साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कथा के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला भाग १६

 

१. विषय प्रवेश
साहित्यको श्रव्य विधाअन्तर्गत पर्ने गद्य विधाको आख्यानअन्तर्गत कथा पर्दछ । कथा घटनालाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना हो । कथालाई कहानी, कथन, आहान, किस्सा आदि विभिन्न नामले चिन्ने गरिन्छ । आख्यानका लघुतम, लघु र बृहत् तीनओटा रूपमध्येमा कथा लघु संरचनामा पर्दछ । अर्थात् लघुकथाभन्दा ठुलो र उपन्यासभन्दा सानो आख्यानात्मक रचनालाई कथा भनिन्छ । लघुकथामा घटनाको सूत्रात्मक प्रयोग हुन्छ र संरचना खँदिलो प्रकृतिको हुन्छ भने कथामा घटनाको थोरै विस्तार हुन्छ र जीवन र जगत्को एउटा प्रभावकारी खण्डको चित्रण हुने गर्दछ । यस लेखमा आख्यानअन्तर्गत पर्ने त्यही शक्तिशाली एवं नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय विधाका रूपमा रहेको कथाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. कथाको सैद्धान्तिक स्वरूप र परम्परा

‘कथ्’ धातुमा ‘टाप्’ (आ) प्रत्यय जोडिएर बनेको ‘कथा’ तत्सम शब्द हो । यसको अर्थ कथ्नु, कहानी गर्नु वा भन्नु भन्ने हुन्छ । कुनै घटनालाई सुनाउने परम्परा नेपाली समाजमा परापूर्व कालदेखि चल्दै आएको हो । त्यसैलाई कथा नाम दिएर साहित्य जगत्मा स्थापित गरिएको हो । यसका बारेमा विभिन्न विद्वान्हरूका आआफ्नै अवधारणाहरू पाइन्छन् । एडगर एलेन पोले कथालाई एकै बसाइमा पढेर सकिने र पाठकमा एउटा प्रभाव जन्माउने पूर्ण रचनालाई कथा मानेका छन् भने एच.बी वेल्सले २० मिनेटमा पढेर सकिने आख्यानलाई कथा हो भनेका छन् । ब्रेन्डर म्याथ्युजले एकै मात्र चरित्र वा एउटै परिस्थितिबाट अद्भुत विभिन्न संवेगहरूको शृङ्खलाबद्ध रचनालाई कथा भनेका छन् । नेपाली साहित्य परम्परामा महाकवि देवकोटाले छोटो किस्सा एउटा सानो आँखीझ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ भनी कथालाई संसार चियाउने आँखीझ्यालका रूपमा चित्रण गरेका छन् भने ईश्वर बरालले एकोन्मुख प्रभाव उत्पन्न गरेर केवल एक उद्देश्यको प्राप्ति नै इष्टार्थ हुनाले कथाले एक प्रमुख पात्रको जीवनको कुनै अङ्गको र त्यस जीवनसम्बन्धी कुनै एक मुख्य घटना वा भावदशाको मात्र उद्घाटन गर्छ भनी चिनाएका छन् । यी परिभाषाहरूलाई हेर्दा कथामा यथार्थ र काल्पनिक जुनसुकै कथावस्तु भए पनि भावको प्रभावकारिता हुनुपर्ने, पात्र र परिवेशको स्वाभाविक सन्तुलन हुनुपर्ने र एक बसाइमा पढिसकिने किसिमको आयातन हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत रूपमा ठिक्कको र भावगत रूपमा प्रभावकारी घटनाविन्यास नै कथाको चिनारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

कथाको लेखन, प्रकाशन र समीक्षणको ऐतिहासिक सन्दर्भलाई केलाउन थाल्ने हो भने वैदिक कालसम्म नै पुग्नुपर्ने हुन्छ । पूर्वीय काव्यजगत्मा अत्यन्त प्रभावकारी आख्यानात्मक रचनाहरूको प्रयोग वैदिक, पौराणिक तथा साहित्यिक तीनै कालमा भएको पाइन्छ तर यसको नामकरण भने केही पछिका काव्यशास्त्र वा लक्षणग्रन्थहरूमा मात्र भएको पाइन्छ । यसलाई अङ्ग्रेजीमा ‘सर्ट स्टोरी’ भनिन्छ, जसको अर्थ लघुकथा भन्ने हुन्छ तर नेपाली कथा परम्परामा पाइने लघुकथा भने यो होइन । यो कथा हो लघुकथा योभन्दा सानो हुन्छ ।

कथा नेपाली साहित्यको माहिलो विधा हो । यो नेपाली साहित्यमा लोकप्रिय विधाका रूपमा स्थापित छ । नेपाली कथाको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (वि.सं. १८२७) बाट भएको मानिन्छ । ‘महाभारत विराटपर्व’देखि ‘गोरखापत्र’को प्रकाशन (१९५८) सम्मको समयलाई नेपाली कथाको प्राथमिक काल भनिन्छ भने ‘गोरखापत्र’को प्रकाशनदेखि लिएर १९९१ सालसम्मको समयावधिलाई नेपाली कथाको माध्यमिक काल भनिन्छ । १९९२ को ‘शारदा’ पत्रिकामा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथा प्रकाशन भएपछि नेपाली कथा आधुनिकतामा प्रवेश गरेको हो । अनुवाद प्राथमिक कालीन कथाको, जासुसी, तिलस्मी वा उडन्ते घटना माध्यमिक कालीन कथाको र विषयगत विविधता, भावगत अनेकता र शैलीगत नवीनता आधुनिक नेपाली कथाको चिनारी बन्ने गरेको छ । यसरी १८२७ देखि हालसम्मको २५० वर्षको अवधिमा नेपाली कथाले अनेकौँ वाद, प्रवृत्ति र शैलीहरू अँगाल्दै आएको ऐतिहासिक तथ्यलाई भुल्न मिल्दैन ।

३. कथा हुनका लागि के के चाहिन्छ ?

कथा आफैँमा पूर्ण संरचना हो । यो लघुकथाको विस्तार वा उपन्यासको एउटा खण्ड होइन । घटनाको आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाबाट विकसित हुँदै गएर प्रभावकारी निष्कर्षका पुग्नु कथाको संरचनात्मक चिनारी हो । एउटा कथाकार कथा लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

— केका बारेमा कथा लेख्ने हो ? = घटना/कथावस्तु
— कथावस्तुलाई कार्यकारण शृङ्खलाबद्ध कसरी गर्ने हो ? = कथानक
— कथावस्तुलाई लक्ष्यसम्म पुर्‍याउने जिम्मा ककसलाई दिने हो ? = पात्र/चरित्र
— कथाका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण के कस्तो राख्ने हो ? = परिवेश
— यो कथा किन लेख्न लागिएको हो ? = उद्देश्य/भाव/विचार
— कथाका पात्रहरूसँगको लेखकीय सम्बन्ध कस्तो बनाउने हो ? = दृष्टिविन्दु
— कथावस्तुलाई कसरी बाह्य रूपमा प्रकटीकरण गर्ने हो ? = भाषाशैली

यी कुराहरूका बारेमा कथाकार यसरी स्पष्ट हुनु जरुरी छ । यिनलाई यसरी थप स्पष्ट पार्न सकिन्छ —

(क) घटना अथवा कथावस्तु
कथा जेका बारेमा लेखिने हो त्यसलाई ‘घटना अथवा कथावस्तु’ भनिन्छ । कथा जेका बारेमा लेख्न लागिएको हो त्यही कथाको घटना हो, कथामा जुन कुरालाई जोड दिइएको छ त्यो कथावस्तु हो । कथामा आएको कथावस्तु वा घटना कुनै रैखिक ढाँचामा हुने गर्दछ भने कुनै वृत्ताकारीय ढाँचामा हुने गर्दछ । रैखिक ढाँचाको कथावस्तु सुरुदेखि अन्त्यसम्म सरासर अगाडि बढेको हुन्छ भने वृत्ताकारीय ढाँचाको कथावस्तु घुमाउरो शैलीमा अगाडि बढेको हुन्छ । प्रयोगशील कथामा भने कथावस्तु अमूर्त वा अस्पष्ट पनि हुन सक्छ । गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथामा कथावस्तुको विकास रैखिक ढाँचामा अगाडि बढेको पाइन्छ, पारिजातको ‘मैले नजन्माएको छोरो’ कथामा कथावस्तुको विकास वृत्ताकारीय ढाँचामा अगाडि बढेको पाइन्छ भने इन्द्रबहादुर राईको ‘ब्ल्याकआउट काजु–बदाम–छोरा’ कथामा कथावस्तुको विकास अमूर्त, अस्पष्ट र प्रयोगात्मक ढाँचामा अगाडि बढेको छ ।

(ख) कथानक
कथाभित्रको कथावस्तुको विन्यासलाई कथानक भनिन्छ । कथावस्तुलाई अगाडि बढाउनका लागि आन्तरिक रूपमा कार्यकारण शृङ्खला निर्माण गर्नु अनिवार्य मानिन्छ । त्यही कार्यकारण शृङ्खला नै कथानक हो । मैनालीको ‘छिमेकी’ कथालाई हेर्ने हो भने गोरुले बिउ खाएको घटनाले धनजिते र गुमाउनेको वादविवादलाई जन्माएको छ, वादविवादले धर्मानन्दलाई उकास्ने परिवेश निर्माण गरेको छ, धर्मानन्दको उक्साहटले झगडा विकराल बनेको छ, त्यही कारणले बोलचाल बन्द भएको छ, बोलचाल नहुनाले गुमानेको नेतृत्वमा हुँदै गरेको पूजामा धनजिते गएको छैन, धनजिते पूजामा नजानाले बुढाबुढी नै बिरामी भएको विश्वास गरिएको छ, दुवै बिरामी हुनाले गुमानेमा दया पलाएको छ, त्यही दयाले गुमानेलाई धनजितेका घरमा पु¥याएको छ, यही घटनाले कथा आदर्शतिर मोडिएको छ र आशामरुले पैसा कमाउने अवसर दिँदा पनि गुमाने नगएर दुवैको सुन्दर मिलन हुनाले आदर्श छिमेकीको सन्देश सिर्जना भएको छ । यस्तो कार्यकारण शृङ्खलाले कथालाई सुन्दर र जीवन्त बनाउँछ ।

(ग) पात्र वा चरित्र
कथावस्तुलाई वहन गर्नका लागि ‘पात्र वा चरित्र’को आवश्यकता पर्दछ । ती पात्रहरू कुनै मुख्य हुन्छन् भने कुनै सहायक र कुनै गौण पनि हुने गर्दछन् । मुख्य पात्रमध्येमा एक वा दुईले कथाकारको मुखपात्रका रूपमा काम गरेर मूल सन्देश प्रवाह गरेका हुन्छन् ।

(घ) परिवेश (देश, काल र वातावरण)
पात्र खेल्नका लागि ‘परिवेश’ चाहिन्छ । परिवेशभित्र देश (स्थान), काल (समय) र वातावरण (पर्यावरण) चाहिन्छ । यसको प्रत्यक्ष सम्बन्ध घटना र पात्रसँग हुन्छ । परिवेशले कथावस्तुलाई विश्वसनीय बनाउने हुनाले कथामा यो अनिवार्य मानिन्छ ।

(ङ) उद्देश्य/भाव/विचार
कथा किन लेख्ने भन्ने बारेमा कथाकार स्पष्ट हुनु आवश्यक छ त्यसैले ‘उद्देश्य’ कथाका लागि आवश्यक छ । यो कथाको अन्तर्वस्तु हो । यसमा कथाकारले के उद्देश्य राखेर कथा लेखेको हो ? यसको केन्द्रीय कथ्य वा भाव के हो र यसमा स्रष्टाको कस्तो विचार अभिव्यक्त भएको छ भन्ने कुरा थाहा पाइन्छ । पूर्वीय काव्यशास्त्रमा धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्गको प्राप्तिलाई सिर्जनाको उद्देश्य मान्ने गरिएको छ तर आजका सिर्जनामा त्यसको अक्षरशः पालना नभए पनि समाजअपेक्षित वा युगसापेक्ष एउटा न एउटा उद्देश्यमा कथाकार केन्द्रित भएर कथा लेख्नु आवश्यक मानिन्छ । यही उद्देश्यले स्रष्टाको वैचारिक धरातल पनि निर्धारण गर्दछ ।

(च) दृष्टिविन्दु
कथामा पात्रको उपस्थितिलाई दृष्टिविन्दु भनिन्छ । यसले स्रष्टा र पात्रका बिचको सम्बन्धलाई समेत सङ्केत गरेको हुन्छ । कथामा ‘म’, ‘हामी’ जस्ता पात्रको प्रयोग गरिएको छ भने त्यसलाई प्रथम पुरुषात्मक आन्तरिक दृष्टिविन्दु भनिन्छ भने अन्य पात्र (ऊ, त्यो अथवा नाम) को प्रयोग गरिएको छ भने त्यसलाई तृतीय पुरुषात्मक बाह्य दृष्टिविन्दु भनिन्छ । ्र

(छ) भाषाशैली

कथावस्तुको सम्प्रेषणका लागि ‘भाषा’ चाहिन्छ भने प्रस्तुतिको कलात्मकताका लागि ‘शैली’को आवश्यकता पर्दछ । कथाको भाषाशैली कतै वर्णनात्मक, कतै विवरणात्मक र कतै संवादात्मक हुने गर्दछ । वर्णनात्मक र विवरणात्मक भाषाशैलीको प्रयोग भएमा त्यहाँ कथाकारको सक्रियता देखिन्छ भने संवादात्मक शैलीमा पात्रको सक्रियता हुने गर्दछ ।

कथाको भाषा पात्र वा परिवेशअनुकूल भयो भने त्यो कथा सुन्दर मानिन्छ । कथाको शैली अत्यन्त आकर्षक, कुतूहलपूर्ण र पाठकमा उत्सुकता जगाउने खालको हुनुपर्छ । यसको आशय कथाको प्रस्तुतीकरण घटनाको सरासर वर्णन गर्ने खालको हुनु हुँदैन । घटनाको विकास, कथानकको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइरहनुपर्छ र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्छ ।

यत्ति कुरामा स्रष्टाले ध्यान दिने हो भने सुन्दर कथा सिर्जना हुन सक्छ । कथालाई एउटा सुन्दर र प्रभावकारी शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक कथाको मियो हो जसका वरिपरि कथावस्तु घुम्दै गएर एउटा प्रभावकारी निष्कर्षमा पुग्दछ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ । सकेसम्म शीर्षक वाक्यात्मक तहमा हुनु हुँदैन । कथामा घटनाको व्यवस्थापन आदि, मध्य र अन्त्य तीनओटै चरणमा हुनुपर्छ । यसका आधारमा मैनालीको ‘छिमेकी’ कथालाई हेर्ने हो भने गोरुले बिउ खाइदिएको निहुँमा धनजिते र गुमाने बिचमा झगडा भएको घटना कथाको ‘आदि भाग’ हो, गाउँमा आँठे रोग फैलिएपछि गाउँमा देवीदेवता खुसी पार्न गुमानेको नेतृत्वमा पूजा लगाएको घटना ‘मध्य भाग’ हो भने धनजिते र गुमानेको आदर्श मिलन भएको घटना ‘अन्त्य भाग’ हो ।

कथाको त्रिआयामिक संरचना यस्तो हुन्छ तर कथानकको आन्तरिक विकास गर्दाचाहिँ कथानकको बीज, विकास, चरमोत्कर्ष, प्रतिचरमोत्कर्ष र उपसंहार भाग गरी पाँचओटा चरणमा ध्यान दिनुपर्छ । यसका आधारमा मैनालीको ‘छिमेकी’ कथालाई हेर्ने हो भने यस्तो अवस्था देखिन्छ—

(क) कथानकको बीज भाग: सुरुदेखि धनजिते र गुमानेबिचमा भनाभन सुरु भएसम्मको घटना ।

(ख) कथानकको विकास भाग: धर्मानन्दले उकासेपछि झगडाले विकराल रूप लिएर धनजिते र गुमानेबिचमा बोलचाल बन्द भएसम्मको घटना ।

(ग) कथानकको चरमोत्कर्ष भाग: बोलचाल बन्द भएदेखि गुमानेको नेतृत्वमा भएको पूजामा धनजिते नगएसम्मको घटना ।

(घ) कथानकको प्रतिचरमोत्कर्ष भाग: धनजितेका बुढाबुढी नै बिरामी परेर ढलेपछि दया पलाएर गुमाने धनजितेको घरमा गएसम्मको घटना ।

(ङ) कथानकको उपसंहार भाग: आशामरुले पैसा कमाउने अवसर दिए पनि पैसालाई भन्दा छिमेकीको आदर्शलाई महत्त्व दिएर गुमाने सहर नगई दुई छिमेकी बिचमा अनुकरणीय मिलन भएसम्मको घटना ।

एउटा कथामा कथानकको आन्तरिक बुनोट यसरी गरिन्छ तर त्यहाँ यो यो भाग हो भनेर उल्लेख गरिँदैन । ती भागहरू कथानकको विकासका क्रममा स्वाभाविक रूपमा उनिँदै आउँछन् । यिनको उत्तरोत्तर गतिमा भने कुनै कृत्रिमता देखिनु हुँदैन ।

४. कथा कसरी लेखिन्छ ?

कथामा जीवन र जगत्को जुनसुकै महत्त्वपूर्ण घटना वा अवस्थाको चित्रण हुन सक्छ । यसमा सामाजिक, ऐतिहासिक वा काल्पनिक जुनसुकै क्षेत्रको विषयलाई आख्यानात्मक स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले कथाकारले कथा लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण: कथावस्तु, पात्र र परिवेशको छनोट

कथा केका बारेमा लेख्ने वा कस्तो घटनाको चित्रण गर्ने हो ? कथाकार स्पष्ट हुनुपर्छ । कथा जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । त्यसैले कथाकारले सबैभन्दा पहिला आफूले चाहेको घटना छनोट गर्नुपर्छ, त्यस घटनालाई वहन गर्न सक्ने पात्रको चयन गर्नुपर्छ र घटना एवं चरित्रका लागि अनुकूल हुने गरीको परिवेशको छनोट गर्नुपर्छ । यस चरणमा उल्लिखित विषयका लागि आवश्यक बुँदाहरूको टिपोट पनि गर्न सकिन्छ ।

दोस्रो चरण: उद्देश्यअनुकूल कथानकको विस्तार गरी खेस्रा लेखन

यस चरणमा कथावस्तुको आदि, मध्य र अन्त्य भागको निर्धारण गर्नुपर्छ । कथाको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर कथावस्तुको विस्तार गर्न थाल्नुपर्छ । कथानकको विकासका लागि आवश्यक संवाद, कथोपकथन आदिका माध्यमबाट पाठकमा कुतूहल सिर्जना गर्दै जानुपर्छ । यसरी आख्यानलाई रोचक बनाउँदै कथाको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण: आवश्यक परिमार्जन गरी साफी लेखन

यस चरणमा कथाकार आफैँले लेखेको कथाको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा कथाको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो कथा प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका कथाकारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकै पटकमा अथवा एकै बसाइमा एउटा कथाको साफी लेखन नै गर्न सक्छ ।

५. कथाको प्रयोगात्मक सिर्जना

शीर्षक: पागल
कथावस्तुको क्षेत्र: मानवीय चरित्रको चित्रण
पात्र: पागल, व्यापारीहरू, प्रहरीहरू, यात्रुहरू र अन्य
परिवेश: नेपाल र भारतको सिमाना÷सहरिया÷वर्गीय समाज
उद्देश्य: आफ्नो काम पूरा गर्नका लागि मान्छेले के केसम्म गर्न सक्छ भन्ने कुराको उद्घाटन

उल्लिखित योजनाअनुसार कथाको सिर्जना गर्दा यसरी गर्न सकिन्छ—

 

पागल

नेपाल र भारतको सिमाना जहिल्यै भिडभाड देखिन्थ्यो । नेपालतिरको सुरक्षा जाँच र भारततिरको सुरक्षा जाँच दुवैतिर मान्छेको ठुलो लाम थियो । उज्यालो भएदेखि अँध्यारो नभएसम्म आउनेजाने यात्रुहरूको निकै घुइँचो लाग्ने गर्दथ्यो । कोही सामानका पोकापीकीसहित हुन्थे, कोही ठुला ठुला झोला र बोरामा सामान आवतजावत गरिरहन्थे भने कोहीचाहिँ रित्तो हात पनि वारपार गरिरहन्थे । खुल्ला सिमाना भएका कारण वारिपारि गर्नमा त्यति ठुलो समस्या थिएन तर अवैधानिक सरसामानका बारेमा भने सुरक्षाकर्मीहरूबाट विशेष जाँच हुने गर्दथ्यो ।

नेपालतिरको सुरक्षा चौकी नजिकै एउटा ठुलो वरको रुख थियो । त्यसको थेदमा वरिपरि ठुलो चौतारी थियो । त्यस चौतारीको उत्तरपट्टिको कुनामा एउटा पागल बस्थ्यो । लट्टा परेको कपाल, मैला र थोत्रा लुगा, ननुहाएको घिनलाग्दो शरीर, थोत्रा कागजका काटुनहरू थुपारेर बनाएको बिछ्यौना, कुनामा तीनओटा इँटा गाडेर बनाएको चुल्हो, एउटा कालो भाँडो अनि केही थाल, कचौरा र पानी भर्ने जर्किन यत्ति नै थिए पागलका सम्पत्तिहरू । यिनका अतिरिक्त ऊसँग एउटा जीर्ण फुटबल थियो । च्यातिएको छालालाई ठाउँ ठाउँमा सिलाएर टाटेपाटे बनाइएको त्यो फुटबल पागलको खेल्ने साधन थियो । चौतारो, थोत्रा कपडा, भाँडा र फुटबल यत्तिमा अटेको थियो पागलको सिङ्गो संसार । हजारौँ मान्छेको आवतजावत हुने ठाउँ भए पनि उसलाई बाहिरी संसारसँग कुनै मतलब थिएन । सुरक्षाकर्मीहरू पनि आखिर पागल त हो भनेर कुनै चासो नै राख्दैनथे । पागलले पनि त्यहाँ कुनै प्रकारको बाधाव्यवधान पु¥याएको थिएन । ऊ कहिल्यै बोल्दैनथ्यो त्यसैले उसलाई सबैले लोटो भन्दथे ।

पागल खानेकुरा खोज्न कहिले गाउँतिर पस्दथ्यो भने कहिले बजार घुम्दथ्यो । ऊ बाहिर जाँदा पनि उसका ती जीर्ण सामानहरू त्यहीँ हुन्थे । तिनलाई कसैले चलाउँदैनथ्यो ।

एक दिन फुटपाथमा व्यापार गर्ने केही व्यापारीहरू सुरक्षाकर्मीहरूसँग आए ।

एउटाले भन्यो, “यो पागलले सडकपेटी सबै फोहोर पार्‍यो । यसलाई यहाँबाट हटाउनुपर्छ ।”

अर्कोले भन्यो, “यो बोल्दैन, सोझो छ भन्दैमा कहाँ हुन्छ ? कुनै दिन हाम्रो सामान चोरी गर्‍यो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?”

तेस्रोले भन्यो, “यो अत्यन्त फोहोरी छ । यसले यहाँको वातावरण नै दूषित बनाइसक्यो । गन्हाएर बाटो हिँड्नै सकिँदैन । त्यसैले यसलाई यहाँबाट तत्काल लखेट्नुपर्छ ।”

यी सबैका कुरा पागलले अँध्यारो मुख लगाएर सुनिरहेको थियो । प्रहरीहरूले पनि सुनिरहेका थिए । पागलतिर हेर्दै एक जना प्रहरीले भने, “ओइ, पागल ! कुरा सुनिस् ? तँ यहाँबाट गइहाल् ।”

पागल केही बोलेन । खालि आँखाभरि आँसु पारेर सबैका मुखमा टुलुटुलु हेर्न थाल्यो । यस दृश्यले सबैका मनमा दया पलाएछ । व्यापारीहरू पनि मलिन देखिए । यो देखेर प्रहरीले भने, “आखिर पागल न हो ! त्यसमा पनि बोल्न सक्दैन ।

यसको जाने ठाउँ पनि कहाँ पो होला र ! यसले के नै पो गरिहाल्ला र ! होस् छोडिदिऔँ । यसले केही बिगार गरेछ भने हामी छौँ नि ।”

प्रहरीको यस्तो आश्वासन पाएपछि व्यापारीहरू फर्किए । पागल खुसी भयो । ऊ खुसी हुँदा आफ्नै शैलीमा तर कसैले नबुझ्ने गरी गीत गुनगुनाउने गर्दथ्यो । थोत्रो फुटबललाई मादल जस्तै बजाउँदै आफ्नै शैलीमा नाच्ने पनि गर्दथ्यो ।

अब भने पागलले आफू सुरक्षित भएको महसुस ग¥यो अनि त्यस चौतारीलाई आफ्नै नाममा प्राप्त बिर्ता ठान्यो । ऊ धेरैजसो त्यहीँ बस्थ्यो । यदाकदा बाहिर निस्कियो भने त्यही थोत्रो फुटबल खुट्टाले हान्दै हान्दै बजार घुमेर आउँथ्यो । कहिलेकाहीँ त्यो फुटबल गुडाउँदै सिमानापारि पनि पुगेर आउँथ्यो । उसलाई वारिपारि दुवैतिरका सुरक्षाकर्मीले पागल हो भनेर चिनेका थिए । त्यसैले उसमाथि कुनै प्रकारको शङ्का र सोधपुछ गर्ने वा बाधा पु¥याउने काम हुँदैनथ्यो । ऊ निर्बाध रूपमा सीमा वारिपारि गर्न सक्दथ्यो ।

पागल कतैबाट खानेकुरा लिएर आउँथ्यो । चामल, तरकारी र पानी पनि लिएर आउँथ्यो । जङ्गलबाट झिक्राभिक्री भेला पारेर आगो बाल्थ्यो । खाना पकाउँथ्यो, खान्थ्यो र सुत्थ्यो । उसको स्वतन्त्र संसारमा कसैले बाधाव्यवधान गर्दैनथ्यो । यसका साथै ऊ बिहान उज्यालो नहुँदै एक पटक र साँझ परेपछि एक पटक फुटबललाई खुट्टाले हान्दै हान्दै सीमापारि पुगेर आउने गर्दथ्यो । यो क्रम निकै महिनासम्म चलिरह्यो । अब त त्यहाँका सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू पनि उसको क्रियाकलापसँग अभ्यस्त भए । यो आफ्नै संसारमा रमाउँछ, यसले अरूलाई दुःख दिँदैन भन्ने कुरामा सबै ढुक्क भए ।

एक दिन झिसमिसेमा नै पागल उठ्यो । सिमानाको ढाट खुलेको थिएन तापनि उसलाई कसैले रोक्दैनथ्यो । उसका अभ्यस्त खुट्टाहरू थोत्रो फुटबल गुडाउँदै अगाडि बढे । ऊ फुटबललाई बिरालाले मुसो खेलाए जसरी नै खेलाउँथ्यो । खुल्ला सडकमा ऊ निर्बाध रूपमा फुटबलसँग खेल्दै सिमानातिर जाँदै थियो । सिमानाका छेउमा बाटो बनाउने क्रममा एउटा ठुलो खाल्डो खनिएको रहेछ । खुट्टाले हान्दा उसको फुटबल त्यही खाल्डोमा खस्यो । खाल्डो निकै गहिरो हुनाले उसले त्यो बल निकाल्न सकेन । ऊ यता र उता घुम्दै उपाय निकाल्न थाल्यो । उसले एउटा बाँस ल्याएर बल तान्ने प्रयास ग¥यो तर सकेन ।

यति बेलासम्ममा उज्यालो भइसकेको थियो । पागलको यो क्रियाकलापलाई एक जना प्रहरीले हेरिरहेको थियो । प्रहरीलाई शङ्का लाग्यो । पागलको अहिलेको क्रियाकलाप सधैँको पागलको जस्तो थिएन । ऊ गम्भीर मुद्रामा थियो जो कहिल्यै यस्तो देखिँदैनथ्यो ।

नजिकै गएर प्रहरीले सोधे, “के भयो ?”

आफ्नो पुरानो स्वभाव बिर्सिएर पागलले भन्यो, “मेरो बल खाल्डोमा खस्यो, निकाल्न सहयोग गरिदिनुहोस् न !”

यत्रो महिना यहाँ बस्दा एक शब्द नबोल्ने पागलले आज त्यति मिठो बोलेको सुनेर प्रहरी झन् छक्क परे । पागलप्रतिको आशङ्का झन् बढेर गयो । यत्तिकैमा दुईचार जना प्रहरीहरू र आठदश जना यात्रुहरू त्यहाँ भेला भए । एक जना प्रहरीले खाल्डोभित्र छिरेर त्यो बल निकाले । बल निकै गह्रुँगो थियो । प्रहरीले पागलको मुखमा हेरे । पागल डराएर भाग्न लागेको थियो । प्रहरीले च्याप्प समाते । अब भने प्रहरीमा अझै शङ्का बढ्यो र बलसहित पागललाई प्रहरी चौकीमा लिएर गए ।

सबैका अगाडि त्यो बलको सिलाइ च्यातेर हेरियो । त्यहाँ त चरेसका सयौँ पोका खातका खात मिलाएर राखिएका रहेछन् । सबै प्रहरीहरू छक्क परे । ओहो ! पागल भनेको त लागुपदार्थको व्यापारी पो रहेछ !

यसपछि प्रहरीहरूबिचमा हाहाकार मच्चियो । झन् झन् आशङ्काहरू बढ्न थाले । तीमध्येमा एक जनाले भने, “यो त हामीले कहिल्यै कल्पनासम्म नगरेको घटना भयो ! यसको बासस्थानमा खानतलासी गरौँ, थप केही भेटिन्छ कि ?”

प्रहरीहरू चौतारीमा गए र उसले सुत्ने गरेको ओछ्यान पल्टाउन थाले । थोत्रा कागजका काटुनहरू खात खात राखेर बनाएको ओछ्यानको एउटा पत्र पल्टाउँदा दुई लाख भारु नोट भेटियो । अर्को पत्र पल्टाउँदा एउटा पेस्तोल भेटियो । तेस्रो पत्र पल्टाउँदा एउटा पुरानो ब्याग भेटियो । त्यसभित्र दुइटा डायरी थिए । एउटा दश बिगाहा जग्गाको धनीपुर्जा थियो । एउटा नेपाली नागरिकताको प्रमाण–पत्र थियो । पार्टीलाई चन्दा दिएका पन्ध्रबिसओटा रसिदहरू थिए । अनि लेमिनेसन गरेर अत्यन्त सुरक्षाका साथ डायरीभित्र राखेको ठुलै राजनीतिक पार्टीको सदस्यता–पत्र पनि थियो ।

(द्रष्टव्य: प्रस्तुत कथा लेखकको नव प्रकाशित ‘पागल’ खण्डकाव्यको मूल कथावस्तुलाई गद्याख्यानको स्वरूप प्रदान गरेर लेखिएको हो ।)

६. निष्कर्ष
कथा प्रभावकारी आख्यान हो । यसमा घटनाको प्रधानता हुन्छ तर यसमा प्रयोग भएको घटना अत्यन्त आकर्षक हुने गर्दछ । घटना यथार्थ वा काल्पनिक जे होस् त्यसलाई साधारणीकरण गरेर साझा अनुभूतिको अभिव्यक्ति बनाउने प्रयास कथाकारको हुनुपर्छ । वैयक्तिक भोगाइ वा अनुभवलाई पनि सार्वजनिक बनाउन सक्ने कलाले कथालाई लोकप्रिय बनाउँछ । मझौला संरचनाभित्र गरिएको कुतूहलपूर्ण तथा शक्तिशाली भावविधान कथाको शक्ति हो भने वर्णनात्मक एवं सपाट घटनाविस्तार यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…

 

प्रतिक्रिया
Loading...