रमाणहरू जुटाउँदै जान्छ र अन्त्यमा पुग्दा त्यो एउटा आधिकारिक, वैज्ञानिक, वस्तुतपरक र प्रामाणिक सामग्री बन्दछ । समालोचना लेखन होस् अथवा अनुसन्धान कार्य कुनैको पनि अन्तिम विन्दु हुँदैन । एउटा कार्यले अर्को कार्यका लागि ढोका खोलिदिने काम गर्दछ तर यो काम आधा चाहिँ होइन । सम्बन्धित विषय र क्षेत्रका लागि त्यो नै पूर्ण कार्य हो । यसलाई सकेसम्म सर्वमान्य बनाउने प्रयत्न समालोचकको हुनुपर्छ, त्यो हुन नसके पनि बहुमान्यचाहिँ अवश्य हुनुपर्छ । यस कार्यले सोही विषयको अर्को कोण निर्धारण गर्न सकोस् र त्यसमाथि पुनः समालोचना होस् । त्यसैले सीमाङ्कित समालोचनालाई चाहिँ आधिकारिक वा प्रामाणिक निष्कर्षका साथ अन्त्य गरिएको हुनुपर्छ ।
यिनका अतिरिक्त आकर्षक शीर्षकीकरण, उपशीर्षकीकरण, आन्तरिक खण्डविभाजन, आदि, मध्य र अन्त्यमा आन्तरिक सुगठनगत वैशिष्ट्यको स्थापना, सन्दर्भसामग्रीको प्रयोग आदि जस्ता कुराले पनि समालोचनामा निकै ठुलो प्रभाव पाने गर्दछन् । कुनै एउटा पक्ष वा अङ्ग मात्र सबल हुँदा समालोचना पूर्ण मानिँदैन त्यसैले यी सबै कुराको सन्तुलित सुगठन नै यसको शक्ति मानिन्छ । वस्तुपरकता र निर्वैयक्तिकता नै समालोचनाको प्रमुख चिनारी हो ।
४. समालोचना कसरी लेखिन्छ ?
उल्लिखित तत्त्वहरूका बारेमा स्पष्ट भइसकेपछि समालोचना लेख्न कुनै गाह्रो हुँदैन । सामान्य रूपमा समालोचनाका चारओटा खण्डहरू हुने गर्दछन् । यिनलाई आदि, मध्य, अन्त्य र सन्दर्भ सामग्री खण्ड पनि भन्न सकिन्छ । यी खण्डमा लेखकीय व्यवस्थापन निम्नानुसार हुनु राम्रो मानिन्छ—
पहिलो खण्ड : पृष्ठभूमिसहित समालोचनाका लागि आधार निर्माण (विषय प्रवेश)
यो समालोचना लेखनको थालनी हो । यस खण्डको सुरुमा सम्बन्धित कृतिको लेखकको चर्चा गरी कृतिगत पृष्ठभूमिको उल्लेख गर्नुपर्छ । यस खण्डमा समालोचनाका लागि न्यूनतम आधार अथवा स्वाभाविक परिवेश निर्माण गरिन्छ । व्यक्तिपरक समालोचना हो भने व्यक्तिको परिचयात्मक जानकारीबाट विषय प्रवेश गरिन्छ र कृतिपरक समालोचना हो भने सङ्क्षेपमा लेखकीय व्यक्तित्व, कृतित्व र कृतिसन्दर्भको चर्चा गरिन्छ । यसका साथै कृतिविश्लेषणको सैद्धान्तिक स्वरूपको सङ्केत पनि यही खण्डमा गरिन्छ । विषयको प्रकृति र विश्लेषणको सैद्धान्तिक आयामका आधारमा यस खण्डलाई एक, दुई वा तीन अनुच्छेदमा लेख्न सकिन्छ ।
दोस्रो खण्ड : समालोचनाको मूल भाग (विषयको तार्किक विश्लेषण)
यो समालोचनाको मूल भाग अथवा मूल समालोचना नै हो । यसलाई समालोचना खण्ड वा विश्लेषण खण्ड पनि भन्न सकिन्छ । यस खण्डमा भने समालोचक मूल विषयभित्र पस्नुपर्छ । यस खण्डमा पूर्वस्थापित सिद्धान्त र निर्धारित ढाँचामा कृतिको तार्किक विश्लेषण गर्दै जानुपर्छ । सन्दर्भ मिल्ने र विश्लेषणका लागि आवश्यक पर्ने तथ्य, प्रमाण र उदाहरणहरूलाई यसै खण्डमा प्रस्तुत गरिन्छ । साथै सिद्धान्तसँग तालमेल मिल्ने गरीका कृतिगत सामग्रीहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै र तिनको विश्लेषण गर्दै निष्कर्षका लागि आधार तयार गरिन्छ । प्रस्तुत खण्ड यति नै अनुच्छेदमा हुनुपर्छ भन्ने छैन, विषयक्षेत्र र विश्लेषणको सैद्धान्तिक आयामका आधारमा यो खण्ड अनेकौँ अनुच्छेदमा लेखिन सक्छ ।
तेस्रो खण्ड : समालोचनाको अन्तिम भाग (प्रामाणिक निष्कर्ष)
यो समालोचनाको अन्तिम भाग हो । यसलाई समालोचनाको निचोड वा निष्कर्ष खण्ड पनि भनिन्छ । यस खण्डमा समालोचक एउटा निष्पक्ष द्रष्टा र कुशल न्यायाधीशका रूपमा प्रस्तुत हुनुपर्छ । यहाँ समालोचकले आफ्नो अनुभव, कल्पना वा अनुमानका आधारमा होइन, पूर्वस्थापित सिद्धान्त, दोस्रो खण्डमा गरिएको विश्लेषण र त्यहाँ प्रस्तुत गरिएका तथ्यहरूका आधारमा आधिकारिक एवम् प्रामाणिक निष्कर्ष प्रस्तुत गर्नुपर्छ । यहाँ अनुभवको उपस्थिति देखिनु हुँदैन, सैद्धान्तिक ज्ञान र तार्किक क्षमताले विश्लेष्य पक्षलाई पुष्टि गरेको हुनुपर्छ । यो खण्ड धेरै अनुच्छेदमा लेखिँदैन । यसलाई विषयको प्रकृतिअनुसार एक वा दुई अनुच्छेदमा लेख्नु राम्रो मानिन्छ । साथै यो खण्ड अन्य खण्डभन्दा निकै खँदिलो, निष्कर्षकेन्द्रित र निर्णयमुखी हुनुपर्छ ।
चौथो खण्ड : सन्दर्भ सामग्रीको उल्लेख
यो खण्ड समालोचनाचाहिँ होइन तापनि समालोचनाको एउटा महत्त्वपूर्ण अङ्ग हो । यस खण्डमा समालोचनाका क्रममा आफूले प्रयोग गरेका सम्पूर्ण सामग्रीहरूको विवरण इमानदारीपूर्वक उल्लेख गर्नुपर्छ । समालोचना पूर्वकार्यहरूका आधारमा गरिने उत्तरकार्य हो तर चोरी होइन । समालोचनालाई चोरीकार्यबाट बचाउनका लागि कुन सामग्री कुन कृतिबाट लिइएको हो, त्यसको स्पष्ट उल्लेख भित्री भागमा पादटिप्पणीका रूपमा वा गर्भे टिप्पणीका रूपमा दिनुपर्छ र ती सामग्रीहरूको समग्र विवरण झल्किने गरीको सूची सन्दर्भ सामग्री खण्डमा दिनुपर्छ । यसको उल्लेख लेखकको थरको वर्णानुक्रमअनुसार गरिन्छ ।
यसरी कुनै पनि विषय वा कृतिलाई एउटा निश्चित सिद्धान्तका आधार अथवा तत्कालीन सामाजिक एवम् सांस्कृतिक सन्दर्भका आधारमा हेर्ने काम समालोचनामा गरिन्छ । यसमा समालोचकको सैद्धान्तिक ज्ञान, तर्कशक्ति, आलोचनात्मक दृष्टि र मूल्याङ्कन क्षमता आदि सबै कुराको एकैपटक परीक्षण हुने हुनाले स्रष्टा, कृति, विषय र द्रष्टा सबैलाई चिन्ने मौका पाठकलाई प्राप्त हुने गर्दछ ।
५. समालोचना लेखनका लागि आवश्यक चरणहरू
चरण १ : विषय छनोट वा कृतिछनोट (यस चरणमा समालोचकले आफ्नो रुचिक्षेत्र, ज्ञान, क्षमताअनुसारको विषय वा कृतिको छनोट गर्नुपर्छ ।)
चरण २ : मूल कृतिको गम्भीर पठन (यस चरणमा छनोट गरिएको विषय वा कृतिको अभीष्ट स्पष्ट नभएसम्म पटक पटक गम्भीर पठन गर्नुपर्छ ।)
चरण ३ : सहयोगी सामग्री सङ्कलन र पठन (यस चरणमा आफूले निर्धारण गरेको विषय वा कृतिविश्लेषणका लागि सहयोगी हुने सामग्रीको सङ्कलन, पठन र मूल कुरामा रेखाङ्कन गर्नुपर्छ ।)
चरण ४ : मूल कृतिमा विश्लेष्य क्षेत्रको पहिचान र रेखाङ्कन (यस चरणमा मूल कृतिको गम्भीर पठन गरी कृतिभित्रको विश्लेष्य क्षेत्रको पहिचान गर्नुपर्छ र तिनमा रेखाङ्कन गर्नुपर्छ ।)
चरण ५ : आवश्यक बुँदाटिपोट र व्यवस्थापन (यस चरणमा मूल कृति र सहयोगी सामग्री दुवैका रेखाङ्कित स्थानहरूबाट आवश्यक बुँदाटिपोट गरी तिनलाई आदि, मध्य र अन्त्यमा व्यवस्थापन गर्नुपर्छ ।)
चरण ६ : विषयवस्तुको विश्लेषण (यस चरणमा निर्धारित बुँदाका आधारमा विषय प्रवेश र विश्लेषण खण्डमा विभाजन गरी विषयवस्तुको वस्तुपरक एवम् तार्किक विश्लेषण गर्नुपर्छ ।)
चरण ७ : मूल्याङ्कन तथा निष्कर्ष लेखन (यस चरणमा विषयवस्तुको विश्लेषणका आधारमा उपयुक्त मूल्याङ्कनमा आधारित निष्कर्ष निकाली समालोचनाको खेस्रा रूप तयार गर्नुपर्छ ।)
चरण ८ : पठन, सत्य परीक्षण, दोष पहिचान, संशोधन र परिमार्जन (यस चरणमा खेस्रा रूपमा तयार भएको समालोचनालाई आफैँले पढेर, सत्य परीक्षण गरी केही दोषहरू भएमा संशोधन र परिमार्जन गरेर अन्तिम रूप दिनुपर्छ ।)
चरण ९ : फुटकर वा कृतिगत रूपमा प्रकाशन (यस चरणमा पुगेपछि सुगठित र सुव्यवस्थित समालोचनालाई कुनै पत्रपत्रिकामा फुटकर रूपमा वा पूर्ण कृतिका रूपमा प्रकाशन गर्नुपर्छ ।)
६. निष्कर्ष
समालोचना बौद्धिक एवम् प्राज्ञिक कार्य हो । यसका लागि द्रष्टामा सैद्धान्तिक ज्ञान हुनुपर्छ, हरेक विधालाई पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ, कृतिको चुरो पहिल्याउन सक्ने सूक्ष्म दृष्टि हुनुपर्छ, सिद्धान्त र सिर्जनाका बिचमा तालमेल मिलाउन सक्ने संयोजक क्षमता हुनुपर्छ, समानधर्मी विषय र प्रसङ्गका बिचमा तुलना गर्न सक्ने खुबी हुनुपर्छ, वस्तुता, सत्यता र प्रमाणहरूसँग खेल्न सक्ने तार्किक क्षमता हुनुपर्छ र विश्लेषणको दही मथेर निष्कर्षको घिउ निकाल्न सक्ने शिल्पकारिता पनि हुनुपर्छ । कृतिको सपाट परिचयात्मक प्रस्तुति समालोचना होइन । दोषप्रति आँखा चिम्लिएर गरिने गुणको प्रशंसा पनि समालोचना होइन । ९० प्रतिशत गुणप्रति बेवास्ता गरी १० प्रतिशत दोषमाथिको निर्मम आक्रमण पनि समालोचना होइन । कुनै पनि कृति वा विषयवस्तुमाथिको तार्किक, बौद्धिक र प्राज्ञिक विमर्शबाट निस्किएको निष्कर्ष नै समालोचनाको प्राप्ति हो । सम्बन्धित कृति आफन्तद्वारा लेखिएको हो अथवा कुनै जात, धर्म, क्षेत्र, वर्ग, राजनीतिक विचारधारा जस्ता प्रभावक तत्त्वहरूबाट प्रभावित पार्ने खालको हो भने समालोचकले कि त त्यस्तो कृतिको समालोचना नै गर्नु हुँदैन कि त उल्लिखित कुराहरूबाट प्रभावित हुनु हुँदैन । कुनै एउटा परिचित व्यक्तिले कृति प्रकाशन गरेको रहेछ, अब यसका बारेमा समालोचना लेखिदिएर शिखरमा पुर्याइदिनुपर्यो र खुसी पार्नुपर्यो अथवा आफूलाई मन नपर्ने एउटा व्यक्तिले किताब लेखेको रहेछ अब एउटा समालोचना लेखेर यसलाई सिध्याइदिनुपर्यो भन्ने जस्ता नियोजित मनसायले अनावश्यक बढाइचढाइ गरेर वा तथानाम गालीगलोज गरेर कसैको समालोचना लेखियो भने त्यसले सर्जक र समालोचक दुवैको प्रतिष्ठामा बाधा पुर्याउने हुनाले यस्ता कुरामा दुवै पक्ष सचेत रहनुपर्छ । तटस्थता, तथ्यपरकता र विधागत सिद्धान्तका आधारमा गरिएको वस्तुपरक विश्लेषण समालोचनाको शक्ति हो भने प्रभावपरक लेखन, अनावश्यक प्रशंसा वा निन्दा र पूर्ववर्ती महान् स्रष्टाहरूसँगको असमान तुलना यसको सीमा हो । समालोचना बौद्धिक कार्य हो त्यसैले वस्तुपरक, वैज्ञानिक एवम् निष्पक्ष समालोचनाले कृतिको शक्ति र सामर्थ्यमा थप बल पुर्याउने काम गर्दछ भने सुनियोजित एवम् प्रभावपरक समालोचनाले कृतिलाई झन् तल झार्ने काम गर्दछ ।
क्रमशः अर्को हप्ता…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।