मौलिक पृष्ठभूमि: नेपाली भाषा 

नेपाल भित्र र बाहिर बसेका नेपालीहरूले प्रयोग गर्ने साझा वाणी नेपाली भाषा हो । नेपालको एकीकरणदेखि आजसम्मका राजकीय कार्यसम्पादनमा यसैको प्रयोग भएको छ । त्यसैले यसलाई कुनै जात, थर वा भूगोल विशेषसँग जोड्नु वा कुनै  धर्म, संस्कृति र सम्प्रदायको सीमाभित्र  परिभाषित गर्नु  देश, राष्ट्रियता र सामाजिक वस्तुताप्रतिको अल्पदृष्टि हुनसक्छ  । देशभित्र रहेका लगभग १४२ जातजाति र १२४ भाषा प्रयोक्ताहरूले नेपालीबाहेक अन्य भाषालाई आधिकारिक साझा मान्यताप्राप्त तथा सम्पर्क सेतु भाषा बनाउन सक्ने अवस्था सिर्जना भइसकेको छैन । भोलि के होला भन्न सकिन्न ।

प्रथमतः झण्डै दुई करोड नेपालीहरूमध्ये नब्बे प्रतिशतले बुझ्ने, बोल्ने र प्रयोग गर्ने भाषा नेपाली मात्रै हो । त्यसैले आम नागरिकहरूको प्रयोग, उनीहरूको बुझाइ र भाषिक परिस्थितिलाई आकलन गर्दा यस भाषाको विकल्पमा दिन सकिने अर्को कुनै वाणी छँदै छैन । भूगोल सानो छ । भौगोलिक अनेकता, जातिगत पृथकता र सांस्कृतिक भिन्नतालाई जोड्ने एक मात्र स्नेहसेतु हाललाई  नेपाली भाषा हो । हाम्रो समाज यस्तो छ कि आम नागरिकहरूलाई सुनाउन केही भन्नै पर्ने  अवस्था रह्यो भने नेपाली भाषाको विकल्प खोज्नै सकिन्न । नेपाली भाषालाई गाली गर्नेहरूले पनि यसैको सहारा लिनुपर्ने अवस्था छ । त्यसैले नेपालभित्र साझा सन्देश प्रवाह वा आम सचेतनाको प्रभावकारी वाणी नै नेपाली भाषा हो ।

भाषा हाम्रो जस्तो देशका लागि राष्ट्रियताको हृदयकेन्द्र नै हो । हैटीको गृहयुद्धपश्चात् हैटियन भाषाको दुर्गति भएर अङ्ग्रेजी क्रेओलले त्यहाँ राष्ट्रभाषाको आकार ग्रहण गरिसकेको अवस्था छ । अङ्ग्रेजी क्रेओल राष्ट्रभाषा मात्र भएन कि भाषाकै माध्यमले हैटीको राष्ट्रियताको ठेकेदारी पनि अमेरिकाले गरिसकेको छ । त्यहाँको मूल संस्कृति पनि पुराना पुस्तक र किंवदन्तीहरूमा मात्र सीमित भइसके ।  त्यहाँको पृष्ठभूमि र हाम्रो वर्तमानको  समकक्षताले उस्तै गन्तव्यको निर्देश गरिरहेको छ । त्यसैले यति बेला हामीमा राष्ट्रिय सचेतता अपरिहार्य छ ।

अहिले भाषा प्रयोगका सन्दर्भमा अनेक बहस र पाण्डित्य प्रदर्शनका नमूनाहरू देख्दै, सुन्दै आएका छौं । कसैलाई मौलिकताको नाममा भाषा नङ्ग्याउनु छ भने कसैले संस्कृतनिष्ठ प्रयोगको ठेकेदारी गर्नु छ ।  अर्को धारले विशिष्ट र मौलिक कपोल कल्पना गरेका छन् । भाषामा जडसूत्र र नग्नता दुवै हानिकारक हुन्छन् भन्ने बोधले काम गरेको दिन नेपाली भाषा विकास र उन्नयनको मार्ग प्रशस्त हुनेछ । जडसूत्र र अतिवादले संस्कृत भाषालाई वैज्ञानिकीकरण त गरायो तर लोक प्रयोगबाट  मृत मात्रै बनाएन पूजा अर्चनामा मात्रै सीमित गरिदियो । भाषा र यसको मानक प्रस्तुति आम जनजिभ्रो नै हो । व्याकरणको पहिलो निर्देशक तत्त्व माउस्रोत नभएर भाषिक व्यवहार हो भन्ने सबैले बुझेको दिन हाम्रो भाषामा देखिएका सबै समस्या समाधान हुन्छन्  ।

नेपाली भाषाले पनि विश्वभाषाको आकार ग्रहण गरिसकेको छ । अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, पोर्चुगल जस्ता विकसित देशमा नेपाली डायस्पोराको ठूलो जनसङ्ख्या हुर्किरहेको छ । विश्वको फराकिलो भूखण्डमा पाउलिएका  प्रत्येक नवपुस्ताले आफ्नो भन्न पाउने सरल नेपाली भाषाको मानक तोकिनु पर्छ । नेपालको एकेडेमी र विश्वविद्यालय संसारका सबै कुनामा रहने नेपालीले प्रयोग गर्ने नेपाली भाषाको निर्देशक बन्न सक्नुपर्छ । एक्लो पाण्डित्य र निजी विचारले विश्वनेपाली भाषालाई निर्देश गर्नै सक्दैन । प्रेमको आदर्श र आस्थाले न जीवन चल्छ न भाषा बच्छ । त्यसैले स्वान्त सुखाय र पूजा गरिने आदर्श होइन व्यवहारिक र चल्न भोग्न सकिने यथार्थको धरातलबाट भाषाको अनुशीलन हुनु आवश्यक छ ।

क्यानडा र हङकङमा हुर्किरहेका डायस्पोरालाई संस्कृतनिष्ठ पुरानो नेपाली भाषाले सम्बोधन गर्नै नसक्ने सत्यलाई आत्मसात् नगरी सुखै छैन । नेपालकै विद्यालय, विश्वविद्यालयमा पनि त्यो स्तरका जनशक्ति छैनन् । बग्रेल्ती खुलेका मिडियाहरूले मनलागि भाषा प्रयोग गरिरहेका छन् । भाषा राष्ट्रिय उद्बोधनको विषय भएपनि यसलाई खास तहमा प्रयोग गरिने मापदण्ड निर्धारण गर्ने र अनुगमन गर्ने प्राधिकार प्रज्ञाप्रतिष्ठान, भाषा आयोग वा विश्वविद्यालयहरूमा हुनुपर्ने हो तर त्यसको हेक्का कसैलाई नभएकै कारण व्यक्तिनिहीत सर्वोच्चताको पाण्डित्यलाई आधार बनाइरहनुपर्ने अवस्था आइलागेको हो । यसको अर्थ हामीसँग आजसम्म सर्वस्वीकृत भाषिक मार्गचित्र नभएको अवस्था नै हो ।

गणतन्त्र स्थापना र संघीय व्यवस्थाको प्रयोगसँगै राष्ट्रिय एकताका धेरै तन्तुहरू छिनालिसकिएको छ । धर्म, परम्परा, राजनीति, राज्यव्यवस्थाका अनेकतामा देश टुक्रिसकेको छ । यस स्थितिमा भाषा र साहित्य नै सबैलाई जोड्ने उपयुक्त तन्तु हुन सक्छ । त्यसैले भाषालाई सधैंको र सबैको बनाउनुपर्छ । यसका लागि सनातनी र परम्परावादी घेराबाट हामी निस्कनै पर्छ । यसको मक्सद छाडा र नाङ्गो बनाउनु पर्छ भन्ने हुँदै होइन बरु बदलिएको विश्व परिवेश, सांस्कृतिक सम्मिश्रण, नवसंस्कृतिको उदय जस्ता स्थितिले भाषा निरन्तर बदलिरहन्छ । भाषामा आउने बदलाव र परिवर्तन नै यसको उन्नयनको सूचक हो । कालक्रममा थपिएका नयाँ शब्द, बोल्ने रीति, वाक्य, वाक्यांशलाई समेट्दै जाने हो भने भाषा समुद्र बन्न सक्छ । पुरानो बलो समातेर हजुरबाले बनाउनु भएको घर म फेर्दिन, बदल्दिन भन्ने हो भने पुरानो घर ढलेर अस्तित्व नै समाप्त भइदिन्छ ।

माथिको पृष्ठभूमिले नेपाली भाषाबाहेक नेपाली राष्ट्रियताको तन्तु सिउने र संवर्द्धन गर्ने अर्को कुनै विकल्प छँदै छैन । त्यसैले यसको जगेर्ना र गोडमेल गर्ने अभिप्रायले मध्यमार्गको अवधारणा लिएर  यस स्तम्भमा केही समयसम्म  हामी भाषालाई शिष्टलेख्य मानक प्रयोगका  केही आधारहरू दिने प्रयत्न गर्नेछौं ।

००००

नेपाली भाषा प्रयोगका केही सरलीकृत उपायहरू 

नेपाली भाषाको शिष्ट र शालीन प्रयोग कसरी गर्ने ? यसको मानक रूप कस्तो हुन्छ ? यस्ता प्रश्न उठिरहन्छन् र  विमर्श भइरहन्छन् । प्रश्न उठ्नु र विमर्श हुनु  पनि विकास तथा सचेतताको द्योतक हो । जहाँ सवाल हुन्न त्यहाँ विकास र उन्नयनका मार्गहरू पनि रहन्नन् ।

भाषाको शुद्ध प्रस्तुति र मानक व्याकरण आम आवाज र  सर्वमान्य प्रयोग नै हो । प्रारम्भ भाषा हो र त्यसपछि मात्रै व्याकरणका कानुन र नियमहरूको प्रादुर्भाव हुने हो । त्यसैले लोक प्रचलनभन्दा अलग मानक बन्दै बन्दैन र खोज्न पनि हुँदैन । लोकमान्यताबाट अलग रहेर भाषाको कानुन बनाउँदा पाण्डित्यभन्दा पर केही हुँदैन । शुद्ध लेख्नु भनेको पनि लोक प्रचलनबाट लोकबोध वा सम्प्रेषणलाई सम्बोधन गर्नु नै हो ।

नेपाली भाषा कसरी शुद्ध लेख्ने भन्ने धेरैलाई खुल्दुली छ । यसको छोटो उत्तर छ  कि हामी जे बोल्छौं ,जसरी बोल्छौं त्यसलाई बोले जसरी लेख्नु नै शुद्ध लेख्नु हो । शुद्ध लेख्नका लागि शुद्ध बोल्नु पर्छ । शुद्ध उच्चारण गर्न सिक्नुपर्छ । हाम्रो शुध्दोच्चारण नै शुद्ध लेखाइको आधार हो । धेरैलाई लाग्छ कि नेपाली लेख्न आउँदैन । अङ्ग्रेजी विद्यालयमा पढेको हुनाले नेपाली त आउँदै आउँदैन । त्यसो होइन ।

हामीले शुद्ध लेख्नका लागि शुद्ध शब्द उच्चारण र नियमबद्ध वाक्य निर्माणमा ध्यान दिन सके पुगिहाल्छ । लेख लेख्नु,कविता लेख्नु वा कथा लेख्नु भनेको धेरैले पढुन्, धेरैले बुझुन् र धेरैले मन पराइदिउन् भन्ने  नै हो । यसका लागि सरल भाषा नै प्रयोग हुनु पर्दछ । राम्रो लेख्न लेख्ने शब्द र वाक्यमा ख्याल राख्नुपर्दछ । शब्दकोशका अन्तरकुन्तरमा भएका कसैले नजानेका, नसुनेका र असजिला शब्दहरू थुपारेर मात्रै लेखक भइँदैन । यस्ता लेखन शुद्ध पनि नभैदिन सक्छन् ।  त्यसैले वाक्यहरू यसरी छोटा, मिठा र रसिला लेख्न अभ्यास गरौं :

म कथा पढ्छु । कथा मलाई निकै मन पर्छ । मलाई कठिन शब्द भएका र लामा वाक्य भएका कथा मन पर्दैन । त्यस्ता कथा पट्यारलाग्दा र झन्झटिला हुन्छन् । 

यस्ता शब्द र वाक्यले लेखनलाई सकारात्मक प्रभाव दिन्छ र प्रस्तुत गर्न खोजिएका सबै घटनालाई सजिलो किसिमले परिलाइएको हुन्छ । सबैले बुझ्न सक्छन् । स्वाभाविक र प्राकृतिक लेखाइ बन्दछ अनि लेख्न के आइतबार भो र ?

नेपाली भाषामा लेखन गर्दा म के लेख्दै छु र कस्ता शब्द चयन गर्दै छु भन्ने विषयमा ख्याल गर्नु पर्छ । लेख्नु भनेको विचारलाई आकार दिनु पनि हो । हाम्रा मनोभावका तरङ्गलाई आकार दिनु नै लेख्नु हो । त्यसैले पनि विचार अनुसार नै शब्दचयन गर्नुपर्दछ । यसका लागि पहिलो शर्त नै उचित शब्द उपयोग हो । उचित शब्द चयन हुन सकेको खण्डमा  एकै चयनबाट सम्प्रेषणको सम्पूर्णता प्राप्ति हुन सक्छ । एउटै प्रयोग हेरौं :

दाजु:   तिमी कता हिंडेको ?

भाइ: पसल । 

दाजु: किन ?

भाइ: चिनी किन्न । 

यी संवादहरू सङ्क्षिप्तता र व्यवहारिकताका नमूना मात्रै हुन् । यसको अभिप्राय भाषा जति सरल हुन्छ त्यति नै सर्वप्रिय र बोधगम्य भइदिन्छ । त्यसैले सार्थक र  वस्तुवादी शब्दप्रयोग नै भाषामा अपेक्षित हुन्छ । व्याकरणका विधान कण्ठ गरेर भाषा प्रयुक्त हुँदैन । आफ्नो भाषाको स्वरूप र मानकलाई सकेसम्म ख्याल गरेर नै लेख्नुपर्छ । त्यसका लागि आजकाल हाम्रो भाषाको पनि शब्दकोशको मोबाइल एप पाइन्छ त्यसलाई आफ्नो कम्प्युटर र मोबाइलमा सुरक्षित राख्नुपर्छ । कुनै शब्दका बारेमा कसरी लेख्ने वा के लेख्ने भन्ने शङ्का हुने बित्तिकै शब्दकोश हेर्ने बानी गर्नुपर्छ ।

लेख्नु भनेको शब्दको गतिलो प्रयोग हो । त्यसैले शब्द र वाक्यको नियमसँग प्रयोग गर्नु नै भाषा हो । हाम्रो भाषामा यस्ता शब्दहरूको अनुचित प्रयोग भइरहेका छन् :

हुनुपर्ने        भएको 

भएको        भयको

सौन्दर्य        सौन्दर्यता 

सालिक       शालिक

धूमपान      धुम्रपान

समृद्ध       संवृध्द

यी शब्दहरूलाई जसरी लेखिनु पर्छ यसका मानक रूपको ख्याल नगर्दा बिग्रिएको देखिन्छ जस्तो कि

गलत प्रयोग

देश बनाउन हामीले बलिदानी गर्नुपर्छ ।

हुनुपर्ने

हामीले देश बनाउन बलिदान गर्नुपर्छ ।

 

गलत प्रयोग

हाम्रो गाउँको पौवा मर्मत संहार गर्नुपर्ने भएको छ ।

हुनुपर्ने

हाम्रो गाउँको पौवा मर्मत सम्भार गर्नुपर्ने भएको छ ।

शब्दका पनि मानक र शुद्ध रूप हुन्छन् । तिनका पनि नाम, सर्वनाम, विशेषण, क्रिया विशेषण, क्रियापद आदि वर्गका रूप हुन्छन् । शब्दका जुन रूप छन् त्यसलाई त्यही रूप र स्थानमा प्रयोग गर्नुपर्छ । नामलाई विशेषण र विशेषणलाई अर्को रूप बनाएर प्रयोग गर्दा माथि देखिएजस्तो विचलनको अवस्था आइपर्छ । यसका लागि सानो सचेतताले पनि हाम्रो लेखाइ असल बन्न सक्छ ।

कहिले कहिले आवश्यक ठाउँमा विभिक्तिको प्रयोग छुटेको हुन्छ र अनावश्यक ठाउँमा प्रयोग भइरहेको हुन्छ । त्यसलाई पनि ख्याल गर्नुपर्छ जस्तो कि :

–कपिल रमाएर जन्मदिनमा चक्लेट दियो ।  (ले छुटेको छ )

–नर्सरीमा चारओटा बढी बिरुवा रहेनछन् । (‘भन्दा’ छुटेको कारण अनर्थ भएको छ । चारओटा मात्रै छन् भन्न खोजेको तर आवश्यकभन्दा  चारओटा धेरै भन्ने अर्थ लाग्यो । )

–घटस्थापना विद्यालय बिदा छ । (‘मा’ वा ‘देखि’ छुटेको छ )

–तिमीले बोलाएमा म आइहाल्छु ।

– धान झुलेमा रमाइलो हुन्छ ।

माथिका वाक्यका लागि ‘मा’ विभक्ति अनावश्यक देखिन्छ ।

कहिले कहिले शब्द आफैं एकवचन भएको अवस्थामा पनि हामी बहुवचनसूचक ‘हरू’ प्रयोग गर्छौं यस्ता प्रयोगले भाषालाई भद्दा बनाइदिन्छ जस्तै :

– छोराहरू आए । (छोरा आफैं बहुवचन हो )

–गढीमाई मन्दिरमा धेरै राँगाहरू काटिए । (यस वाक्यमा  ‘राँगा’ र ‘हरू’ विचलयुक्त प्रयोग हुन् ,राँगा आफैं बहुवचन हो )

आजलाई मैजारो गरौं कि

हरेक भाषा प्रयोग गर्दा शब्द, वाक्य, हिज्जे, वर्णहरूको अनुकूल प्रयोगलाई ख्याल गर्नुपर्छ । त्यसलाई कसरी व्यवहारमा उतार्न सक्छौं यसका केही तरिका र नमूनाहरूका लागि साहित्यपोस्टका आगत अङ्कहरू पढ्दै र हामीलाई सुझाव दिंदै जानुहुनेछ भन्ने अपेक्षा पनि रहेको छ ।

              अक्षर आवास धादिङ