पद्यात्मक वा लयात्मक हिसाबले केटाकेटीको भाषामा लेखिएर उनीहरूले नै गाउने वा पढ्ने उद्देश्यले रचना गरिएका कवितालाई बालकविता भन्न सकिन्छ । अर्को शब्दमा भन्नु पर्दा बालकका लागि सिर्जित वा बालकद्वारा सिर्जित लयात्मक विधा नै बालकविता वा बालगीत हुन् । बालसाहित्यका अध्येता, समालोचक एवं बालसाहित्यकार प्रमोद प्रधानका अनुसार बालबालिकाहरूमा हुने जिज्ञासालाई शान्त पार्ने, उनीहरूको सिर्जनशील प्रतिभालाई प्रस्फुटित गराउने, शब्दभण्डारमा अभिवृद्धि गर्ने, उनीहरूमा विद्यमान सङ्गीत चेतनालाई परिमार्जन गर्ने एवं मनोरञ्जनसमेत प्रदान गर्ने कार्यमा बालगीत र बालकविता एक सबल, सक्षम र सशक्त माध्यम भएकाले यस बालकविता विधाको आफ्नै एक किसिमको विशिष्ट महत्व रहिआएको छ ।  यस आलेखमा बालकद्वारा बालकका लागि नभई प्रौढद्वारा बालकका लागि सिर्जित बालकविताको सन्दर्भ जोड्न खोजिएको छ । बालबालिकाले बालकवितामा के–कस्तो आकार, विषयवस्तु, लय वा प्रस्तुति मन पराउँछन् भन्ने कुरा बालसाहित्यका लेखकले बुझ्नु अत्यावश्यक छ । बालमनोभावना र बालमनोविज्ञान नबुझी आफ्नै तरिकाले विषयछनोट गर्दा लक्षित वर्गमा त्यसको सकारात्मक प्रभाव पर्न सक्यो वा सकेन भन्ने कुरामा बालसाहित्यका लेखक अत्यन्तै सचेत हुनुपर्दछ ।  बालसाहित्यका लेखकले बालकविता लेख्नुभन्दा पहिले दुईवटा कुराको अध्ययन गर्नपर्दछ । पहिलो हो हालको बालकविताको लेखनको धार कस्तो छ र अन्य स्रष्टाले के–कसरी बालकविता सिर्जना गरिरहेका छन् ? अर्को हो– लक्षित वर्गमा नै पुगी उनीहरूको उमेर समूह बुझेर बालकविताले आफ्नो कवितालाई चासो दिएर सुने वा सुनेनन् ? बालसाहित्यका क्षेत्रका अनुभवी स्रष्टा हरि खनालका अनुसार स्रष्टाले बालबालिकालाई बालकविता पढाइरहँदा ‘हल्ला नगरी सुन है !’ भन्नै नपरोस् । यदि हामीले उनीहरूलाई बुझेर रचना गर्न सकियो भने त हाम्रा रचनाले उनीहरूलाई ध्यान तान्ने र रुचि जगाउने गर्न सकिहाल्छन् । यसरी हेर्दा बालकविता लेखन पनि बालव्यवहारलाई बुझेर गरिने प्रयोगात्मक कार्य जस्तै हो त्यसैले बालकविता लेखनलाई ‘टेबुल वर्क’का रूपमा भन्दा पनि ‘फिल्ड वर्क’का रूपमा प्रयोग गर्न सकियो भने त्यो अझ बढी रोचक, प्रभावकारी, मनोवैज्ञानिक र सशक्त हुन सक्छ । त्यसैले बालकविताका सर्जकले उत्कृष्ट बालकविता रचनाका लागि केही कुरामा ध्यान पुर्‍याउनु जरुरी देखिन्छ जसलाई बुँदागत रूपमा यहाँ उल्लेख गरिएको छ —

रमेशचन्द्र घिमिरे

सङ्क्षिप्तता, मनोरञ्जनात्मकतता वा रोचकता, लयात्मकता, अप्रत्यक्ष सन्देशको प्रस्तुति, कथयिता पात्रका रूपमा बालपात्रको उपस्थिति, बालमनोविज्ञानको प्रयोग, सरल सहज र सम्प्रेष्य भाषाको प्रयोग, विषयवस्तु छनोटमा बालरुचि अनुकूलता, राष्ट्रियता र जातीयताप्रतिको गौरवबोध, आकर्षक र रङ्गीन चित्रसज्जा, समय अनुकूलता,  भाषाशैलीगत शुद्धता र मानक व्याकरणको प्रयोग

१) सङ्क्षिप्तता

बालकविता लेख्दा यसको आयतनलाई पनि जोड दिनुपर्दछ । बालबालिकाको उमेर समूह ख्याल गर्दै उनीहरूले पढ्ने कविताको लम्बाइ मात्र होइन चौडाइ पनि छोटो हुन सक्यो भने त्यस्ता कविता उनीहरूका लागि रुचिकर मात्र हुँदैन, कण्ठस्थ पनि गर्न सक्छन् । प्रारम्भिक कक्षामा ‘यो घर कसको आलेको, भित्र बाहिर टालेको, भोटे कुकुर पालेको’ जस्ता बालकविताका झल्को दिने सामग्रीको प्रयोग भएको पाइन्छ । विस्तार विस्तार उमेर बढ्दै जाँदा आकार लामो हुँदै गएको राम्रो हुने हुनाले आफू कुन उमेर समूहका लागि लेख्दैछु भन्ने कुरामा सावधानी अपनाउनु राम्रो हुन्छ । पट्यारलाग्दो र लामो कविता बालपाठकका लागि रुचिकर हुँदैनन् । मितव्ययी शब्दशैयामा गहिरो अर्थ बोक्ने तर सरल शब्दसहितको बालकविता मात्र बालबालिकाका लागि पस्कनु राम्रो हुन्छ । बालकविता जति छोटो लेख्न सक्यो उति नै राम्रो हुन्छ भन्ने कुरामा बालकविताका प्रायः स्रष्टाको स्वीकारोक्ति रहेको छ ।

२) मनोरञ्जनात्मकतता वा रोचकता

अरूलाई मनोरञ्जन दिने कुरा त्यति सजिलो कुरा होइन तर मनोरञ्जनलाई नै ख्याल नगरी निरस सामग्री बालबालिकालाई दिन खोज्दा त्यो प्रभावकारी हुन सक्तैन । बालकवितामा हुने सरल शब्द, लयात्मकता, बालबालिकाका लागि प्यारो लाग्ने विषयवस्तुको चयन अनि यसमा प्रयोग गर्न सकिने झिनो आख्यानात्मकता आदिले नै बालकविता मनोरञ्जक र रोचक बन्न सकेको हो । त्यस्तै बालकवितामा कल्पना पक्षको प्रयोग भयो भने त त्यस्तो बालकविता अझ पठनीय र रुचिकर हुन सक्छ । बालबालिकाले खेल खेलेर, सिनेमा हेरेर वा गीत–सङ्गीत श्रवण गरेर जुन किसिमको आनन्द प्राप्त गर्दछन् बालकविता पढेर पनि त्यस्तै खालको आनन्द वा मनोरञ्जन प्राप्त गर्ने अपेक्षा राख्दछन् । बालसाहित्यका कुशल अध्येता, समीक्षक एवम् बालसाहित्यकार डा. ध्रुव घिमिरेका अनुसार बालबालिकाले पढ्ने कविता रोचक हुनका लागि उनीहरूको उमेर, बालमनोभावना, बालबालिकाका लागि चिरपरिचित र सुहाउँदो परिवेश, नाटकीय आस्वाद, झिनो कथानक वा सूक्ष्म आख्यानको स्वाभाविक र सान्दर्भिक प्रयोग आदि कुरालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । त्यस्तै गरेर बालकविता लेखनमा दीर्घ अनुभव सँगाल्नुभएका साहित्यकार विजयराज न्यौपाने भन्नुहुन्छ- “बाल कविता समयसापेक्ष हुने गरी बाल मन मस्तिष्कलाई उद्वेलित गर्ने, आनन्द दिलाउने, नवीन चेतना जगाउने, सकारात्मक ऊर्जा पैदा गराउने र सिर्जनशील बन्न अभिप्रेरित गराउने खालको हुनु पर्दछ । पुतलीले फूललाई फूलकै वरिपरि घुमेर छोऊँ–छोऊँ गरेर छोएजस्तै, रस चुसेजस्तै बालबालिकाले पनि बाल कविता त्यसरी नै आनन्दले सुम्सुम्याउन पाउनुपर्दछ ।” बालकवितामा कुतूहल पनि हुनु पर्दछ । बालकविता पढ्दै जाँदा सुरुमा जिज्ञासा र पछि त्यसको समाधान भएको हुनुपर्छ । कविता पढ्दै जाँदा यसपछि के होला ? भन्दै र सम्भावित निचोडको खोजी गर्दै बालबालिकाहरूमा कौतुहल पनि जाग्यो भने त्यस्तो बालकविता अझ प्रभावकारी हुन्छ । बालसाहित्यका क्षेत्रमा प्रशस्त र रमाइला बालकथा लेख्ने यशु श्रेष्ठका विचारमा बालकविता बालउमेर र रुचि सुहाउँदो हुन सक्यो भने मात्र ऊ त्यसमा रमाउन सक्दछ भन्ने धारणा राख्नुहुन्छ । एकत्रित भाव, सङ्गठित शब्दहरू, लयात्मकता र मिठासलाई ध्यानमा राखिएको, केही न कही कथावस्तुलाई समेटेको, पढ्दा उसको स्वासले धान्न सक्ने गरी तयार पारिएको वा अक्षर संरचनालाई ध्यानमा राखिएको, अनावश्यक रूपमा शब्दलाई नबिगारेको साथै भाषा, भाव, विषय र प्रस्तुति पनि उमेरअनुसारकै हुनुपर्छ भन्ने धारणा पनि बालकथाकार यशु श्रेष्ठको रहेको छ ।

३) लयात्मकता

बालकवितामा हुने लयविधानलाई छन्दविधान पनि भनिन्छ । लयविधान बालकविताको सबैभन्दा महत्त्वपूर्ण तत्व हो । बालकवितालाई श्रुतिमधुर र कर्णप्रिय बनाउनका लागि स्रष्टाले गेयात्मकतामा ध्यान दिनुपर्ने कुरालाई बिर्सनु हुँदैन । लयको अभावमा बालकविता बालपाठकका लागि रुचिकर हुँदैन, केबल कोरा नारा, खोक्रो भाषण र जटिल गद्यजस्तो मात्र हुन्छ । सङ्गीतात्मक लय मानिस या अन्य जीवजन्तुका लागि पनि अत्यन्तै रुचिकर हुन्छ भने बालपाठकका लागि यो त नभई हुँदैन । कवितामा हुने लयका कारणले गर्दा नै बालबालिकाले बालकविता भाका फेरी–फेरी र रमाई–रमाई गाउन सकेका हुन्छन् । नेपाली कविता तथा बालकविताका क्षेत्रमा कुशल छन्दवाचकका रूपमा परिचित प्राध्यापक शिव त्रिपाठी बालकविता बालबालिकाहरूले प्रस्ट बुझ्ने , पढ्दा उनीहरूले आनन्द मान्ने र सिक्ने खालको हुनुपर्छ भन्ने विचार अभिव्यक्त गर्दै कवितामा उनीहरूले आफूलाई भेटे भने त्यो शक्तिशाली कविता बन्न सक्छ , बालकविता सरल रूपमा गायन, वाचन गर्न सकियो भने सुनमा सुगन्ध हुन्छ भनेर बालकवितालाई गायन पक्षसँग जोड्न रुचाउनुहुन्छ ।

नेपाली बालकवितामा पनि कवितामा जस्तै वर्णमात्रिक, मात्रिक, लोक र स्वतन्त्र गरी मुख्य चारथरि छन्दयोजनाको प्रयोग गरिएको हुन्छ । यीमध्ये वर्णामात्रिक वा शास्त्रीय छन्द र लोक लयको नेपाली बालकवितामा बढी प्रयोग भएको पाइन्छ । अझ त्यसमा पनि लोकलयको प्रयोग निकै धेरै प्रचलनमा आएको देखिन्छ । लोकलय सजिलो, रसिलो र बालबालिकाका लागि प्रिय रहेको हुँदा प्रायः सर्जकहरूले यसै  लयलाई आधार मानेर बालकविताको रचना गरेका छन् । लोकलयअन्तर्गत ७ अक्षरे बालोरी, १२, १४ वा १६ अक्षरे सबाई,  १२ अक्षरे भजन, १६ अक्षरे असारे झ्याउरे, १६ अक्षरे सेलो लोकछन्दहरू बढी प्रयोगमा आएका छन् र ती लयहरू बालबालिकाका लागि रुचिकर पनि बन्न सकेका छन् । लघु–गुरुको गणसूत्रमा मेहनत गर्नुपर्ने हुनाले लेखकलाई लेख्न केही असजिलो भए पनि बालबालिकाले गाउन रमाइलो मान्ने उपजाति, अनुष्टुप्, वसन्ततिलका, भुजङ्गप्रयात जस्ता शास्त्रीय छन्दको प्रयोग गरेर लेख्न सकियो भने त्यस्ता शास्त्रीय छन्दको प्रयोग झन् सशक्त र प्रभावकारी हुन सक्छ । बालसाहित्यका लेखकले बालकविता लेख्दा गति–यति र लयको अनुशासनमा ध्यान नपुर्‍याउँदा वा पूर्ण अन्त्यानुप्रासको सही प्रयोग गर्न नसक्दा त्यस्ता बालकविता पढ्दा बालपाठकले दाँतमा ढुङ्गा लागेको अनुभूति गर्छन् । शास्त्रीय छन्द तथा बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकथा र बालकवितामा लामो अनुभव सँगाल्दै आउनुभएकी स्रष्टा शान्ति सापकोटाका विचारमा बालसाहित्यका स्रष्टाले छन्द वा लयमा रचना गर्दा आफैँ एक्लै गुन्गुनाउने गरेर लेख्न सकियो भने यस्तो कविता झन् प्रभावकारी हुन सक्दछ र कहाँनेर केकस्तो त्रुटि भयो, सरर्र बग्न सक्यो वा सकेन भन्ने कुराको मेसो पाइन्छ अनि तत्क्षणमा नै संशोधन गर्न सकिन्छ । यसै सन्दर्भमा बालसाहित्यकी स्रष्टा रञ्जुश्री पराजुलीले बालकविता रचना गर्दा कर्णप्रिय, लयात्मक र सुमधुर एवम् सम्प्रेषणीय हुनुपर्ने कुरालाई लेखकले बिर्सनु हुँदैन भन्ने धारणा राख्नुहुन्छ ।

४) अप्रत्यक्ष सन्देशको प्रस्तुति

देशमा विद्यालय शिक्षा भर्खर भर्खर लागु हुँदा सुरुका बालसाहित्यकारले बालबालिकालाई प्रत्यक्ष रूपमा नैतिक सन्देश दिने उद्देश्यले बालरचना गरेको पाइन्छ जुन समय र परिस्थिति अनुसार स्वाभाविक नै थियो । बालसाहित्यमा बालबालिकालाई नैतिक सन्देश नै दिनुपर्छ भन्ने परम्परा लामो समयसम्म रहिरह्यो र जसको अवशेष अझै पनि छ । हिजोका समयमा बालबालिकालाई पढाइप्रति अभिरुचि जगाउनका लागि शिक्षक र अभिभावकको भूमिकाले मात्र नपुग्ने हुँदा पनि बालसाहित्यका सर्जकहरूले बालबालिकालाई आफ्ना रचना मार्फत नैतिक सन्देशको प्रत्यक्ष सम्प्रेषण गरेका हुन् तर अबका बालसाहित्यकारले हिजोको त्यो परम्परालाई छोडेर बालबालिकालाई अप्रत्यक्ष रूपमा नैतिक सन्देश घुसाएर मनोरञ्जनात्मक कविता पस्कनु पर्ने हुन्छ । अबका बालबालिकाले अर्ती र उपदेश ग्रहण गर्न मात्रै बालसाहित्य पढ्दैनन्, उनीहरूले बालसाहित्यमा रमाइलोपना खोजिरहेका हुन्छन् । सानो बालक विद्यालय जान्छ, विद्यालयमा गुरु–गुरुआमााले उसको गृहकार्य खोज्छन् र पढ्नुपर्ने कुरामा जोड दिन्छन् । घरमा छँदा बालक खेल्न खोज्छ तर अभिभावकले खेल्ने कुरामा रोक लगाएर पढ्–पढ् मात्रै भनेका हुन्छन् । यसो फुर्सदमा मुना, कोपिला, जूनकिरी, बालकजस्ता बालपत्रिका पढ्न खोज्दा पनि पढ्नुपर्छ, खेल्नुहुँदैन जस्ता कुराले मात्र भरिएका कुरा पढ्नु पर्दा पनि उनीहरूलाई बालसाहित्यप्रति वितृष्णा पैदा हुन सक्छ । त्यसैले अप्रत्यक्ष रूपमा सकारात्मक सन्देश दिने खालका मनोरञ्जनात्मक सामग्रीमा आधारित भएर लेख्ने कुरामा बालसाहित्यकार प्रेरित हुनुपर्दछ । साहित्यकार एवं प्रधानाध्यापक रूपिन्द्र प्रभावी जोशीको यस सम्बन्धमा यस्तो धारणा रहेको पाइन्छ- “बालकविता बालबालिकाको मनोभावनालाई सम्बोधन गर्न सक्ने बालमैत्री खालको हुनुपर्दछ । बालबालिकालाई सकारात्मक परिवर्तनको मार्गदर्शन गर्न सक्ने तर उपदेशभन्दा अलिक टाढा रहेर बालसाहित्यका सर्जकले बालकविता रचना गर्नुपर्दछ । रमाइलो वा मनोरञ्जनका रूपमा कविता पढ्दा पढ्दै थाहै नपाई उनीहरूको दिमागमा परिवर्तनप्रति अनुराग बढाउने खालका बालकविता आजका आवश्यकता हुन् । त्यति मात्रै होइन, बालकविताले त अभिभावक, साथीसङ्गीमा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्दछ । बालमनोवैज्ञानिक बालकविताले यस्तो सामर्थ्य राख्न सक्दछ ।”

ओखती र अर्ती–उपदेश अवश्य नै तीतो हुन्छ । यसो भनेर तीतो हुन्छ भन्दैमा ओखती नै नखुवाउनु पनि राम्रो होइन र तीतो ओखती जबर्जस्ती खुवाउनु पनि राम्रो होइन । त्यसैले तीतो ओखतीलाई थाहै नदिई बाबुआमाले फकाई–फकाई जसरी पानी वा दूध खुवाउने बहानामा खुवाउँछन् त्यसरी नै दिनै पर्ने नैतिक सन्देशलाई रोचक प्रसङ्ग मिलाएर तथा कल्पना, आख्यान, लयात्मकता आदिको साँचोमा ढालेर बालसाहित्यका स्रष्टाले दिन जान्नुपर्दछ । कतिपय बालकविता लेखकले बालबालिकासँग घुलमिल भएर भन्दा पनि अर्ती-उपदेश दिने अभिभावकका रूपमा र नैतिक सन्देश दिने गुरुका रूपमा आफूलाई उभ्याएको पाइन्छ । वास्तविक बालकविता लेख्न त उनीहरूसँग सामीप्यता गाँस्न, उनीहरूको आँत छाम्न, उनीहरूसँगै रमाउन, उनीहरूका कुरा बुझ्न तथा समग्रमा भन्दा उनीहरूसँग सङ्गत गर्न सक्नुपर्दछ भन्ने कुरा पनि सर्जकले बिर्सनु हुँदैन । यसरी बालबालिकालाई नैतिकवान्, चरित्रशील र सिर्जनामुखी बनाउनका लागि अप्रत्यक्ष सन्देशको प्रस्तुति दिनु बालकविताको एउटा उल्लेख्य पाटो हो ।

५) कथयिता पात्रका रूपमा बालपात्रको उपस्थिति

उपदेशात्मक कवितामा बालसाहित्यकार प्रौढ पात्र बनेको हुन्छ र बालबालिकाले आफू बालक बनेर होइन प्रौढ बनेर त्यस्ता कविता पढिरहेका वा गाइरहेका हुन्छन् । बालकविताका पाठकलाई “तिमी यसो गर” होइन “हामी यसो गरौँ भनेर पढेको सुहाउँछ । बालकविता लेख्दा बालसाहित्यकारले प्रयोग गर्ने पात्र बालक नै हुनुपर्दछ र त्यस्तो बालपात्र बालसाहित्यकारले आफ्नो वर्तमानको उमेर बिर्सेर बाल्यकालीन उमेरको अनुभव गरेको खालको हुनुपर्दछ । अभिभावकले सम्बोधन गर्ने गरी चयन गरिएको बालपात्रलाई बालकविताको पात्र बनाउँदा बालबालिका स्वयंले पढ्न रमाइलो मान्दैनन् । बालबालिका स्वयंलाई पात्र बनाइएको बालकविता पढ्दा उनीहरू बल्ल रमाएर वाचन गर्न सक्छन । यसरी बालबालिकाले बालकविता वाचन गर्दा उनीहरू अर्ती–उपदेश दिने अभिभावक वा नैतिक सन्देश दिने गुरु–गुरुआमा भएको नसुहाउने कारणले पनि कथयिता पात्रको रूपमा बालपात्रको उपस्थिति हुनु अनिवार्य हुन्छ ।

६) बालमनोविज्ञानको प्रयोग

बालकवितामा प्रयोग हुने बालोचित सन्दर्भ, बालसुलभ अभिव्यक्ति र बालोपयोगी कोमल भावनाले बालमनोविज्ञानलाई सङ्केत गरेको हुन्छ । बालबालिकाका लागि गरिने रचनाहरू बालबालिकाका मस्तिष्कमा घुस्न सक्ने र जिब्रोमा पच्न सक्ने हुनुपर्दछ साथै यिनीहरूमा कलिलो बौद्धिकता, सूक्ष्म दार्शनिकता, सरल शैलीशिल्प र भावनात्मक कोमलता हुनु पनि निकै आवश्यक छ । त्यसो त बालकका लागि साहित्य लेखिँदा जटिल, क्लिष्ट, गहन, तार्किक एवं बौद्धिक कुराको आवश्यकता नपर्ने र निकै तल्लो स्तरमा झरेर लेखिने हुँदा बालसाहित्य लेखन सजिलो हुन्छ भन्ने भ्रम पनि अधिकांश मानिसहरूमा परेको छ तर वास्तवमा बालकका लागि साहित्य लेखिनु सजिलो काम अवश्य पनि होइन । बालसाहित्य लेख्नका लागि बाल मनोविज्ञान बुझेको हुनुपर्दछ, पूर्वावस्थालाई सम्झँदै वर्तमान बिर्सिदिएर विगततिर फर्किनुपर्दछ र आफू पनि बालक नै बन्नुपर्दछ । बालसाहित्य पढ्न जति सजिलो, मीठो र रमाइलो हुन्छ, लेख्न त्यति नै गाह्रो हुन्छ । बालबालिकाहरूसँग पनि भावना हुन्छ, उनीहरू लेख्न सक्तैनन्, प्रौढहरूसँग लेखन क्षमता हुन्छ तर आफ्नो बालजीवन बिर्सिसकेका कारणले त्यो भावना बुझेर, खोजेर, सोधेर तथा बाल्य संसारमा फर्किएर लेख्न यिनीहरूलाई निकै अप्ठेरो हुन्छ  तसर्थ बालमनोविज्ञान बुझेर सोही अनुरूप लेख्नु बालकविताको एउटा अनिवार्य र मुख्य सर्त हो । बालकवितामाा कसैको अपाङ्गता, शारीरिक दुर्बलता, बौद्धिक वा मानसिक असक्षमतालाई खिल्ली उडाउनु राम्रो हुँदैन । यसो गर्दा उनीहरूमा प्रतिकूल प्रभाव पर्न जान्छ । तसर्थ उनीहरूको बालमनोभावनाको कदर हुने गरी कविता रचना गर्नु पर्दछ । अपाङ्गलाई होच्याउने खालको लाटो, डुँडो, अन्धो, कानो, बहिरो जस्ता शब्दको प्रयोग त फिटिक्कै गर्नु हुँदैन । त्यस्तै गरेर जातीय हिसाबले अपमानित गर्ने शब्दको प्रयोग गर्नु पनि राम्रो मानिँदैन । बालसाहित्यकार गोविन्दबहादुर कुँवरले बालकवितालाई बालमैत्री हुनुपर्ने कुरामा जोड दिँदै यसो भन्नुहुन्छ – “बालकविता बालमनोविज्ञानमा आधारित हुनुपर्छ । यो उनीहरूमा उत्सुकता र जिज्ञासा जगाउने हुनुपर्छ अनि कुनै पनि बालबालिकालाई विभेद नगरी, नहोच्याई शिष्ट भाषामा लेखिनुपर्दछ ।”

७) सरल, सहज र सम्प्रेष्य भाषाको प्रयोग

बालकविताको भाषा सरल, सहज र सम्प्रेष्य हुनुपर्दछ । लेखकले दिन खोजेको भाव बालमस्तिष्कमा सजिलै घुस्न सक्ने कविता नै बालकविताका लागि ग्राह्य हुन्छ । बालकवितामा बालबोलीमा आधारित प्रचलित शब्दलाई नै बालकविताका सर्जकले प्रयोग गर्न सकेका खण्डमा यो अझ सार्थक, रोचक र उद्देश्यपूर्ण हुन्छ । ‘आइँ’, ‘कुती’, ‘चरी’ जस्ता प्राणीबोधक नाम, ‘चिची’, ‘पापा’, ‘माम’ जस्ता खानेकुराका नाम तथा ‘ककनन गर्नु’, ‘काटीकाटी गर्नु’, ‘थिरी गर्नु’, ‘भुङ्ग हुनु’, ‘हट्हट् गर्नु’ जस्ता क्रियावाची पदावलीका प्रयोग भएका बालककै भाषामा आधारित कविताहरू बालबालिकाका लागि रोचक र प्रिय हुने गर्दछन् । बालकविता रसिलो र सजिलो अर्थात् सरस र सरल हुनुपर्छ भन्ने कुरामा जोड दिँदै साहित्यकार एवम्  शिक्षिका सरस्वती श्रेष्ठ ‘सरु’ यसो भन्नुहुन्छः “बालकविताको भाषा लयात्मक र सजिलै बुझिने खालको हुनुपर्दछ । बालबालिकाले आफ्नो दिमागले सजिलै भ्याउने शब्दको अर्थ खोज्न शब्दकोश पल्टाउन नपरोस् । पल्टाउनु पर्दा अर्थ भेटियोस् ।” मन्टेस्वरी विद्यालयकी सञ्चालक एवं बाल टेलिकार्यक्रमकी कुशल प्रस्तोता सविता बस्नेत दानीका अनुसार बालकवितामा प्रयोग गरिने भाषा बालबोलीमा आधारित हुनुपर्छ, उनीहरूले प्रयोग गर्ने खालको शब्द जस्तैः भातलाई माम, दूधलाई बुबु जस्ता शब्दको प्रयोग गर्दा बालबालिकाहरू रमाउँछन् ।

८)  विषयवस्तु छनोटमा बालरुचि अनुकूलता

बालकविता लेख्दा सुरुमै मस्तिष्कमा राख्नुपर्ने कुरा उचित विषयवस्तुको चयन र यसको प्रभावकारी प्रस्तुति हो । आफू जानकार भएको विषयवस्तु वा अरू कसैसँग सोधेर जानकारी लिन सकिने चिरपरिचित विषयवस्तुको प्रयोग बालकवितामा गरिनुपर्दछ । सुन्दै नसुनेको, देख्दै नदेखेको वा भोग्दै नभोगेको विषयवस्तुको प्रयोग भएका बालकविताले बालबालिकाको ध्यान तान्न सक्तैनन् । बालकविताका सर्जक पनि आफैँमा पूर्ण हुन नसक्ने कारणले उनीहरूले विषयवस्तु छनोटका लागि बालबालिकाको सहायता पनि लिन सक्छन् । यसरी विषयवस्तु छनोट गर्दा स्रष्टाले सकभर बालबालिकाको मनस्थितिमा सकारात्मक प्रभाव पार्न सक्ने विषयवस्तुको छनोट गर्नुपर्दछ । विषयवस्तु चयन गर्दा बालबालिकालाई प्रिय लाग्ने प्रकृति, प्राकृतिक जीवजन्तु, चराचुरुङ्गी, प्राकृतिका वनस्पति, बालखेल, चाडपर्व, बाल्यअनुभव, संस्कृति, विज्ञान तथा प्रविधि, स्थानीय महत्त्वका वस्तु, लोपोन्मुख वस्तु, वैयक्तिक जीवन भोगाइ, देशप्रेम, नाता–सम्बन्ध, घरगाउँ, विद्यालय आदिलाई आधार लिनुपर्दछ जसले गर्दा त्यसले बालबाालिकामा सकारात्मक परिवर्तन ल्याउन सकोस् अनि उनीहरूलाई चरित्रशील, नैतिकवान् र सिर्जनामुखी पनि बनाउन समेत मद्दत पुगोस् । मन्टेस्वरी विद्यालयका सञ्चालक एवं बालसाहित्यका स्रष्टा सुरज राजथलाका अनुसार बालबालिकाले महसुस गर्ने, सचेत  हुने कल्पनाशील शब्द किफायती र स्पष्ट भाषाको प्रयोग गरिएको बालकविता साना भाइबहिनीहरूका लागि रुचिकर हुने हुँदा सर्जकले विषयवस्तु छनोटमा बालरुचि अनुकूलतालाई ध्यान दिनुपर्दछ ।

९) राष्ट्रियता र जातीयताप्रतिको गौरवबोध

आफू जन्मेको भूमि, आफ्नो गाउँघर, समाज, छिमेक र राष्ट्रप्रतिको ममताको भाव कवितामा छचल्किएको हुनुपर्छ । यस्ता विषयवस्तुको चयन गरेर लेखिने कविताले सर्जकलाई राष्ट्रप्रेमी बन्ने प्रेरणा प्रदान गर्दछ भने राष्ट्रप्रति कर्तव्य परायण हुने भावनाको विकास पनि गराउँछ । जन्मभूमि वा राष्ट्रियताप्रतिको प्रेम झल्काउनका लागि राष्ट्रिय इतिहास, राष्ट्रिय भूगोल, राष्ट्रिय  संस्कृति, राष्ट्रिय विभूति आदिलाई विषयवस्तुका रूपमा छुन सक्नुपर्दछ । देशको परम्परागत संस्कृतिको संरक्षण, संवर्धन एवं प्रचारप्रसार गर्नका लागि; राष्ट्रिय वीरताको पहिचान गराउनका लागि; राष्ट्रिय प्राकृतिक सम्पदाको महत्त्वगान गाउनका लागि, राष्ट्रिय विभूतिप्रति आदरभाव दर्साएर उनीहरूले देखाएको बाटामा अग्रसर हुनका लागि, राष्ट्रिय इतिहासको स्मरण गर्नका लागि तथा समग्रमा राष्ट्रको परिचय दिँदै गौरवान्वित हुनका लागि बालकवितामा राष्ट्रियता र जातीयताप्रतिको गौरवबोध देखिनु राम्रो हुन्छ । बालसाहित्यानुरागी स्रष्टा शर्मिला कार्की यस सम्बन्धमा थप्नुहुन्छ – “बालकवितामा एकातिर बालबालिकालाई मन पर्ने, रोचक, प्रेरणाप्रद सामग्रीको प्रस्तुति हुनुपर्छ भने अर्कातिर बालकवितामा राष्ट्र, राष्ट्रियता र नेपाली जातीयताप्रति गौरव जगाउने, आफ्नो भाषा, संस्कृति, परम्परा, लोकजीवनप्रति माया गर्ने, राष्ट्रप्रेमको भावना विकसित गराउने उद्देश्य पनि हुनुपर्छ अनि आपसी मेल, सद्भाव, सहयोग, आदर, माया आदिको संस्कार बसाउने सकारात्मक सोचाइको विकास गर्ने उद्देश्यमा समेत बालकविता केन्द्रित हुनुपर्छ ।”

१०) आकर्षक र रङ्गीन चित्रसज्जा

बालकवितामा आकर्षक र रङ्गीन चित्रसज्जा हुनु लेखक वा बालकविताका सर्जकसँग सम्बन्धित विषयवस्तु त होइन तर पत्रिका वा पाठ्यसामग्रीमा प्रकाशित हुने बालकवितामा भने यसको प्रयोग अनिवार्य नै हुनुपर्छ । यो चित्रकारसँग सम्बन्धित विषय हो, यसका लागि कविताका सर्जकको सहकार्य र सल्लाहमा आकर्षक र रङ्गीन चित्रसज्जा हुनु नितान्त जरुरी देखिन्छ । अन्य कवितामा चित्रको प्रयोग ऐच्छिक रूपमा रहे पनि बालकवितामा यो अनिवार्य रहेको हुन्छ । ‘एक चित्र बराबर हजारौँ शब्द’ भनेझैँ भाषाको माध्यमले मात्र अभिव्यक्त हुन नसक्ने भाव चित्रसँग पनि अटाएको हुन्छ । चित्रयोजनाले एकातिर कवितामा सजावट थप्ने काम गरेको हुन्छ जसले गर्दा चित्र मात्र हेर्नका लागि र चित्र हेरेर स्पष्ट हुनका लागि बालबालिकाहरू बालकविता पढ्नतिर हौसिएका हुन्छन् । अर्कातिर शब्दले व्यक्त गर्न नसक्ने भाव चित्रले सजिलैसँग व्यक्त गरेको हुन्छ । त्यसो त बालकवितामा चित्र संयोजन गर्ने काम बालकविताका सर्जकहरूले पनि गर्न सक्दछन् र सर्जकको भावना बुझेर सोहीअनुरूप चित्र संयोजन गर्ने काम चित्रकारले पनि गरेका हुन्छन् । प्रौढ कवितामा अमूर्त चित्रको प्रयोग गरिएको हुन्छ भने बालकवितामा चाहिँ बालबालिकाले नै बुझ्ने खालको मूर्त र स्पष्ट चित्रको प्रयोग गरिनु आवश्यक हुन्छ । बालकवितामा अमूर्त चित्र, कविताको मर्मविपरीतको चित्र तथा बालबालिकालाई नकारात्मक असर पार्ने खालको चित्र सर्वथा वर्जित मानिन्छ । मूर्त भईकन पनि रङ्गीन चित्रको सजावट भएको बालकविताले बालपाठकलाई निकै प्रभाव पारेको हुन्छ । चित्र संयोजन गर्दा चित्रकारले बालबालिकाहरूलाई छिटो आकर्षण गर्न सक्ने विषयवस्तुसँग सम्बन्धित चित्रहरूको प्रयोग गर्नुपर्दछ । त्यस्ता खालका कविता पढ्दा बालबालिकाहरू चित्र हेर्दै शब्दको भाव बुझ्नमा रमाएका हुन्छन् ।

११) समय अनुकूलता

अहिलेको समय विज्ञानको समय हो । बालकवितामा  संस्कृति–संरक्षण र प्राचीन वस्तुको महत्त्वबोध गराउने कुरा आफैँमा महत्त्वपूर्ण त छँदै छ तर यस सँगसँगै आधुनिकता र वैज्ञानिक मूल्यमान्यतालाई समेत बिर्सन नहुने कुरामा सचेत हुनु पनि जरुरी छ । बालबालिकाले बालकविता पढेर अन्धविश्वासी विचारप्रति विद्रोह गरी अभिभावकलाई विज्ञानमुखी संस्कारमा ढल्किनका लागि अनुरोध गर्न सक्दछन् । झारफुकतर्फ लाग्नुको सट्टा स्वास्थ्य केन्द्रमा जानका लागि अभिभावकलाई सम्झाउन सक्छन् । यसका लागि बालकविताका सर्जकले बालकवितामा यी र यस्ता कुरामा समेत ध्यान पुर्‍याएर सिर्जन गर्न सक्नुपर्दछ । रूढिवादी सोचले समाज पछाडि परेको र अग्रगमनतर्फ फड्को मार्न नसकेका विषयवस्तु बालकवितामा आउनु पर्दछ । हाम्रो समाजमा हुने रुढिवादी चिन्तनले बालबालिकाले पनि सोही कुरामा विश्वास गर्न सक्छन् । समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास र रूढिवादी चिन्तनलाई चिर्न सक्ने कविता बालपाठकलाई पस्कन सकियो भने उनीहरूले यस्ता कुरालाई घर–परिवारमा लगेर सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुर्‍याउन सक्छन् । यसबाहेक घोकन्ते विद्याको साटो समयको मागबमोजिम आधुनिक प्रविधिको सिकाइलाई पनि कवितामा महत्त्व दिनुपर्दछ । बाल तथा किशोर साहित्य लेखनमा लामो अनुभव सँगाल्नुभएका बालसाहित्य स्रष्टा उद्धवप्रसाद प्याकुरेल भन्नुहुन्छ – “बालकवितामा बालबाालिकाहरूको भावना समेटिनु पर्छ; बालकविता परिवर्तित समय र परिवेश सुहाउँदो हुनुपर्छ अनि आधुनिक समयको मागअनुसार एउटै कविताले  एकीकृत सिप विकास गराउने खालको पनि हुनुपर्छ ।

१२) भाषाशैलीगत शुद्धता र मानक व्याकरणको प्रयोग

बालकविताको भाषा शुद्ध छ भने बालबालिकाले बालकवितामार्फत नवीन ज्ञानका साथै शुद्ध भाषा पनि सिक्न पाउँछन् । बालबालिकाले ठुलाको सिको गर्छन् र देखेको कुरामा विश्वास गर्छन् । किताबका पाठका अंशको अनुलेखन गर्दा उनीहरूले ह्रस्व–दीर्घ मात्रा लगायत वर्णविन्याससँग सम्बन्धित अन्य कुराहरूलाई अत्यन्त ध्यान दिएका हुन्छन् । बालकविताका सर्जकले लेखेका कवितामा हुने भाषिक विचलनले वास्तविक भाषा नै यही रहेछ कि भन्ने भ्रममा समेत उनीहरू पर्दछन् । तसर्थ व्याकरणिक शुद्धतामा सर्जकले विचार पुर्‍याउनै पर्ने हुन्छ । भाषा प्रयोग गर्दा लेखकले  थाहै नपाई स्थानीय वा आञ्चलिक शब्दको प्रयोग गर्न पुगेका हुन्छन् । यसबाट सर्जक सकभर जोगिनु पर्छ र शङ्का लाग्दा शब्दकोश पल्टाएर स्पष्ट हुन सक्नुपर्दछ । भाका मिलाउनका लागि कथ्य भाषा, भाषिका वा आञ्चलिक भाषाको प्रयोग गर्नु पनि त्यति राम्रो हुँदैन किनभने यस्तो भाषाको प्रयोग गर्दा सबै बालबालिकाले कविताले दिन खोजेको अर्थ र भाव भेट्टाउँदैनन् । मानक भाषा भनेको साझा, स्वीकार्य र सर्वसम्मत भाषा भएकाले देशभरिका पाठकले कविता बुझून् भन्ने कुरामा सर्जकको ध्यान पुगेको हुनुपर्दछ । यसरी बालबालिकालाई कवितात्मक आनन्द दिनुका साथै शुद्ध भाषा सिकाउनका लागि समेत बालकवितामा व्याकरणिक शुद्धता र मानक व्याकरणको उपयोग हुनै पर्दछ ।

क्याम्पस प्रमुख

ईशानेश्वर क्याम्पस, भोर्लेटार, लमजुङ