विचारको सम्प्रेषणका लागि मात्र होइन ज्ञान भण्डारण र उदात्तीकरणको  माध्यम पनि भाषा हो । यसको आधार स्तम्भ वर्ण र शब्द नै हुन् । वर्णहरूको सार्थक सम्मिलनबाट शब्दोद्भव हुन्छ र त्यसको अर्थ प्राकट्य हुन्छ ।  शब्दबाट नै मान्छेको परिचालन र पहिचान रहन्छ । हामीले प्रयोग गर्ने शब्दबाट हाम्रो पहिचान र व्यक्तित्वको झलक पाइन्छ । हाम्रो व्यक्तित्वको उचाइ अग्लिने र होचिने पनि प्रयोग गर्ने शब्दहरूबाट नै हो । यत्तिको बुझेको मान्छेले पनि यस्तो भाषा प्रयोग गर्ने हो ? बेला बेला हामीले सुन्ने टिप्पणी हो यो ।  यसको अर्थ शब्द प्रयोगमा हामीले स्थितिको अनुकूलता ध्यान दिनै पर्ने रहेछ ।

भाषामा दायाँ वा बायाँबाट घुमाउने विषय उति महत्त्वपूर्ण होइन जति अर्थका लागि अनुकूल र मर्यादापूर्ण शब्दको छनौट महत्त्वशाली हुन्छ । विषय वा प्रसङ्गले एकै कुरा सम्प्रेषणका लागि अनुकूल र प्रतिकूल के कस्ता शब्द अभिव्यक्त गरिन्छ त्यसैका आधारमा बोल्दाको प्रतिक्रिया निस्कन्छ । जस्तो कि कुनै सुन्दर युवतीलाई ‘ तेरो नाम के हो भन् ’ भन्यौं भने सोध्ने व्यक्तिले गालामा चप्पलको पुरस्कार पाउन सक्छ । त्यसको सट्टामा मान्छे यति सुन्दरी हुनुहुन्छ नाम अझ कति सुन्दर होला हगि । के म त्यो सुन्दर नाम जान्न सक्छु त भन्ने हो भने मुस्कानका साथमा प्रत्युत्तर पाउन सक्छौं । त्यसैले भाषामा शब्द चयन प्रधान विषय हो ।

हामीले शब्दका अभिधात्मक, लाक्षणिक र व्यञ्जनात्मक सामर्थ्यको प्रसङ्ग पनि सुनेका छौं –सायद ।

एउटै प्रसङ्गमा एकै शब्द वा वाक्यांशले अलग अलग अर्थ प्रकट गरिदिन सक्छ । त्यसले हामीलाई शब्दसामर्थ्यको बोध हुनु आवश्यक छ । शब्दसामर्थ्यको बोधले हामीलाई साहित्यिक अर्थको पिँधसम्म जान पनि सघाउँछ । कुनै कुनै शब्दको विशिष्ट प्रयोगले प्रयुक्त वाक्य वा अनुच्छेदको गरिमालाई उज्यालो बनाइदिन्छ । संसारका विकसित भाषाहरूमा शब्दप्रयोगको विशिष्टतालाई नै ध्यान दिइएको हुन्छ । हामी भने दाहिने, देब्रेको छिनाझपटीमा अल्झिएर पाण्डित्य प्रकट गरिरहेका छौं । तिनका पनि मर्यादा र मानक त छँदैछ । मर्यादा र मानक मिचेर नाङ्गो देखिनुपर्छ भन्ने मेरो तर्क पटक्कै होइन तर आधारभूत पक्षलाई ख्याल गरेर केही संस्कृतनिष्ठ मर्यादामा गतिशीलताको स्वतःस्फूर्त परिवर्तनलाई आत्मसात् गर्ने पर्छ भन्ने मान्यता मात्रै हो । भाषाको अदालत भनेकै व्यक्ति बोली हो र पहिले आवाज, प्रयोग र त्यसैको आधारमा व्याकरणको निर्माण हुने शाश्वत प्रक्रिया हामीले भुलिरहेका छौं ।

आजभोलि नेपाली भाषाका प्रयोगकर्ताहरू विश्वभर छरिएका छन् र जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँबाट केही न केही शब्द जिभ्रोमा बोकेरै आएका पनि छन् । तिनलाई मेट्ने कानुन र प्रक्रिया हामीसँग सम्भव छैन । तिनले गरेका क्वाँटी भाषालाई अपनाउनुको विकल्प छैन ।

सानो सम्झना बाँड्न मन लाग्यो

२०७८ असारको महिना थियो म धादिङबेसी त्रिवेणी चोकबाट रायटार चौतारा हुँदै बिहान उकालो चढ्दै थिएँ । एकजना सरल ग्रामीण महिला काँधमा जुवा बोकेर हलगोरु धपाउँदै हुनुहुन्थ्यो । गोरुहरू केही छिटो कुदिरहेकाले महिलाको गति पनि उस्तै थियो । महिलाले मलाई हेरेर भन्नुभयो “ए बाबु ! पाखा लाग्नुस् है गोरु त ज्यानाजर छ ।”

म पाखा लागें । गोरु र महिला ओझेलमा परे तर मेरो मथिङ्गलमा उनको लवज ‘ज्यानाजर’ आजसम्म घुमिरहेको छ र तिनलाई  ‘गोरु खतरा’ छ, अथवा ‘ज्यान लिन्छ’  भनेर बोल्नुपर्छ भन्ने भाषिक कानुन पढाउन जाने को ?

– हामी दाजुभाइ दिदीबहिनी साना साना थियौं । कहिले कहिले बिहानको खाना उब्रन्थ्यो र हजुर आमाले ‘भात भुटेर’ खान दिनुहुन्थ्यो । हामीलाई चाडपर्व आएजस्तै खुशी लाग्थ्यो । अजकाल नानीबाबुहरूलाई ‘भुटेको भात’ ले नाक मुख बिगार्न सघाउँछ । चाम्रेको पकाएको बुझ्दैनन् तर सुधारिएको रूप पुलाउको अर्थ ओठ ओठमा छ । त्यसलाई सुधार्ने कि अपनाउने ?

विकासको अर्थ सुधार पनि हो र बढोत्तरी पनि हो । बढोत्तरी खुम्च्याएर हुँदैन र असजिलो बाटो हिँडाएर पटक्कै विकासको उचाइमा आम नागरिकलाई उकाल्न सकिँदैन ।

आउनुहोस् भाषामा शब्द प्रयोगको सामर्थ्य र त्यसलाई सार्थक प्रयोग गर्ने  केही पक्षहरू मनन गरौं ।

केही शब्दप्रयोगका त्रुटिहरू 

–हामीले घरमा प्रायः भन्ने र सुन्ने गरेका छौं भात पाक्यो । भात पाक्दैन बरु चामल पाकेर भात बन्दछ । भात शब्दको अनुकूल प्रयोग भएको छैन ।

– पानी खाने निहुँ गरी आऊ यता भनेर गीत सुनेको धेरै वर्ष भइसकेको छ तर हामीले जान्नु पर्दछ कि खानुको अर्थ के हो र पिउनु को अर्थ के हो ? यहाँ खानुको गलत प्रयोग भइरहेको छ ।

– धेरै सुन्ने र भनिने गरेको छ कि चुरोट खान निकै तलतल लागिरहेको छ । हाम्रो आदत बनिसकेको छ कि धुवाँ तान्नु पनि खानु, पानी पिउनु पनि खानु, मकै पनि खानु रक्सी पनि खानु । यस्ता शब्दहरूको प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ ।

– आफ्नो अनुहार एैनामा हेर्नुस् त भन्ने वाक्य धेरै ठाउँमा प्रयोग भएको देखिन्छ । एकारको उच्चारण यसमा भएपछि एउटा एकार ‘ े’ एउटा लगाएपछि ‘ ै’ यसको आवश्यकता नै पर्दैन ।

– हामीले बहुवचनमा लगाउने ‘हरू’(हरु कम्प्युटर मैत्री)को प्रयोग पनि आफैँ बहुवचन बनेका शब्दहरूमा पनि जोड्छौं । त्यसको आवश्यकता छैन ।

जस्तैः

यतिभए पुग्छ  –  यसरी आवश्यक छैन

जनता   –   जनताहरू

बाच्छा   –  बाच्छाहरु

विद्यार्थी  –  विद्यार्थीहरू

छोरा  –  छोराहरू

महिलावृन्द  –  महिलावृन्दहरू

हुल   –  हुलहरू

बथान – बथानहरू

सम्पूर्ण कर्मचारी  –  सम्पूर्ण कर्मचारीहरु

नेपालभरका डाक्टर  –  नेपालभरका डाक्टरहरू

–श्रीमतीहरू आएका छन् ।

प्रयोगमा हाम्रो सचेतनाको अभावले छोरी बहिनी र श्रीमती साथसाथै आएका भएपनि श्रीमतीहरू आएका छन् वा छोरीहरू आएका छन् भन्ने चलन छ । यसले गम्भीर अर्थ विचलन गराउँछ त्यस्तो भाषा प्रयोग गर्नु हुँदैन ।

यस्ता थुप्रै अनावश्यक प्रयोगले भाषालाई बोझिलो बनाएको छ हामी प्रयोकर्ताको सचेतताले लेखन आफैँ सम्पादित हुन्छ । यसलाई गलत नै त भनिहाल्नुभन्दा असावधानी भन्नु उचित हुन्छ ।

संसारभर फैंलदै गएका नेपाली भाषा प्रयोगकर्ताहरूको भाषिक मनोविज्ञान र तिनीहरूको अन्तस्करणमा आफ्नो भाषाप्रतिको प्रेम अङ्कुरण हुने  अवस्था सिर्जनाका लागि पनि भाषिक सरलता आवश्यक पर्दछ ।