१. विषय प्रवेश

साहित्यमा सबै विधाका आआफ्नै विधागत चिनारीहरू हुन्छन् । कविताको मूलभूत चिनारी लयविधान हो, निबन्धको मूलभूत चिनारी दृष्टिकोण वा विचार हो, नाटकको मूलभूत चिनारी संवाद वा अभिनय हो भने कथाको मूलभूत चिनारी घटना हो । त्यसैले कथा घटना वा कथावस्तुलाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना हो । यस प्रकृतिका रचनाहरूलाई आख्यान भनिन्छ । संरचनात्मक आयामका दृष्टिले आख्यानका पनि लघुतम संरचना (लघुकथा), लघु संरचना (कथा) र बृहत् संरचना (उपन्यास) आदि रूपहरू पाइन्छन् । छोटो संरचनामा कथावस्तुलाई पूर्णता दिने एउटा प्रभावकारी भाव सम्प्रेषण गर्न सक्ने आख्यानात्मक सिर्जनालाई लघुकथा भनिन्छ । कथाका लागि आवश्यक सबै तत्त्वहरूको सम्पन्नताभित्र खँदिलो संरचना अनि मितव्ययी अभिव्यक्ति लघुकथाको सबैभन्दा ठुलो सम्पत्ति हो । यस लेखमा आख्यानअन्तर्गत पर्ने एउटा शक्तिशाली एवं नेपाली साहित्यमा अत्यन्त लोकप्रिय उपविधाका रूपमा रहेको लघुकथाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. लघुकथाको सैद्धान्तिक स्वरूप र परम्परा

‘लघु’ र ‘कथा’ दुइटै तत्सम शब्द हुन् । यी दुई शब्द मिलेर ‘लघुकथा’ शब्दको निर्माण भएको हो । लघु भनेको छोटो हो भने कथा भनेको कहानी हो । अर्थात् छोटो कथा नै लघुकथा हो । यसका बारेमा विभिन्न विद्वान्हरूका आआफ्नै अवधारणाहरू पाइन्छन् । एडगर एलेन पोले आख्यानको लघुतम प्रभेद नै लघुकथा हो भनेका छन्, रोनाल्ड वालेसले एक पृष्ठको आयाममा विस्तारित २५० शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो भनेका छन् भने प्रान्सिसले चातुर्यपूर्ण तरिकाले समापन गरिएको छोटो कथा नै लघुकथा हो भनेका छन् । यस सन्दर्भमा आर होगार्डले त एक मिनेका कथालाई लघुकथा भनिन्छ भनी स्पष्ट उल्लेख गरेका छन् । यसका आधारमा हेर्दा एलेन पो र वालेसले सङ्केत गरेका आयाम र प्रान्सिसले सङ्केत गरेको प्रभावकारिताले लघुकथाको बाह्य तथा आन्तरिक दुवै पक्षलाई सङ्केत गरेको पाइन्छ भने होगार्डले सङ्केत गरेको समयसीमा भने सूत्रकथाका लागि स्वाभाविक भए पनि लघुकथाका लागि त्यत्ति व्यावहारिक मानिँदैन ।

नेपाली साहित्यमा पनि लघुकथाका विषयमा अनेकौँ परिभाषाहरू भएका छन् । मोहनराज शर्माले कम्तीमा दुइटा यथार्थ वा कल्पित घटनाको कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई, दयाराम श्रेष्ठले क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने भित्री अणुसामथ्र्य भएको छोटो कथालाई र राजेन्द्र सुवेदीले आफैँमा स्वतन्त्र, निरपेक्ष, पूर्ण अस्तित्वबोधक कथाको प्रविधालाई लघुकथाका रूपमा परिभाषित गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा लघुकथामा यथार्थ र काल्पनिक दुवै विषयवस्तु समेटिन सक्ने, भावको प्रभावकारी विस्फोटन र अणुसामथ्र्य हुनुपर्ने, स्वतन्त्र भएर पनि आफ्नो अस्तित्वसहितको हुनेपर्ने तर आकारमा चाहिँ अत्यन्त छोटो हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत सङ्क्षिप्तता र भावगत प्रभावकारिता नै लघुकथाको शक्ति र सामथ्र्य हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

लघुकथा लेखन, प्रकाशन र समीक्षणको ऐतिहासिक सन्दर्भलाई केलाउन थाल्ने हो भने वैदिक कालसम्म नै पुग्नुपर्ने हुन्छ । पूर्वीय काव्यजगत्मा अत्यन्त सूक्तिमय छोटा आख्यानात्मक रचनाहरूको प्रयोग वैदिक, पौराणिक तथा साहित्यिक तीनै कालमा भएको पाइन्छ तर लघुकथालाई नामकरणका साथै प्रयोगात्मक रूपमा चिनाउने कार्यमा पाश्चात्य जगत्को विशेष भूमिका रहेको देखिन्छ । पूर्वीयमा जस्तै पाश्चात्य जगत्मा पनि सिर्जनात्मक रूपमा यसको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको भए पनि सैद्धान्तिक चर्चा भने सन् १९५० को दशकबाट हुन थालेको देखिन्छ । त्यसमा पनि यससम्बन्धी औपचारिक अवधारणा भने सन् १९८० को दशकमा अङ्ग्रेजी साहित्यमार्फत अगाडि आएको देखिन्छ । त्यहाँदेखि यहाँसम्मको चार दशकमा लघुकथाले सैद्धान्तिक एवं सिर्जनात्मक दुवै क्षेत्रमा विश्वव्यापी लोकप्रियता हासिल गरेको देखिन्छ ।

लघुकथा नेपाली कथापरम्परामा पनि सर्वाधिक लोकप्रिय मानिन्छ । वर्तमानमा लघुकथाले आख्यानात्मक सबै खाले सिर्जनालाई उछिनेको देखिन्छ । नेपाली कथाको प्रारम्भचाहिँ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । साथै प्राथमिक कालीन ‘मुन्सीका तीन आहान’मा लघुकथाको पूर्वस्वरूप पनि फेला पर्दछ तर वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा प्रकाशित पूर्णप्रसाद बाह्मणको ‘वरदान’ शीर्षकको लघुकथालाई नेपालीको पहिलो लघुकथा मान्ने गरिन्छ । पुस्तकाकार कृतिमा भने ब्राह्मणकै २००७ मा प्रकाशित ‘झिल्का’लाई नेपाली लघुकथाको पहिलो कृति मानिन्छ । नेपाली लघुकथा परम्परालाई हेर्दा पृष्ठभूमिदेखि २००६ सालसम्मको समयलाई पहिलो चरण, २००७ सालदेखि २०२९ सालसम्मको समयलाई दोस्रो चरण, २०३० सालदेखि २०४५ सालसम्मको समयलाई तेस्रो चरण र २०४६ सालदेखि हालसम्मको समयलाई चौथो चरण भनी वर्गीकरण गरिएको पाइन्छ । नेपाली लघुकथाले आफ्नो चरणगत विकाससँगै एउटा छुट्टै विशेषता पनि बोकेर आएको देखिन्छ । यसरी २००७ देखि हालसम्मको सात दशकको अवधिमा नेपाली लघुकथाले जुन प्रकारको उचाइ प्राप्त गरेको छ त्यो नेपाली साहित्यको इतिहासमा नै गर्व गर्न लायक देखिन्छ ।

३. लघुकथा हुनका लागि के के चाहिन्छ ?

लघुकथा आफैँमा एउटा पूर्ण कथा नै हो । यो कथा वा उपन्यासको एउटा खण्ड होइन । यसमा छोटो संरचनाभित्र पनि घटनाको आदि, मध्य र अन्त्यको सुव्यवस्थित रखाइ हुनु अनिवार्य छ । यसको विषयवस्तु प्रभावकारी हुन्छ र सन्देश जीवन्त हुन्छ । सूचना, ज्ञान र मनोरञ्जन तीनै कुराको व्यवस्थापन यसमा हुन्छ तर यो चुट्किला वा जोक्सचाहिँ होइन । चुट्किलामा पनि कथाका लागि आवश्यक अङ्गहरू हुन्छन् तर तिनको उद्देश्य केवल मनोरञ्जन हुने गर्दछ । लघुकथाको उद्देश्य मनोरञ्जन मात्र होइन । घटनाको आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाबाट विकसित हुँदै गएर प्रभावकारी निष्कर्षका पुग्नु लघुकथाको संरचनात्मक चिनारी हो । एउटा कथाकार लघुकथा लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

— लघुकथा केका बारेमा लेख्ने ? = घटना/कथावस्तु

— कथावस्तुलाई कार्यकारण शृङ्खलाबद्ध कसरी गर्ने ? = कथानक

— कथावस्तुलाई लक्ष्यसम्म पु¥याउने जिम्मा ककसलाई दिने ? = पात्र/चरित्र

— कथाका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण केकस्तो राख्ने ? = परिवेश

— यो कथा किन लेख्ने ? = उद्देश्य/भाव/विचार

— कथाका पात्रहरूसँगको लेखकीय सम्बन्ध कस्तो बनाउने ? = दृष्टिविन्दु

— कथावस्तुलाई कसरी बाह्यरूपमा प्रकटीकरण गर्ने ? = भाषाशैली

यत्ति कुरामा स्रष्टाले ध्यान दिने हो भने सुन्दर लघुकथा सिर्जना हुन सक्छ । यसलाई एउटा सुन्दर शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक लघुकथाको मियो हो जसका वरिपरि घुमाउँदै कथावस्तुको दाइँ गरिन्छ र प्रभावकारी भावरूपी धानका दानाहरू झार्ने गरिन्छ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ । सकेसम्म शीर्षक वाक्यात्मक तहमा हुनु हुँदैन । यसका साथै लघुकथाको प्रस्तुति घटनाको सरासर वर्णन गर्ने खालको हुनु हुँदैन । घटनाको विकास, कथानकको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइरहनुपर्छ र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्छ ।

लघुकथा आकारमा सानो भए पनि यसको आन्तरिक व्यवस्थापनमा आदि, मध्य र अन्त्य तीनै प्रकारको कथानकको विकास हुने गर्दछ । जस्तैः

(क) आदि भाग: कथानकको उठान, पात्र र परिवेशको सङ्केत र कथावस्तुको विकासका लागि आधार निर्माण ।

(ख) मध्य भाग: कथानकको विकास, कौतूहल निर्माण र उत्सुकतामा बृद्धि ।

(ग) अन्त्य भाग: भावगत अभीष्ट प्राप्ति र प्रभावकारी समापन ।

लघुकथाको त्रिआयामिक संरचना यसरी गरिन्छ तर कथानकको आन्तरिक विकास गर्दाचाहिँ निम्नलिखित पाँचओटा चरणमा समेत ध्यान दिनुपर्छ—

(क) कथानकको बीज भाग: यस भागमा कथावस्तुको मूल कथ्यलाई सङ्केत गरिन्छ ।

(ख) कथानकको विकास भाग: यस खण्डमा स्वाभाविक रूपमा कथावस्तुलाई उठाउँदै लगिन्छ ।

(ग) कथानकको चरमोत्कर्ष भाग: यस खण्डमा कथावस्तुप्रतिको उत्सुकता बृद्धि गराइन्छ ।

(घ) कथानकको प्रतिचरमोत्कर्ष भाग: यस खण्डमा कथानकलाई उत्कर्ष प्रदान गरी समाधानउन्मुख मोडमा पु¥याइन्छ ।

(ङ) कथानकको उपसंहार भाग: यस खण्डमा कथाले भन्न खोजेको कुराको स्थापना हुने गरी प्रभावकारी समापन गरिन्छ ।

एउटा लघुकथामा कथानकको आन्तरिक बुनोट यसरी गरिन्छ तर ती खण्डहरू अलग अलग नभएर एकअर्कासँग अन्तरसम्बन्धित भएर आउँछन् । यिनलाई फरक फरक अनुच्छेदमा लेख्नु पर्दैन र खण्ड खण्डमा छुट्याउनु पनि पर्दैन तर पाठकले थाहै नपाईकन कथानकको उत्तरोत्तर विकास हुँदै गएर प्रभावकारी समापनमा पुग्नुपर्छ । यसको उद्देश्य प्राप्ति हुँदा पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना हुनुपर्छ ।

४. लघुकथा कसरी लेखिन्छ ?

लघुकथामा जीवनको एउटा महत्त्वपूर्ण क्षणको चित्रण हुने गर्दछ । यसमा समाजको एउटा पाटो, स्रष्टाको भोगाइसँग जोडिएको एउटा क्षण वा स्रष्टाले कल्पना गरेको भावगम्भीर युगबोध आदिलाई आख्यानात्मक स्वरूप प्रदान गरिन्छ । त्यसैले कथाकारले लघुकथाको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण : घटना, चरित्र र परिवेशको चयन

लघुकथा केका बारेमा वा के विषयमा लेख्ने हो ? कथाकार स्पष्ट हुनुपर्छ । लघुकथा जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । त्यसैले कथाकारले सबैभन्दा पहिला आफूले चाहेको घटना छनोट गर्नुपर्छ, त्यस घटनालाई वहन गर्न सक्ने पात्रको चयन गर्नुपर्छ र घटना एवं चरित्रका लागि अनुकूल हुने गरीको परिवेशको छनोट गर्नुपर्छ । यस चरणमा उल्लिखित विषयका लागि आवश्यक बुँदाहरूको टिपोट पनि गर्न सकिन्छ ।

दोस्रो चरण : उद्देश्यअनुकूल कथानकको विस्तार गरी खेस्रा लेखन

यस चरणमा लघुकथाको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर कथारचना गर्न थाल्नुपर्छ । कथानकको विकासका लागि आवश्यक संवाद, कथोपकथन आदिका माध्यमबाट पाठकमा कुतूहल सिर्जना गर्दै जानुपर्छ । यसरी आख्यानलाई रोचक बनाउँदै लघुकथाको आदि, मध्य र अन्त्य भागसम्मको संरचना निर्माण गरी लघुकथाको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण: आवश्यक परिमार्जन गरी साफी लेखन

यस चरणमा आफैँले लेखेको लघुकथाको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा लघुकथाको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो लघुकथा प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका कथाकारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकैपटकमा अथवा एकै बसाइमा एउटा लघुकथाको साफी लेखन नै गर्न सक्छ । लघुकथाको सिर्जना पनि विद्युतीय शैलीमा हुन्छ र त्यसको प्रभाव पनि विद्युतीय झड्काझैँ हुने गर्दछ ।

५. लघुकथाको प्रयोगात्मक सिर्जना

शीर्षक : लोभको परिणाम

कथावस्तुको क्षेत्र : सामाजिक विकृति

पात्र : राणाजी, बद्री, कैलाश, पाहुनाहरू, प्रहरी र अन्य

परिवेश : सहरिया/सन्ध्याकालीन भोज/उच्चवर्गीय रवाफ

उद्देश्य : अरूको सामान वा सम्पत्तिमा लोभ गर्दा भयानक समस्यामा पर्न सक्ने

उल्लिखित योजनाअनुसार लघुकथाको सिर्जना गर्दा यसरी गर्न सकिन्छ—

लोभको परिणाम

राणाजी जनै उद्योगका मालिक हुन् । विगत केही महिनादेखि उनले उत्पादन गरेका जनैहरूको माग अत्यधिक बढेको थियो । त्यसैले उनको कम्पनीमा दिन दुगुना रात चौगुनाको गतिमा प्रगति हुँदै गएको थियो । उनले छोटो समयमा अरबौँको सम्पत्ति कमाए । यज्ञोपवीतको व्यवसाय गर्नेको विचार र व्यवहार दुवै पवित्र हुनुपर्छ भन्ने आदर्शमा उनी सधैँ प्रतिबद्ध थिए ।

जनै उद्योगबाट धेरै कमाइ भएको उपलक्ष्यमा राणाजीले भव्य रात्रिभोजको आयोजना गरेका थिए । भोजमण्डप झकिझकाउ थियो । त्यहाँ खाद्य पदार्थ, पेय पदार्थ सबैको व्यवस्था थियो । साँझ पर्नुअगावै देश–विदेशका पाहुनाहरूको घुइँचो लागेको थियो । बद्री र कैलाश राणाजीको उद्योगका कर्मचारी हुन् । ती पनि भोजमा आमन्त्रित थिए । राणाजीले ढोकामै उभिएर पाहुनाहरूको स्वागत गरे । पाहुनाहरू फरक फरक टेबलमा बसी खानपिनमा लागे । तीमध्येमा एक जना पाहुनाको वेशभूषा र रवाफ हेर्नलायक थियो । उनको चस्मा, उनको घडी, उनले लगाएको टाइ, सुट, जुत्ता आदिले सबैका आँखा आफूतिरै तानेका थिए । उनले बोकेको सुटकेस त झनै लोभलाग्दो थियो । ती पाहुना आफ्नो सुटकेस कुर्सीको छेउमा राखेर खानपिनमा लागे । कैलाश र बद्री त्यो सुटकेस देखेर लोभिए । तिनका मनमा पाप पलायो । तिनले सुटकेस आफ्नो बनाउने बारेमा सोच्न थाले ।

रात छिपिँदै गयो । पाहुनाहरू र राणाजी खानपिनमा मस्त थिए । त्यही बेलामा झ्याप्प बत्ती गयो । एकाएक हाहाकार भयो । बद्री सुटकेस लिएर भाग्यो । कैलाश पनि पछि पछि गयो । भोजमण्डपमा प्रहरीहरू प्रवेश गरेर बत्ती बाले । सबै त्यहाँबाट भागिसकेका थिए । एउटा कुनामा बद्री र कैलाश सुटकेस तानातान गर्दै थिए ।

प्रहरीले सोधे, “यो सुटकेस कसको हो ?”

बद्री र कैलाश दुवैले भने, “मेरो !”

प्रहरीले फेरि सोधे “यहाँभित्र के छ ?”

तिनले अनुमान गर्दै केही न केही भने । लामो समयसम्म प्रहरी र तिनका बिचमा भनाभन र अनुमान चलिरह्यो । प्रहरीले सुटकेससहित ती दुवैलाई चौकीमा लगे र सुटकेस खोलियो । त्यो सुटकेस चरेसका पोकाहरूले टम्म भरिएको थियो ।

यस कथाको आशयगत विश्लेषण

— जनै उद्योगको मालिक रातारात अरबपति हुनै सक्दैन त्यसैले केही न केही रहस्य छ ।
— जनै राणाजीको देखाउने दाँत हो, अवैध लागुपदार्थको कारोबार उसको मूल व्यवसाय हो ।
— अरबौँ कमाउने उद्योगमा काम गर्ने कर्मचारी वैधानिक कमाइप्रति सन्तुष्ट छैनन् त्यसैले मनमा पाप पलाउँछ ।
— भोजमा लागुऔषधको कारोबार हुँदै छ भन्ने कुराको सुइँको प्रहरीले पाएको थियो ।
— अर्काको सामानमा लोभ गर्दा निर्दोष व्यक्ति पनि ठुलो काण्डमा फस्न सक्छ ।
— पूर्णतः सत्पात्र भए पनि आंशिक चरित्र दोष नै दुःखान्त कथाको कारक हो । लोभ बद्री र कैलाशको चरित्रदोष हो । उनीहरू त्यति दोषी होइनन् जति तिनलाई सजाय मिल्ने सम्भावना छ ।
— पाठकका मनमा लामो समयसम्म पनि ‘बिचराहरू ! लोभले गर्दा फसे ! अगाडि सुटकेस चोरे पनि प्रहरी आएको थाहा पाएपछि त भागेका भए हुन्थ्यो नि !’ भन्ने लागिरहन्छ ।
— यो काल्पनिक घटना हो तर यसले साधारणीकरण भएर प्रत्येक पाठकका मनमा बारम्बार नरमाइलो अनुभूति उत्पन्न गराइरहन्छ ।

६. निष्कर्ष

लघुकथा छोटो आख्यान हो । यसमा घटनाको प्रधानता हुन्छ तर यसमा प्रयोग भएको घटना अत्यन्त खँदिलो र आकर्षक हुने गर्दछ । सूत्रात्मक संरचनामा गरिएको प्रभावकारी भावसम्प्रेषणले लघुकथालाई बलियो बनाउँछ । पाठकमा अब के हुन्छ ? भन्ने उत्सुकताको बृद्धि गर्दै गएर विद्युतीय झड्का हानेजस्तो गरी कथाको समापन गर्नु नै लघुकथाको प्रभावकारिता हो । लघुकथा आयाममा मात्र लघु भएर हुँदैन, यसमा विन्दुमा सिन्धु अटाउने क्षमता हुन्छ । छोटो संरचनाभित्र गरिएको शक्तिशाली भावविधान लघुकथाको शक्ति हो भने वर्णनात्मक एवं सपाट घटनाविस्तार यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…