विषय प्रवेश : 

कथा, छोटो कथा र लघुकथा आख्यान सन्दर्भित शब्द हुन् । कथा र छोटो कथा आख्यानका मझौलो रूप कथाकै आकारगत भिन्नता हुन् भने लघुकथा अर्कै छुट्टै प्रविधा हो तर धेरैमा छोटो कथा नै लघुकथा हो भन्ने भ्रम छ । यो भ्रम लेखकमा पनि छ र पाठकमा पनि छ । यो भ्रम कतिपय स्थापित लेखकमा पनि देखिएको छ । नवोदितहरूमा यो भ्रम बढी नै छ । यसको प्रकृति, प्रवृत्ति र सामान्य धारणामा प्रष्ट नहुँदा यसले लेखनमा असजिलो ल्याएको छ । छोटो कथालाई लघुकथा भनेर र लघुकथालाई छोटो कथा भनेर प्रस्तुत गरिंदा प्रविधागत विकासमा बाधा उत्पन्न भएको छ । अझ स्थापितहरू पनि अन्योलमा रहेकाले यसो हो कि उसो हो भन्ने अन्योलता बढेको छ ।

साहित्यका विधा प्रविधा : 

कविता, आख्यान, नाटक, निबन्ध आदि साहित्यका विधा हुन् । यी विधाका थुप्रै प्रविधाहरू विकसित भइसकेका छन् भने कतिपय प्रविधाहरू विकासका चरणमा छन् । प्रविधाहरूको उत्पत्ति विधाहरूमा आएको अधिकाधिक प्रयोगको परिणाम हो । साहित्यमा प्रयोग ज्यादा हुनुलाई विकास मानिन्छ । तर स्विकृति पाउनु अघिसम्म त्यो प्रयोगमा मात्र सीमित रहन्छ र स्विकृति पाएपश्चात् त्यसले प्रविधात्मक मान्यता पाउँछ ।

विधा भनेको मुख्य वर्ग हो र प्रविधा भनेका मुख्य विधाभित्र विकसित भएका अन्य विधा हुन् । विधा समावेशक शब्द हो भने प्रविधा समावेशी शब्द हो । जस्तै – आख्यान विधा हो र उपन्यास, कथा र लघुकथा प्रविधा हुन् । आख्यान शब्दभित्र उपन्यास, कथा र लघुकथा समावेश हुन सक्छन् तर मुक्तक, गीत, गजल, समावेश हुन सक्दैनन् । मुक्तक, गीत आदिलाई कविताभित्र समावेश गर्न सकिन्छ । कविताका मुक्तक, हाइकु, गीत, गजल, फुटकर कविता, खण्डकाव्य, महाकाव्य आदि प्रविधा छन् । निबन्ध विधाको आत्मपरक भेदबाट यात्रा साहित्य, संस्मरण, पत्र साहित्य, जीवनी, आत्मकथा, आत्मसंस्मरण, दैनिकी, रिपोर्ताज, रेखाचित्र, अन्तर्वार्ता जस्ता लेखनका स्वरूपहरू पनि विकसित भएका छन् र यिनलाई नव गद्य विधा नाम पनि दिइएको छ । धेरैले विधा ठान्ने हास्यव्यङ्ग्य भने विधा होइन, शैली हो । हास्यव्यङ्ग्य जुन विधा र प्रविधामा पनि मिसिन सक्छ । हास्यव्यङ्ग्य कवितामा मिसिए हास्यव्यङ्ग्य कविता, कथामा मिसिए हास्यव्यङ्ग्य कथा, निबन्धमा मिसिए हास्यव्यङ्ग्य निबन्ध बन्छन् ।

लक्ष्मण अर्याल

प्रविधा अन्तर्विधा वा उपविधा हो । आख्यानको प्रविधा भन्नुको अर्थ उपन्यास, कथा र लघुकथाको स्वतन्त्र पहिचान र विकासलाई नमान्नु होइन । कुन मुख्य वर्गबाट विकसित भयो भन्ने सम्बन्ध देखाउनु मात्र हो । अर्थात् यो कुन परिवारको हो भन्ने देखाउनु हो । प्रविधाहरू र प्रकारमा फरक छ । प्रविधा भन्नु छुट्टै अस्तित्व स्थापना हो भने प्रकार भन्नु ढङ्ग, काइदा वा किसिम हो, शैलीगत भिन्नता हो, जस्तै अति लामा कथा, लामा कथा र छोटा कथा भन्नु कथाको प्रकार हो भने उपन्यास, कथा, लघुकथा भन्नु आख्यानको प्रविधा हो ।

कथाका आकृतिगत प्रकार : 

आख्यानको दोस्रो प्रविधा कथालाई आकृतिगत आधारमा अति लामा कथा, लामा कथा र छोटा कथा भनेर छुट्याउन सकिन्छ । अति लामा कथा लेख्ने प्रयोग नेपाली साहित्यमा छैन । अति लामा कथाको सम्बन्ध उपन्यासतिर अलि बढी ढल्किएको हुन्छ । कत्रो आकारको कथा लामो कथा हो र कत्रो आकारको कथा छोटो कथा हो भन्ने कुनै रुढ मान्यता त बनेको छैन (रुढ मान्यता बन्दैन पनि) तर एक हजार शब्दभन्दा माथि ३/४ हजार शब्दसम्मका कथाहरू लामा कथा हुन् । ३ सय शब्दभन्दा माथि एक हजार शब्दसम्मका कथाहरू छोटा कथा हुन् । यो एउटा सामान्य संरचनाको सीमा मात्र तोकिएको हो, सामान्य आधार बनाइएको मात्र हो । यो शब्दसीमाले मात्र छोटो कथा बन्यो कि अरु नै केही बन्यो भन्ने खुट्याउँदैन ।

कथाकारले कथा लेख्न लाग्दा घटनाको कत्रो फेरो लिएर बुन्न थाल्छ त्यत्रै संरचनाको कथा बन्छ । घटनाको बृहत् फेरो अँगाले अति लामा कथा, घटनाको मझौलो फेरो अँगाले लामा कथा र घटनाको सानो फेरो अँगाले छोटो कथा बन्छ । हुनत घटनाको सानो फेरो समातेर पनि मज्जाका लामा मनोवैज्ञानिक कथा पनि लेखिएका छन्, जस्तै विश्वेश्वरप्रसाद कोइरालाको शत्रु कथा । शत्रु कथामा क्षीण घटना छ तर लेखकको लेखकीय क्षमताले त्यसलाई उत्कृष्ट लामो कथा बनाएको छ । अति लामा कथा बन्न नसकेर बिग्रिएका कथाहरू लामा कथा होइनन् अनि लामा कथा बन्न नसकेर जिङ्ग्रिएका रचना छोटो कथा पनि होइनन् । अर्को कुरा लघुकथा बन्न नसकेर बिग्रिएका कथात्मक रचना छोटो कथा हुन् भन्ने भ्रम पनि नपालौं । एउटा सफल अति लामो कथा लेख्न जति प्रतिभा आवश्यक छ त्यति नै प्रतिभा लामा कथा लेख्न लाग्छ अनि सफल छोटा कथाका लागि पनि उस्तै उम्दा लेखन प्रतिभा चाहिन्छ । प्रतिभाको अभावमा त कुनै खाले कथा पनि लेख्न सकिन्न ।

के हुन्छ लघुकथामा

लघुकथामा मोटामोटी निम्नलिखित कुराहरू हुन्छन् –

(क) लघुकथामा झड्का हुन्छ । यसलाई पन्च वा मारक पनि भन्न सकिन्छ । यो प्रहारक तत्व हो । यो लघुकथा पढिसकेपश्चात् मानसिकतामा बारम्बार आइरहने झङ्कार हो । लघुकथाको उद्देश्य स्थापनामा यही प्रहारकले मद्दत गर्छ । यो लघुकथा हो या होइन, लघुकथा बन्यो कि बनेन भनेर छुट्याउने आधार कडी हो । यसको आधारबाट लेखकले निश्चित दायरामा बसेर लेखिएको लेखन लघुकथा हो या होइन भनेर आफैं परीक्षण गर्न सक्छ ।

(ख) कथा या छोटा कथा र लघुकथामा घटना बुनिने भाषा पनि फरक हुन्छ । व्याख्यात्मक र वर्णनात्मक शैली कथा र छोटा कथाका शैली हुन् तर लघुकथामा भाषाको सघनता हुन्छ । भाषाको सघनताका लागि लेखकले काव्यात्मक प्रवृत्ति पनि अँगालेको हुन्छ । भनेको मतलब कवितामा प्रयोग हुने जस्ता पद र पदावली भाषाको घनत्व स्थापनामा सहयोगी हुन्छन् ।

(ग) लघुकथामा लामो पृष्ठभूमि हुँदैन । कालखण्ड छोटो हुन्छ । सूत्रात्मक स्वरूप हुन्छ । पात्र थोरै आउँछन् ।

(घ) कथा वाचकले कथा र उपन्यासमा जस्तो लघुकथामा प्रभुत्व जमाउँदैन ।

(ङ) कथामा आरम्भ, विकास, उत्कर्ष, अपकर्ष र अन्त्यको व्यवस्था भए पनि लघुकथामा आदि, मध्य र अन्त्यको स्थिति हुन्छ । लघुकथाको आदि भागमा समस्याको रोपण, विजाङ्कुरण र द्वन्द्ववीजको सङ्केतन हुन्छ । यसमा ज्यादै न्यून वाक्यहरूमा यी कुरा स्थापना भइसक्छ । मध्य भागमा द्वन्द्वको उठान, द्वन्द्वको विकास, कौतुहलको सिर्जना र उत्कर्षको स्थिति बन्छ । अन्त्य भागमा द्वन्द्वको बैठान, कौतुहलको अवतरण र पटाक्षेपको अवस्था सिर्जना हुन्छ । लघुकथाको शब्द स्थिति आदि भागमा ५०/६० शब्द, मध्य भागमा १५० देखि २०० शब्द र अन्त्य भागमा ३०/४० शब्द हुन सक्छन् । यो भन्दा कममा पनि उत्कृष्ट लघुकथा लेखिएका भने छन् ।

शब्द सङ्ख्या मात्र लघुकथाको आधार कडी हो

यो प्रश्नको सजिलो उत्तर छ – होइन । लघुकथाका लागि २००, २५०, ३०० भनेर शब्दसीमाका आधार छुटयाइएका छन् । ती छुट्याइएका आधार गलत हुन् कि भन्ने प्रश्न पनि मनमा पैदा हुन सक्छ । सन्देह गर्नु पर्दैन – यी आधार पनि गलत होइनन् । यी शब्द सीमालाई एउटा लक्ष्मण रेखा बनाइएको मात्र हो अर्थात् यो आधार रेखा मात्र हो । सामान्यतः लघुकथा लेखनमा इँटा भट्टामा इँट बनाउने साँचोजस्तो शब्दको निश्चित बार छैन जुन छन्द कवितामा हुने गर्छ । जस्तो शार्दूलविक्रीडित छन्दमा एक हरपमा १९ अक्षर र एक श्लोकमा ४ हरप हुनैपर्ने नियम छ । लघुकथामा शब्द सीमाको साँचोजस्तो बनाउन पनि सकिन्छ । पश्चिमतिर निश्चित शब्द संख्यामा (न घटी न बढी) रहने गरी  लघुकथा लेख्ने प्रयोग भएका छन् । नेपालीमा यस्तो प्रयोग आख्यानकार तथा समालोचक मोहनराज शर्माले ‘दुःखको मूर्ति’ शीर्षकको जोडी लघुकथा लेखेर गरेका छन् । शर्माले ‘दुःखको मूर्ति’ शीर्षकमा २/२ सय शब्दको (घटी बढी छैन) २ वटा लघुकथा लेखेका छन् ।

लघुकथामा शब्दसंख्याको आधार फरक फरक हुन सक्छ । लघुकथाकार शब्दसंख्याको साँचोमा मात्र अल्झिनु हुँदैन । लघुकथा लेखकले यो बुझ्नुपर्छ कि शब्द संख्या १५०, २००, २५०, ३०० मात्र होइन ३५०, ४००, ४५० वा ५०० शब्दलाई सीमा आधार बनाएर पनि लघुकथा लेख्न सक्छ । प्रयोग विविधता भए मात्र कुनै पनि प्रविधाको विकास हुन्छ । प्रयोग विविधतामा बन्देज लगाउनु भनेको विकास निमठ्नु हो ।

लघुकथाकारले लघुकथाको आधार कडी मारक वा पन्चलाई नै बनाउनुपर्छ । मारक वा पन्च भएका आख्यान रचना ५०० शब्दको भए पनि लघुकथा नै हो । यदि मारक वा पन्च छैन भने त्यो २५० वा ३०० शब्दमा लेखिए पनि लघुकथा होइन । मारक वा पन्च लघुकथाको मुक्तकीय झड्का हो । यो लघुकथामा वीजवाक्यका स्वरूपमा प्रवाहित  बन्छ । लघुकथाकारको अन्त्यव्यवस्थापनमा हुने कुशाग्रताले सफल र मानक लघुकथाको निर्माण हुन्छ ।

छोटा कथा प्रकार हो कि प्रविधा हो

छोटो कथा आख्यानको प्रविधा नभई कथाको संरचनागत प्रकार हो । कथा र छोटा कथा भन्नु आकारगत भिन्नता मात्र हो । छोटा कथा पनि कथा नै हुन् । छोटा कथाले जो कोहीलाई अर्थात् लेखकलाई र पाठकलाई पनि झुक्याउँछन् । नवोदित त यहाँ झुक्किने नै भए स्थापित पनि झुक्किएका छन् । यहीनेर सिद्धान्त चाहिन्छ । सिद्धान्त बनिबनाउ मान्यता होइन, यो लेखनपछिको सहजकर्ता हो । भनौं सिद्धान्त लेखकको साथी हो तर लेखक होइन । सिद्धान्त अप्ठ्यारोको व्याख्याता हो – न्यायाधीशजस्तो ।

यो छोटो कथाको आफ्नो घर भनेको कथा नै हो । यसैले यसलाई छुट्टै राखेर चर्चा गर्नु पनि आवश्यक छैन । यसलाई चर्चाबाट हटाएदिए पनि हुन्छ । यसको अस्तित्व गाँस्ने हो भने कथाका आकृतिगत भिन्नतातिर लगेर गाँस्दा यसलाई न्याय हुन्छ । छोटो कथालाई लघुकथाको सन्दर्भमा जोडेर चर्चामा ल्याइरहने हो भने यसले लघुकथाको स्वाद र विकसित भइसकेको आख्यानको प्रविधागत स्वरूपमा धक्का पुर्‍याउँछ ।

त्यसो भए के त

छोटो कथालाई लघुकथा भन्नु लघुकथाको स्वतन्त्र अस्तित्व स्वीकार नगर्नु हो, लघुकथालाई कथाकै एउटा प्रकार मात्र मान्नु हो, लघुकथाको प्रविधात्मक स्वरूपलाई नस्वीकार्नु हो, लघुकथालाई कथासँग जबर्जस्ती लगेर टाँस्नु हो । उपन्यास, कथा र लघुकथा भन्नु छुट्टाभिन्ना भएका दाजुभाइ हुन् जसको छुट्टाछुट्टै अस्तित्व छ तर पनि सम्बन्धित हुन् । यो कुरा भुल्नु हुन्न कि लघुकथाले स्वतन्त्र प्रविधात्मक स्वरूप पाइसकेको छ ।