साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाछिटा के हाे ? कसरी लेखिन्छ ?

थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गरिने स–साना स्वरूपका रचना सृजना गर्ने सन्दर्भमा एलाक, छोक, छेस्का, झिल्का, कृमुक, झर, दानाकविता, सूत्रकविता, बिम्बकविता, बीजकविता र बाछिटाजस्ता लघुतम र सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् ।

१. विषय प्रवेश

साहित्य जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र सञ्चेतनाको भाषिक अभिव्यञ्जना हो । साहित्यमा समाज, देश, काल र परिस्थितिका परिघटना र त्यसको प्रभावबाट मानवीय अन्तर्मनमा उत्पन्न भाव संवेगहरूलाई भाषाको माध्यमबाट कलात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ, त्यसैले जीवनको कथाव्यथा पनि साहित्य हो । समाजको दृश्य–परिदृश्य पनि साहित्य हो । प्रकृतिको छायाछवि पनि साहित्य हो । सृष्टिको विधिविधान पनि साहित्य हो । साहित्य अदृश्य भावहरूको दृश्यरूप हो ।

साहित्यको अध्ययनबाट जीवन, समाज र समयको यथार्थबोध हुन्छ । हृदयमा नव्य ऊर्जा आप्लावित हुन्छ । मस्तिष्कमा नव्य चेत झङ्कृत हुन्छ । नसानसामा नव्य स्फूर्ति संवाहित हुन्छ । यसर्थ साहित्यको अध्ययनबाट मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टि सम्प्राप्ति हुन्छ । यस्ता मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टिले जीवनभोगाइ सुखद, सुगम र सौन्दर्यमय बनाउँछ ।

साहित्य विशाल ब्रह्माण्डजस्तै हो । यसको क्षेत्र विशाल र व्यापक छ । जसरी ब्रह्माण्डभित्र यसअन्तर्गतका यावत् वस्तु अटाएका हुन्छन्, त्यसरी नै साहित्यभित्र यसअन्तर्गतका यावत् पाटाहरू अटाएका हुन्छन् । साहित्यका दुई पाटा छन् । ती गद्य र पद्य हुन् । गद्यसाहित्यमा उपन्यास, कथा, नाटक र निबन्धजस्ता भेदहरू छन् । पद्यसाहित्यमा महाकाव्य, खण्डकाव्य र स्फुट कविता र मुक्तकजस्ता भेदहरू छन् । उपन्यासमा जीवन, जगत् र भोगाइको बृहत् आयामलाई आख्यानीकृत गरिएको हुन्छ । कथामा जीवनको कुनै एउटा सग्लो पक्षलाई कथानक स्वरूपमा चित्रण गरिएको हुन्छ । नाटकमा जीवनको समग्र परिघटनालाई संवादात्मक स्वरूपमा परिवृत्त गरिएको हुन्छ । निबन्धमा देश, समाज र जीवनभोगका अनुभूतिजन्य यथार्थलाई भावनात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ ।

अमर त्यागी
अमर त्यागी

कविताका मुख्य चार भेदहरूमध्ये महाकाव्यमा देश, काल, प्रकृति, जीवन र भोगाइका बृहत्तम स्वरूप प्रबन्धनात्मक रूपमा पद्यमय भावाभिव्यक्तिमा चित्रण गरिएको हुन्छ र महाकाव्य बृहत् आकार र आयामको हुन्छ । खण्डकाव्यमा जीवन भोगाइको कुनै एउटा सिङ्गो स्वरूप पद्यमय शिल्प–शैलीमा चित्रित गरिएको हुन्छ र यो मझौला आकार र आयामको हुन्छ । स्फुट कवितामा जीवनको कुनै अनुभूतिजन्य भाव वा विचारलाई कलात्मक रूपमा व्यक्त गरिएको हुन्छ र यो लघुआकार र आयामको हुन्छ । स्फुट कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । स्फुट कविताको आकार र आयामभन्दा पनि भिन्न स्वरूप र संरचनामा लेखिने लघुतम रूप मुक्तक हो । मुक्तकजस्तै प्रकृतिका छोटा र सूत्रात्मक आकार एवम् आयाममा अनुभूतिको सूक्ष्मतम र तीक्ष्णतम झिल्कोलाई टिपेर कविता लेखन गर्ने परम्परा पनि विकसित हुँदैगएको छ ।

आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामालामा रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का दिने वा तरङ्ग उत्पन्न गर्ने र प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सृजना हुनेगरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र पनि बन्दै गएका छन् । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गरिने स–साना स्वरूपका रचना सृजना गर्ने सन्दर्भमा एलाक, छोक, छेस्का, झिल्का, कृमुक, झर, दानाकविता, सूत्रकविता, बिम्बकविता, बीजकविता र बाछिटाजस्ता लघुतम र सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् ।

२. कविताको उपविधात्मक स्वरूपका रूपमा बाछिटा

कविता विधाका बृहत्, मद्यम्, लघु र लघुतम गरी चार भेदहरू रहेका छन् । बृहत् रूप महाकाव्य, मध्यम रूप खण्डकाव्य र लघु रूप फुटकर कविता हुन् र लघुतम रूप मुक्तक हो । फुटकर कवितामा जीवन भोगाइको एउटा सग्लो पक्षलाई कलात्मकता साथ व्यक्त गरिएको हुन्छ । फुटकर कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । कविताको फुटकर स्वरूपका रचनाका आकार र आयामभन्दा भिन्न स्वरूपका आकार र आयाममा सृजना गरिने पद्यात्मक वा काव्यात्मक शिल्प–शैलीका रचनालाई कविताको उपविधा भन्ने गरिएको पाइन्छ । यस्ता उपविधात्मक कविताको संरचनात्मक स्वरूप सूक्ष्म र प्रस्तुति तीक्ष्ण किसिमको हुन्छ । यही सूक्ष्म र तीक्ष्ण स्वरूपमा नेपाली कविताको उपविधाका रूपमा बाछिटाको जन्म भएको हो । तीन–पाँच–तीन (३+५+३) अक्षरको तीन पङ्क्तिपुञ्जमा प्रकृतिको बिम्बसहित प्रतीकात्मक प्रस्तुतिमा बाछिटा रचना गर्ने अवधारणा निर्माण गरिएको छ । बाछिटा शब्दको प्रकृति, व्युत्पति र अर्थको आधारमा यो अवधारणा निर्माण गरिएको हो । बाछिटाका तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्ज लघुतम काव्यिक परिकल्पनाका आधारमा परिनिर्मित भएको हो । विषयगत, आकारगत, आयामगत, संरचनागत र प्रस्तुतिगत भावभूमिका आधारमा बाछिटा सूक्ष्मतम, तीक्ष्णतम, लघुतम र सूत्रात्मक स्वरूपको काव्यिक उपविधा हो ।

बाछिटा कविता विधाको लघुतम स्वरूपको उपविधाका रूपमा रहेको छ । यो तीन–पाँच–तीन अक्षरका तीन पङ्क्तिपुञ्जमा रचना गरिन्छ । यसको रचना सोझो अर्थमा नभएर प्रतीकात्मक हुने गर्छ । सैद्धान्तिक अवधारणाअनुसार जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र अनुभूतिका संवेगहरूलाई प्रकृतिको स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक रूपमा बाछिटालेखन गरिन्छ अर्थात् बाछिटामा अनुभूतिको एक झल्कोको प्रस्तुति हुन्छ, जुन झल्कोले चस्स छोएर मनमस्तिष्कमा एक किसिमको झन्झनाहट उत्पन्न गर्न सक्नुपर्छ ।

३. बाछिटाको व्युत्पत्ति, अर्थ र संरचनात्मक स्वरूप

बाछिटा समस्त शब्द हो । यो शब्द कर्मधारय समास भएर बनेको हो । यसको विग्रह रूप बाङ्गो छिटा हुन्छ । तत्समको रूपमा रहेको वक्र शब्द तद्भव भएर बाङ्गो बन्छ । बाङ्गोको अर्थ सोझो नभएको वा टेढो चालको हुन्छ । त्यस्तै तत्समको रूपमा रहेको क्षिप्त शब्द तद्भव भएर छिटो शब्द बनेको हो । यसको अर्थ छचल्केर वा उछिट्टिएर आउने पानीको सानो थोपो, जलबिन्दु, जलकण वा शुद्धिक्रियाका निम्ति छर्केको पानीको थोप्लो भन्ने हुन्छ । बाछिटाको समग्र रूपको अर्थ हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा वा छानाको किनारबाट खस्दा बलेसीमा ठोक्किएर टेढो भएर उछिट्टिएको पानीको छिटा भन्ने हुन्छ ।

बाछिटा नेपाली भाषाको तद्भव शब्द हो । यो प्रकृतिपरक शब्द हो । यसको अर्थगत भावले बाङ्गो प्रवृत्तिको भन्ने सङ्केत गर्छ । यसैको आधारमा साहित्यमा कविता विधाको उपविधाका रूपमा बाछिटाको परिकल्पना प्रकृतिको बिम्बसहित बाङ्गो प्रस्तुति भएको लघुतम संरचना भएको काव्यिक रचनाका रूपमा गरिएको हो । शब्दको स्वरूपगत, व्युत्पत्तिगत र अर्थगत भावलाई मूल आधार मानेर बाछिटा काव्यिक उपविधाको रूपमा प्रतिपादन गरिएको हो । बाछिटा तीन अक्षरीय शब्द हो । काव्यिक रूपमा बाछिटाको पहिलो पङ्क्ति तीन अक्षरीय शब्दको परिकल्पना गरिएको हो । त्यस्तै दोस्रो पङ्क्ति दुई अक्षर थपेर पाँच अक्षरको र तेस्रो पङ्क्ति पनि पहिलोमा जस्तै तीन अक्षरको शब्द राखेर तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जको लघुतम स्वरूप भएको काव्यिक उपविधाको रूपमा बाछिटाको संरचनात्मक स्वरूप निर्धारण गरिएको हो । त्यसैगरी पहिलो पङ्क्तिमा विषय पक्रने वा उठान गर्ने, दोस्रो पङ्क्तिमा विषयलाई उत्कर्षमा पु¥याउने र तेस्रो पङ्क्तिमा विषयको मूल मर्म वा भावलाई चस्स छुने किसिमले व्यक्त गर्ने आधारमा विषयगत स्वरूपको परिकल्पना गरिएको हो । त्यसैगरी बाछिटा वाचन गर्दा पहिलो पङ्क्ति बुलन्द रूपमा पठन गर्ने र पठनपछि एकदमै छोटो विश्राम र विश्रामपछि दोस्रो पङ्क्ति पनि बुलन्द रूपमा पठन र पठनपछि त्यसैगरी छोटो विश्राम र तेस्रो पङ्क्तिको पनि बुलन्द रूपमै पठन गर्ने र पठनपद्धति प्रभावमय हुनुपर्ने प्रावधान अपनाइएको छ ।

बाछिटा प्रकृतिपरक शब्द भएको हुँदा त्यसको सार्थकताका निम्ति बाछिटामा प्रकृतिबिम्ब हुनैपर्ने र प्रकृतिबिम्बको उपस्थितिका निम्ति जीवन, धर्म, दर्शन, इतिहास, समाज, राजनीति आदिसँग सम्बन्धित भएर आउने प्रकृतिका स्वरूप वा झलकलाई प्रकृतिबिम्बको रूपमा प्रयोग गर्ने नीति निर्धारण गरिएको छ । त्यस्तै बाङ्गो छिटाको अर्थगत स्वरूपका आधारमा बाङ्गो भनाइ वा प्रतीकात्मक प्रस्तुति बाछिटामा हुनैपर्ने र प्रतीकात्मक प्रस्तुतिका निम्ति अभिधात्मक नभएर लक्षणात्मक र व्यञ्जनात्मक अभिव्यक्ति हुनुपर्ने मान्यता स्थापना गरिएको छ । बाछिटाका तीनै पङ्क्तिबीच अर्थगत सामञ्जस्यता हुनुपर्ने तथा अक्षरगणना भाषाको लेख्य स्वरूपअनुसार र शब्दचयन र लेखन सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्ने आधार बनाइएको छ । बाछिटा सूक्ष्म संरचनात्मक स्वरूपको लघुतम रचना भएको हुनाले यसको शीर्षक नदिएर बाछिटा नै लेख्नु उपयुक्त हुने ठहर गरिएको छ । यसरी बाछिटालाई लघुतम संरचनात्मक स्वरूप र सूत्रात्मक प्रस्तुति हुने प्रतीकात्मक काव्यिक उपविधाको रूपमा स्थापना गरिएको हो । बाछिटाको संरचनात्मक अवधारणालाई यसरी बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ ।

१) बाछिटा रचना तीन–पाँच–तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ ।

२) बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ ।

३)बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई उत्कर्षतिर लानुपर्नेछ ।

४) बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ ।

५) बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्यता हुनुपर्नेछ ।

६) बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्नेछ ।

७) बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ ।

८) बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ ।

९) बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु राम्रो हुनेछ ।

१०) बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखान तुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्ति सरह नबनाउनु नै उत्तम हुनेछ ।

बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महŒव रहेको छ । तीन–पाँच–तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृतिबिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । प्रकृतिलाई मानवीकरण वा मानवलाई प्रकृतीकरण गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको प्रयुक्ति देखिनुका साथै प्रतीकात्मकताको पनि उपस्थिति रहन्छ ।

 

४. नवीन काव्यिक अभियानका रूपमा बाछिटा लेखन

बाछिटा काव्यको नवीनतम उपविधा हो । कविताभन्दा भिन्न संरचना, स्वरूप र आयामका आधारमा यसलाई उपविधा मानिएको हो । बाछिटाको आकार र आयाम लघुतम र प्रस्तुति प्रतीकात्मक वा वक्रोक्तिपूर्ण रहने गर्छ । त्यसैले सुन्दर बाछिटा सृजनाका निम्ति गम्भीर चिन्तन र निरन्तर साधनाको आवश्यकता पर्छ । सैद्धान्तिक अवधारणाको परिकल्पना निर्माण, बाछिटा नामकरण र काव्यिक उपविधाको रूपमा प्रवर्तनको विधिवत् घोषणा विक्रम संवत् २०७७ साल जेठ ४ गते अमर त्यागीले अमेरिकाबाट गरेका हुन् । यस घोषणामा खगेन्द्र बस्यालले नेपालबाट साथसहयोग दिएर महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

(बाछिटा काव्यिक उपविधाका रूपमा परिकल्पना गर्नुको एउटा छुट्टै प्रसङ्ग रहेको छ । समयसापेक्ष रूपमा सूत्रलेखनको अभिरुचिका कारण सूत्रकविता, सूत्रकथा लेखन र पुस्तक प्रकाशन पनि भइसकेको अवस्थामा अन्य विधाका रचना पनि सूत्र रूपमा लेखन गर्न सकिने सम्भावना रहेको र सोच बनिरहेको परिस्थिति थियो । यस समयमा हाइकुकृति प्रकाशनको तयारी चलिरहेको र पूर्वरचित हाइकुहरूको परिमार्जन र नयाँ हाइकुहरूको पनि निरन्तर लेखन भइरहेको थियो । यही सन्दर्भमा हाइकुलाई सूत्र रूपमा पनि लेख्न सकिन्छ कि भन्ने सोच बन्यो । सूत्र रूपमा हाइकु कसरी लेख्न सकिन्छ त भनेर चिन्तनमन्थन गर्ने क्रममा तीन–पाँच–तीन अक्षर संरचनामा किगो वा ऋतुबिम्बसहित हाइकु फुर्यो र तत्काल यस्ता रचनाहरूको लेखनकार्य भयो । यस्ता रचनाबारे अन्य सर्जकहरूको पनि प्रतिक्रिया बुझ्ने चाहनाअनुरूप पहिलो चरणमा फेसबुकको हाइकुसम्बन्धी ग्रुपमा हाइकु नाम दिएरै केही रचना सार्वजनिक गर्ने काम भयो । यसमा अनेक सकारात्मक र नकारात्मक प्रतिक्रियाहरू आए । धेरैबाट हाइकु भनेकोमा आपत्ति जनाउँदै यस्ता रचनालाई काव्योक्ति वा अन्य नाम दिने सल्लाह आयो । यसै कालखण्डमा खगेन्द्र बस्यालबाट छेस्का, झिल्का आदि नाममा तीन–पाँच–तीन अक्षरीय रचनाहरू फेसबुकमा देखिए । यसै रचनाका कारण उहाँसँग सम्पर्क गर्ने काम भयो । प्रतिक्रियाको बारेमा छलफल भयो । अरूबाट जेजस्तो प्रतिक्रिया आए पनि यस किसिमको रचनालेखनमा निरन्तरता दिन मैले उहाँलाई अनुरोध गरेँ । त्यसपछि उहाँले लघुहाइकु नाममा यस्ता रचनाको लेखन गरिरहनुभयो । यस्ता रचनालाई के नाम दिन सकिन्छ र केकस्तो सैद्धान्तिक पृष्ठभूमि निर्माण गर्न सकिन्छ भन्ने विषयमा लामो चिन्तनमन्थनपछि प्रकृतिपरक बिम्ब वा झलकसहित प्रतीकात्मक प्रस्तुतिको रचनाको रूपमा मैले बाछिटा नामकरण गरेँ । त्यसपछि म सैद्धान्तिक पृष्ठभूमि लेखनमा तल्लीन रहेँ भने खगेन्द्र बस्यालसँग सम्पर्क गरेर तीन–पाँच–तीन अक्षर संरचनाको रचनालाई बाछिटा नामकरण गरिएको र बाछिटा शब्दको स्वरूप र अर्थअनुसार प्रकृतिबिम्ब र प्रतीकात्मक प्रस्तुतिसहित तीन–पाँच–तीन अक्षर संरचनामा बाछिटा रचना गर्नुपर्ने यथार्थ बताएँ । उहाँले तीन–पाँच–तीन अक्षर संरचनामा मात्र बाछिटालेखन गर्ने प्रकृतिपरकता र प्रतीकात्मकता अनिवार्यता नराख्ने सुझाव दिनुभयो । प्रकृतिबिम्ब र प्रतीकात्मक अभिव्यक्तिको अनिवार्यता नराख्ने हो भने बाछिटा नामकरणको औचित्य पुष्टि नहुने र सैद्धान्तिक आधार नबन्ने हुनाले बाछिटालेखनको मूल मियो प्रतीकात्मक प्रस्तुति र प्रकृतिपरक बिम्ब वा झलक राख्नैपर्ने कुरा बताएपछि उहाँले मौनरूपमा समर्थन गर्नुभयो र साथसहयोग दिँदै बाछिटालेखनमा निरन्तरता दिनुभयो । तर उहाँलगायत धेरैले पछिसम्म पनि यति सानो रचनामा अनुभूतिलाई व्यक्त गर्दा प्रकृतिबिम्ब आउन नसक्ने कुरा बताइरहनुभयो । त्यसपछि मैले मेरा आलेखमा ‘भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिबिम्ब वा झलक नआए पनि बाछिटा बन्न सक्छ’ भन्ने वाक्य थपेको हुँ । तथापि उहाँले बाछिटालेखनमा निरन्तर साथसहयोग दिएर यस काव्यिक उपविधाको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभयो । फलस्वरूप मेरो परिकल्पना, नामकरण र मेरै अध्यक्षतामा गठन गर्न लागिएको राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालको अध्यक्ष उहाँलाई बनाएर गठन गरिएको हो । अहिले बाछिटालेखन गर्ने र छिटो छरितो सञ्चार साधन फेसबुकबाट सार्वजिक गर्ने लहर चलेको छ र यो लहर व्यापक अभियानको रूपमा स्थापित भएको छ ।)

बाछिटालेखन अभियान जीवन भोगाइका संवेगहरूलाई प्रकृतिको बिम्ब वा झलकका माध्यमबाट प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने मान्यताको रूपमा अगाडि बढिरहेको छ । यो मान्यता बाछिटालेखनको मूल मियो हो ।

बाछिटालेखनको सैद्धान्तिक परिकल्पना गर्नुपूर्व वा अवधारणा निर्माण गरिनुपूर्व बाछिटाकै स्वरूपमा छिटा, छेस्का, झिल्का, सूत्रहाइकु, लघुहाइकु नामका रचनाहरू सृजना भएका पाइन्छन् । यस्ता रचनाहरू बाछिटा स्वरूपका लघुतमरचना हुन्, बाछिटा होइनन् । यस्ता रचनाहरूलाई पनि बाछिटा मान्ने हो भने वैदिक कालसम्मै पुग्नुपर्ने हुन्छ । वैदिक ऋचा, सूक्ति, पाणिनि व्याकरणका सूत्रहरू पनि बाछिटाजस्तै संरचनाका छन् । एलाक, छोक, दानाकविता र सूत्रकविताका स्वरूप पनि बाछिटाकै जस्तो छ । संरचना मिलेका त्यस्ता सबै रचनालाई बाछिटा मान्नुपर्ने हुन्छ र बाछिटाको सैद्धान्तिक अवधारणाको औचित्य रहन्न । त्यसैले संरचनागत स्वरूप बाछिटाजस्तै भए पनि त्यस्ता रचना बाछिटा होइनन्, किनकि ती रचना बाछिटालेखनको मूल मान्यताभित्र पर्दैनन् ।

बाछिटालाई काव्यिक उपविधाका रूपमा स्थापित गर्न र अभियानलाई संस्थागत रूपमा निरन्तरता दिन ‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’को गठन भएको छ । यस संस्थाको सक्रियतामा बाछिटालेखन अभ्यासका निम्ति ‘बाछिटा अभ्यास चौतारी फेसबुक म्यासेन्जर समूह’ र ‘बाछिटा सार्वजनिकीकरणका निम्ति ‘बाछिटा चौतारी फेसबुक समूह’ सञ्चालित छ साथै संस्थाकै सक्रियतामा चित्रमा बाछिटा प्रतियोगिता, दृश्यमा बाछिटा र बाछिटा चौतारी समूहबाट बाछिटा लाइभ कार्यक्रम पनि सञ्चालन भइरहेको छ । बाछिटा प्रवर्तनको एक सय एघार दिनमा एक सय एघार बाछिटाकारद्वारा बाछिटा वाचन बृहत् कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

साहित्यको कविताविधाको उपविधाका रूपमा प्रवर्तित बाछिटा सूत्रस्वरूपमा सृजना गरिने लघुतम रचना मानिन्छ । सैद्धान्तिक मान्यताको मियोमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत बाछिटालेखन अभियान क्रियाशील रहेको छ ।

५. बाछिटा लेखन र सूत्रकविता लेखनबीच साम्य-वैषम्य

बाछिटा सूत्रात्मक संरचनायुक्त नवीन काव्यिक रूप हो । सूत्रकविता पनि सूत्रमय संरचनायुक्त काव्यिक रूप हो । एक शीर्षकमा क्रियापदविहीन सूत्रशैलीमा रचना गरिने एक पङ्क्तिको कविता नै सूत्रकविता हो । सूत्रकविता पूर्वीय साहित्यको सूक्ति र पाश्चात्य साहित्यको फर्मुला पोइट्रीजस्तै स्वरूपको हुन्छ । कवि अमर त्यागीले विक्रम संवत् २०६० सालमा सूत्रकविता सङ्ग्रह ‘अनुभूतिको जुलुस’ प्रकाशन गरेर सूत्रकविता लेखनको प्रादुर्भाव गरेका हुन् । बाछिटा र सूत्रकविता दुवैको संरचना र आयाम लघुतम रहेको हुन्छ । त्यसैले दुवै काव्यरूपमा एकापसमा साम्य रहेको देखिन्छ । तथापि यी दुवै काव्यरूपमा अक्षरगणना, पङ्क्तिगत सामञ्जस्यता र प्रस्तुतिगत अवधारणामा वैषम्य पनि रहेको छ । बाछिटा र सूत्रकविताबीचको साम्य वैषम्य स्वरूपलाई यसप्रकार देखाउन सकिन्छ ः

क) साम्य

बाछिटाको लेखन सूत्रात्मक रहेको छ भने सूत्रकविताको लेखन त झन् सूत्रात्मक हुने नै भयो । बाछिटाको आकार र आयाम लघुतम रहेको हुन्छ । त्यस्तै सूत्रकविताको आकार र आयाम पनि लघुतम नै रहेको हुन्छ । बाछिटाको प्रस्तुति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक स्वरूपको हुन्छ । त्यसरी नै सूत्रकविताको अभिव्यक्ति पनि प्रतीकात्मक वा व्यञ्जनात्मक नै रहेको हुन्छ । बाछिटामा जस्तै सूत्रकवितामा पनि प्रकृतिबिम्बको विविधाङ्गी स्वरूपको प्रयुक्ति रहेको हुन्छ । कतिपय सूत्रकविताको अक्षरीय संरचनात्मक स्वरूप बाछिटसँग मिल्दोजुल्दो पनि हुन सक्छ । एक पङ्क्तिको सूत्रकविताका अक्षरगत शब्दलाई तीन पङ्क्तिमा राख्ने हो भने बाछिटा बन्न सक्ने खालका छन् । यसरी बाछिटा र सूत्रकविताबीच कतिपय अवस्थामा संरचना, आकार, आयाम र प्रस्तुति साम्य रहेको छ ।

ख) वैषम्य

बाछिटालेखन र सूत्रकविता लेखन प्रक्रियामा कतिपय कुरा साम्य देखिएझैँ वैषम्य पनि रहेको छ । बाछिटा र सूत्रकविता दुवैको रचनाप्रक्रिया भिन्न रहेको हुन्छ । बाछिटाको रचना तीन पङ्क्तिमा आबद्ध हुन्छ भने सूत्रकविताको रचना एक पङ्क्तिमा मात्र हुन्छ । बाछिटाका हरेक पङ्क्तिको अक्षरगणना हुन्छ तर सूत्रकविताको रचनामा अक्षरगणनाको कुनै प्रावधान छैन । साथै बाछिटाको प्रस्तुति प्रतीकात्मक हुनुपर्ने मान्यता रहेको छ तर सूत्रकविताको प्रस्तुतिमा यो मान्यता अनिवार्य गरिएको छैन । त्यस्तै बाछिटामा प्रकृतिका विभिन्न स्वरूप वा झलकलाई प्रत्यक्ष वा अप्रत्यक्ष बिम्बका रूपमा प्रयोग गर्नुपर्ने नियम छ तर यो नियम सूत्रकवितामा छैन । बाछिटालेखन निर्धारित सैद्धान्तिक अवधारणाभित्र रहेर गर्नुपर्ने हुन्छ । तथापि सूत्रकविता लेखन स्वतन्त्र रहेको छ । यसरी संरचना, स्वरूप र प्रस्तुतिगत रूपमा बाछिटा र सूत्रकविताबीच वैषम्य रहेको हुन्छ ।

बाछिटा र सूत्रकविताबीच आकार, आयाम र सूत्रात्मक स्वरूमा साम्य रहे पनि संरचना, प्रस्तुति र प्रयोगगत भावभूमिमा वैषम्य रहेको हुन्छ । यही वैषम्यले बाछिटा र सूत्रकविता भिन्न काव्यिक उपविधाका रचना हुन् भन्ने कुरा स्पष्ट पार्छ । बाछिटा र सूत्रकविता भिन्न सांरच्य स्वरूप र शिल्पविधान भएका रचना हुन् र दुवैको सृजनधर्मिता स्वतन्त्र रहेको छ ।

६. पूर्वीय र पाश्चात्य साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

संसारमा साहित्यका अनेक विधा–उपविधाहरू रहेका छन् र ती विधा–उपविधाहरूका संरचना, आकार, आयाम र प्रस्तुति पनि भिन्न रहेका छन् । गद्य र पद्य भेदअन्तर्गतका यस्ता विधा–उपविधाहरू बृहत् मध्यम, लघु र लघुतम स्वरूपका छन् । लेखनप्रक्रिया पनि शास्त्रीय र स्वच्छन्द रहेको छ । पूर्वीय र पाश्चात्य साहित्यको लघुतम सूत्रात्मक काव्यरूपसँग बाछिटाको केही निकट सम्बन्ध रहेको देखिन्छ ।

क) पूर्वीय साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

पूर्वीय साहित्य सर्वप्राचीन वैदिक कालबाट प्रारम्भ भएको हो । वैदिक कालका ऋचाहरू नै पूर्वीय साहित्यको बीज हो । पूर्वीय साहित्य यही ऋचाबाट वा वैदिक कालबाट सुरु भएर लौकिक कालसम्म चलिरहेको छ । वैदिक साहित्यको प्रभावबाट कतिपय नव्य साहित्यिक विधा–उपविधाहरू पनि प्रादुर्भूत भएका छन् । लौकिक साहित्यको आदि स्रोत वैदिक साहित्य नै हो । वेदका ऋचाहरू बडो सुन्दर काव्यात्मक स्वरूपमा रचना गरिएको पाइन्छ । उषासूक्त सूक्तिमय काव्यिक रूपको नमुना हुन् । पाणिनि व्याकरणका सूत्रहरू पनि सूक्तिमय काव्यिक स्वरूपमा छन् । वैदिक ऋचा, सूत्र, पाणिनि व्याकरणका साथै प्रचलित सूक्ति र लोकोक्तिहरूमा गूढ रहस्यको उद्घाटन सूत्रात्मक र प्रतीकात्मक र प्रकृतिबिम्बसहित गरिएको पाइन्छ । त्यसैले यस्ता ऋचा, सूक्त, सूक्ति, उक्तिहरूसँग स्वरूप, संरचना र प्रस्तुतिका आधारमा बाछिटाको निकटता रहेको देख्न सकिन्छ । साथै पूर्वीय साहित्यिक धरातलका ससाना स्फुट कविता, श्लोक, मुक्तक, लघुकथासँग पनि लघुता, सूक्ष्मता र प्रस्तुतिगत आधारमा बाछिटाको निकटता रहेको छ । पूर्वीय साहित्यकै प्रभावमा प्रादुर्भूत सूत्रकविता, सूत्रकथा र अन्य सूक्ष्म स्वरूपका रचनाहरूसँग पनि संरचनागत र प्रस्तुतिगत आधारमा बाछिटाको निकटता रहेको छ । बाछिटा प्रकृतिपरक, प्रतीकात्मक, सूत्रात्मक, सूक्ष्म संरचनात्मक काव्यिक रचना हो । वैदिक ऋचा, सूक्त, सूक्ति, श्लोक, स्फूट वा मुक्त कविता, मुक्तक, सूत्रकविताहरू पनि अभिव्यक्तिका दृष्टिले प्रकृतिपरक, प्रतीकात्मक, सूत्रात्मक र सूक्ष्म संरचनात्मक स्वरूपको हुने भएको हुँदा यस्ता रचनाहरूसँग बाछिटाको निकटता रहेको देखिन्छ ।

ख) पाश्चात्य र अन्य देश वा भाषाको साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

पाश्चात्य साहित्यमा पनि पूर्वीय साहित्यमा जस्तै काव्यका विविध स्वरूपहरू रहेका छन् । काव्यका बृहत् रूप महाकाव्यदेखि लघुतम रूप काव्यिक फिक्सनका उक्तिहरू पाश्चात्य साहित्यमा रहेका छन् । पाश्चात्य साहित्यका बृहत् तथा मझौला वा लामा कवितासँग निकटता नरहे पनि ससाना स्वरूपका कविता, काव्यिक उक्तिमय फिक्सन आदिसँग बाछिटाको निकटता रहेको छ । पाश्चात्य साहित्यका यस्ता काव्यिक फिक्सनहरू, लघुतम स्वरूपका कविताहरू र सनेटजस्ता रचनाका आकार, आयाम र प्रस्तुतिसँग बाछिटाको निकटता रहेको हो । साथै यस्ता काव्यिक रूपका रचनाहरूमा प्रकृति र प्रतीकको प्रयुक्ति तथा संरचनागत सूक्ष्मता र सूत्रात्मकता रहेको हुन्छ । यसरी मूलतः लघुतम रूपका कविता, कवितात्मक अभिव्यक्ति आएका फिक्सनसँग सूक्ष्मता, सूत्रात्मकता, बिम्बात्मकता, प्रतीकात्मकता, आकार, आयाम र भावको तीक्ष्णताका आधारमा बाछिटाको निकटता रहेको छ ।

त्यसरी नै बाछिटाको जापानी काव्यिक रूप सेदोका, ताङ्का र हाइकुसँग पनि संरचना र प्रस्तुतिगत स्वरूपमा निकटता रहेको छ । बाछिटाको सबैभन्दा निकटता रहेको काव्यिक रूप हाइकु हो । हाइकु र बाछिटालाई काव्यिक जगत्को दाजुभाइ उपविधा मान्न सकिन्छ । आकार, आयाम, संरचना र प्रस्तुतिको निकटताका कारण हाइकु र बाछिटालाई काव्यको उपविधा मानिएको हो । काव्यिक उपविधाका रूपमा बाछिटाको परिकल्पनाको बीजाङ्कुरण सूत्र हाइकु र लघुकाइकु लेखनको सन्दर्भमा भएकाले पनि यसो भनिएको हो ।

बाछिटाको रचना तीन पङ्क्तिपुञ्जमा हुन्छ, हाइकुको रचना पनि तीन पङ्क्तिपुञ्जमा हुन्छ । बाछिटा रचनामा प्रकृतिबिम्ब र हाइकु रचनामा ऋतुबिम्ब हुनैपर्छ । बाछिटामा जस्तै हाइकुमा पनि प्रतीकात्मक प्रस्तुति रहेको हुन्छ । बाछिटा र हाइकु दुवैको रचनामा सूत्रात्मक स्वरूप रहेको हुन्छ । विषयको सूक्ष्मता, भावको तीक्ष्णता र प्रस्तुतिमा लाक्षणिकताका कारण हाइकुसँग बाछिटाको निकटता रहेको छ । तथापि बाछिटा र हाइकु छुट्टाछुट्टै र स्वतन्त्र काव्यिक उपविधा हुन् । आकार, आयाम र पङ्क्तिगत स्वरूपमा निकटता रहे तापनि संरचना र प्रस्तुतिमा हाइकु र बाछिटा भिन्न छन् । हाइकुसँग बाछिटाको पङ्क्तिगत रूपमा समानता रहे पनि अक्षरगत समानता छैन, अर्थात् हाइकु पाँच सात पाँच अक्षर संरचनाको हुन्छ भने बाछिटा तीन–पाँच–तीन अक्षर संरचनाको हुन्छ । हाइकुमा किगो वा ऋतुबिम्बको प्रयोग अनिवार्य छ तर बाछिटामा प्रकृतिसँग सम्बन्धित भएर आउने कुनै पनि बिम्बको प्रयोग गर्न सकिन्छ । बाछिटाको प्रस्तुति प्रतीकात्मक हुनैपर्छ तर हाइकुमा यो अनिवार्यता छैन । हाइकु लेखनको लामो इतिहास छ तर बाछिटा नवीनतम काव्यिक उपविधा भएकाले यसको इतिहास निर्माण भइसकेको छैन । त्यसर्थ हाइकु र बाछिटा दुवै छुट्टाछुट्टै संरचना, स्वरूप र प्रस्तुति रहेका स्वतन्त्र काव्यिक उपविधा हुन् भन्ने कुरा पुष्टि हुन्छ ।

पूर्वीय र पाश्चात्य साहित्यका कतिपय लघुतम संरचनाका काव्यिक रूपसँग आकार, आयाम, बिम्बप्रयोग, प्रतीकात्मक प्रस्तुति, सूत्रात्मकता, सूक्ष्मता, तीक्ष्णता र प्रभावकारिताजस्ता रचनागत प्रवृत्तिसँग बाछिटाको निकटता रहेको छ । यद्यपि बाछिटा स्वतन्त्र सैद्धान्तिक स्वरूप र मान्यता रहेको स्वतन्त्र काव्यिक उपविधा हो ।

७. कविताका लघुतम स्वरूपका अन्य उपविधाका सापेक्षतामा बाछिटा

साहित्यमा बाछिटाजस्तै लघुतम स्वरूप वा संरचना र प्रस्तुति हुने अन्य विविध काव्यिक उपविधाहरू पनि रहेका छन् । त्यस्ता उपविधाहरूको प्रस्तुति तीक्ष्ण, विषयवस्तु सूक्ष्म र संरचना लघुस्वरूपका छन् । एलाक, छोक, क्रिमुक, दानाकविता, सूत्रकविता, मुक्तक, हाइकु, ताङ्का, सेदोका आदि लघु, सूक्ष्म र तीक्ष्ण स्वरूपका काव्यिक उपविधा हुन् । यस्ता उपविधाहरूको संरचनागत र प्रस्तुतिगत मान्यता भिन्नाभिन्नै रहेका छन् ।

उल्लिखित उपविधाहरूमा अनुभूतिको एक झलकलाई तीक्ष्ण वा मर्मस्पर्शी रूपमा सूत्रात्मक शैलीशिल्पमा अभिव्यक्त गरिएको हुन्छ । केही साम्य र केही वैषम्य रचनागत मान्यता रहेका यस्ता काव्य रूपमा सर्जकहरूले आ–आफ्नो सृजन क्षमताअनुसार कलात्मकता प्रदान गरेका हुन्छन् । यस्ता काव्यिक उपविधाहरूका सापेक्षतामा बाछिटा एक नवीनतम, लघुतम र सूक्ष्म संरचनात्मक स्वरूपको प्रभावपूर्ण काव्यिक उपविधा हो । यसको रचनाप्रक्रिया भिन्न र नियमबद्ध छ । यसको सैद्धान्तिक नियमभित्र नपरेका रचनालाई बाछिटाको कोटिमा राख्न सकिन्न । अक्षर संरचना मिलेर मात्र हुन्न, प्रकृतिपरकता, प्रतीकात्मकता, विषयको उठान, विस्तार, निष्कर्ष र अर्थगत सामञ्जस्यता पनि हुनैपर्छ । बाछिटामा दृश्य रूपमा पनि अदृश्य भाव अन्तर्गर्भित हुनुपर्छ, अर्थात् प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुति हुनुपर्छ । अन्य कतिपय लघुतम काव्यिक उपविधा लेखनको सैद्धान्तिक आधारसमेत नभएको परिप्रेक्ष्यमा बाछिटालेखनको निश्चित सैद्धान्तिक आधार रहेको छ । बाछिटा शब्दको संरचनात्मक प्रकृति, व्युत्पत्ति, अर्थ र भावगत स्वरूपलाई मूल आधार मानेर बाछिटालेखनको परिकल्पना गरिएको हो र सोहीअनुसार सैद्धान्तिक आधारसमेत निर्माण गरिएको हो । अन्य कतिपय काव्यिक उपविधाका सापेक्षतामा बाछिटालेखन जटिलजस्तो लाग्न सक्छ, तर प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण गरेर बाछिटालेखन गर्दा सहज हुन्छ र बाछिटा सम्प्रेष्य पनि बन्छ । यही नै बाछिटालेखनको सामान्यीकृत स्वरूप पनि हो ।

८. बाछिटालेखनको अन्तर्वस्तु, सङ्केत र व्यङ्ग्य

जीवन, जगत् र भोगाइका अनन्त संवेगहरूलाई तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकृतिका वैविध्यपूर्ण स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुतिका आधारमा गरिएको व्याकरणिक भाषिक अभिव्यञ्जनालाई बाछिटा भनिन्छ । यो परिभाषागत मान्यता बाछिटालेखनको मूल अन्तर्वस्तु हो । तीन–पाँच–तीन पङ्क्तिको पहिलो पङ्क्तिमा विषयको सूक्ष्म रूपमा सङ्केत, दोस्रो पङ्क्तिमा त्यस सङ्केतको उत्कर्ष र तेस्रो पङ्क्तिमा साङ्केतिक विषयको मूल भाव वा मर्म वा सन्देश प्रतिबिम्बित गरिनुपर्छ । बाछिटामा सूक्ष्म रूपमा गहन भावको सङ्केत गरिएको हुनुपर्छ र त्यो भावप्रतीकात्मक रूपमा आएको हुनुपर्छ । अर्थात् दृश्यमा अदृश्य भावको सङ्केत गरिएको हुनुपर्छ र यो सङ्केत अनन्त सम्भावनाका रूपमा आएको हुनुपर्छ । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश रहेको हुनाले प्रकृतिबिम्बको प्रयोग गरी प्रतीकात्मक अभिव्यक्तिका मूल मान्यतामा रहेर यहाँ बाछिटालेखनका अनन्त सम्भावना रहेका छन् ।

बाछिटालेखन अभिधार्थ नभएर लक्षणार्थ र व्यञ्जनार्थ हुनुपर्ने मान्यता रहेको छ अर्थात् बाछिटालेखन सोझो अर्थ वा अभिधार्थमा हुनुहुँदैन । अभिधार्थले बाछिटामा प्रतीकात्मकता ल्याउँदैन । त्यसैले अभिधार्थ बाछिटालेखनको मूल मान्यतामा पर्दैन । बाछिटालेखन वक्रोक्तिमय वा प्रतीकात्मक हुनुपर्ने मान्यता रहेका लक्षणार्थ र व्यञ्जनार्थको सङ्केत गर्दछ । लक्षणार्थले रूढि वा प्रयोजनको आधारमा बाङ्गो अर्थको सङ्केत गर्दछ र यही अर्थसङ्केतका आधारभूमिमा अचेल अधिकांश बाछिटाहरू लेखिइरहेका छन् । व्यञ्जनार्थले व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थको सङ्केत गर्दछ । व्यञ्जनावृत्तिमा बाछिटाहरू कम लेखिन्छन् । व्यञ्जनापूर्ण बाछिटाहरू सर्वोत्कृष्ट मानिन्छन् ।

जीवन भोगाइ तथा देश, काल, परिस्थितिका परिदृश्यलाई बाछिटामा लक्षणावृत्तिमा व्यक्त गरिएको हुन्छ । त्यस्तै विकृति, विसङ्गति, बेथिति र पाखण्डपूर्ण प्रवृत्तिहरूलाई व्यञ्जना वा व्यङ्ग्यार्थवृत्तिमा व्यक्त गरिएको हुन्छ । प्रकृतिबिम्ब र प्रतीकात्मक स्वरूपको लक्षणावृत्ति र व्यञ्जनावृत्ति बाछिटाको मूल अन्तर्वस्तु हो । दृश्यमा अदृश्य भावको खोजी नै बाछिटालेखनको मूल सङ्केत हो । वास्तवमा बाछिटा प्रकृति, जीवन र अनुभूतिको त्रिवेणी हो ।

९. बाछिटाका मूल मान्यता र अभिलक्षण

तीन पाँच तीन अक्षर संरचनाका तीन पङ्क्तिपुञ्जमा प्रकृतिबिम्ब वा झलकसहितको प्रतीकात्मक प्रस्तुति बाछिटाको मूल अभिलणक्षा हो । बाङ्गो छिटाको अर्थगत मान्यताअनुसार बाङ्गो भनाइ वा वक्र उक्तिका रूपमा यो अभिलक्षणाको परिकल्पना गरिएको हो । बाङ्गो भनाइ वा वक्रउक्ति (वक्रोक्ति)को उपस्थिति प्रतीकात्मक प्रस्तुतिमा हुने भएकोले प्रतीकात्मक प्रस्तुति बाछिटामा हुनैपर्ने मान्यता रहेको हो । त्यसै गरी बाछिटा प्रकृतिपरक शब्द भएकोले यसको सार्थकताका निम्ति प्रकृतिको कुनै पनि रूप वा झलक बिम्बको रूपमा बाछिटामा आउनुपर्ने मान्यता पनि सर्वोपरि रहेको छ । यसरी प्रकृतिबिम्बसहित प्रतीकात्मक रूपमा जीवन, जगत् र भेगाइका विविधाङ्गी संवेगहरूलाई अभिव्यञ्जित गर्नु नै बाछिटालेखनको मूल मान्यता हो । विषयवस्तुलाई सङ्केतका रूपमा व्यक्त गर्दै एउटा मार्मिक भावसंवाहन गर्नु बाछिटाको मूल अभिलक्षण हो । जीवन भोगाइको एउटा सूक्ष्म झिल्कोलाई सशक्त रूपमा लेखनमा उतार्ने र यसको पठनबाट हृदयमा एउटा अमीट छाप छोड्ने शक्ति बाछिटामा हुनुपर्ने परिकल्पनामा बाछिटा काव्यिक उपविधाका रूपमा प्रवर्तित गरिएको हो । यही परिकल्पना– अनुसार बाछिटालेखनमा नैरन्तर्य यसको सम्प्राप्ति हो ।

१०. बाछिटालेखनको गन्तव्य र भावी दिशाबोध

कुनै पनि साहित्यिक विधा–उपविधाको निश्चित गन्तव्य हुँदैन, तर त्यसको समृद्ध अवस्थालाई त्यसको गन्तव्य मान्नुपर्ने हुन्छ, किनकि कुनै पनि कार्यको गन्तव्य भनेको त्यसको समृद्घ अवस्था नै हो । साहित्यको काव्य विधा समृद्ध अवस्थामा छ । यही समृद्ध अवस्थाको परिकल्पना गरेर नै काव्य लेखनारम्भ गरिएको हो । तथापि काव्य विधा पूर्ण समृद्ध भइसक्यो वा गन्तव्यमा पुगिसक्यो अब लेखिरहनु पर्दैन भन्ने अवस्था भने छैन, काव्यरचना निरन्तर चलिरहेको छ र चलिरहन्छ पनि । यस सन्दर्भमा बाछिटा त झन् नव्य शिशु काव्यिक उपविधा हो । तथापि यो उपविधा जन्मिएको छोटो समयमै धेरै बाछिटाकारहरूको उदय हुनु तथा नवसर्जकदेखि अग्रज वा स्थापित र वरिष्ठ सर्जकहरूले समेत बाछिटालेखनमा निरन्तर सक्रियता देखाउनुले यस उपविधाको समुन्नत गन्तव्यको कल्पना गर्न सकिन्छ । हाइकु, मुक्तक लेखनको लामो कालखण्डमा त यी उपविधाहरू समुन्नत अवस्थामा छैनन् । हाइकु, मुक्तकले बोकेको कालखण्डभित्रमा बाछिटा उत्कर्षतिर उन्मुख हुनेछ, किनकि यो नेपाली हावापानी र माटोको उपज हो । यसमा नेपालीपन छ, लेखनमा दिनानुदिन बढ्दो आकर्षण छ र निरन्तरता पनि छ । यसैले काव्यिक उपविधा बाछिटाको समुन्नत गन्तव्यको दिशाबोध गर्दछ ।

बाछिटा नेपाली भाषाबाहेक अन्य भाषामा लेखिने क्रम पनि बढ्दो छ । अङ्ग्रेजी भाषामा समेत बाछिटालेखनको अभ्यास भइरहेको छ । पत्रिकामा विशेषाङ्क निस्किने क्रम पनि बढिरहेको छ । सामूहिक, संयुक्त र एकल बाछिटा कृतिहरू प्रकाशनको तयारीमा छन् । चुनिएका बाछिटाहरूको अङ्ग्रेजी अनुवाद अमेरिकाबाट प्रकाशनको तयारी भइरहेको छ । निकट भविष्यमा बाछिटा कृतिहरू अङ्ग्रेजी अनुवाद गरेर विश्वव्यापी बनाउने कार्यमा सक्रियता बढाइएको छ । यस्ता कार्यहरूमा निरन्तर संलग्नता र सक्रियता नै बाछिटाको समृद्ध गन्तव्यको पूर्वसङ्केत हो । यो सङ्केत नै बाछिटाको समृद्ध भविष्यको दिशाबोध पनि गरेको छ ।

११. कविता विधाको नवीन सम्प्राप्तिका रूपमा बाछिटा

कविता साहित्यको समृद्ध विधा हो । यस विधाको इतिहास गौरवमय र समुन्नत रहेको छ । कविता विधाका विभिन्न भेद र स्वरूपहरू रहेका छन् । यस विधाअन्तर्गतका भिन्न काव्यिक रूपलाई उपविधा मान्ने गरिएको छ । बाछिटा कविता विधाको लघुतम स्वरूपको उपविधा हो । यो उपविधा प्रवर्तनको छोटो समयमै यसप्रतिको आकर्षण र लेखनमा सक्रियता दिनानुदिन बढिरहेको छ । बाछिटालेखनको परिकल्पनाका आधारमा सैद्धान्तिक अवधारणा निर्माणले सार्थकता पाइसकेको अवस्था छ । यसबाट बाछिटालेखनको सैद्धान्तिक स्तरीकरण वा स्थिरता स्थापित गर्ने कार्य भइरहेको छ । ‘बाटिछा सिद्धान्त र सृजना’ ग्रन्थ प्रकाशनको समेत तयारी भइरहेको छ । बाछिटालेखनको सैद्धान्तिक मान्यताका आधारमा विभिन्न समालोचकहरूद्वारा बाछिटाहरूको समालोचना तथा विश्लेषणहरू भइरहेका छन् । यस आधारमा बाछिटा कविता विधाको नवीन सम्प्राप्तिको रूपमा रहेको तथ्य स्पष्ट हुन्छ । यस सम्प्राप्तिलाई सबै बाछिटाकारहरूले आत्मसात् गरेर बाछिटालेखनमा निरन्तरता दिइरहेका छन् ।

१२. बाछिटा विश्लेषणको आधार

बाछिटा सूक्ष्म संरचनात्मक स्वरूपको लघुतम काव्यिक रचना हो । यसको विषय पनि सूक्ष्म हुन्छ भने विषयको उठान, विस्तार र निष्कर्ष पनि सूक्ष्म स्वरूपकै हुन्छ । बाछिटामा विषयको प्रस्तुति प्रतीकात्मक हुने हुँदा त्यसको निष्कर्ष वा मूल भाव अदृश्य वा साङ्केतिक हुने गर्छ । बाछिटा अदृश्य भावयुक्त साङ्केतिक स्वरूपको रचना पनि हो । तसर्थ बाछिटाको विश्लेषण पनि सूक्ष्म रूपमै गर्नुपर्ने हुन्छ । त्यसैले बाछिटा विश्लेषणका मुख्य तीन आधार वा अवधारणा अवलम्वन गर्न सकिन्छ ।

क. विषयको उठान, विस्तार र समापन

ख. विषयको प्रतीकात्मक प्रस्तुति

ग. विषयको मूल मर्म वा भावको सङ्केत

यस अवधारणाका आधारमा निम्न बाछिटाको विश्लेषण यसरी गर्न सकिन्छ ।

लिस्नोका

खुट्किलाहरू

सिस्नोका

क) विषयको उठान, विस्तार र समापन

लिस्नो नामपद हो । यस पदले बाछिटामा विषयको उठान गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्न चढिने साधन वा माध्यमको सङ्केतको रूपमा लिस्नो पद प्रयुक्त छ । त्यस्तै खुट्किलाहरू पनि नामपद नै हो । यस पदले बाछिटामा विषयको विस्तार गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्ने खण्ड वा तह र त्यसमा गर्नुपर्ने यत्न वा श्रमको सङ्केतको रूपमा खुट्किलाहरू प्रयुक्त छ । त्यसरी नै सिस्नो पनि नामपद नै हो । यस पदले बाछिटामा विषयको समापनको काम गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्ने खण्ड वा तहमा गरिने यत्न वा श्रम सहज नभएर कष्टपूर्ण वा असहज हुने सङ्केतका रूपमा सिस्नो पद प्रयुक्त छ ।

ख) विषयको प्रतीकात्मक प्रस्तुति

लिस्नो उन्नति वा समृद्धिको प्रतीक हो । समृद्धिको गन्तव्यमा पुग्न कुनै पनि साधन वा माध्यमको आवश्यकता पर्छ, त्यही साधन वा माध्यमको प्रतीकको रूपमा यहाँ लिस्नो प्रयुक्त छ । त्यस्तै खुट्किलाहरू समृद्धिको गन्तव्यमा पुग्ने तह वा आधारको प्रतीक हो । गन्तव्यमा पुग्ने यस तह वा आधारमा गरिने निरन्तरको यत्न वा श्रमको प्रतीकको रूपमा समेत यहाँ खुट्किलाहरू प्रयुक्त छ । त्यसरी नै सिस्नो दुःख, कष्ट वा कठिन अवस्थाको प्रतीक हो । समृद्धिको गन्तव्यमा पुग्न सहज नहुने र अनेक दुःख, कष्ट र असहजताको सामना गर्नुपर्ने हुन्छ र त्यही कष्टपूर्ण असहजताको प्रतीकका रूपमा सिस्नो पद प्रयुक्त छ ।

ग) विषयको मूल मर्म वा भावको सङ्केत

बाछिटामा विषयको मूल मर्म वा भाव साङ्केतिक रहेको छ । समृद्धिको शिखर चुम्न सहज नहुने, कुनै साधन वा माध्यम वा आधारमा निरन्तरको यत्न वा श्रम गर्नुपर्ने र यस यत्न वा श्रममा अनेक दुःख, कष्ट र असहजताको सामना गर्नुपर्ने र यसरी असहज परिस्थितिको सामनाबाट गन्तव्यमा पुग्न सकिने मूल मर्म वा भाव साङ्केतिक वा प्रतीकात्मक रूपमा बाछिटामा व्यक्त गरिएको छ ।

बाछिटा लघुतम वा सूक्ष्मतम आयामको रचना भएको हुँदा यसको विश्लेषण सहज नहुन सक्छ, तर उल्लिखित मान्यता वा स्थापित अवधारणाको आधारमा विश्लेषण गर्दा भने सहज हुन सक्छ ।

१३. निष्कर्ष

बाछिटा नवीनतम काव्यिक उपविधा हो । यसको रचना सूत्रात्मक हुन्छ । यसमा सूक्ष्म विषयलाई गहन रूपमा प्रस्तुत गरिन्छ । यसमा तीन–पाँच–तीन अक्षरका तीन पङ्क्तिहरू रहन्छन् । यसमा प्रकृतिका कुनै पनि रूप वा झलकलाई बिम्बको रूपमा प्रयोग गरिन्छ । यसको प्रस्तुति प्रतीकात्मक हुन्छ । यसमा विषयको उठान, उत्कर्ष र मर्मस्पर्शी निष्कर्ष अन्तर्निहित रहन्छ । यसका तीनै पङ्क्तिबीच अर्थगत सामञ्जस्यता रहेको हुन्छ । सूत्रहाइकु र लघुहाइकु लेखनको पृष्ठभूमिबाट काव्यिक उपविधाको रूपमा बाछिटाको प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै प्रशस्त नवसर्जकदेखि स्थापित र वरिष्ठ सर्जकहरूको समेत बाछिटालेखनमा निरन्तर क्रियाशीलता देखिएको छ । बाछिटालेखनको परिकल्पनाअनुसार सैद्धान्तिक अवधारणा निर्माण पनि भइसकेको छ । बाछिटाको समुन्नतिका निम्ति संस्थागत कार्यहरू पनि भइरहेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय नेपाली साहित्यिक क्षेत्रका बाछिटालेखन अभियान तीव्रता साथ चलिरहेको छ । यसर्थ बाछिटाको भविष्यमा एउटा समुन्नत काव्यिक उपविधाको रूपमा स्थापित हुने र प्रसिद्धि प्राप्त गर्ने सङ्केत अहिलेदेखि नै देखिएको छ । समग्रमा बाछिटालाई यसरी परिभाषित गर्न सकिन्छ ।

“बाछिटा तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जयुक्त प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणा र व्यञ्जना शब्दशक्तिद्वारा भावलाई झङ्कृत पार्ने सूत्र वा सूक्ष्म संरचना भएको सशक्त, गहन र लघुतम काव्यिक उपविधा हो ।” प्रतीकात्मकता बाछिटालेखनको मूल अभिलक्षण हो । तसर्थ, यसमा प्रतीकात्मक प्रस्तुति हुनैपर्ने मान्यता रहेको छ । बाछिटामा भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिबिम्ब वा झलक नआए पनि बाछिटा बन्न सक्छ ।

प्रतिक्रिया
Loading...