गाह्रो लेख्नु कि सजिलो ? कि बीचको ? कस्तो ?

रमाइलो छ नि यो प्रश्न ! तर उत्तर — गाह्रो छ ।

थरी थरीका लेखक आउँछन् ।

“यस्तो अप्ठ्यारो किन लेख्नुभाको ?”

“सर, अलि साहित्यिक होस् भनेर नि ।”

“नयाँ कुरा पनि केही छैन । गाह्रा न गाह्रा शब्दकै थुप्रो छ ।”

“सर, लेखकको नाम नयाँ छ नि । हेर्नुस् त ।”

झण्डै… !

सिट–बेल्ट दह्रो गरी बाँध्नुहोला । जहाज हल्लिन सक्छ ।

उपन्यासको पाण्डुलिपि रहेछ । “शिरीषको फूल” को भाषा, “नीलो चोली” को कथा । नमिल्दो पाराले यौन मिसाइएको (मिसाउनै पर्छ, नत्र चल्दैन भनेर अरे )।

पढेँ । भनौँ न — सिटामोल खाएँ ।

कविताकै पाण्डुलिपि त कति आए आए । सिटामोलको सेवन जारी छ ।

अमरकोश जिन्दावाद । तत्सम शब्दको बहार । जोडाजाड । उम्दा कविता ।

आफ्नै किशोरावस्थातिर फर्कन्छु । उहिले कविता लेख्न सुरू गरेको बेला आफैँले लेखेको रहेछु —
रक्ताम्य क्षितिज !

लाग्छ— निशाको भानु जन्मजात आततायी !

आफ्नो रजनीमय कृष्णगाथाको पोको बोकेर

बसुुधाको सुकोमल अङ्कको श्यया छोडेर … (अक्टुबर १९९६)

घरमा डायरी छ । देखाउँछु कुनै दिन । यो मेरो पहिलो प्रकाशित नेपाली कविताको अंश हो । हाहा ।

छापियो पनि । न सम्पादकले केही भने, न पाठकले । सबै अलमल । गीतगोविन्द पढेको पुस्ता । यस्तो नाथे कविता त । नबोलेरै पचाइदिए ।

अझ कनी कनी लेख्दै गएँ, हरफहरू —

१. चोटवृक्ष क्रूरतम यम आततायी
कूतो उपालम्भ सुहाउँछ तँलाई ?

२. जड चेतनका प्रतापी सम्राट्
पार्वत्य ब्याघ्रको विचित्र चाल
किन यस नीरव पर्वतमा नङ्ग्रा धस्दछ ?
नियाली जुन, प्रकृतिको होस खस्दछ । (२० मे १९९९)

सम्पादकलाई अल्मल्याएँ । आफू त अलमलमा थिएँ नै । पाठक, विशेष गरी मलाई पढाउने गुरुहरूलाई अल्मल्याएँ । प्रतियोगितामा निर्णायक अल्मलिए । पुरस्कार पाएँ ।

अनेक गरिन्थ्यो । अङ्ग्रेजीमा लेखेँ कविता — शब्दकोशबाट सबैभन्दा क्लिष्ट शब्द झिकेर माकुराको जालोले जोडेको कविता । दिन्थेँ अङ्ग्रेजीका गुरुलाई । हेर्थे । बुझिनँ त भन्दैनथे, तर बुझ्दैनथे । बुझ्ने ठाउँ भए पो बुझ्नु ! आफ्नै अङ्ग्रेजी शिक्षकले नबुझेको देख्दा मेरो अनुहारमा देखिएको विजयको चमक — पूर्ण चन्द्रमाको जस्तो । आफूलाई महाभारतको अर्जुन ठान्थेँ । कठैबरा । लास्टै स्याडिष्ट ।

त्यो बेला, कविता लेख्नुको जम्माजम्मी दुइटा प्रयोजन ।

१. गुरुले नबुझेर अनुहार मलिन बनाएको हेर्नु ।

२. साथीहरूमाझ साहित्यकार भइटोपल्नु र अलि अलि दादागिरी गर्नु । बौद्धिक नि त !

किशोरहरूमा त छ नै, यो समस्या कतिपय छन्द कविमा आज पनि विद्यमान छ । त्यसैले छन्द कविले पाठकसँग वा समयसँग संवाद गरेन भन्ने आरोप लाग्छ कताकती । छन्द कवि कवि होइन गायक भयो भन्ने आरोप लाग्छ, र उसको कविता कविता होइन शास्त्रीय सङ्गीत भयो भनेको सुनिन्छ । गद्यतिरचाहिँ यस्तो क्लिष्टता टुटेर गयो । तर अँ, क्षतिपूर्तिमा गद्य कविता समाचारतिर विसर्जित भयो । हिसाब बराबर ।

अब छन्द कविहरूले मार्छन् मलाई ! गद्य कविले कसो गर्नेहुन् फेरि । कता जानु?

कलेजमा पढाउन थालेँ । एउटा किशोरले आमा लिएर आयो । आमाले भनिन्— “सर, कविता लेख्छ । छपाउने भन्छ । सानै छस् भन्दा मान्दैन । सरले हेर्दिनुपर्यो ।”

हेरेँ । क्लिष्ट । आफ्नै किशोरकालीन अनुहार देखेँ ।

शब्द भेटेँ । भनौँ — शब्दकोश नै भेटेँ । कविता भेटिनँ । नछाप्नू भनेँ । अथवा, सरल लेखक बन्नू भनेँ ।

फेरि न आमा आइन्, न छोरो । कुरो हरायो ।

किताब छापिएछ । पछि थाहा पाएँ । आमाले बाँड्दिरहिछिन् ।

त्यो किशोर अहिले त वयस्क भइसक्यो होला । तर खोइ लेखनमा कतै देख्दिनँ । कता गयो कता । बेपत्ता ।

यो आयातीत क्लिष्टताको भूत आफ्नै मस्तिष्कबाट उडाउन २० वर्ष लाग्यो मलाई । अहिले, मेरो निकट रहेर साहित्य साधना गर्ने केही किशोर–किशोरीहरूको दिमागमा सरेको छ उक्त भूत । त्यसको झारफुक गरिरहेको छु । हेरूँ, कति समय लाग्ने हो । धामीहरूकै छेउछाउ हुर्केको पो हुँ त । कथाकार देवीप्रसाद “थापा” मामालाई थाहा छ यो कुरा । उहाँ त आफैँ धामी ।

कतिपय लेखकहरू पहिलो पुस्तकसँगै स्थापित हुन्छन्, लोकप्रिय हुन्छन् । अरू, दोस्रो, तेस्रो वा चौथोमा । कतिपय त पन्ध्रौँमा पनि स्थापित हुन्दैन् । तिनका लागि कुनै विशेष भत्ता भए कति राम्रो । जो लेखक दोस्रो वा त्यसपछिको पुस्तकबाट स्थापित भए, तिनलाई “पहिलो पुस्तक हेरौँ न” भन्यो भने, मौसम बिग्रिन्छ । कारण जेजे होलान्, तर एउटा कारण, माथि उल्लेख गरिएको अप्राकृतिक क्लिष्टता हो । त्यस क्लिष्टताभित्र नजानिँदो पारामा घुसपेठ गर्न पुगेको लेखकीय पाण्डित्य विद्यमान हुन्छ । जीवनबोधले लेखक जब झुक्दै जान्छ, आफ्नै कटमेरो विगत उसको लज्जाको विषय हुन पुग्छ । काखीमुनिको पिलोजस्तो ।

हरेक महान् लेखक, किशोरवयमा आयातीत क्लिष्टताबाट, उमेरको पहाड चड्दै जाँदा सरल हुँदै गएको देखिन्छ । अँ, उसको लेखनमा गहनता र जीवनबोध बढ्दै जान्छ । मार्खेज हुन् वा मदनमणि — तिनले सुरूमा फलामकै चिउरा दिए । मार्खेज पढिनँ भनूँ, पीपलबोटको सभामा नअटाइनेँ । पढेँ भनूँ, बुझेको भुतोभाङ केही छैन । यो कुरा १९६७ मा प्रकाशित मार्खेजको “हन्ड्रेड यियर्स अफ सोचिच्युड” पढ्ने र त्यसको ठिक २० वर्षपछि आएको उनैको “मेरोरिज आफ माई मेलाङ्कली होर” पढ्ने पाठकले सहजै बुझिहाल्छ । नपढ्नेले पनि बुझेँ भन्छ, किन भने, मार्खोजको पो कुरा छ त !

अथवा, हाम्रैतिरको कुरा गरौँ । २०३९ मा प्रकाशित “माधवी” पढ्ने, र २०५० मा आएको “मेरी नीलिमा” पढ्नेले पनि बुझिहाल्छ ।

सायद परिपक्वता भनेको क्लिष्टताबाट सरलतातिरको बाटो हो — कमसेकम साहित्यमा । अझ सिर्जनामा बढी । समालोचनाको लक्षित वर्ग पनि अर्कै छ, कुरा पनि अलि अर्कै । त्यति बुझ्दिनँ । अहिले, त्यतातिर नलागौँ होला ।
लेखक आएका आयै छन्, विविध खाले ।

गाह्रो लेख । गाह्रो बोल । माला लगाऊ । दाह्री पाल । अचम्मका ठाउँमा जाऊ । खान थालेपछि अचम्मसँग खाऊ । तर घरमा नसुनाऊ । एक दुई जनाले पागल पनि भनून् । लेखक पर्फेक्ट ।

यस्तो पनि छ एउटा बिरादरी — भ्रमितहरूको ।

गाह्रो लेखेपछि ठूलो लेखक होइन्छ भन्ने भ्रमबाट मुक्त भएपछि लेखनको वास्तविक यात्रा सुरू हुन्छ — सायद । सरलतामा जीवन घोलिएपछि जादू हुन्छ । यसले समाजसँग र समयसँग संवाद सुरू गर्छ ।

साहित्य अरू धेरै धेरै कुरा हुँदाहुँदै पनि यो मान्छेको कोमलतम तन्तुलाई त्यस्तै कोमलताले छुने उपक्रम हो । उसो भए के, साहित्यमा आक्रामक कुरा हुँदैनन् ?

हुन्छन् नि, किन नहुनु ? तर त्यस आक्रामकतामा पनि कोमल कलाको लेपन हुन्छ । सायद यो कुरा बुझाउन म सक्दिनँ । यसरी भनूँ — पुग्नु पर्ने लक्ष्य दुष्कर होला । तर बाटो सिजलो बनाउनुपर्छ । सकेसम्म पिच बाटो । नत्र मान्छे भाग्छन्, अथवा गाडी बाटैमा लड्छ । त्यही पिच बाटो हो सरल लेखन । भाषैका कारणले अवरोध नहोस् ।

तर्क गरौँ न अलिकति ।

— भानुभक्तको “रामायण” घर घरमा पढियो । राम मान्नेले पनि पढे, नमान्नेले पनि पढे । अथवा सुनेँ । अथवा “पढेँ” भन्नुपर्ने बाध्यता बुझे, र भनेँ— “पढेँ !” अरू केही नभए पनि, सीताको अग्निपरीक्षको कुरो बुझ्न त अवश्यै पढे । बिम्ब चाहिन्छ नि त, पछि । “अध्यात्म रामायण” मा वा तुलसीदासको “रामचरित मानस” मा (मध्ययुगीन भाषाका कारण) रहेको क्लिष्टता यहाँ फिल्टर भएको छ । मठबाट रामायण घरमा आइपुगेको छ — ताहाँ सीता रामका चरण तलमा शिर पनि धरी !

— देवकोटाको “शाकुन्तल” प्राज्ञिकहरूले पढेँ । पाठ्यक्रमका बाध्य भएकाले पढे । अथवा, “वरिष्ठ समालोचक” हुनुपर्ने बाध्यताका बीच पढे । आम पाठकले त्यति पढेनन् (पढेनन् नै । अपवादलाई सलाम !) “मुनामदन” आम पाठकले पढे । त्यसको भावपक्षले तानेको पनि होला । तर, त्यसले अँगालेको सरल भाषा र लोक लय मुनामदको इन्धन हो । नियात्राकार प्रतीक ढकालले एक दिन भन्नुभो— “काँकडभिट्टाबाट मान्छेलाई सोध्दै सोध्दै महेन्द्रनगरसम्म पुगौँ न । एउटा एउटा पद कण्ठ सुुनाउँदै जान्छन् । महेन्द्रनगर पुग्दासम्म पूरै मुनामदन, जनकण्ठबाटै आइसक्छ । त्यो पो साहित्य !” हातका मैला, सुनका थैला ! देवकोटाले “मुनामदनबाहेक मेरा सबै कृति जलाइदिनू” भनेर किन भने होला ? गाँठी कुरा यसभित्र छ ।

— कलकत्ता गइरहन्छु । बङ्लादेश दुईपल्ट पुगेँ । (पुगेँ भनेर सुनाएको जस्तो पो भयो कि ?) सभामा रवीन्द्र सङ्गीत । समारोहमा रवीन्द्र सङ्गीत । घोरे घोरे कोविगुरु । हुँदा हुँदा टेक्सीमा पनि रवीन्द्र सङ्गीत । जोडी तोर डाक सुने केउ ना आसे तोबे एक्ला चलो रे !

सरलताको पुल होस् । पाउमा जीवन होस् । चालमा गाम्भीर्य होस् । एउटा लेखक, व्यक्तिबाट उठेर संस्कृति बन्दोरहेछ । भानुभक्त संस्कृति हुन् । टेगोर पनि । संस्कृति नै नमान्नेलाई — भवतु सब्ब मङ्गलम ।

उसो भए, क्लिष्ट चैँ लेख्दै नलेख्नु त ?

लेख्नू । किन नलेख्नु ?

एकचोटि “फिलोसोफी एन्ड लिटरेचर” नाम गरेको एउटा जर्नलेको वस्ट्र राइटिङ, यानि भद्दा लेखनको प्रतियोगितामा प्रथम भइछिन् जुडिथ बटलर, र द्वितीय होमी के भाभा । बटरलाई पढ्दा हामीले नबुझेको कुरा गीता भाकेर भन्न सक्छु । “लैङ्गिकतामा थेसिस् लेख्ने रे ? ए, उसो भा बटरलको सिद्धान्त लगाऊ न” भन्देको पनि सत्य हो । तर उनको अरू पुस्तक त अलि पर राखौँ, उनको सबैभन्दा चर्चित पुस्तक “जेन्डर ट्रबल्स” छेउटुप्पो नबुझेको कुरा कसलाई भनूँ ? उता भाभाको कुरा पनि कम छैन । उनलाई पढ्नेहरू सायद मुस्कुराए यहाँनिरे । जति पढे पनि बुझिँदैन उनको किताब “लोकेशन अफ कल्चर ।” बुझेँ भन्न बाध्य छौँ हामी विश्वविद्यालयमा पढाउने प्राध्यापकहरू । कमसेकम म । यति कुरो इमान्दारीसँग भन्न सक्छु ।

हाम्रो आधा बुझाइमा, आधाउधी भ्रम थपेर फलाकेपछि विद्यार्थी भन्न थाल्छन् — बटलर र भाभा त साँच्चै खत्रा लेखक रहेछन् । यही त भनिरहेका छौँ गायत्री स्पिभाक पढेर पनि । उनलको “क्यान द सबाल्टर्न स्पिक ?” भन्ने एउटा प्रख्यात (कुख्यात?) निबन्ध छ, जसको चर्चा सर्वत्र छ । तर, त्यसमा छ चाहिँ के ? सो कुरा सोधियो भने, सबै भन्छन्, — सबाल्टर्नले बोल्न सक्दैनन् भन्ने कुरा छ क्या ? साँच्चै सबाल्टर्न बोल्नै सक्दैनन् त ?

होइन । र, त्यो निबन्धले त्यसो भन्दैन ।

स्पिभाक आफैँलाई काठमाडौँमा सोध्दा भनिन् — ह्या ! त्यो साह्रै भद्दा पाराले लेखिएको लेख हो ।

हामीले दशकौँसम्म व्यर्थै कनेछौँ । अन्त्यमा त, बीपीको “दोषी चस्मा” पो भएछ — जर्सापले थाहै पाएका रहेनछन् । केशवराज बेकारमै तनावग्रस्त । अँ, चेखवको नाटक “एक कारिन्दाको मृत्यु” मा त, यस्तो डरले मृत्यु नै भएको छ, एक कारिन्दाको – मालिकको तालुमा उसको थुकको छिटो पर्यो होला भन्ने भयले ।

धन्न, स्पिभाक पढेर चैँ कोही मरेको छैन अहिलेसम्म । अथवा सुनिएको छैन ।

१२ औँ शताब्दीतिर जयदेवको “गीतगोविन्दम” आयो । सबैले गाए । नगाउने अशिक्षित वा असभ्यमा गनिने भए । तर कसैले खास अर्थ बुझेन । अनि उखान बन्यो— “अर्थ न बर्थ, गोविन्द गाई ।” यो कुरा मलाई प्रतीक ढकाल दाइले बुझाउनुभएको हो । उहाँप्रति कृतज्ञ छु ।

आफ्नो लेखनको लक्षित वर्ग कुन् हो ? त्यो बुझ्नु जरूरी छ । नत्र, भाषा गोलमटोल हुन्छ नै ।

— विशुद्ध प्राज्ञिक वर्गको अनिवार्य पाठ्यसामग्री हो भने, त्यस वर्गको मान्छेले जसरी चसरी पढ्छ । सीता कसकी छोरी भन्दा रावणकी भन्ला, भलै । तर पढ्छ ।

— फगत बौद्धिक विलास हो भने पनि, त्यस्तै विलासी वर्गले पढ्छ । कुरो बुझ्ने चुप लाग्छ । आधा बुझ्ने वाचाल भएर निस्किन्छ । (म पनि समालोच बनेर पो निस्किन्छु कि, कुनै दिन?)

— आम जनमानसका लागि हो भने सबैले पढ्छन् । राम्रो छ भने टिपेर, कालान्तरमा संस्कृति बनाइदिन्छन् । छैन भने चौलानी बनाएर बगाइदिन्छन् । चौलानीकै अर्को नदी पनि बग्छ हौ, नेपालमा । हामीले बनाएको र बगाएको । देख्नुभा छ ?

— मान्न र पचाउन गाह्रो होला, तर प्रयोगका लागि कथानक भाँचभुँच, भाषा भाँचभुँच र स्वरूप भाँचभुँच गरेर अष्टावक्र बनाउने सबै लेखक फेमस भए । अँ, तिनका रचनाका चाहिँ शीर्षकमात्रै फेमस भए । कुरो धेरैले बुझेनन् ।

तर पनि, क्लिष्ट साहित्यको पक्षमा भोट दिनुपर्ने केही अवस्था भने हुन्छन् ।

— शासन तानाशाही छ । सबै कुराको सेन्सर गर्छ । जेल हाल्छ । मार्छ । तर पनि उसको आलोचना गर्नु नै छ । लेख्नु पनि छ । यस्तो अवस्थामा लेखकहरू आफूलाई वक्र बनाउँछन् । क्लिष्ट बनाउँछन् । अमूर्त बनाउँछन् । “फर्सीको जरा” हुन्छ । प्रकाशन मिति याद छ ? त्यो बेला, नेपाली इतिहासको वातावरण कस्तो थियो ?

— जब स्थापित कुनै ठूलो मान्यतालाई बुलन्द चुनौती दिनु छ भने लेखक यस्तो क्लिष्टताको बाटो हिँड्छन् । सजिलै नबुझियोस् कुरो । नत्र, उग्र प्रतिक्रिया आउँछ ।

— जब लेखक, लेख्नुको कुनै ठूलो सामाजिक सरोकार देख्दैन, अथवा, निस्सारताबाट ग्रसित छ, वा ऊ जीवनजगतका भन्दा आफैँ भित्रका उबडखाबड लेख्नमा बढी केन्द्रित हुन्छ, ऊ अफैँले मात्रै बुझ्ने शैलीमा उतारू हुन्छ । यस बेला, उसको कुरा बुझिँदैन । नित्स कतिको बुझिन्छ ? सेम्युल बेके ?

तर, पीपलबोटमा, सबै बुझेको भन्नु छ । नत्र…नत्र के ? के नै हुन्छ ? संवाद चल्छ, यस्तो —

क. अँ, साँच्चै राम्रो हो, मार्खेजको “हन्ड्रेड इयर्स अफ सोलिच्युड” । पढ्नैपर्छ, ल । मस्ट रिड ।

ख. साँच्ची, के छ त्यसमा?

क. भाइ, धेरै छ । अहिले भनेर सकिँदैन । बरू कति बज्यो ? लु, सन्दिपको बर्थडे पार्टीमा जानु छ । गएँ ।

घ. पारिजातको “शिरीषको फूल” त के हो र ? त्यसमा शङ्कर लामिछनेले लेखेको भूमिका बुलन्द छ । अहिलेसम्म झन्झनाहट हुन्छ ।

ङ. के छ त्यस भूमिकामा?

घ. त्यहीँ हेर न ।

च. अझ राम्रो त लामिछानेको “एब्स्ट्रेक्ट चिन्तन प्याज ।”

ङ. के छ, त्यसमा?

च. साँची, आज जोर कि बिजोर ? यो जोर–बिजोरले पनि दिक्कै पार्यो । सधैँ अलमल ।

गलत मान्छेका हातमा पर्यो भने सरल होस् वा क्लिष्ट — साहित्यको उस्तै चीरहरण हुन्छ । यो कुरा बुझ्न भाइरल कविको अन्तर्वार्ता पढ्नुपर्छ, शनिबार बिहानै । उनको नाम मेटेर, मेरै नाम लेखेर तपाईंको नजिकको अनलाइनमा छापिदिँदा पनि हुन्छ होला ।

प्रश्नः सबैभन्दा प्रभाव पारेका पुस्तक कुन्?

उत्तरः मेक्सिम गोर्कीको “आमा”, योगानन्दको “एक योगीको आत्मकथा”, मदनमणिको “माधवी”, “श्रमद्भवगद्गीता”, पर्ल बकको “कल्याणी धरती”, अनि “मुनामदन” (यो झण्डै बिर्सेको !)

प्रश्नः अनि, “माधवी” मा सबैभन्दा छोएको भाग कुन हो ?

उत्तरः गालाबको मृत्यु ।

प्रश्नः कारण के रहेछ ?

उत्तरः पर्सिदेखि लकडाउन खुल्छ भनेको हो र ? पत्रिकामा त्यस्तै पढेजस्तो लाग्यो ।

सभा विसर्जन भएको घोषणा गर्दछु — भृकुटीमण्डपमा ।

पहिले पहिले साहित्यको ब्याड दरबार हुन्थ्यो । लेखकहरू भाट हुन्थे ।

पहिले पहिले पढेलेखेका, सम्भ्रान्त थोरैको बौद्धिक विलास हुन्थ्यो साहित्य । आम जनता खेतबारीमा हुन्थे । आफ्नै गीत गाउँथे । आफ्नै सिलोक हाँक्थे ।

पहिले पहिले ठूला ठूला योजनाकारका मार्गदर्शन सिद्धान्त हुन्थ्यो साहित्य ।

क्लिष्ट लेख्दा पनि हुन्थ्यो । साहित्यको बजार हुँदैनथ्यो, ऊबेला ।

अचेल साहित्यका अधिकांश पाठक आम जनता हुन् । अरू पनि हुन् हुनलाई ।

अचेल साहित्यले संवाद गर्छ आम जनतासँग ।

अचेल साहित्यको विषय हुन्छ आम जनमानसको विषय ।

अचेल त झन्, साहित्य, सीमान्तकृतको र पछाडि पारिएका वर्गको हक अधिकार र न्यायको कुरा गर्छ बढी ।

मायाप्रीतिको थोरै । गरिहाल्यो भने, कलेज जानेहरूको लभ ।

अचेल साहित्यको बजार (पनि) छ । बजारमा आम जनता छन् ।

आम जनमानसले कुन र कस्तो भाषा प्रयोग गर्छ ? साहित्यको गति त्यतैतिर मोडिनु जरूरी छ ।

यानि, अलि सजिलो लेखौँ न ल ? म पनि अलि सुध्रिन्छु अब । क्लिष्टताले लास्टै गाह्रो बनाउँछ । पढ्नै सकिँदैन । जाँचै दिनु त छैन नि । घोटेरै पनि के पढ्नु साहित्य ।

सबै ठिक छ भने सिटामोल के खानु ? जुसै खाम न, हुन्न ?