देशका हरेक वर्ग र तहका ग्राहक वर्ग माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्ररे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्युआर हस्तान्तरण गरेको हो ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गर्नु भएको थियो ।

उक्त क्युआर हस्तान्तरणपछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।