साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुस्तक–समीक्षा के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश
सिर्जना र समालोचना साहित्यका दुई पाटा मानिन्छन् । सिर्जनामा कल्पनाशीलता हुन्छ भने समालोचनामा आलोचनात्मक दृष्टि हुन्छ । पुस्तक–समीक्षा सिर्जना होइन । यसमा सिर्जनामाथि पाठकीय दृष्टिकोण वा समालोचनात्मक दृष्टिकोण प्रस्तुत हुने गर्दछ । पुस्तक–समीक्षालाई कृति–समीक्षा, कृति–सर्वेक्षण, पुस्तक–प्रतिवेदन, पुस्तक–परिचर्चा, पुस्तक–विमर्श आदि नाम दिने गरेको पाइन्छ । जे नाम दिए पनि यो समालोचनाको प्रारम्भिक रूप हो त्यसैले पुस्तक–समीक्षामा गहन सैद्धान्तिक विश्लेषण नभएर पुस्तकको परिचयात्मक प्रस्तुति हुने गर्दछ । पुस्तकको बाह्य स्वरूपको चिनारीका साथ आन्तरिक विषयका बारेमा परिचनात्मक जानकारी दिने काम यसमा गरिन्छ । सम्बन्धित पुस्तकको शक्ति र सीमाका बारेमा जानकारी प्रस्तुत गरेर सम्बन्धित विषयका जिज्ञासु पाठकहरूमा पठनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पुस्तक–समीक्षा लेख्ने गरिन्छ । यसमा स्रष्टाचेतनाको भन्दा द्रष्टाचेतनाको विशेष भूमिका हुने गर्दछ तापनि स्रष्टाचेतना भएको समीक्षक छ भने उसले गर्ने पुस्तक–समीक्षामा छुट्टै प्रकारको भाषिक कला र आलङ्कारिक अभिव्यक्तिको प्रयोग हुने गर्दछ भने द्रष्टाचेतना भएको समीक्षक छ भने त्यसमा तथ्यपरक विश्लेषण र यथार्थपरक अभिव्यक्तिको प्रयोग हुने गर्दछ । यस लेखमा समालोचनात्मक कार्यको प्रवेशद्वार मानिने त्यही पुस्तक–समीक्षाका बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।

२. पुस्तक–समीक्षाको सैद्धान्तिक स्वरूप
‘पुस्त्+घञ्+कन्’ निर्माण प्रक्रियाबाट बनेको ‘पुस्तक’ शब्दको अर्थ किताब वा हातले लेखेको पुस्तक भन्ने हुन्छ भने ‘सम्+ईक्ष्+अङ्+टाप्’ निर्माण प्रक्रियाबाट बनेको ‘समीक्षा’ शब्दको अर्थ अनुसन्धान, खोज, विचार, निरीक्षण वा समालोचना भन्ने हुन्छ । ‘पुस्तक’ र ‘समीक्षा’ दुवै तत्सम शब्द हुन् । पुस्तकको समीक्षा = पुस्तक–समीक्षा षष्ठी तत्पुरुष समास भएर बनेको यस समस्त शब्दले कुनै पनि पुस्तकप्रतिको समालोचनात्मक दृष्टिलाई सङ्केत गरेको छ । साहित्यका क्षेत्रमा पुस्तक–समीक्षा भन्नाले प्रकाशित वा अप्रकाशित कुनै पनि पुस्तकाकार कृतिमाथिको समीक्षात्मक कथन वा लेखन भन्ने बुझिन्छ । निर्माण प्रक्रिया (सम्+ईक्षा) का आधारमा यसको व्युत्पत्तिलभ्य अर्थ गर्दा पनि समीक्षाको अर्थ राम्रो (सम्) हेराइ (ईक्षा) भन्ने हुन्छ । यसमा राम्रो शब्दले सङ्केत गरेको अर्थ सकारात्मक वा सुन्दर मात्र नभएर गहिरो पनि हो । यस कारण पुस्तक–समीक्षा भनेको सम्बन्धित कृतिका गुण, दोष आदि सबै कुरालाई छर्लङ्ग पार्ने गरी राम्ररी हेर्ने काम हो भन्ने बुझ्नुपर्छ ।
अङ्ग्रेजीमा पुस्तक–समीक्षालाई ‘बुक रिभ्यु’ (Book Review) भनिन्छ । यी दुई शब्दमा ‘बुक’ (Book) ले किताब वा पुस्तक भन्ने अर्थ बुझाएको छ भने ‘रिभ्यु’ (Review) को अर्थ दोहोर्याएर हेर्नु वा पटक पटक हेर्नु भन्ने हुन्छ । यसले कुनै पनि कृतिको मूल आशय स्पष्ट नहुन्जेलसम्म विभिन्न कोणबाट हेरेर त्यसको निचोडमूलक जानकारी प्रस्तुत गर्नु नै पुस्तक–समीक्षा वा ‘बुक रिभ्यु’ हो भन्ने बुझाउँछ । यसका आधारमा हेर्दा संस्कृत निर्माण प्रक्रियाबाट बनेको ‘पुस्तक–समीक्षा’ र अङ्ग्रेजी निर्माण प्रक्रियाबाट बनेको ‘बुक रिभ्यु’ दुवैको अर्थमा एकरूपता पाइन्छ । यी दुवैले पुस्तकका बारेमा प्रस्तुत गरिने समीक्षात्मक जानकारी भन्ने अर्थ दिन्छन् ।

पुस्तक–समीक्षाको सैद्धान्तिक चर्चा कम मात्र भएको पाइन्छ । विभिन्न विद्वान्हरूले यसको चर्चा छुट्टै नभएर समालोचना वा समीक्षाकै सन्दर्भमा गरेका छन् । यो पूर्वीय जगत् र पाश्चात्य जगत् दुवैतिर अत्यन्त लोकप्रिय मानिएको छ तापनि अन्य विधाको जस्तो लामो ऐतिहासिक योगदान यसको देखिँदैन । सन् १८९६ मा ‘न्युयोर्क टाइम्स’ले पहिलो पटक पुस्तक–समीक्षाका बारेमा केही जानकारीमूलक, परिचयात्मक एवम् संरचनात्मक सामग्रीहरू प्रकाशन गरेको देखिन्छ । त्यसपछि कतै समालोचनाका सन्दर्भमा र कतै विधागत सैद्धान्तिक जानकारीका सन्दर्भमा उदाहरणहरू प्रस्तुत गर्दा आवश्यक पुस्तकको समीक्षात्मक स्वरूपलाई अगाडि सारिएको पाइन्छ । यसरी सुरु भएको पुस्तक–समीक्षा परम्परा अहिले भने निकै लोकप्रिय बन्न पुगेको छ ।

वर्तमानमा पुस्तक–समीक्षा लेखन सूचना, व्यापारिक प्रवर्धन र पठन संस्कृतिको विकास तीनओटा प्रयोजनका लागि गर्ने गरेको पाइन्छ । कुनै नयाँ कृति प्रकाशन भएपछि त्यसका बारेमा सम्बन्धित क्षेत्रका अन्वेषक र सर्वसाधारण सबै खाले पाठकलाई जानकारी होस् भन्ने पहिलो उद्देश्यस्वरूप सूचनाका रूपमा पुस्तक–समीक्षा गर्ने गरिन्छ भने कुनै कृति प्रकाशन भएपछि त्यसको प्रचारप्रसार गरी व्यापारिक प्रवर्धन गर्ने दोस्रो प्रयोजनका लागि पनि पुस्तक–समीक्षा गर्ने गरिन्छ । यसरी नै विभिन्न विद्यालय, पुस्तकालय र सिर्जनात्मक समूहहरूले आफ्ना विद्यार्थी तथा पाठकहरूमा पठन संस्कृतिको विकास गराउने उद्देश्यले पनि पुस्तक–समीक्षा गराउने प्रचलन रहेको छ । वर्तमानमा कतिपय विद्यालयहरूले त भित्तेपत्रिका नै प्रकाशन गरेर हरेक हप्ता नयाँ नयाँ कृतिका बारेमा समीक्षात्मक जानकारीहरू प्रकाशन गर्ने गरेको देखिन्छ भने कतिपय व्यक्तिहरूले नयाँ सिर्जनाहरू पढौँ र अरूलाई पनि पढ्न प्रेरित गरौँ भन्ने अभियान नै सञ्चालन गरेर विभिन्न सञ्चारमाध्यम, युट्युबलगायतका सामाजिक सञ्चालहरूबाट पुस्तक–समीक्षाहरू प्रस्तुत गर्ने गरेको पाइन्छ । यो सर्जक र पाठक दुवैका लागि सुखद पक्ष हो ।

३. पुस्तक–समीक्षा गर्नका लागि के के चाहिन्छ ?
पुस्तक–समीक्षा कसैले गरेको सिर्जनामाथिको पाठकीय दृष्टिकोण राख्ने ठाउँ हो । यसका लागि सबैभन्दा पहिले पाठकमा द्रष्टाचेतना आवश्यक पर्दछ । सर्जकको सिर्जनालाई आलोचनात्मक दृष्टि राखेर पढ्ने पाठकबाट त्यसका विविध पक्षलाई सम्बोधन गरी सङ्क्षेपमा कृतिको समग्र चित्र उतार्ने काम यसमा हुने गर्दछ । पुस्तक–समीक्षाका सैद्धान्तिक व्याख्याताहरूले यसको सिर्जना चार प्रकारले हुने कुराको सङ्केत गरेका छन् । ती हुन्— १. समर्थन (Endorsements), २. व्यापार (Trade), ३. पाठक (Reader), ४. सम्पादकीय (Editorial) । प्रकाशनपूर्व नै समीक्षकहरूबाट कृतिको समीक्षा गर्न लगाएर त्यसभित्रका दोषहरूको निराकरण गरी कृति प्रकाशन गर्ने कुरालाई समर्थनले सङ्केत गरेको छ भने प्रकाशकले पुस्तकलाई औद्यागिक विकास र प्रवर्धनका लागि आधार बनाउने वा पेसेवर प्रकाशकहरूले औद्योगिक प्रवर्धनका लागि पुस्तकलाई प्रयोग गर्ने कुरालाई दोस्रो प्रकारले सङ्केत गरेको छ । यसरी नै एउटा पाठकले कृति पढिसकेपछि अर्को पाठकलाई पढ्नका लागि उत्प्रेरित गर्ने काम तेस्रो प्रकारमा हुने गर्दछ भने कुनै व्यक्तिले कृतिको समीक्षा गर्ने र प्रकाशन गर्ने कार्य चौथो प्रकारमा हुने गर्दछ । यस कुराले पुस्तक–समीक्षा कहिले, कुन सन्दर्भमा र के प्रयोजनका लागि गर्ने हो भन्ने कुरालाई थप स्पष्ट पार्ने काम गरेको छ ।

अन्य विधाहरूका जस्तै पुस्तक–समीक्षाका पनि आवश्यक तत्त्व वा अङ्गहरू हुन्छन् जसले पुस्तक–समीक्षालाई सबल र सुदृढ बनाउने काम गर्दछन् । एउटा पाठकले कुनै पुस्तक पढिसकेपछि उसका मनमा एक प्रकारको प्रभाव उत्पन्न हुन्छ, जसलाई समीक्षामा उतार्ने प्रयास उसले गर्दछ । जुन पाठक समीक्षक बनेर पुस्तक–समीक्षा गर्नका लागि बस्दछ उसले निम्नलिखित अङ्गहरूमा ध्यान दिनु जरुरी छ—

(क) सहयोगी प्रसङ्ग
पुस्तक–समीक्षा गर्दा जुन पुस्तकका बारेमा समीक्षा लेख्ने हो त्यसका लागि आवश्यक सहयोगी प्रसङ्गका बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । सम्बन्धित पुस्तकको विषय, बनोट र बुनोटसँग मिल्ने विधागत सैद्धान्तिक जानकारी, स्वरूप, शैली र प्रस्तुतिगत वैशिष्ट आदिका बारेमा सहयोग पुग्ने खालका सन्दर्भ र प्रसङ्गहरूको ज्ञान समीक्षकमा भयो भने जुन पुस्तकको समीक्षा गर्नेको त्यसका लागि बलियो आधार तयार हुन्छ ।

(ख) सारांश लेखन
पुस्तक–समीक्षा गर्दा समीक्षकले कृतिको केन्द्रीय कथ्य पत्ता लगाएर त्यसको समग्र सार खिच्न सक्नुपर्छ, जसलाई सारांश लेखन भनिन्छ । यसमा कृतिमा अभिव्यक्त भाव, विचार, उद्देश्य र सन्देशको प्रतिनिधित्व गर्न सक्ने मूल मूल घटना वा प्रसङ्गहरू अनिवार्य रूपमा समेटिनुपर्छ । यसमा विधागत स्वरूपका आधारमा घटना, पात्र, परिवेश, लयविधान र अन्तर्वस्तुसँग सम्बन्धित विविध पक्षहरूलाई नछुटाई विन्दुमा सिन्धु खिच्ने काम गर्नुपर्छ ।

(ग) आलोचनात्मक विश्लेषण
पुस्तक–समीक्षाका लागि आलोचनात्मक दृष्टिकोण अनिवार्य तत्त्व मानिन्छ । समीक्षकमा कृतिलाई हेर्ने आलोचनात्मक दृष्टिकोण भएन भने त्यो समीक्षा नभएर कृतिको सपाट विवरण हुने गर्दछ । द्रष्टामा कृतिमा प्रयुक्त विषयवस्तुका साथै त्यसका सम्पूर्ण तत्त्वहरूमाथि आलोचनात्मक दृष्टि राख्ने र त्यसलाई विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्न सक्ने कला हुनु अनिवार्य छ । विषयलाई हेर्ने आलोचनात्मक दृष्टिकोण र त्यसप्रतिको तर्कपूर्ण प्रस्तुतिले पुस्तक–समीक्षालाई जीवन्त बनाउने काम गर्दछ ।

(घ) निष्कर्ष लेखन
कृतिको समग्र विश्लेषणात्मक जानकारी प्रस्तुत गरिसकेपछि त्यसको अन्त्यमा उपयुक्त निष्कर्ष दिनुपर्छ । यो समीक्षकको ज्ञानमा आधारित निजी अनुभव वा दृष्टिकोणको स्थापना गर्ने ठाउँ हो । यसले पुस्तकको गुणात्मक महत्त्वका बारेमा जानकारी दिने काम गर्दछ । यस खण्डमा कृतिका सबल पक्ष र दुर्बल पक्ष दुवैको समीक्षात्मक विश्लेषण गरी लेखकीय अभिमत प्रस्तुत गर्ने काम हुन्छ त्यसैले निष्कर्ष लेखन पुस्तक–समीक्षाको प्रभावकारी खण्ड मानिन्छ ।
यिनका अतिरिक्त आकर्षक शीर्षकीकरण, वस्तुपरक प्रस्तुतीकरण, सान्दर्भिक उदाहरण, कृतिको बाह्य स्वरूपको चिनारी, आन्तरिक सुगठनगत वैशिष्ट्यको स्थापना आदि जस्ता कुराले पनि पुस्तक–समीक्षामा निकै ठुलो प्रभाव पाने गर्दछन् । कुनै एउटा पक्ष वा अङ्ग मात्र सबल हुँदा पुस्तक–समीक्षा पूर्ण मानिँदैन त्यसैले यी सबै कुराको सन्तुलित सुगठन नै यसको शक्ति मानिन्छ ।

४. पुस्तक–समीक्षा कसरी लेखिन्छ ?
उल्लिखित तत्त्वहरूका बारेमा स्पष्ट भइसकेपछि पुस्तक–समीक्षा लेख्न कुनै गाह्रो हुँदैन । सामान्य रूपमा पुस्तक–समीक्षाका तीनओटा खण्डहरू हुने गर्दछन् । यिनलाई आदि, मध्य र अन्त्य खण्ड पनि भन्न सकिन्छ । यी खण्डमा लेखकीय व्यवस्थापन निम्नानुसार हुनु राम्रो मानिन्छ—

पहिलो खण्ड: पुस्तकको बाह्य स्वरूपको परिचय
यो पुस्तक–समीक्षाको थालनी हो । यस खण्डमा सम्बन्धित पुस्तकको बाह्य स्वरूपको परिचय दिइन्छ । यसको सुरुमा कृतिको समग्र परिचयलाई समेट्ने खालको आकर्षक शीर्षक दिनुपर्छ । समीक्षा गर्न लागिएको कृति कुन प्रकृतिको हो त्यहीअनुसार लेखन ढाँचा निर्माण गर्नुपर्छ । यदि बालकृति हो भने त्यसमा चित्रकार, चित्रकारिता आदिका बारेमा पनि जानकारी दिनुपर्ने भएकाले तिनका विश्लेष्य अङ्गहरू अलि बढी हुने गर्दछन् तर अन्य कृतिहरूमा विधागत वैशिष्ट्यबाहेक अन्यमा एकरूपता नै पाइन्छ । यसरी कृतिको स्वरूप पहिचान भएपछि लेखनको थालनी गर्नुपर्छ । लेखनको थालनीमा सम्बन्धित पुस्तकको शीर्षक, लेखक र विधाको स्पष्ट उल्लेख गर्नुपर्छ । यसपछि आवश्यकताअनुसार कभरका विशेषता, रङको अर्थ, चित्रकार, सम्पादक, अनुवादक तथा डिजाइनरको नाम लेख्नुपर्छ । यसै गरी प्रकाशकको नाम, ठेगाना, प्रकाशन मिति, पुस्तकको पृष्ठसङ्ख्या, मूल्य जस्ता कुराको जानकारी पनि यसै खण्डमा दिनुपर्छ । यसका साथै पुस्तकको आकार, यसभित्रका शीर्षक, उपशीर्षकको सङ्ख्या, चित्रको प्रकारजस्ता तथ्यहरू पनि यसै खण्डमा लेख्नु उपयुक्त हुन्छ । यो पुस्तक–समीक्षाको आरम्भ हो । यस खण्डमा कृतिलाई बाह्य रूपमा चिनाउनका लागि जे जे कुराहरू आवश्यक हुन्छन् ती सबैलाई एकै ठाउँमा समेट्नुपर्छ । यसलाई एउटै अनुच्छेदमा लेख्नु राम्रो मानिन्छ ।

दोस्रो खण्ड: पुस्तक–समीक्षाको मूल भाग
यो पुस्तक–समीक्षाको मूल भाग हो । यसलाई समीक्षा खण्ड पनि भन्न सकिन्छ । यस खण्डमा भने समीक्षक कृतिभित्र पस्नुपर्छ । यस खण्डको थालनीमा नै कृतिभित्रको मूल विषयवस्तुको सङ्क्षिप्त स्वरूप प्रस्तुत गर्नुपर्छ । यसपछि क्रमशः त्यसभित्रका शीर्षक, उपशीर्षकका आदिका बारेमा चर्चा गर्दै जानुपर्छ । विधागत तत्त्वका आधारमा तिनका प्रमुख विशेषताहरू लेख्नुपर्छ । कृतिको मूल विषय के हो ? विषयवस्तुको भावगत आशय के हो ? लेखकले भन्न खोजेका प्रमुख कुराहरू के के हुन् ? ती कति स्पष्ट छन् या छैनन् ? तिनले कुन कुन कुरालाई ध्वनित गर्छन् भन्ने सन्दर्भको चर्चा पनि यसै खण्डमा गरिन्छ । यसका साथै विधाअनुसार पुस्तकको मूल कथावस्तु, चरित्र वा पात्रका विशेषता, उद्देश्य आदिको विश्लेषण पनि यसै खण्डमा गरिन्छ । त्यसै गरी शिल्पपक्ष, प्रस्तुति, भाषाशैली, लयविधान, अलङ्कारविधान, कथ्य आदिका बारेमा पनि यसै खण्डमा उल्लेख गर्नुपर्छ । बालबालिका वा सिकारु समीक्षकले गर्ने पुस्तक–समीक्षा हो भने यस खण्डलाई एउटै अनुच्छेदमा लेख्नु राम्रो मानिन्छ तर परिपक्व समीक्षकले लेख्ने हो भने समीक्षणीय क्षेत्रका आधारमा दुई वा तीन अनुच्छेदमा लेखिए पनि फरक पर्दैन ।

तेस्रो खण्ड: पुस्तक–समीक्षाको अन्तिम भाग
यो पुस्तक–समीक्षाको अन्तिम भाग हो । यसलाई पुस्तक–समीक्षाको निचोड वा निष्कर्ष खण्ड पनि भनिन्छ । यस खण्डमा समीक्षक आफ्नो दृष्टिकोणका साथ प्रस्तुत हुने गर्दछ । माथिका दृई खण्डमा विश्लेषण गरिएका कुराहरूका आधारमा उपयुक्त निष्कर्ष निकालेर कृतिको गुणात्मक मूल्याङ्कन प्रस्तुत गर्नु यस खण्डको काम हो । यस खण्डमा उक्त पुस्तकको सबल पक्ष र दुर्बल पक्षका बारेमा जानकारी दिएर आवश्यक सुझावहरू पनि प्रस्तुत गरिन्छ । यस कार्यलाई कृतिको शक्ति र सीमाको पहिचान भनिन्छ । कृतिका सकारात्मक वा सबल पक्षलाई शक्ति भनिन्छ भने नकारात्मक वा दुर्बल पक्षलाई सीमा भनिन्छ । कृतिको धनात्मक र ऋणात्मक पक्ष भनेको पनि त्यही हो । धनात्मक पक्षले कृतिलाई मूल्यवान् बनाउँछ भने ऋणात्मक पक्षले कमजोर बनाउँछ । त्यसैले यस खण्डमा समीक्षकले राम्रा कुराहरू के के छन् र सुधार गर्नुपर्ने कुराहरू के के छन् ? तिनका बारेमा स्पष्ट सङ्केत गरेको हुनुपर्छ । कृतिको लक्षित वर्ग सुहाउँदो विषय, भाषाशैली, चित्र, आकारप्रकार, मूल्य आदि भए नभएको सन्दर्भमा पनि समीक्षकले स्पष्ट दिशानिर्देश गरेको हुनुपर्छ । यस खण्डमा समीक्षकको आफ्नो विचार, दृष्टिकोण र ज्ञानमा आधारित तर्कको सबल उपस्थिति हुनुपर्छ । यो खण्ड एउटा अनुच्छेदमा लेख्नु राम्रो मानिन्छ । साथै यो खण्ड अन्य खण्डभन्दा निकै खँदिलो र निष्कर्षमुखी हुनुपर्छ ।

यसरी कुनै कृतिलाई बाह्य बनोट, आन्तरिक बुनोट र समग्र मूल्याङ्कन गरी तीन खण्डमा राखेर त्यसलाई चिनाउने काम गरियो भने त्यो पुस्तक–समीक्षा सबैभन्दा व्यवस्थित र अपेक्षाबमोजिम हुने गर्दछ । पुस्तक–समीक्षा समालोचनाकै सानो रूप भएका कारणले गर्दा यसमा विधागत सिद्धान्त, रचनात्मक वैशिष्ट्य र शिल्पगत सामथ्र्यको पनि सङ्केत आवश्यक मानिन्छ ।

५. पुस्तक–समीक्षा लेखनका लागि आवश्यक चरणहरू
चरण १: कृतिछनोट (यस चरणमा समीक्षकले आफ्नो रुचिक्षेत्रअनुसारको कृतिको छनोट गर्नुपर्छ ।)
चरण २: गम्भीर पठन (यस चरणमा छनोट गरिएको कृतिको मूल भाव स्पष्ट नभएसम्म पटक पटक वा एकै पटक गम्भीर पठन गर्नुपर्छ ।)
चरण ३: केन्द्रीय कथ्य पहिचान र रेखाङ्कन (यस चरणमा गम्भीर पठन गरी कृतिको मूल आशय वा केन्द्रीय कथ्यको पहिचान गर्नुपर्छ र तिनमा रेखाङ्कन गर्नुपर्छ ।)
चरण ४: आवश्यक बुँदाटिपोट र व्यवस्थापन (यस चरणमा रेखाङ्कित स्थानहरूबाट आवश्यक बुँदाटिपोट गरी तिनलाई आदि, मध्य र अन्त्यमा व्यवस्थापन गर्नुपर्छ ।)
चरण ५: विषयवस्तुको विश्लेषण (यस चरणमा निर्धारित बुँदाका आधारमा परिचय खण्ड र समीक्षा खण्डमा विभाजन गरी विषयवस्तुको वस्तुपरक विश्लेषण गर्नुपर्छ ।)
चरण ६: मूल्याङ्कन तथा निष्कर्ष लेखन (यस चरणमा विषयवस्तुको विश्लेषणका आधारमा उपयुक्त मूल्याङ्कनमा आधारित निष्कर्ष निकाली पुस्तक–समीक्षाको खेस्रा रूप तयार गर्नुपर्छ ।)
चरण ७: पठन, सत्य परीक्षण, दोष पहिचान, संशोधन र परिमार्जन (यस चरणमा खेस्रा रूपमा तयार भएको पुस्तक–समीक्षालाई आफैँले पढेर, सत्य परीक्षण गरी केही दोषहरू भएमा संशोधन र परिमार्जन गरेर अन्तिम रूप दिनुपर्छ ।)
चरण ८: प्रकाशन वा प्रसारण (यस चरणमा पुगेपछि सुगठित र सुव्यवस्थित पुस्तक–समीक्षालाई कुनै पत्रपत्रिकाका माध्यमबाट प्रकाशन वा सञ्चारमाध्यमबाट प्रसारण गर्नुपर्छ ।)

६. निष्कर्ष
पुस्तक–समीक्षा समालोचनाकै प्रारम्भिक चरणको लेखन हो । त्यसैले यसका लागि कृतिमाथिको आलोचनात्मक दृष्टिकोण अनिवार्य मानिन्छ । अति प्रशंसा र अति निन्दा पुस्तक–समीक्षाका लागि दोष पक्ष हुन् । कृतिमा जे छ त्यसैको तथ्यपरक विश्लेषण गरी पाठकलाई सही सूचनाको सम्प्रेषण गर्नु कृतिसमीक्षकको दायित्व हो । सम्बन्धित कृति आफन्तद्वारा लेखिएको हो अथवा कुनै जात, धर्म, क्षेत्र, वर्ग, राजनीतिक विचारधारा जस्ता प्रभावक तत्त्वहरूबाट प्रभावित पार्ने खालको हो भने कृतिसमीक्षकले कि त त्यस्तो कृतिको समीक्षा नै गर्नु हुँदैन कि त उल्लिखित कुराहरूबाट प्रभावित हुनु हुँदैन । कुनै एउटा परिचित व्यक्तिले कृति प्रकाशन गरेको रहेछ, अब यसको पुस्तक–समीक्षा लेखिदिएर खुसी पार्नुपर्यो अथवा आफूलाई मन नपर्ने एउटा व्यक्तिले किताब लेखेको रहेछ अब पुस्तक–समीक्षा गर्ने निहुँमा यसलाई सिध्याइदिनुपर्यो भन्ने लोभी वा पापी मनसायले अनावश्यक बढाइचढाइ गरेर वा तथानाम गालीगलोज गरेर कसैको पुस्तक–समीक्षा लेखियो भने त्यसले सर्जक र समीक्षक दुवैको प्रतिष्ठामा बाधा पुर्याउने हुनाले यस्ता कुरामा सर्जक र समीक्षक दुवै सचेत रहनुपर्छ । तटस्थता, तथ्यपरकता र विधागत सिद्धान्तका आधारमा गरिएको वस्तुपरक विश्लेषण पुस्तक–समीक्षाको शक्ति हो भने प्रभावपरक लेखन, अनावश्यक प्रशंसा वा निन्दा र पूर्ववर्ती महान् स्रष्टाहरूसँगको असमान तुलना यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...