कुरो लेखनको हो । उदारहण अलि बढी कविताको लिएको छु ।
एकातिर महिनाभरिका अखबारको चाङ छ । अर्कातिर महिनाभरि लेखिएका ‘कविता’ छन्, जसमा मेरा कविता पनि सामेल छन् । कविताको अध्येता हुँ, चाहिने कविता छान्नु छ, अर्को चाङ बनाउनु छ ।
अलमल ज्याद्रो छ ।
कविताभरि अखबारका पाइतालाका डोब छन् । कविताको अनुहारभरि अखबारले एसिड पोतेको छ । अखबार नै पढेको छु त यी कविता किन पढूँ — सोचिरहेको छु । मेरै कविताका पाठकप्रति पनि सहानुभूति जागेको छ । ग्लानि भएको छ ।
करिब करिब अठारौँ शताब्दीदेखि नै बहस चेलेको छ — सिर्जना सिर्जनाकै लागि हो वा जीवनका लागि पनि हो । उत्तर खोज्नेहरू अलमलमा छन् । उत्तर दिनेहरू नदीका दुई किनारमा छन् । कोही सिर्जनाका लागि भन्छन्, कोही जीवनका लागि । समालोचक पनि संभ्रममा । लेखकको नयाँ पुस्ता मझधारमा छ । यता जाऊँ कि उता ? तानातान ज्याद्रो छ ।
कुरा के हो ?
सिर्जना जीवनका लागि हो भन्नेहरूले “साहित्य जीवनको दर्पण हो” भने । तर, कल्पनाको उडान चढेर साहित्य जीवनभन्दा निकै पर र माथि पनि पुगेको कुरा सोध्दा ती चुप लागे । साहित्यको आदिभौतिक पहुँच पनि हुन्छ — त्यसबारे बोलेनन् । दर्पणले त जे छ त्यो देखाए पुग्छ । सिर्जना किन चाहियो ? यो त अखबारले गरेकै छ त । कविता किन चाहियो ?
सिर्जना सिर्जनाकै लागि हो भन्नेहरूले सौन्दर्यशास्त्रको भास नाघेर साहित्य किन इतिहास र समाजतिर लम्कियो, त्यो कुरा भनेनन् । प्रकृति नै एउटा भव्य कला हो, मान्छे किन चित्रकार हुनुपर्यो भनेर सोध्दा चुँ बोलेनन् । बर्सातको कुनै एक दिन, चौतारीमा बसेर आकाश हेर्दा भैगायो, किन चित्रकारले चित्र बनाएको हेर्नु ? चराले, झरनाले वा हावाले गीत गाइहाल्छ, मानिसले किन गायक हुनुपर्यो ? सोध्दा बोलेनन् । बोलिहकाले, अरस्तुको अनुकरणको सिद्धान्तको आड लिए । आनन्द त अन्य हजारौँ कुरामा छ नि । सबभन्दा बढी दुर्व्यसनमा छ । भन्नु पो हुँदैन । कविता किन लेख्नु भनेर सोध्दा अल्मलिए ।
कतै न कतै यी उत्तरहरू अपूर्ण छन् । बहसको धरातल चिप्लो छ ।
यो कुरा अखबारमा लेखिएको छ । पढ्दैछु ।
अखबारको कुरा कवितामा छ । अँ, कविहरूसँग एउटा चाल्नी चैँ छ है । प्रहरी निरीक्षकले भने, प्रत्यक्षदर्शीले भने, सूत्रहरूले भने, प्रवक्ताले भने, हाम्रा संवाददाताले भने आदि जस्ता कुरालाई चालेर फाल्दिन्छन् । अनि परोक्ष रूपमा ‘मैले भनेँ’ ठोक्दिन्छन् । समाचारको अन्य अंश त कविताको भाषामा रूपान्तरित छँदैछ ।
साँच्चै साहित्य समाजकै दपर्ण हो कि क्या हो ? दर्पण हो भने, त्यसले जे छ उही देखाउँछ । यहाँ सिर्जनाको कुरा कहाँबाट आयो ? हावा कुरा हो त ?
सकमालीन कविताकै चाङमा अलिकति सङ्कटापन्न कविता पनि छन् — देशदुनियाँ र समाचारसँग दुस्मनी भएजस्ता । गायत्री मन्त्रजस्तो पुर्खाको कथन नबिगारी, सासै नफेरी, लेखिरहेका छन् । थोरै छन्, तर बढो आनन्दसँग रमाएका कविहरू छन् । मेरो समयमा बाहिर उथलपुथल छ, उलटफेर छ । राजा गए, राष्ट्रपति आए । विकासक्षेत्र गए, प्रदेश आए । गाविस भन्थ्यौँ, पालिका पो भयो । डाँडाकाँडा सबै नगरपालिका भए । सभाभवन संसद भयो । पढेका–नपढेका सभासद भए, संविधान लेखे — विज्ञलाई व्याख्या गर्नै गाह्रो हुने खालको । के के भयो के के । तर यी कविहरू जूनमै रमाए, फूलमै रमाए । खुर्पे जुन, बाडुल्की, जिजीविषा, आदिम सभ्यता, सुुत्केरी सपना… छुटाइनँ है । एकलब्य, गान्धारी, अभिमन्यु, सीताको अग्निपरीक्षा र द्रौपदीको तदरूपको मिथक पनि सम्झाएँ ल । छुटेनन् । मेरा कविता पनि यहीँ छन्, भिडमा ।
केके लेख्यौँ ? जे लेखे पनि सारमा एउटा अष्टाङ्गिक मार्ग छोडेनौँ हामीले ।
१. मेरी आमा संसारकै सुन्दर र महान नारी हुन् । सधैँ हुन्छिन् । लेखिरहनुपर्यो ।
२. मेरो देश प्राणभन्दा प्यारो छ । कुनै बैरीले छोओस् त — काटिदिन्छु ।
३. तिमीले छोडेर गएपछि म जिउँदो लाश भएको छु । धोकेबाज, बरू जीवनमा आउँदै नआउनू नि ।
४. यो निष्ठुर सहरमा आँसु र पसिना पिएर कसरी बाँच्नु ? मेरो गाउँ नै प्यारो । हरियाली पिएर बाँच्न सक्छु ।
५. यो मरुभूमिबाट सम्झिरहेको छु देश र आमालाई । फर्केर कहिले पुगूँ देश, कहिले देखूँ आमा ।
६. नचोर्नू । नठाँट्नू । ठूलो होइन असल मान्छे हुनू, बाबू । राम्रो काम गरेर जीवन सार्थक बनाउनू । अँ, फूल पनि नचुँड्नू (झण्डै बिर्सेको यो कुरा) । आफू भोको बसेर पनि अरूको पेट भर्नू । ॐ !
७. कठैबरी मेरा बा । कठैबरी मेरी आमा । कत्रो दुःख छ । तैपनि डटेका छन् सन्तानका लागि । घामपानी झेलेका छन् । भगवान्का प्रतीक हुने । सम्झँदा पनि भक्कानो फुटेर आउँछ । ऐया !
८. आफूले मनपराएकीलाई अर्कोले सिन्दूर हाल्यो । कसरी हेर्नु ? आफूले मनपराएको केटो त, अरू दुइटीको भयो । राम, अब म सहन्नँ । मेटासिड !
यी कुनै पनि कुरा नछुटाई लेखेको रहेछु आफ्नै कवितामा पनि । मनमनै पुरस्कार दिइहालेँ । कुनै एउटा छुटाको भए, बार्बाद ।
यी सबैका कवितामा कविका नाम एकछिनका लागि हटाउँछु । भाव, भाषा, विम्ब र प्रतीक एउटा घडामा हाल्दिन्छु । अधिकांश एकै ठाउँ बिलय हुन पुग्छन् । छुटिँदैन त केही । कसका हुन् कसका !
थोरै, अत्यन्तै थोरै आफ्नो निजत्व बोकेर उभिन्छन् । एकाध देवकोटा, वैरागी काइँला, ईश्वरबल्लभ, कणाद महर्षि, हरिभक्त कटुवाल, अविनाश श्रेष्ठ, गोपाल पराजुली, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, मोमिला, उपेन्द्र सुब्बा, रमेश क्षितिज, मनुमञ्जिल, सबिता गौतम दाहाल, निरज भट्टराई, हेमन यात्री… युवा पुस्ताका नवीन प्यासी, शरद ऋतु आदि — आफ्नै आलोक बोकेर छुट्टै उभिएका नामहरू । एकाध…. अरू केही नाम पनि, जसलाई हृदयमा राखेको छु । “म पनि पर्नुपर्ने यो सूचीमा” भन्नुहुने कविहरूको नाम मनमा राखेको छु । यहाँ लेखिनँ । माफ पाऊँ ।
बेलायतको एउटा कुरा पढेको सम्झेँ । सन् १६४९ मा चाल्र्स १ को हत्या भयो, चाल्र्स २ फ्रान्सतिर भागे । छोटो समयका लागि बेलायतमा गणतन्त्र आयो । सबै कवि गणतन्त्रवादी भए — देश र समाज लेखे । अलिकति कविहरू कुनामा बसेर दरबारको पक्षमा, र सँगै मायाप्रेम र यौनका पक्षमा कविता लेखिरहे । नाम पाए ‘केभिलियर पोएट्स’ । तर, केभेलियर हुनुको बिल्ला चिरेर, आफ्नै रङमा उभिए केही कवि — रोबर्ट हेरिक, रिचर्ड लभ्लेस आदि । कालजयी भए । मानक भए । कारण — नयाँ र केही फरक गर्ने हुटहुटी थियो, मनमा, वचनमा, कर्ममा ।
अठारौँ शताब्दीको औद्योगिकरण र ज्ञानोदयले आकाश छोयो । सबै लेखक–कवि यतै लागे । भिडमा, कवि बनेर स्थापित भए थोरै — अलेक्जेन्डर पोपजस्ता । जोन ड्रइडेनजस्ता । अरू ? भो, नकुरा गरूम् ।
अलिकति कविहरू रुमानी भावतिरै लागिरहे । यिनै रुमानी कविताका उत्ताराधिकारीहरूले १९ औँ शताब्दीमा आजसम्मकै उच्च अङ्ग्रेजी कविता लेखे । वर्डस्वर्थ, कलेरिज, बायरन, सेली, किट्स । तर सबै आआफ्नै मौलिकता बोकेर आए । इतिहास बनाएर गए ।
फेरि अखबार र कविताका चाङको कुरा । पत्रकारिता र कविता कुन विन्दुमा छुटिन्छ ? लाइफ डेमेज ।
हेर्छु परिवर्तनका कविताको चाङ छ — हिमालभन्दा पनि अग्लो । अखबारको चाङभन्दा धेरै अग्लो । मेरै कविता पनि मिसाएँ । चाङ अझै अग्लो भयो । उचाइ (गुणस्तरको होइन, रासको) थपियो एकातिरबाट । प्रस्ट देखिन्छ, हेर्नुुस् त ।
माने, मेरा कविताचाहिँ यता पनि उता पनि ? यानि, कतै पनि नाइँ । यानि, म भ्रमहरूमा कविता लेख्छु । त्यो तपाईंमा नहोस् ।
लेन्स लगाएर हेर्छु । कुरा अष्टाङ्गिक मार्गको छ — छु्टाउनै भएन ।
१. समाजमा वर्ग छ । वर्गभेद छ । एउटै वर्गका मानिसको एकाधिकार छ । दमन छ । भोकको कुरा त कसरी छुटाउनु ? हैट ! क्रान्ति नगरी हुँदैन । वर्गभेद हटाउनुपर्छ । अनि समानता आउँछ ।
२. समाज छ । देश छ । देश र समाजका दुस्मन छन् । परास्त गर्नुपर्छ । अँ, देश र समाजका दुस्मनमा मचाहिँ कदाचित पर्दिनँ । म समानता र सत्यको पक्षमा लडिरहने एउटा योद्धा हुँ ।
३. देउताले लास्टै गरे । धर्मले सिध्यायो । दुवै आउट । अब विज्ञान । अथवा, वैज्ञानिक समाजवाद । अँ, मेरै कूलधर्मले भन्छ भने त्यो अपवाद । त्यो मिथक हो कि । मिथकीय अध्ययन जो हुन्छ — त्यो त वैज्ञानिक हुन्छ ।
४. आदिवासी, जनजाती, दलित, मजदुर, किसान वा सुदूर पहाडका गरिब छेत्रीबाहुनको हकका लागि बोल्नुपर्छ । बोलौँ । नत्र, समाजमा विभेद जारी रहन्छ । कविलेखक नबोले को बोल्ने ?
५. महासय, यसो गर्नुस्, उसो नगर्नुस् । नत्र, म विस्फोट गरिदिन्छु । (अँ, यो देश र समाज बिगार्नमा कविको हात चैँ कतै पनि छैन । जन्मँदै दूधले नुहाएर आएको हुन्छ नि कवि । नत्र, एउटा कविता लेखेपछि त — साफ । कविता वाशिङ मेसिन पनि त हो ।)
६. कवितामा विचार अलि प्रस्ट आएन भने उता — समूहमा — अलि फजिहत हुन्छ । डर कत्रो ! ढुलमुल । पछि एकेडेमी जान पनि गाह्रो ।
७. क्लोन हुनु भएन कोही कसैको । तर अँ, कुरो छोड्नु भएन — विचार ! विचार ! कुन विचार ? उही विचार — जसमाथि आफैँ, दिनैपच्छिे पानी खन्याइरहेका छन् नेताजी । अनि क्लोन नहुने चैँ केमा ? आवरणमा कि ? केमा ?
८. महलमा बस्नू । सहरमा बस्नू । सुख–सुविधा वर्जित छैन । खानमा रोकटोक भएन । लाउनमा पनि । कुरा गरिबीको नछोड्नू । काठको बाकस बिर्सन भएन । बस् ।
फेरि मिसाउँछु डालोमा — कविताका कथ्य, उपकरण, विम्ब, प्रतीक, भाषा…सबै । धेरैजसोका शरीर छुटुयाउँछु जसोतसो । प्राण छुटिँदैन । रावण — दस अनुहार, एक प्राण । प्राण छुट्याउँछु, शरीर छुटिँदैन — कलि बसेका परीक्षित राजा ।
अँ, समुद्र मन्थनबाट केही मोती पनि निकाल्छु — आफ्नै अनुहार, ढप र मौलिकता बोकेका भव्य नाम । छन् नि — गोपालप्रसाद रिमाल, दुर्गालाल श्रेष्ठ, भूपी शेरचन, जसराज किराती, श्यामल, विमल निभा, भूपिन, विनोदविक्रम, र अन्य केही — मनमा राखेको छु । अँ, हामी पनि यहाँनेर पर्नुपर्ने भन्नेलाई पनि राखेको छु । थुप्रै हुनुहुन्छ । यहाँ लेखिनँ । माफ पाऊँ ।
दुवैतिरका चाङबाट कति थोरै नाम निकालेछु बाइ ! “सबै कवि नेपाली, सबै नेपाली कवि” भएको बेला किन यति थोरै नाम निकालेँ । अलि कन्जुस छु, पक्कै । नत्र, एकेडेमीले सङ्ग्रह निकाल्दा कति धेरै अटाउँछन् । अँ, केही आउट पनि हुन्छन् । अनि पीपलबोटमा गुनासो सुरू हुन्छ — “मलाई छुटाएछन् ।”
छटपटी छ । तपाईंलाई पनि छ होला । सिर्जना भन्यौँ — सर्जक भन्यौँ । कुरा उस्तै, कलेबर उस्तै ।
कहाँ आयो सिर्जना, बुझिनँ ।
कसरी सर्जक — त्यो पनि बुझिनँ । आफ्नै कलमको पनि निभ भाँचूँ कि जस्तो लाग्छ । शङ्कर लामिछाने सम्झन्छु । शिर झुक्छ ।
विश्वतिर फर्कन्छु ।
घरमा एउटा सानो पुस्तकालय छ । मनमा पनि झन् सानो अर्को छ । हेर्छु, सम्झिन्छु ।
गालिब, रुमी, साहिर लधियानवी, खलिल जिब्रान र पाब्लो नेरुदाले, सारमा, प्रेम लेखेका हुन् । प्रेममा भन्न बाँकी के छ र ? भन्नेलाई एउटा जवाफ दिएर गए । नतमस्तक छु ।
भत्काउनु, र भत्काएको ठाउँमा नयाँ केही बनाउनु पनि सिर्जना हो । पेट्राकलाई भत्काएर शेक्सपियर आए ।
सोफोक्जिलाई भत्काए — चेखभ र युजिन ओ निल आए । टोल्स्टोयलाई भत्काए, पुस्किन आए । आफैँलाई दशकैपिच्छे भत्काउँछन् — इन्द्रबाहादुर राई बन्छन् । मनप्रसाद सुुब्बा बन्छन् । फेरि नतमस्तक छु ।
आँट चाहिन्छ र ज्ञान पनि ।
मनमा बर्तोल बे्रख्ट आउँछन् । विलियम कार्लोस विलियम्स आउँछन् । अज्ञेय आउँछन् । फेसनवाला नाम चैँ लिइनँ ल । भिडतन्त्रले देवत्वकरण गरेका नाममा विश्वास छैन । भिडको मनोविज्ञानमै विश्वास छैन — कमसेकम सिर्जनाको हकमा ।
फेरि ब्रेख्ट । फेरि विलियम्ल कार्लोस विलियम्स । पुस्किन पनि । प्रगतिशील कविता र कलाको उचाइ त्यहीँ छ । यो कुरा कवि श्यामललाई राम्ररी थाहा छ, सोध्नू । यहीँ छ कविताको उत्कर्ष । यिनका कविता हल्ला नगरी बाँचेका छन् । तर, हृदय र मस्तिष्क दुवैलाई एकैचोटि भेदन गरेर बाँचेका छन् । एकले अर्काको न कुरा चोरे, न कलेबर । न अरूबाट केही लिए । आफैँलाई पनि दाहोर्याएनन् । आफ्नै विम्ब पनि चोरेनन् । समाजकै कुरा गरे, न्यायकै कुरा गरे । भोकका कुरा ब्रेख्टले कसरी गरे — “मदर करेज” भन्ने नाटकमा ? एक अपाङ्ग, एक गरिब र एक महिलाको सहादत । प्रगतिशील साहित्यमा यस्तो लेखन — फेरि सम्भव छ वा छैन, थाहा छैन । सम्भव होस्, कामना गर्छु ।
तर कस्सम, बडो अलमलमा छु ।
यिनले “जस्तो देखेँ त्यस्तै लेखेँ” भनेनन् । समाजको दर्पण हौँ भनेनन् । अँ, मैले बोलिनँ भने कुरा छुट्ला, अनि विभेद कायम रहला भनेर हतारोमा सोचेनन् । विभेदकै कुरा गरे, अन्याय कै कुरा गरे । तर कविताजस्तो कविता लेखेर । नाटकजस्तो नाटक लेखेर ।
कुरा अलि जटिल छ ।
थ्योडोर एडोर्नोलाई सम्झन्छु — हामीले चिन्नुपर्ने, जान्नुपर्ने एक जना विद्वान् सिद्धान्तकार । उनी भन्छन् — समाजको कुरूपतालाई हल्ला गरेर देखाउनु कला होइन । त्यस कुरूपतालाई आफ्नो कलाको कथ्य र स्वरूप दुवैमा, नियोजित ढङ्गले कुँदिएको कुरूपतामा देखाऊ । त्यो कला हो ।
अब यहाँ कुन कलाको कुरा गर्नु ?
साहित्य समाजको दर्पण होइन । दर्पणभन्दा अलि परको हो, अलि माथिको पनि हो ।
‘त्यसपछि फुलेन गोदावरी’ भन्ने कथामा फुर्तीका सथा लेखेको थिएँ — एउटा योद्धाले आमा र छोरी दुवैलाई एकै प्रहारले मार्यो ।
विमोचनका वक्ताहरूले सोध्नुभयो — यस्तो वीभत्स किन ?
मैले भनेँ — विद्या कसम, यस्तो घटना घेटेको हो । (घटेको हो पनि । मेरो परिवारलाई थाहा छ ।)
अनि मलाई गुरु अभि सुवेदीले प्रेमले सम्झाउनुभयो — महेश, जस्तो घट्यो त्यस्तै लेख्ने सर्जकको काम होइन । त्यो क्यामेरको काम हो, पत्रकारिताको काम हो । सिर्जनामा कुराहरूलाई विवेकले ठम्याउनुपर्छ ।
कम्ति लाज लागेन । तर केही सिकेँ ।
वाल्टर बेन्जामिनलाई सम्झन्छु । एक प्रगतिशीलन चिन्तक । उनी भन्थे — अथरियल मेडिएशन — यानि, लेखकीय विवेकद्वारा हस्तक्षेप । अर्थात्, जस्तो छ त्यस्तै लेखेँ होइन । ‘जस्तो छ’ बाट टिपेर, ‘जस्तो हुनुपर्छ’ — त्यतातिर उन्मुख भएर लेखेँ भन्न सक्नुपर्छ । यसो भनेर फेरि उपदेश दिने होइन ।
अखबारको चाङ छँदैछ । खबर आयो । कविता आयो । पर्सिपल्ट त्यो समाचार झुटो रहेछ भनेर आयो । कविता के भयो त अब ? अथवा, अस्तिको खबरमा नायक भनिएको, आजकोमा खलनायक बनेर आयो (नेपालमा सम्भव छ नि) । त्यस नायकको कविता के हुन्छ अब ? बाघ आयो, अखबारमा । बाघको कविता लेखिहालेँ । पर्सि खबर आयो— बिरालो रहेछ ।
मैले समाचारलाई पाक्न, उम्लन, भर्सन दिएँ वा दिइनँ ? अलि दूरीबाट तटस्थ भएर हेरेँ वा हेरिनँ — सद्दात हसन मन्टोले कथामा गरेजस्तो (पढ्नुभाको छैन भने पढिहाल्नुस् उनका केही कथा!) । एउटा सामान्य समाचारमा सार्विक केही खोजेँ वा खोजिनँ ? ‘उत्तेजनमा आएछु के’ भनेर हुन्छ त ? कविता त गइसक्यो त फेसबुकमा । भाइरल छ । ‘कडा’ भन्ने कमेन्ट आइसक्यो । उता समाचार बाघबाट बिरालोमा पुग्यो । कविताको मृत्यु । राम नाम सत्य हो ।
मनमा प्रश्नोत्तर छ, ज्याद्रो ।
प्रश्न — उसो भए प्रेम, आह्लाद, यौन, सुखदुःख, सपना, फूल र जूनका कविता नलेख्नू ? आफैँलाई सोध्छु ।
उत्तर — लेख्नू । तर नयाँ केही कुरा, कोण वा आयाम छ भने । नत्र, भो, नलेख्नू । लेखिसके । छ भने लेख्नू । पाब्लो नेरुदाहरूका लागि समयको ढोका खुला छ त । आफ्नै उत्तर, आफैँलाई ।
प्रश्न — उसो भए, भोक, अन्याय, अत्याचार, वर्गभेद, छुवाछुत, भ्रष्टाचार आदिका कुरा नलेख्नू ?
उत्तर — लेख्नू । तर नयाँ केही कुरा, कोण वा आयाम छ भने । नत्र, भो, नलेख्नू । लेखिसके । छ भने लेख्नू । लुसुन र गोर्कीहरूका लागि समयको ढोका खुला छ त ।
लास्टै बोर चैँ नगर्दा राम्रो कि !
प्रश्न — नयाँ कुरा त के हुन्छ र लेख्नु ? नयाँ कुरा भेटिन्छ त ?
उत्तर — करोडौँ ब्रह्माण्ड छन् । एउटा ब्रह्माण्डको आधीको आधीको आधीको आधीको…एउटा सूक्ष्म भागको कुरा पनि आइसकेको छैन लेखनमा । प्रकृतिको पूर्ण रहस्यको आधीको आधीको आधीको आधीको…एउटा सूक्ष्म भागको कुरा पनि आइसकेको छैन लेखनमा । जति आयु सृष्टिको इतिहासको भयो, त्यसको आधीको आधीको आधीको आधीको… एउटा सूक्ष्म भागको कुरा पनि आइसकेको छैन लेखनमा । त्यसै सकियो भन्दिन मिल्छ ?
विज्ञानको सिमाना नाघेर हिँड्छ लेखक, कवि, कलाकार । नयाँ कुरा सोच्ने वा देख्ने द्रष्टा हो ऊ । ऊ यति कमजोर हुनुहुँदैन — कि उसले थोत्रे कुरा टिपेर आफ्नो सीमाको उद्घोष आफैँ गरोस् ।
अन्तिम प्रश्न — (यो चैँ साँच्चै अन्तिम ल । बोर भइसक्यो ।) अनि कि, यता पनि भव्य कवि छन् उता पनि । यता पनि भव्य शैली छन् उता पनि । कतातिर लाग्नु ? कसको जस्तो लेख्नु ?
उत्तर — सबैलाई बुझ्नू, चिन्नू । उता पनि नलाग्नू, यता पनि । आफैँतिर लाग्नू । तपाईं आफैँजस्तो यो संसारमा कोही पनि छैन ।
ऊजस्तो पनि होइन । यो जस्तो पनि होइन । पुरानो पनि होइन । हो, यहीँ छ लेखक भएर उभिनुको सबैभन्दा ठूलो चुनौती ।
यसै चुनौतीको पहाड उक्लनु, लेखक हुनु हो ।
लेख्ने नै हो त ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।