घोकेको धेरै पो भयो त— ‘मान्छे सृष्टिको सर्वश्रेष्ठ प्राणी हो । मान्छे धरतीको गहना हो ।’

कक्षा ४ देखि नै घोकियो क्यार । कक्षा ५ सम्ममा त निबन्धै लेखियो  । ‘लेखाए’ भनूँ न ।

होइन कि भनेर पनि कहिल्यै सोचिएन । हो नै भन्ने लागिरह्यो । कस्सम, आज पनि लागिरहन्छ ।

सुदूर पश्चिमको यात्रामा थिएँ । सुनेँ, ‘झ्यालबाट बाहिर नथुक्नू है । आर्मीले पिट्छ ।’ सहचालकको आवाज ।

झकाउन लागेको रहेछु, ब्युँझिएँ । हेरेँ झ्यालबाट बाहिर । बाहिरै नहेर्नू त भनेको थिएन नि त । नथुक्नू भनेको, थुक आएको आयै, आएको आयै । घाँटी नै अँठ्याउला जस्तो थुकले । तैपनि, सहेर बसेँ । थुकिनँ ।

गाडी बर्दिया राष्ट्रिय निकुञ्जको बीचबाट गुड्दैथियो । सरर हावा, कति शीतल, कति कञ्चन ! सडकको दायाँ–बायाँको भूगोल । हरियालीको साम्राज्य । जनावरको इलाका । जङ्गली राज्य ।

यतापटि बर्दियाको भुँरिगाउँ । नाक थुनेरै काटेको । मान्छेको बस्ती ।

उतापट्टि कैलालीको चिसापानी । नाक थुनेरै काट्नुपर्ने । मान्छेको बस्ती ।

मान्छेको बस्ती । नाक थुनेरै काटियो । जङ्गलीको इलाका, छाती खोलेर काटियो । फेरि मान्छेको बस्ती । फेरि नाक थुनियो ।

निबन्ध सम्झेँ— मान्छे सृष्टिको सर्वश्रेष्ठ प्राणी ।

आफ्ना आँखा चिम्लिएँ, र एकचोटि धरतीका आँखाबाट हेरेको कल्पना गरेँ । मान्छेले जति धरतीलाई घात अरू कसले गरेको होला र !

सडक — धरतीको जिउमाथि मान्छेले कोतरेका घाउका पाप्रा ।

सहर — धरतीको छाती चिथोरेर मान्छेले निकालेको करङ ।

भट्टाहरू — धरतीको सास बाहिर फुक्ने सोते ।

हैट, यसरी त नहेरौँ होला नारान । मेरो पाइतालाले कीरै नमरोस् ।

अस्ति एकजना वातावरणविद्ले भन्नुभयो— हामी अलि सुध्रिनुपर्‍यो । कल्पना गर्नुस् त, मान्छे बिनाको धरती कस्तो हुन्छ?

यसो सोचेँ— मान्छे बिनाको धरती कस्तो हुन्छ र?

मान्छे भएर सोचेँ— हैट, उराठलाग्दो हुन्छ नि ! कसले बनाउँछ गाउँ? कसले बनाउँछ बस्ती? गीत कसले लेख्ला? को नाच्ला? कसले लेख्ला किताब? कसले गुडाउँछ रेल? कसले उडाउँछ हावाजहाज?

अँ, पानी जहाज पनि बिर्सिइनँ ।

फेरि धरतीको कोणबाट हेरेँ । के नै हुन्छ र मान्छे नहुँदा? थियो कुनै जमाना जब मान्छे नाम गरेको कीरो धरतीमा थिएन । के नै भएको थियो र धरतीलाई?

कुनै समय हुने नै छ, जहाँ मान्छे नाम गरेको कीरो धरतीमा हुने छैन । के नै फरक पर्छ होला र धरतीलाई?

त्यत्रा ग्रह–नक्षत्र छन् त बिना मान्छेका । के नै फरक परेको छ र तिनलाई?

हैट, जीउभरि किर्ना नहुँदा गाईलाई के फरक पर्छ र?

पेटभित्र जुका नहुँदा भैँसीलाई के फरक पर्छ र?

छ्या, यसरी किन सोच्नु हौँ ।

हामीले धरतीको नाम राख्यौँ । चिना–टिपन बनायौँ । जमिन बाँड्यौँ । हावा बाँड्यौँ । पानी बाँड्यौँ । मिच्नु त के, छिरिक्क सिमाना छोयो कि युद्ध ग-यौँ । रगत पुनः धरतीमाथि खन्यायौँ ।

विजय मल्लले कविता लेखे— ‘छोरीलाई मानचित्र पढाउँदा ।’

साहिर लुधियानवीले गीत लेखे—

मालिक ने इन्सान को इन्सान बनाया
हम ने उसे हिन्दु वा मसलमान बनाया
कुदरत ने तो बक्सी थी हमें एक ही धरती
हम ने कहीँ भारत कहीँ इरान बनाया

कृष्ण प्रसाईंले कविता लेखे—

जमिन हाँस्यो
आफैँलाई किन्नेको
आयु सम्झेर ।

यी सबै कविता धरतीको कोणबाट लेखिएका हुन् भनिनँ तर, त्यो कोण स्वतः आइपुग्यो नि ।

स्पिभाकले ‘प्लानेटारिटी’ भनेर भन्दाखेरी यी आमोई के भन्छिन् भन्ने लाग्थ्यो । अहिले, मेरै कारणले पनि  दुईचार नदी निसास्सिएपछि, माछाका दुईचार जात मासिएपछि, दुईचार आना जमिन रुखिएपछि, दुईचार हजार रुख मरेपछि बुझ्दैछु— प्लानेट, यानि पृथ्वी नाम गरेको ग्रहलाई केन्द्रमा राखेर हेरौँ, सोचौँ भन्ने कुरा रहेछ ।

आन्दोलन नै छ, अर्थ फर्स्ट ।

अर्को आन्दोलन छ ग्रिन बेल्ट मुभमेन्ट । लम्बेतान बेलिबिस्तारतिर लागिनँ ल । मलाई पनि त्यति थाहा छैन ।

कतिपय धर्मग्रन्थले नकाम गरे । ‘छुमन्तर की बाचा’ भनेर सृष्टिकर्ताले ‘मनुक्खे’ जन्माएपछि,  त्यस मुनुक्खेले खाओस्, पिओस्, मौजमस्ती गरोस् भनेर अन्य चराचर जगत् बनाए भन्दिए । भनौँ न, मान्छे सर्वसत्तावादी शासक भयो धरतीको । अन्य, उसका उपभोग्य कुरा भए । (तर यो पूर्वको दार्शनिक कोणचाहिँ होइन । पश्चिमको चाहिँ हो ।)

यो कोण उल्ट्याएर हेरौँ न । मान्छे— कीराका अन्य अरबौँ प्रजातिमा एक । धरती उसको घर ।

कीराहरू जन्मँदै जान्छन् । मासिँदै पनि जान्छन् । धरतीलाई लुतो त कन्याइ !

धरतीमा विविध कायाका जीवन अनेक कारणले मासिए । धूमकेतुले । जनसङ्ख्या असामान्य हिसाबले बढेर । प्रतिस्पर्धा बढेर । तातो बढेर । चिसो बढेर । अरूले खाएर ।

डोडोचरा सम्झेर मन अमिलो भयो ।

धेरै चाहिँ मान्छेका विविध उपक्रमले तिनका घाँटी निचोरेकाले मासिए ।

भनौँ— मान्छेले धरतीलाई तावा बनायो ।

मान्छेले आकाशलाई धुवाँ बनायो ।

मान्छेले पानीलाई लेदो बनायो ।

लेदोमा लासहरू बगे । पनि बग्यो वा बगेन, थाहा भएन ।

एउटा तर्क — अन्य अनेक प्राणीको वंशनाशक कारण मान्छे । आफैँको वंशनाशक पनि बिगुल जो बजिरहेको छ, त्यसको पनि कारक मान्छे ।

कारण के भने— धेरैजसो सिद्धान्त, धर्म र दर्शनले मान्छेलाई ‘केन्द्र’ मान्यो । उपभोगकर्ता मान्यो । अन्य जगतलाई उपभोग्य मान्यो । ‘वीर भोग्या वसुन्धरा’ भन्यौँ नि हामीले पनि लाम लागेर । भनेको भन्यै छौँ । परिणति हातैमा छ । अब सासमा पुग्नै आँटेको छ घँटेसी । सासमा पुगेपछि राम नाम सत्य हो भन्ने मान्छे पनि पाइने हो वा होइन, यकिन भन्न सकिँदैन ।

कतै छेउछाउका ढुङ्गाहुँदी लेखेर राखौँ क्यार— ‘राम नाम सत्य हो ।’

अस्ति ठिमीमा वातावरणविद् श्रवण शर्माले भने— छोराछोरीका लागि सम्म ठिकै छ, नाति–नातिनाका लागि भनेर सम्पत्ति थुपार्नुको कुनै अर्थ छैन ।

एकछिन् त ट्वाँ ।

एक मुख लाग्यौँ— अग्निका नवराज लम्साल, हटारुका ओम रिजाल, एक्लो महारथी महेश क्षितिज, अन्य केही साथीहरू, र सदासर्वदा ट्वाँ पर्दा पर्दा मुखै आँ भइरहने पात्र — म ।

‘किन?’ सोध्यौँ ।

उनले भने, ‘हुँदै हुँदैनन् त के जम्मा पार्नु? पर्दैैन ।’

उनले सङ्कटको महात्म्य खोले । भने, निकट भविष्यमा खाद्य सङ्कट यति ठूलो हुने वाला छ कि मान्छे खान नपाएरै मर्छ । छोराछोरीको सम्म त जीवन सोचौँ । नातिनातिना वा पनातिपनातिनाको पालो नै आउँदैन धरतीमा ।

धरतीमा मान्छेका अझै आठदश पुस्ता हिँड्लान् हिँड्न त । श्रवण शर्माले भनेको मितिमै ठ्याक्कै शङ्ख त नबज्ला । तर उनले एउटा त्रासको ढ्याङ्ग्रो त ठोके नि । घुङ्रिङ—सेउली खोज्ने त बनाए नि हामीलाई ।

त्यसो त, अमेरिकामा कुनै बेला उपराष्ट्रपति भएका वातावरणका ज्ञाता राजनीतिज्ञ जोन केरीले पनि घण्टी त बजाएकै हुन् । घण्टी, किन भने उता ढ्याङ्ग्रै त नपाइएला भनेर नि ।

उनको भनाइ थियो— आज धरतीमा जति पनि प्राणीका प्रजाति बाँचेका छन्, ती सृष्टिमा आजसम्म जन्मेका १०० प्रतिशत प्रजातिमा १ प्रतिशत मात्रै हुन् । ९९ प्रतिशत त आजको मितिसम्ममा बिदा भएर गई पनि सके ।

यसै क्रममा ‘मान्छे’ पनि थपिनु कुन चैँ ठूलो कुरा हो र?

यसरी सोच्दा मन भारी बनेर आउँछ ।

एउटा किस्सा सुनाए । एकजना डाक्टर रहेछन् । गाउँकै मान्छे, पछि सहर बस्न थालेका । बेला बेला गाउँघर जाँदा रहेछन् । एकचोटि गाउँ पुगेको बेला आँगनमा खेलिरहेका केटाकेटीलाई बोकेर कन्लामुनि फ्याँकिदिएछन् । आफ्ना पनि, छिमेकीका पनि केटाकेटी । आफ्नाले त के भन्नु र, ट्वाँ । छिमेकी पाखुरा सुर्किँदै आइपुगेछन् । सत्तो सराप ।

डाक्टरले भनेछन्, ‘लड्न देओ । उठ्न सिक्छन् । बलिया हुन्छन् ।’

कल्पना गरौँ न । कतिपय देश यस्ता छन्, जहाँको औसत तापक्रम दिनमा ५० डिग्री  र रातमा माइनस दश । मरुभूमिको शैली नै यही । अब, त्यहाँका बच्चा मसिनले चिस्याउने कोठामा बस्छन् । मसिनले तताउने कोठामा सुत्छन् । कृत्रिम उज्यालो । कृत्रिम शीतलता । वर्षा ः कथा–कहानी ।

‘उहिले त बाजेका पालामा घाम लाग्थे डाँडामा’ भनेर गीत गाइयो भने भाषा नै नबुझ्लान् भन्ने डर ।

लेखकहरूले मान्छेलाई प्रकृतिको कोण सिकाउने कोसिस धेरै गरे । गरिरहेकै छन् । प्रकृतिको कोण भन्नाले मान्छेको कोणलाई केन्द्रबाट सीमातिर धकेल्नु । एई, बिस्तारो है । धकेल्दा तिर्सुलीमा परिएला !

सबैभन्दा गाह्रो यही भइरहेको छ— मान्छेलाई स्वघोषित केन्द्रबाट सिमानामा धकेल्ने काम ।

आउँछन् किताब— इको पोयट्री । इको लिटरेचर । इको राइटिङ । अधिकांशमा भाषण छ— रुख बिरुवा जोगाऔँ । सम्पदा बचाऔँ । सम्पदाको खपत बचाऔँ । विषादीको प्रयोग नगरौँ ।

कुरा ठिक छन् । मनासिब छन् । तर, कुरो पुगेन कि?

खासमा, यी नारा स्कुलका किताबमा पनि छन् । सरकारी कार्यक्रममा पनि छन् । टिभीमा, रेडियोमा, बोर्डहरूमा, होर्डहरूमा, सबैतिर छन् । थप केही नारा हाम्रा कविता, कथा वा गीतमा आउँदा पनि राम्रै भयो । तर उत्कृष्ट चैँ भएन ।

उत्कृष्ट हुनलाई के गर्ने, के लेख्ने? म्म,  त्यो चैँ थाहा भएन ।

लेख्नै त अनेक लेखे । अलिकति विज्ञान, अलिकति स्वैरकल्पना मिसाए ।

कलेरिजले एउटा कविता ‘राइम अफ द एन्सिएन्ट मेरिनर’ मा लेखे— नमार्नू है भनेको चरो मारेका कारण एउटा बूढो नाविक सवार भएको जहाज बीच समुद्रमा दुर्घटनामा प-यो । कयौँ दिनसम्म हल न चल । जहाजमा सवार भोक र तिर्खाले आक्रान्त । त्यसैमाथि, समुद्रबाट स्याउँ स्याउँ निस्केका अनेक प्रकारका जीव । हैट, सबै यात्रु स्वाहा । संयोगले त्यही बूढो यात्रु बाँचेछ । अर्को जहाजमा सवारहरूले कसो कसो बचाए भनौँ न । घर फर्कियो । अब उपरान्त उसको एउटै भएछ काम — जसलाई देखे पनि कथा भनिहाल्ने । ‘सुन्नुहोस् त, हामी समुद्री यात्रामा थियो । चरा आए । अनि मैले…. हजुर, चरा कहिल्यै नमार्नू है ।’

उता, कथापट्टिकाले पाप कराएको भने ।

उता विज्ञानतिरकाले ‘ओग्र्यानिसिज्म’ तिर जोडे । कुरो के भने, जगत्मा सबै अवयव जोडिएका छन् । एउटा अवयवमा खलल पु-याइयो भने अर्कातिर सन्तुलन बिग्रने । अनि, उथलपुथलसम्म पनि हुने ।

यस्तै यस्तै कथा त हाम्रैतिर पनि त छन् ।

भर्खरै त हो अशोक थापाले सन्तापको धूनमा ‘बेचिएका कुलदेवता’ लेखेका । भएछ के भने, कुलदेउताको वास छ भनिएको घरजग्गा पनि बेचेर धेरै कमाएर खान अर्कै ठाउँ हिँडेछ, रामनरेश । बाढीपहिरोले घरबारी स्वाहा ।

कुलदेवताको श्राप लाग्यो । यो ‘आँखाका सोझी नाक’ भनेजस्तो व्याख्या भयो ।

कुरो ओग्र्यानिसिज्मको । यो विज्ञान ।

हेर्न त जसरी हेरे पनि भयो ।

तर म ठान्छु, यस्ता कथाको सङ्ख्या बढ्नुपर्छ । विज्ञानकै मात्रै व्याख्या गरेर मान्छेको मनोविज्ञान नछोइने भयो ।

अर्को एउटा नयाँ कुरा ल्याए । होइन नयाँ पनि कति ल्याएका यिनले? काम छैन?

नयाँ के ल्याए भने— ‘इकोइरोटिसिज्म’ रे । नाम पनि कति लामो, कति अप्ठ्यारो ।

कुरो खै कसले उठायो थाहा भएन । तर टेरी टेम्पेस्ट विलियमले यसलाई आधार बनाएर धेरै लेखिन् ।

बिस्तारै बुझेर ल्याउँदा कुरो के हरेछ भन्दाहुँदी, मान्छेको ज्यानमा जुन यौन आनन्दप्रतिको अनुराग हुन्छ, त्यो प्रकृतिसँग खेलेर लिने । पानीमा भिज्ने । हिलोमा लडीबुडी गर्ने । रुख चढ्ने र सुल्किएर भुइँ झर्ने । ठूलो चिप्लेटी ढुङ्गामा सिलिपिती खेल्ने । पौडी खेल्ने । दुवोमा डङ्ग्रङ्ग सुत्ने वा लडीबुडी खेल्ने । समुद्र किनारको बालुवामा ‘सनबाथ’ गर्ने ।

थप्नुहोस् है ।

रोपाइँको रोमाञ्च पाँच महिनापछि धान पाक्ला र खाऔँला भन्नुमा मात्रै छ र?

दाइँ गर्दा परालमा हिँड्नु र लडीबडी गर्नुको चाहिँ नि?

बग्दो खोलामा मुखै गाडेर पानी पिउँदा किन बढी रमाउँछ मान्छे? गिलासले नै उगाएर खाए हुँदैन?

कुरो गहिरो छ । यो गहिराइलाई लेखनमा ल्याउँदा, म ठान्छु, इको लिटरेचरले नयाँ कोण पाउँछ । यस कोणले कसैलाई घात गर्दैन ।

अर्को कोण पनि ल्याए । कोण पनि कति ल्याएका हुन् हौ इँदेर्ले ? करेलाको ढाड नै हो कि क्या हो यिनको दिमाग — कोणै कोण, कोणै कोण ।

कोण कस्तो निकाले भने, आँगनको घाँसको, झारको । हुन्छ नि कहिलेकाहीँ यसो आँगन खुर्किऔँ, सफा गरौँ भन्ने । कोदालो बोकेर तयार । हामीलाई काम लाग्ने पुदिना, तुलसी, घोडताप्रे आदि उम्रेको भए जोआउनू रे । काम नलाग्ने सबै ‘झार’ रे, खुर्केर फ्याँक्दा हुन्छ रे । भनिएन, सोचिएन — हामीले ‘झार’ भनिएको कतै फट्याङ्ग्रालाई काम लाग्ने पो थियो कि? अथवा, जमिनलाई शीतल बनाउने वनस्पति पो थियो कि? अथवा, वातावरण शुद्ध पार्ने पो थियो कि? अथवा, वातावरणको विष शोषण गरेर अमृत फाल्ने बिरुवा पो थियो कि?

सोचेनौँ — सृष्टिकर्ताले कुनै अर्कै प्रयोजनका लागि पो त्यसलाई बनाएका थिए कि? सोध्नु पनि कसरी सृष्टिकर्तालाई?

इमर्सनलाई सनक चढेछ । माथि न माथि, अनकन्टारमा त्यस्तो रातो सुन्दर फूल किन फुल्नु? न मान्छेले देख्छ । न कसैले त्यस बारे गीत लेख्छ । न कसैले चुँडेर प्रेमिकालाई दिन्छ । न कुनै कवि पुग्छ त्यहाँ । फुल्छ आफैँ, फर्कन्छ आफैँ, झर्छ आफैँ । त्यसको के काम? कसले बनायो त्यसलाई त्यहाँ?

ल ल । अनि तपाईंलाई चैँ कसले किन जन्मायो त सुलुबङको भीरपाखामा? टक्सारमा? भासुको भिरछेउमा? फलटुँडेमा? रामारोशनमा?

हैट ।

कोणहरूको कुरा नि !

एउटा कथाले छोइरहन्छ सधैँ । कथा लेखेको सारा ओर्न जेवेटले । कथाको शीर्षक ‘द ह्वाइट हेरोन’ । लामो कथाचाहिँ भन्दिनँ ल, बडा बोर हुन्छ । चुरो कुरो के भने एउटा सिकारीले गाउँमा सेता बकुल्लाको कुर छ भन्ने सुनेछ । एउटी नौ वर्षे गोठाले केटी ‘सिल्भिया’ लाई कुर थाहा रहेछ । सिकारीले यो कुरा पत्ता लगाएर उसैको घरमा बास बस्न आयो । रातभरि फकायो । प्रलोभन देखायो । पैसा दिन्छु भन्यो । बन्दुक देखाएर धम्क्यायो ।

तर अहँ, नौ वर्षकी सिल्भियाले आत्मा बेचिन । भयका अगाडि झुकिन । दुई कौडीका लागि बकुल्लाको बथान बिथोल्ने सन्धिमा हस्ताक्षर गरिन ।

रुखको हाँगामा चराको गुण छ, र त्यसै कारण त्यो रुख काटिनुहुन्न भन्ने अडान छ, गाउँको अनपढ, अशिक्षित बद्रीको, भोजराज घिमिरेको कथा ‘सलाम बद्री’ मा । मलाई यो कथा कालजयी लाग्छ । कारण यही हो ।

सूची बनाउँदै जाँदा हुन्छ— कविताराम श्रेष्ठ र ध्रव घिमिरेको बालसाहित्य, अविनाश श्रेष्ठका केही कविता, दीपा राई पुनका केही कविता, अचेल धेरैजसो कविका कुनै न कुनै कविता । भारततिर नेपाली भाषामा कलम चलाउनेमध्ये राजा पुनियानी र देवेन सापकोटाका कविता । अरू पनि थुप्रै छन् ।

चेत फैलँदो छ । यतातिर फर्कनुको आवश्यकताबोध टड्कारो देखिन्छ । यसमा, कोणहरूमा नवीनता आयो भने सुनमा सुगन्ध हुन्थ्यो । सुगन्ध त गुलाफ मिचेर पनि लाइन्थ्यो होला, तर सुन पो सारै महँगो अचेल । केटाहरू बिहेको तालिका सारेको सार्यै ।

कोणकै कुरा त हो । अलि अव्यवहारिक त सुनिएला, तर एड्वार्ड एब्बीले ‘इको डिफेन्स’ भनेर नयाँ धौले झिके । कुरा के रे भने, हामीलाई कसैले अकारण आक्रमण ग¥यो भने हामीसँग प्रत्याक्रमण गर्ने अधिकार त छ नि । हो, त्यस्तै । जङ्गलमा छँदाखाँदाका रुख कसैले काटेर ‘तस्करी’ गर्न खोज्ने ठाउँमा रातभरि किल्ला ठोकिदिने सम्भावित रुखभरि । किल्लाले रुखलाई ‘खास्सै’ हानि गर्दैन रे तर तस्करका आराका दाँत धुलोपिठो । लु खा, खुच्चिङ !

मान्छु— अलि अव्यवहारिक लाग्छ यो उपक्रम । तर पनि, एउटा कोण त हो नि ।

अस्ति गुरु जीवलाल सापकोटाले भन्नुभो, ‘पृथ्वीसुक्त पढ्नुहोस् ।’

सकी नसकी खोजेर पढेँ । अथर्ववेदको यस खण्डमा त अखण्ड पो रहेछ । हामीले यसमा टेक्दै टेकेनौँ । समाचारहरूमै पिङ खेलिरह्यौँ । समस्या त होइन, तर सिर्जनशील लेखक भएपछि अलि फरक, नवीन र बढी प्रभावशाली कोण खोज्नुपर्ने जरुर हो हामीले ।

तर हलो त्यहीँ अड्किन्छ र पो ।

एउटा गज्जबको चिन्ता देख्छु सरकारमा । विकासका जानकारहरूमा । योजना बनाउनेहरूमा । के भने— विकासको जति प्रयास गरे पनि राउटे लाइनमा आएनन् । चेपाङ लाइनमा आएनन् । राजी आएनन् । हायु आएनन् । कुसुण्डा आएनन् । घर बनाइदियो — बस्दै बस्दैनन् । छोडेर हिँडिहाल्छन् ।

कुरा त सही हो । तर, ‘विकास’ माने के? यसको उत्तर विकसितहरूले बनाएकै उत्तर — सडक, गाडी, बिजुली, छेउमै स्कुल र अस्पताल, बैंक, बजार…थप्दै जाऔँ है । तर्क के भने विकासले जीवन सजिलो बनाउनुपर्छ, र त्यसले मान्छेलाई खुसी दिनुपर्छ ।

कसैले राउटेलाई आजसम्म सोध्यो— तिम्रो जीवन केले सरल बनाउँछ, र तिमी कसरी खुसी हुन्छौ? चेपाङलाई सोध्यो? राजीलाई? कुसुन्डालाई? कुसुन्डालाई सोधिहालौँ । कारण, जातै सङ्कटमा परिसक्यो ।

प्रकृतिसँग अचम्मको तादात्म्य बनाएर बसेका यी जातको विकासको परिभाषा वा अवधारणा बुझ्ने कोसिस नै भएन यत्तिका वर्षमा । विकास अमेरिका वा बेलायतमा पाक्छ, नेपाल आइपुग्छ, संसद्मा छानिन्छ, थपिन्छ काटिन्छ, मन्त्रालय पुग्छ, अनि नगरपालिका र गाउँपालिका, अनि घर घर ।

विकासको ट्रयाजेक्टरी उल्ट्याइयो भने के हुन्छ?

लु, यो पौडेलले राउटेलाई जङ्गलमै छोड्ने तर्क ग-यो भन्लान् ।

भन्छु— ‘और क्या?’

उनकै भाषा, परिभाषा र चिन्तनभित्रको विकास बुझ्नु, र त्यसै व्याकरणको वरिपरि उनको जीवन सहज र सुखमय बनाउनु हो भने कथा फेरिन सक्छ । हामीले नारायणगढमा विकासको बिस्कुन छ¥यौँ, र चेपाङलाई त्यहीँ तान्न खोज्यौँ दशकौँदेखि । तर विकासको मोडल तिनीहरूकै जीवन न चिन्तनबाट निकाल्ने, र त्यसलाई प्रयोगमा ल्याउने प्रचेष्टा गरेनौँ पनि, र सायद यो कुरा बुझ्दैनौँ पनि ।

प्राणीहरूमा ‘इन–सिटु कन्जर्भेसन’, यानि तिनको थातथलो जहाँ हो, त्यहीँ, त्यसै प्रकृतिमा संरक्षण गर्ने जो प्रयास हुन्छ, त्यो मानव समुदायमा पनि हुनुपर्छ । स्वभावैले प्रकृतिलाई घात नगरी बाँचिरहेका कतिपय जात, अचेल हामीले बुझ्ने विकासका आधारभूत कुरासहित, बढीभन्दा बढी उनीहरूको प्रकृतिनिकट जीवनशैलीमै बाँच्न दिनु आवश्यक छ । आखिर, बाँच्न भनेर आज ठूला ठूला सहरका मान्छे वन पस्न थाले । जङ्गल पस्न थाले । हिमालतिर हान्निन थाले । सक्नेले दुइटा घर बनाएका छन्— सक्दासम्म बस्न सहरमा । नसकेपछि बसाइँ सर्न गाउँमा । ‘अन्त्यकाल आनन्दसँग बिताउने घर’ रे ।

पहिलेपहिले भूत कराउने वन, बनझाँक्री कराउने झोडी, जागित्र हिँड्ने नदी किनार, राँकेभूत हिँड्ने खर्कहरूको नाम लिँदा थुरुरु । अचेल, त्यस्तै ठाउँमा होमस्टे । ट्रेकिङ । आउटिङ । एक्कासि ती ठाउँ कसरी देवलोक र देवीलोक जस्ता हुन पुगे? कसरी स्वर्ग हुन पुगे? ती पुराना भुतप्रेत एक्कासि कसरी मनमीत बन्न पुगे?

उत्तरका लागि केथ्रिन एल ब्राउन र एन्नी डिलार्डजस्ता लेखकलाई खोजेर पढौँ न ल?

मचाहिँ पृथ्वीसूक्त घोक्नतिर लागेँ ।