माछापुच्छ्रे बैंक लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि.द्वारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढी विभिन्न मर्चेन्टहरू मार्फत कारोबार गरी रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तैगरी माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले mVisa, alipay र Union Pay सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआरबाटै भुक्तानी लिन सक्नेछन।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरू ल्याइरहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरूलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आइरहेको छ ।