लेखनका कुरा धेरै हुन्छन् । विधागत लेखनका प्रशिक्षण र विश्लेषणले संसार भरिएको छ । तर लेखनपूर्वका कुरा विरलै पढ्न पाइन्छ । कमजोर घडेरीमा घर बनाइयो भने लड्न सक्छ । लेखनको नियति पनि उही हो । त्यसैले, लेखनपूर्वका कतिपय कुराको विवेचना गर्नु जरूरी छ ।
जो लेख्छ, त्यही नै लेखक हो भन्नु गलत हो, जसरी गीत गुन्गुनाउने सबै गायक हुन् भन्नु गलत हो । लेख्ने सबैले लेखक हुनुको पहिचान वा गौरव कहाँ पाएका हुन्छन् र ? वास्तवमा, लेख्ने अभ्यास गर्दा गर्दा आफूलाई खारेका, आफ्नो विशिष्टता हासिल गरेका तथा आफूलाई नयाँ कुनै दृष्टिको जन्मदाता बनाइसकेका मानिसहरू “लेखक” कहिलन्छन् । यो एउटा उँचो प्राप्ति हो । मिचेल फुको भन्छन् — लेखक भन्नु त एउटा छापजस्तो हो । उसको व्यक्तित्व नै धेरै कुराको प्रमाणीकरण हो ।
लेखक बनेर स्थापित भएकाहरूका दृष्टिले देशलाई बाटो देखाउँछ, सभ्यता सिँगार्छ, अल्मलिएका मान्छेहरूलाई मार्गदर्शन गर्छ, र जीवन र जगतको सार आम मान्छेलाई बुझाउँछ । यस्ता कुनै पनि लक्षण नभएको मान्छे, जीवनभर लेखेर करोडौँ पाना भरिसकेर पनि लेखक हुँदैन । त्यसैले, लेखक बन्नु भनेको पनि कठोर तपस्यापश्चात् एउटा सिद्धार्थले एक प्रकारको बुद्धत्व प्राप्त गर्नुजस्तै हो ।
लेखकीय मार्ग
पढेलेखेका प्रायः सबै मान्छे केही न केही लेख्छन् । नपढेकाहरू बोल्छन् । जसरी पनि, अभिव्यक्ति त आइरहन्छ । अभिव्यक्तिहरू कस्ता हुन्छन्, त्यसको सम्बन्ध हाम्रो बुझाइ र सिकाइसँग रहन्छ । हाम्रो अभिव्यक्ति कुनै सूचना हो कि, स्वभावजन्य प्रतिक्रिया हो कि, विवेचना हो कि, आफ्नो मतसहितको दृष्टिकोण हो कि, वा कुनै निचोड हो — यस कुराको हेक्का राख्नुपर्दछ ।
सिक्ने क्रममा हामी विभिन्न तहबाट गुज्रिन्छौँ । हाम्रो सिकाइको सबैभन्दा तल्लो तह भनेको कुनै सूचना वा तथ्यको सिकाइ हो, जसलाई हामी ग्रहण गर्छाैँ र सम्झनामा राख्छौँ । यसमा हाम्रो मस्तिष्कको सक्रिय सहभागिता हुँदैन । ऊ फगत एउटा भाँडो हुन्छ । र, त्यस तथ्य वा सूचनाको श्रोत आफूभन्दा बाहिर हुन्छ — गुरुमा, पुस्तकमा, ज्ञानका कोशहरूमा, सञ्चारमाध्यममा, जगतमा । अधिकांश मानिसहरू यिनै सूचना वा तथ्यलाई नयाँ भाषा दिन्छन् र “लेखन” गरेको ठान्छन् । खासमा यो पुनरोक्तिबाहेक केही पनि होइन ।
दोस्रो तहमा हामी आफूले पाएका सूचनामाथि प्रश्न गर्छौ । त्यसको सत्यता वा वैधानिकता खोज्छौँ । ग्रहण गर्नुपूर्व त्यसको परख गर्छौैँ । अनिमात्रै ग्रहण गर्छौं । यसो गर्न थाल्दा, हामीमा आलोचनात्मक चेतको विकास हुन थालेको बोध हुन्छ ।
तेस्रो, हामी सूचना वा तथ्यलाई सप्रसङ्ग हेर्न थाल्छौँ । परिप्रेक्ष्यहरू केलाउँछौँ । तथ्यका विविध पक्ष बुझ्छौँ । र छ भने वैकल्पित सत्यको पनि उत्खनन् गर्छौँ । यसो गरिरहँदा हामीमा अनुसन्धानात्मक चेतको विकास हुन जान्छ । साथै, यसले हामीलाई विविध विचारहरूको बीचमा लगेर उभ्याउँछ ।
चौथो चरणमा हामी, विविध सूचना, अनुभव, मत र दृष्टिका बीच उभिएर आफ्नो पृथक वा वैकल्पित बाटो पहिचान गर्न सफल हुन्छौँ । यतिखेर हामी दृष्टिका निर्माता हुन्छौँ । माथिका तीन प्रक्रियाबाट हाम्रो दिमागमा विकसित भएका सोचहरूमाथि पुनः ममन् गर्छौँ, र संसारलाई भन्नु पर्ने कुनै नयाँ कुराको निर्माण गर्छौँ । नयाँ शैलीको पनि निर्माण गर्छौं । यस तहबाट निस्किएका अभिव्यक्तिले हामीलाई साँचो अर्थमा लेखक बनाउने हो ।
एउटा कुरा । माथिका सबै तहबाट हामी गुज्रिए पनि हाम्रो मस्तिष्कको तीव्रताका अनुसार हामी कति छिटो चौथो तहमा पुग्छौँ, त्यो भन्न सकिँदैन । कोही कलिलै उमेरमा चेतनाको त्यो उच्चतामा पुगका देखिन्छन् भने कतिवय वयोवृद्ध लेखकहरू पहिलो चरणमै रुमल्लिइरहेका भेटिन्छन् ।
उल्लेखित सबै तहका मानिसहरू लेख्छन् । तर, लेखनको नियति पनि तहअनुसारकै हुन्छ ।
लेखनको व्योम
आफ्नै लागि लेख्छौँ । सिरानीमुनि राख्छौँ अथवा कसैले नदेख्ने गरी डायरीका पानामा च्यापेर राख्छौँ । विघ्नै भए प्रेमपत्रमा समावेश गर्छौँ । स्वयंका लागि लेखक हुन्छौँ ।
कसो कसो बाआमाले थाहा पाउनुहन्छ । अगेनाका डिलमा वा बैठक कोठामा बसेर भन्न लगाउनुहुन्छ । साथीभाइ वा छिमेकी आएको बेला भन्न लगाउनुहुन्छ । हिच्किलाउँदै, लजाउँदै सुनाउँछौँ । घरका लेखक हुन्छौँ ।
अलि अलि हल्ला हुन्छ । टोलमा, सभामा वा मन्दिरमा पढ्न लाउनुहुन्छ । स्कुलका प्रतियोगितामा भाग लिन्छौँ । टोल वा समाजका लेखक हुन्छौँ ।
हौसला बढ्छ । पत्रपत्रिकामा आउँछौँ । प्रतियोगितामा पुरस्कार पनि आउँछ । क्षेत्रले हाम्रो लेखक भन्छ । राष्ट्रका लेखक हुन्छौँ । विश्वमै लेखकहरूको विरादगीमा मिसिन पुग्छौँ ।
यो आफूबाट विश्वतिरको यात्रा निरन्त विस्तारिक हुँदै जाने लेखकीय व्योम हो । कहिलेकाहीँ, राष्ट्रिय आकार लिइसकेका र वैश्विक आकारतिर उन्मुख हुन अपेक्षित लेखकले, लय गुमाएर पुनः टोलका, जातका वा चुल्होचौकोमा लेखक हुन पनि पुगेका छन् । यो कुरा मनमा लिनु जरुरी छ ।
किन लेख्ने ?
किन लेख्ने भन्ने प्रश्न त्यति सरल हुँदैन । यसका उत्तर विविध हुन सक्छन्—
१. आयो, लेखेँ — टेनिसनले ९ वर्षको उमेरमा कविता लेखेका थिए । यसैबारे उनले पछि लेखे— कविता आयो, त्यसैले लेखेँ । के वा कस्तो आयो, त्यो कुरा यस कोटीको लेखकहरूले हेर्दैनन् ।
२. प्रेरणाबाट लेखेँ — कुनै भव्य लेखक वा कविलाई पढेपछि प्रेरणा जाग्छ, जाँगर चल्छ । त्यस्तै हुन्छु भन्ने लाग्छ । अथवा, सिर्जनशील साथीभाइबाट पनि यस्तो प्रेरणा आउँछ । लेखिन्छ ।
३. नाम वा गौरवका लागि लेखेँ — धेरैजसो लेखकको उत्तर हो यो । भन्नलाई देशको, भाषासाहित्यको, संस्कृतिको वा सभ्यताको सेवा गर्ने हेतुले लेखेँ भन्छन् ।
४. आर्थिक प्रयोजनका लागि लेखेँ — लेखनलाई पेसा बनाउनेहरूको अभिव्यक्ति हो यो । व्यवसायिक लेखन एक पेसा हो । यसो हुनुमा कुनै समस्या छैन ।
५. मेरो प्रतिभा उजागर गर्न लेखेँ — धेरैको मौन उत्तर । तर लेखनमा गायन वा चित्रकलामा भन्दा फरक एउटा कुरा छ । यहाँ विचारको नवीनता, सार्थकता वा भव्यताको पनि जाँच हुन्छ । प्रतिभा आयो लेखेँ भन्नेहरू, धेरैजसो अवस्थामा बलेँसीमा झरेको पानी हुन पुग्छन् ।
६. मसँग भन्नलाई नयाँ कुरा वा दृष्टि छ, त्यसैले लेखेँ — विरलै सुनिने कुरा । म यसै बुँदाको पक्षमा मतदान गर्न उभिएको छु । भन्नलाई नयाँ कुरा वा दृष्टि हुनु भनेको के हो ?
(क) अध्ययन वा अनुसन्धानले दिएको, तर अरूले थाहा नपाएको, जीवन–जगतका लागि उपयोगी कुनै ज्ञान वा यथार्थ साझा गर्नु ।
(ख) चिन्तन, मनन वा ध्यानबाट विकसित कुनै नयाँ तर सार्विक सत्य, दृष्टि वा ज्ञानलाई सार्वजनिक गर्नु ।
(ग) अनुभवबाट पाएको ज्ञान वा दृष्टि जो अहिलेसम्म सतहमा आएको छैन, तर सतहमा ल्याउनाले मानवमात्रलाई फाइदा गर्न सक्छ भने त्यसको प्रकाशन गर्नु ।
(घ) अनुभव वा अध्ययनबाटै पाएको, तर स्थापित भनिएका “सत्य” वा “स्वाभाविक” व्यवस्थाको विपरीतको दृष्टि वा ज्ञानलाई उजागर गर्नु । यसले, अघि “सत्य” वा “स्वाभाविक” भनिएका कुराले छोपेको यथार्थ, र त्यसका कारण पुरिएको न्यायलाई सतहमा ल्याउँछ ।
(ङ) मानिसको ध्यान नपुगेको तर अत्यावश्यक पक्षको उद्घाटन गर्नु ।
(च) हराउन लागेका, नेपथ्यमा परेका, सङ्कटापन्न हुँदैगएका तर निर्दोेष र हितकारी रहेका मूल्यहरूको संरक्षण, हस्तान्तरण, पुनरव्याख्या वा नवीकरण गर्नु ।
(छ) सुख, दुख, भय, संवेदना, उत्साह, प्रेम, निराशा, विक्षिप्तता, क्रोध, दुस्मनी आदिजस्ता मानवीय स्वभावका कारण हुने असन्तुलनलाई नयाँ, मौलिक, कलात्मक र मर्मस्पर्शी ढङ्गबाट सम्वोधन गर्नु ।
(७) मृत्यु, व्याधि, गरिबी, अन्याय, अत्याचार, भेदभाव, असमानताजस्ता प्रतिकूलताको सामना गर्न, समन गर्न वा सफाया गर्न मानवमात्रलाई ऊर्जा दिने हेतुले कलात्मक र प्रेरक अभिव्यक्ति दिनु ।
(८) विलक्षण सौन्दर्य र आनन्दका श्रोतहरूको मौलिक चित्रण गर्नु ।
लेखकका तयारी
यी मापदण्ड हेर्दा वा पढ्दा पनि कसैले आफू लेख्ने मात्रै हो कि सही अर्थमा “लेखक” पनि बन्ने ल्याकत राख्दछ, त्यो ठम्याउन सक्तछ । साँच्चीकै लेखकीय ध्येय र प्रतिबद्धता छ भने कसैले पनि फगत “लेख्ने मान्छे”बाट “लेखक” हुने मार्गको यात्रा सुरू गर्न सक्तछ । त्यस तयारीका आफ्नै पाटा छन्, आफ्नै अनिवार्यता छन् ।
१. संसारसँग भन्नलाई वा विनिमय गर्नलाई आफूसँग कुनै नयाँ, सार्थक वा वैकल्पित दृष्टि वा दृष्टिविन्दु छ ? छ भने, त्यसलाई स्थापित गर्न लेखक बन्ने हो । एक, दुई, तीन वा त्यसभन्दा पनि बढी कृति आएपछि त्यो दृष्टि स्थापित हुन्छ । बजारमा कतिपय लेखक यस्ता छन्, जसका दर्जर्नौं कृति आएर पनि कुनै लेखकीय कोण, दृष्टि वा विचार स्थापित भएन । केही लेखक यस्ता पनि छन्, जसको एउटै मात्र किताबले पनि सभ्याताको जग बलियो बनाइदिएको छ । किताबको सङ्ख्याले सभ्यतालाई निको गर्दैन ।
२. लेखकको मूल अस्त्र भाषा हो । कमजोर भाषा भएका लेखक सधैँ अरूको वैशाखी टेकेर उभिन बाध्य हुन्छन् । तिनीहरू सम्प्रेषणीय हुनका लागि अरूमै भर पर्छन् । प्रुफ रिडर वा सम्पादकले कस्तो विचारको रङ दल्यो, थाहै पाउँदैनन् । ती काग हुन्, कोइलीले कतिखेर तिनको गुँडमा अण्डा पार्यो, थाहै पाउँदैनन् । त्यसैले, भाषा शुद्ध, सुन्दर र प्राञ्जल बनाउनु जरुरी छ । अधिकभन्दा अधिक सुन्दर पुस्तक पढ्नु भाषा निर्माणको एकमात्र अचुक अस्त्र हो । शब्दकोश, व्याकरण, तालिम आदि भनेका सहायक मात्र हुन् ।
३. आफू कुन विधामा जाने, त्यो तय हुनुपर्छ । एकभन्दा बढी विधामा पनि जान सकिन्छ । तर, उक्त विधाको सटिक सैद्धान्तिक ज्ञान, इतिहास, विकासक्रम, प्रयोग र त्यस विधाका अन्य लेखकहरूले लेखेको साहित्य आदिको न्यूनतम ज्ञान जरूरी हुन्छ । नत्र लेखकले सधैँ नयाँ लेखेँ भन्ठान्छ, तर पूनरावृत्तिदोषबाट ग्रसित भइरहन्छ ।
४. लेखन रिक्ततामा उभिँदैन । लखेनसँग समाज, इतिहास, विज्ञान, संस्कृति, दर्शन आदि अनेक पाटा उभिन्छन् । सबै कुरा त सम्भव नहोला, तर लेखकले आफ्नो लेखनको आधार बनाएको ज्ञानकोशका न्यूनतम पाटा भने जानेकै हुनुपर्छ । टिएस इलियट भन्थे— युरोपमा बसेर लेख्ने लेखकको मस्तिष्कमा युरोपको मस्तिष्क हुनुपर्छ । परिवेशको जानकारी नराख्ने लेखकले आफूलाई नवीकृत गरिरहन सक्दैन । उसको लेखन कागती निचोरेजस्तो हुन्छ — एक वा दुई पल्टसम्म रसै आउला । त्यसपछि तितो झोल वा छोक्रा आउँछ ।
५. अन्य सबै कुरामा एउटा लेखक सामान्य होला, तर चिन्तन, अध्ययन र चेतनामा ऊ औसतभन्दा धेरै माथि हो । तर यो उचाइ निरन्तरको साधना भएन भने पुनः खसिजान्छ । त्यो उचाइमा टिकिरहन अथवा अझ माथि जान धेरै कुराको त्याग गर्नु जरूरी हुन आउँछ ।
६. लेखकसँग भन्नलाई आफ्नै मात्रै कुरा त कति पो होलान् र ? साथै, उसको आफ्नो कुरा किन सुन्ने वा पढ्ने जगतले ? लेखक धेरैजसो अवास्थामा अरूको कुरालाई अभिव्यक्ति दिने सिर्जनशील माध्यम बनिरहेको हुन्छ । त्यसैले, एउटा लेखक एउटा राम्रो मनोविज्ञ पनि हो । र, कसैको सुखदुखको कुरा गरिहँदा त्यस व्यक्तिगत सुखदुखलाई सार्विक सुखदुखको रूपमा चित्रण गर्ने सम्भावना छ वा छैन, एउटा सचेत लेखकले त्यो कुरा हेर्नु जरुरी छ । नितान्त वैयक्तिक कुरामा संसारको चासो उत्तिकै हुन्छ भन्ने कुरा गलत हो । संसार व्यस्त छ, र आफ्नै धुनमा छ ।
७. एउटा लेखक कुनै न कुनै सभ्यता र संस्कृतिको भूगोलमा उभिएको हुन्छ । त्यस सभ्यता र संस्कृतिका केही परिचायक स्वभाव हुन्छन्, मान्यता हुन्छन् । तिनको न्यूनतम जानकारी एउटा लेखकमा हुनु जरूरी हुन्छ । आफू उभिएको भूगोल, आफूले मानेको धर्मदर्शन, आफ्नो भूगोलको इतिहास र आफ्नो समाजको स्वभाव आदिसँग ऊ परिचित हुनु जरुरी छ ।
स्थापति सत्य, भनिसकिएका कुरा, निर्विवाद मत अथवा वैज्ञानिक तथ्यलाई नयाँ भाषा वा शैलीमा जोडजाड पार्नु व्यवस्थापन हो, सिर्जना होइन । यस कुराको सचेतता नितान्त जरुरी छ ।
भाइबहिनीहरू हो ! भाषामा आत्मनिर्भर बनौँ । अशुद्ध भाषा पटकपटक लेखिरहने लेखकले जनविश्वास गुमाउँछ । आफ्नो मातृभाषा हो, सिक्न कुनै ठूलो महाभारत छैन । भाषाप्रति अनुराग उत्पन्न होस् । अनि सिक्ने हजार बाटा आफैँ फेला पर्छन् । आफूले लेखेको देखाउने एउटा आत्मीय समूह बनाउनू । निर्मम आलोचना खप्ने र सहने छाती बनाउनू । सधैँ तारिफ गर्नेसँग आलोचनात्मक चेत हुँदैन भन्ने कुरा बुझौँ । तिनको भुलभुलैयामा नपर्नू ।
तपाईं नयाँ पुस्तकको तयारीमा हुनुहुन्छ ? त्यसो हो भने मेरो एउटा सुझाव छ । अचेल सामाजिक सञ्जालको जमाना हो । पुस्तकाकारमा आउनुभन्दा अगाडि आफूलाई सामाजिक सञ्जालबाट परिचित बनाउनुहोस् । नामै नसुनिएको लेखकको किताब जाँदैन अचेल । सञ्जालमा आफ्ना सिर्जना राख्नु र आफ्ना लागि परिचियको एउटा भूगोल वा विरादरी बनाउनु नराम्रो कुरा होइन । यसो भयो ने, तपाईंको पहिलो पुस्तक आउँदा, त्यस सञ्जालमा रहेका साथीहरूको सहयोगमा देशभरि सूचना पुग्छ, चासो बढ्छ । नयाँ लेखकलाई स्थापित हुन सजिलो हुन्छ । सिधै पुस्तक आकारमा आउनु जोखिमपूर्ण छ ।
पत्रपत्रिकाले छापेनन् ? सञ्चारमा अटाइएन ? तपाईं आफैँ सञ्चार हो । आफैँ मिडिया, अचेल । त्यसैलाई प्रयोग गर्नुहोस् । अँ, गुणस्तर भने निरन्तर उक्लँदै जानुपर्यो ।
पहिलो पुस्तक कस्तो आयो ? पहिला पहिला लेखक थोरै हुन्थे । एउटा लेखक पहिलो पुस्तकमा कमजोर रूपमा देखिए पनि ऊ क्रमशः कसरी श्रेष्ठताको उकालो चढ्दैछ, त्यो चियो गर्ने पाठक भेटिन्थे । अचेल, लेखकको सङ्ख्या अतिशय बढेको छ । श्रेष्ठ लेखक पनि धेरै छन् । त्यसैले, कमजोर अनुहार लिएर आएको लेखकलाई कुरिरहने धैर्य पाठकसँग हुँदैन । त्यसैले, प्रवेश नै भव्य बनाउनुपर्छ । त्यसका लागि लेखन, पुनर्लेखन, परिष्कार तथा समपादनको मार्ग हुँदै आफ्नो पुस्तकलाई शुद्ध, अब्बल र गुणस्तरीय बनाउनु जरुरी छ । नत्र, समयले पर्खंदैन ।
पुनर्लेखनको धैर्य रहोस् । हेमिङ्वेले आफ्नो पुस्तक “फेयरवेल टु आम्र्स” भन्ने किताबको अन्तिम अंशलाई ३९ पल्ट पुनर्लेखन गरेका थिए । डोनाल्ड मुर्रे भन्छन् — लेखन भनेकै पुनर्लेखन हो । त्यसैले पुनर्लेखन गर्न कहिल्यै नडराउनू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।