माछापुच्छ्रे बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा पौष २९ गते (तदनुसार १३ जनवरी, २०२३), शुक्रबार, काठमाडौँमा सम्पन्न भयो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० का लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोही अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व. बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी रु. २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।
पहिलोपटक काठमाडौँमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचितसमेत गरेको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु-याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराउनु भयो ।
उहाँले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरुप बैंकले मर्जरका लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सधैँ अर्थपूर्ण मर्जरका लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरू गर्दै आइरहेको जानकारी गराउनुभयो ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढी ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनीय सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो साथै उहाँले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागिपरिहेको बताउनुभयो । उक्त साधारण सभामा संस्थापक एवं साधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।