कवि हुनुहुन्छ ?

ए, बुझेँ । घरमा कुनै पूजाआजा हुने भो, वा कसैको बिहे छिन्नुपर्यो, अथवा भनौँ जग्गाजमिनको किनबेच गर्नुपर्ने भयो भने, घरसल्लाहमा तपाईंलाई खासै समावेश नगर्न पनि सक्छन् । भन्लान्, “त्यो कवि हो । रुखमुनि बसिरहन्छ । कमिलो हिँडेको हेरिरहन्छ दुई घन्टासम्म । त्यसलाई घरका कुरा आउँदैन ।”

परिवारमा, बच्चो हुर्कंदै गयो भने कटाक्ष गर्लान्, “ठूलो भएर सबै गर्, कविता चैँ नलेख् है !”

घरैमा पनि, लर्कासर्कामै भन्लान्, “कविज्यू, अब भात पनि खाने हो कि ? सेलायो त ।”

पत्रिकामा केही छापिएला । फेसबुकमा लिङ्क । फोटो पनि आउला । अहँ, चुप । सेयर गर्दैनन् । कुरो पनि गर्दैनन् । थाहा त किन नपाऊन् ? तर चुपचाप !

लामो समयसम्म स्वीकारै गर्दैनन् ।

एउटा कवि – एउटा टापु । पाइलो टेक्दैन बिरादरी । एउटा रोबिन्सन क्रुशो । एकाध ‘फ्राइडे’कै भरमा चलिरहन्छ यात्रा, लेखनको ।

लेखन भनेपछि एउटा नाम सधैँ सम्झन्छु — जेम्स बोस्वेल । सर्जक त होइनन्, र ज्याद्रो अनुसन्धाता । कविहरू जता जता जान्छन्, उनी त्यसै त्यतै । बोलाए पनि जाने, नबोलाए पनि । नबोलाइएको सभामा जाँदा बाहिरै बस्ने, अनि कान थापेर कुरा सुन्ने । टिपोट गर्ने ।

पछि, यिनै बोस्वेलको किताब आएपछि सत्रौँ शताब्दीका धेरै स्थापित लेखकको जीवन विश्वले पढ्न पायो ।

कत्रो त्याग ! कत्रो तप ! कत्रो सन्धान !

यस लेखमा कविताका कुरा केन्द्रमा छ । तर लेख अलि अलि बरालिएको पनि छ । लेखनका अन्य आयामलाई पनि छुन्छ । लेख्नुका साथै बोल्ने कुरालाई पनि छुन्छ । छुचुन्द्रे बानी भनौँ न ।

एउटा किशोर छ । कक्षा ११ मा पढ्छ । राम्रै चिन्छु । फेसबुकमा जोडिएको छ । कविता लेख्छ । घर पूर्वतिर हो, बासँग काठमाडौँमा बस्छ । ऊ अनलाइन आयो र केही बोल्न खोज्यो भने बुझिहाल्छु — बा बाहिर गएका रहेछन् ।

कहिलेकाहीँ दिनभरि बोल्छ । कविता देखाउँछ, बहस गर्छ । अनि बुझ्छु, बा उपत्यकाबाहिर गएछन् ।

फेरि वार्ता बन्द हुन्छ । अनि बुझ्छु, बा आएछन् ।

अनि कवि मनप्रसाद सुब्बालाई सम्झन्छु — “म बुद्धे कहिले बुद्ध हुनु ?”

त्यो किशोर ! फेसबुक चलाउँछ । कविता पोस्ट गर्दैन । कसैकोे कविता सेयर गर्दैन । कुनै लेख सेयर गर्दैन । भन्छ, “बाले मार्छन् ।”

प्रार्थना गरिरहन्छ — कहिले बा भ्यालीबाहिर जालान् र खुलेर कविता लेखूँ, कविताका कुरा गरूँ ।

उफ्, कत्रो त्रास जिन्दगीमा । कत्रो कलङ्क कविताकर्म ! “त्रास आफन्तको” — त्यसै लेखेका होइन रहेछन् ज्ञानू विद्रोहीले ।

अर्कातिर फर्कन्छु — अर्कै कथा भेट्छु ।

“मेरा छोराले राम्रो लेखून्, राम्रो पढून् । यिनलाई लेखनका केही कुरा सिकाइदिनू न,” भनेर नेपाल आएको बेला आफ्ना दुई छोरालाई कहिलकाहीँ, मसँग छोडेर आफू काममा लाग्नुहुन्थ्यो दाइ जीवा लामिछाने । हामी दिनभरि गफ गर्थ्याैँ, कुरा गर्थ्याैँ, खाजा खान्थ्यौँ ।

अहिले यत्ति भनौँ— लेख्ने क्रम छोडेनन् भने ती दुई किशोर, अनुराग र अनुकृतले, मेरो उमेरमा पुग्दा नपुग्दै आँधीबेहेरी ल्याउनेछन् लेखनमा । लभ यु बोथ, बोइज ।

नाम चैँ भन्दिनँ, तर एक जना लेखक भेटेँ । कविताकृति छापियो । विमोचनमा परिवारको एउटा सदस्य पनि थिएनन् । पछि सोध्दा भनिन्, “लेखेको कुरा कसैले रुचाउँदैन परिवारमा ।”

त्रास–मिमांशा !

कति पीडा उठाउनुपर्छ एउटा लेखकले ! जसका अगाडि यस्ता पीडा छैनन्, ती भाग्गेमानी । तर, यो भाग्गेमानी हुनुको बोधले आफ्नो लेखनलाई कतिको खँदिलो बनायौँ, त्यताचाहिँ अलि नलागौँ कि अहिले ?

जसका अगाडि यस्ता पीडा छन्, ती पीडैमा पनि भाग्गेमानी । आफू मरेर पनि जगतका लागि सञ्जीवनी दिएर जान्छन् ।
मरेरै पनि लेखेका छन् । अथवा लेखेका कारण मारिएका छन् । कतिमाथि नियतिको कहर बसिन्छ, कतिमाथि सत्ताको ।

किनेका, दिएका, भेटेका, फिर्ता नगरेर पचाएका, पैसा भएका तर स्तर कम भएकाले सित्तैमा बाँडेका, मिलाएर चोरेका, “मायाको चिनोमा” पाएका, ७८ वर्षका पाका कविले मलाई घरमा बोलाएर बोलाएर, आजभन्दा दश वर्षअघि नै “वरिष्ठ समालोचक महेश पौडेललाई” भनेर लेखेर दिएका, समीक्षा लेखिदिनू है भनेर “सप्रेम” दिएका — अनेक तरिकाले जोडेका वा जोडिएका केही हजार पुस्तक त होलान् नि मसँग । तपाईंसँग पनि । हेर्दा चिल्ला, बाटुला ती पुस्तक, सहादतको एउटा लामो इतिहासपछि जन्मेका हुन् । आफ्नो निजी पुस्कालयमा बसेर किताब हेरिरहँदा हामी यो कुरा कत्तिको विचार गर्छौँ, कुन्नि ? तर हामीलाई फुक्काफाल बनेर लेख्ने वातावरण कवि लेखकले सहिद बनेर दिएका हुन् ।
यी पुस्तक लिपिको आकारमा तिनकै विरासतका बोली हुन्, विचार हुन् ।

बोली र विचारका सहिदप्रति तर्पण गर्छु ।

— बोले । बोलेर युवा बिगार्यो भनेर सुकरातलाई विष पिलाएर मारे । मार्नेको नाम छैन इतिहासमा । मारिने सुकरात दर्शनका आद्यगुरु हुन पुगे ।

— बोले । मारिए । मार्नेको नाम हरायो । मारिने यसु क्रिष्ट भगवान् बने ।

— बोले । लेखे । शासकका विरुद्ध लेखेका कारण सिसेरोका हात काटिए – रोमकाे मध्ये चोकहरू । मारिए । तर्कशास्त्रका आद्य गुरु सिसेरो । उनका हात काट्ने कहाँ पुगे, को हुन्, के नाम हो ? अत्तोपत्तो भएन ।

— बोलिन् । लेखाइन् । बोल्न लगाइन् । हजुरवाणी सुनाइन् — लिनुपर्दा ठूलो, दिनुपर्दा सानो, अधम हो त्यो कुम्भिपाक् बास जान्नू । मरिन्, अरूणमा हाम्फालेर योगमाया । नपत्याए नीलम कार्कीलाई सोध्नू । मर्न बाध्य पार्नेको वंशनाश । राज्य बेपत्ता । गणतन्त्रको हुण्डरीमा पत्ता साफ । उता भारततिर भन्छन् नि – सुफडा साफ । योगमाया अमर भइन् ।

— मकैको खेतीमा रातासेता कमिला । जेल चलान । मरे नि ? उनको आवाज आज हाम्रो आवाज हो । कृष्णलाल अधिकारीप्रति श्रद्धाञ्जली ।

— बोले । खूब बोले । सिद्धिचरणको सिको थियो । राति, टुँडिखेलमा लगेर कोर्रा लाउँदा ऐय्या ऐय्या भनेर रोएको आवाज पर परसम्म आइरहेको थियो रे । सिद्धिचरणले आफ्नो संस्मरणमा लेखेका छन् । पढ्नु होला । २१ वर्षको ठिटो गङ्गालाल — एउटा हिमाल । आँखा भरिएर आउँछन् । अरू सहिद पनि यस्तै हिमाल । हृदय गर्वले भरिएर आउँछ । आँखा आँसुले ।

कति डरलाग्दा कथा छन् । आङै सिरिङ्ङ हुन्छ ।

देश निकाला भए कविहरू, लेखकहरू । सुरूमा, कुरा लाउने कप्टी त प्लेटो नै हुन् । गणतन्त्रबाट कविलाई निकाल्नू भनेर दुन्दुभि बजाए । बोल्नचाहिँ आफू पनि कवितामै बोल्ने । बेइमान बूढा ।

कुनचाहिँले कुरा कथुर्याएर भगवान् बनायो । (अब, मलाई खतरा भयो, यहाँनिर!) धर्म बनायो । धर्मको वाणी – ब्रह्मवाणी । छिरिक्क यताउति भयो कि – ड्याङ ! विचारमा पनि उस्तै !

— जीवनजगत बारे फरक मत राखे । पाइथागोरासलाई फापर बारीमा काटेर मारे आफ्नै साथीभाइले । रिप !

— बाइबल अनुवाद गर्दा अलिकति यसोउसो परेछ । एटिन डोलेटलाई काटेर मारे । रिप !

— डोलेटकै कसूर टिन्डेलले दोहोर्याए । काटेरै मारे । रिप ।

— देउताको वाणीलाई किसानको भाषामा लेखे भनेर मार्टिन लुथर प्रताडित भए । कथा थाहै छ सबैलाई ।

— भगावनको वास भएको पृथ्वी सौर्यमण्डलको केन्द्र भन्थे । होइन, अलि परको हो भन्दा जियोनार्दो बु्रुनोलाई जलाएर मारे । त्यो कथा सम्झँदा पनि….भो, भन्न सक्दिनँ । फलामको टेबल रातो बनाएर तताएछन् । अनि, नाङ्गै परेर त्यसमा सुकाएर सेकेछन् । मर्दै गर्दा एउटै कुरा मात्रै बोले रे — “पछाडि म पाकेँ । अब फर्काओ ।” कुरो इटालीको हो । साहित्यजस्तै विज्ञानमा पनि धेरै सहिद भए । रिप ।

— यो एक फरक कथा हो मुघलकालीन भारतको । बोले । लेखे । स्वधर्ममा उभिए । समातिए दाजुभाइ — दस र आठ वर्षका । दुइटा खाल्डा खनेछन् मुघलहरूले जिउँदै पुर्नलाई । दाजुभाइलाई दुई खाल्डामा राखेर, माथिबाट ढुङ्गा–माटो हाल्दै, पुर्दै लगेछन् । भाइ होचो, पहिले पुरियो । अनि दाइ रोएछ, काहालिएर । सोधेछन् मुघलहरूले – “रुच्छस् ? कस्तो डर हुँदो रहेछ त मृत्युको ?”, अनि दाइचाहिँले भनेछ, “म त्यो सोचेर रोएको होइन । म पहिले जन्मेँ, तर देशका लागि भाइभन्दा पहिले सहिद हुने भाग्य रहेनछ मसँग । त्यो सोचर रोएको ।”

— देश निकाला – डीएच लरेन्स ।
— देश निकाला – बर्तोल्ट ब्रेख्ट ।
— देश निकाल – हर्मन हेस्से ।
— देश निकाला – टोमस मेन ।
— देश निकाला – सलमान रुस्दी ।
— देश निकाला – तस्लिमा नस्रिन ।

मरेर, निर्वासनमा परेर, दुखेर बनाएका हुन् विचारकले स्वतन्त्रताको अकाश । दुःख, पीडा र मत्यु सहेर बनाएका हुन् साहित्यकारहरूले लेखनको स्वर्णपथ । हामी यसका उत्तराधिकारी हौँ । हामीले लेखनका नाउँमा ख्यासख्यास गर्न मिल्दैन ।

“महेशजी, एउटा बालकथा ख्यासख्यास लेखेर फल्देको थिएँ, छापिएछ । हेरेर प्रतिक्रिया पाऊँ है ?”

प्रश्न एकः उनको ख्यासख्यास पढ्नुपर्ने तपाईं हामीले ?

प्रश्न दुईः हाम्रा बालबालिकाका लागि लेखिने सामाग्री ‘ख्यासख्यास’ ?

आज ख्यासख्यास लेखिरहँदा थाहा हुँदैन । तर स्वतन्त्र लेखनलाई यहाँसम्म ल्याउन कस्ता पीडा खेपे लेखकहरूले ? कसरी ज्यान गुमाए ? कसरी देश गुमाए ?

अनि, ‘ख्यासख्यास–साहित्य’ को झारले त्यो इतिहास र सहादतलाई छोपिदिँदा (अथवा हामी आफैँले छोप्दा) दुख लाग्छ ।

मरे । देश निकालिए । यत्ति कुरा त भयो । बहुलाए पनि कि ?

बहुलाए नि ।

— विलियम कोलिन्स — बहुलाए बिचरा । पागलपनमै टेकेर स्वच्छन्दवालाई एउटा विलक्षण उडान दिए ।

— कठिन बालापन र अप्रिय अनुभवका कारण विलियम कपर बहुलाए । बहुलाउनुका धेरै कारण थिए, यहाँ विस्तार गर्दिनँ । तर, उनले स्वच्छन्दतावाद र प्रकृतिवादको एउटा आधारस्तम्भ दिएर गए । उनको पागलपन समयले बिर्सियो । उनको विचारको व्याख्या आज पनि सकिएको छैन । आजभन्दा करिब ३०० वर्षअगाडि, जङ्गलै मात्रै भएको बेला, वनफडनीले विनाश निम्त्याउँछ भनेर लेख्ने ती कवि, आज, यत्तिका दशकपछि कसरी सत्य साबित भए, त्यो भन्नै पर्दैन । द्रष्टा भनेको त्यो हो ।

— शेक्सपियको त कत्रो नाम ! सबै बुझ्छु भन्छु, केही बुझ्दिनँ । धेरैले पढे, तर पढेरै पर्गेल्ने कति भए ? पाठ्यक्रमले बाध्य नपारेको भए… थोरै । उनलाई चिनाउने किताब थियो “लेम्ब्स टेल्स फ्रम शेक्सपियर” । लेखक थिए दाजुबहिनी — चार्ल्स र मेरी लेम्ब । कालान्तरमा मेरी बहुलाइन् । कारागारमा राखियो । भेट्न जान्थे बेलाबेला चार्ल्स । र फलामका बारबाहिरबाट टुलुटुलु हेर्थे आफ्नी बहिनीलाई । शाब्दिक संवाद हुँदैनथ्यो । धेरैबेर आँसुका ढिक्का खसालेर रुन्थे रे उनी दुई । र जाने बेलामा, राता, अश्रुशक्ति आँखा लिएर घर फर्कंदा सबैले हेर्थे रे चार्ल्सलाई, र द्रवित हुन्थे रे । साहित्यको इतिहासमा, यति प्रिय दाजु–बहिनी अरू देखिएका छैनन् । एउटा पागलपनको बेदीमा टेकेर, मोती दिएर गइन् मेरी लेम्बले । मेरा पनि आँखामा आँसु आए ।

आज बुझ्दैछु, इमिली डिकिन्सनले किन भनिन् — ‘मच मेडनेस इज डिभाइनेस्ट सेन्स’ — यानि, पागलपन नै सर्वोच्च अनुभूति हो ! उनी महान् कवि हुन्, तर जीवनकालमा एउटा पनि कविता छापिएन । सायद, कविता लेख्दा पागल, बहुलाई भने होला । प्रताडना भयो होला । समाजमा निस्कन दिएनन् होला । लुकाइन् । आज खोजीखोजी पढ्नुपर्छ उनका विचार । के भनूँ ?

होइन के नै गर्छ हौ कविताले ? फेरि पनि प्रश्न त आउँछ, जागित्रजस्तो । सुन्नु त पर्छ नै ?

यिनले मरेर के पाए ?

देशबाट खेदिएर के पाए ?

जेल परेर के पाए ?

बहुलाएर के पाए ?

माखो मार्दैन कविताले ।

माखो मार्न लेखेका हो र कविता ?

— “जउन् विद्या जान्दा त्रिभूवत गुरु व्यास बनिए…” – पण्डित जगन्नाथ गुरागाइँ ।

— लेखेकै कारण सोफोक्लिजले सेनामा जागिर पाए, जर्नेल कि के भए । त्यो पनि उहिले, आजभन्दा करिब २५०० वर्षअगाडि ।

— लेखेरै मिल्टन, क्रोमवेलको शासनका हर्ताकर्ता भए ।

— नोबेल पुरस्कार पाएर लोभलाग्दा बनेका मानिसहरूको सूची हामी सबैसँग होला नै ।

— दक्षिण कोरियामा अचम्म छ । रेलमा, रेलवे स्टेसनमा, बस अड्डामा, बिसौनीहरूमा कविहरूको उद्धरण !

— एस्ट्रिड लिन्ग्रेनको कथाको वर्णन पढेर स्वेडेनको सरकारले त्यस्तो पार्क नै बनाएछ । घुम्न जाँदा बच्चा अचम्मित । पार्कको नाम — एस्ट्रिड लिन्ग्रन्स वर्ल्ड । कस्तो अचम्म !

— बीपी कोइरालाले आफ्नो एउटा डायरीमा एक ठाउँ लेख्नुभएको छ — जेलमा, अन्य सबै आस मारेको एउटा मान्छेले, लेख्न पनि नसक्नु हो भने ऊ बहुलाउँछ ।

बीपीका साथै नेल्सन मण्डेला, जवाहरलाल नेहरू र शेख मुजिबुर रहमानको जीवन हेरौँ । जेलमा बसेर जे लेखे, त्यो धेरैको जीवनदर्शन बन्यो । लेखकको जीवन दर्शन बन्यो । आफूलाई टुक्रनबाट पनि लेखेरै बचाएका हुन् ।

— नेहरूले आफ्नो टेबलमाथि अमेरिकी कवि रोबर्ट फ्रोस्टका चार लाइन रखेका थिए रे, जसले उनलाई जगाइरहन्थ्यो रे —

“यो वन सुन्दर छ, घना र गहिरो छ
तर मलाई वाचा पूरा गर्नु छ
निदाउनुपूर्व सयौँ माइल हिँड्नु छ
निदाउनुपूर्व सयौँ माइल हिँड्नु छ ।”

— अचेल एउटा अप्ठ्यारो शब्द निकालेका छन् – ‘स्क्रिप्टोथेरापी’ । यो ट्रमा पढ्ने–पढाउनेले धेरै प्रयोग गर्छन् । यसो बुझेर ल्याउँदा के रहेछ भनेको त, कुरो सजिलो रहेछ । ‘स्क्रिप्टो’ भनेको लेख्नु, र थेरापी भनेको ‘उपचार’ । यानि, लेखेर उपचार गर्नु । मनको पीडा लेख्नु । दुख लेख्नु । कुण्ठित भावनालाई लेख्नु । अभिघातलाई लेख्नु, आदि ।

भानुभक्त मावि । देवकोटा सडक । लेखनाथ सदन । पारिजात कक्ष । सिद्धिचरण नगरपालिका । बीपी राजमार्ग । रिमाल नाटकघर । धेरै कुराको नाम कवि–लेखककमा नाममा । हुन त नेताका नाममा पनि छन् । तर त्यो बेग्लै कुरा हो ।

हैन, के हुन्छ हौ लेखेर ?

टेरी टेम्पेस्ट विलियम्स नाम गरेकी एक जना अमेरिकी लेखिका दिदी छिन् । खूब सुन्दर लेख्छिन् । मोर्मोन समुदायकी । समुदाय नै कस्तो भने — जङ्गलमा बस्ने । दूरदराजमा बस्ने । त्यस्तो दूरदराजमा, “कोही बस्दैन” भनेर सरकारले परमाणु परीक्षण गरिरहँदो रहेछ । अनि विकीरणले, ती जातका मानिसहरूमा क्यान्सरै क्यान्सर । महिलाहरूमा त, स्तनको क्यान्सर हुँदै, स्तन कटाउँदै । किन यसो भयो, थाहा नपाउने । तर, क्यान्सर हुनु र स्तन कटाउनु, मोर्मोन समुदायकी महिला हुनुको गौरवमयी पहिचान भएको बोध गराइएको रहेछ । पछि पोल खुल्यो । आन्दोलन भयो नभाडामा – निषेधित क्षेत्र तोड्ने । यी दिदी पनि गइन् आन्दोलनमा । निषेधित क्षेत्र तोड्न लगाउँदा प्रहरीले समातेछ । उनले बोकेका सामानतिर देखाएर सोधेछ— के हो ? उनले भनिछिन्, “हतियार ।”

वास्तवमा त्यो कलम थियो ।

उनीहरूलाई बसमा हालेर तुरुन्तै उनीहरूको ठाउँ ‘उटाह’ पुर्याइदिएछ । माफी पनि माग्यो रे ।

के नै गर्छ हौ, लेखनले ?

विभाजित देश – भारत र बङ्लादेश । दुवैतिर एउटै मान्छेले लेखेका गीत गाउँछन् राष्ट्रगान भनेर । भारततिर जन गण मन अधिनायक जय हे । उता, बङ्लादेशतिर, अमार सोनार बाङ्ला । कस्तरी जोड्छ फाटेका मनहरू ! भत्किएका भूगोलहरू !!

के नै गर्छ हौ, लेखनले ?

— शाह नै त थिए, दरबारी । दरबारको इतिहासबाट नामेट रवीन्द्र शाह गीतहरूमा बाँच्छन् । सुनौँ न — ‘श्रद्धाको फूल चढाइदिनू आएर लासमा । नपाए फूल भैगयो तिमी, रोइदिनू आसमा ।’

— राण नै त थिए, खानदानी । हेप्नु हेप्यो समयले निरविक्रम प्यासीलाई । अन्त कतै नामोनिशान भेटिँदैन । तर मुटुमा भेटिन्छन् नि । सुनौँ त — ‘एउटा तारा डाँडावारि अर्को तारा पारि, मुटु कतै गए पनि दिल हाराहारी’ ।

एउटा वैकल्पित इतिहास बनाइदिन्छ लेखनले ।

लेखनले, भत्केको जिन्दगीका धाँजाबाट गुलाफ उमारेर बाँच्न सिकाउँछ । आँखाको दृष्टि गुमाएपछि जोन मिल्टनले लेखनमा नयाँ दृष्टि पाए । यसो सोच्छु — नलेख्ने गरेकी भए पारिजातको आधा जीवनको उद्देश्य के हुनु ?

एकदिन फोनवार्तामा कवि तुलसी दिवसलाई भनेछु, “सर, म पनि एक्लो मान्छे….”, उहाँले तत्काल भन्नुभो, “कोचाहिँ दुक्लो छ त, लाटा?”

झस्किएँ । उहाँको सधैँ उज्यालो छरिरहने अनुहार मेरोसामु आइपुग्यो । सम्झे— पूरा परिवार गुमाउनुको कत्रो चोट सहेर पनि मुस्कान, आत्मविश्वस र सिर्जना फुलाएर देशविदेश हिँडिरहनुहुन्छ ! आधार हो— लेखन ।

एक्कासि धेरै सम्झना आउँछन्, लहरै !

— कवि दिदी मोमिलालाई सम्झन्छु । अनुहारमा ज्योति नै ज्योति छ । काममा कति हो कति स्फुर्ति छ । तर जिन्दगीको कथामा… पीडैपीडा । उहाँको ज्योति–उद्यान भनेको लेखन हो ।

— पीडा कुल्चेर मुस्कान फुलाउन सिकाउँछ लेखनले । हरिभक्त कटुवाले त्यही गरे । जगदीश घिमिरेले त्यही गरे । यो कुरा कवि शैलेन्द्र साकारलाई सोधे पनि हुन्छ । कवि गीता त्रिपाठीलाई सोध्नू । किन “उदास र एक्लो उस्तै” शीर्षक राखेर पनि उनले जीवनकै गीत गाइन् ? अथवा, कवि सविता गौतम दाहाललाई यो कुरा सोध्नु ।

— चिरिएको जीवनमा लेखनको लेपन लगाएर हाँस्न सकिन्छ, र नियतिले झुकाउन खोजेको शिरलाई आत्मबलले उठाउन सकिन्छ भन्ने अलि अलि अनुभव त म र रमासँग पनि छ, यद्यपि हाम्रो लेखनको त्यसरी मूल्याङ्कन गर्न हामी काँचै छौँ ।

के नै हुन्छ र कविता लेखेर ? यसो भन्ने धेरै हुन्छन् ।

लर्तरो लेखन र निम्छरो जवाफ भयो भने यो आवाज अझै बढ्दै जाने छ ।

यसलाई परास्त गर्ने काम हाम्रै हो ।

खुट्टा दह्रो टेक्नु जरुरी छ ।

ख्यासख्यास साहित्य — रिप !