राष्ट्रिय विभूति वीर अमरसिंह थापा प्रतिष्ठानद्वारा वीर अमरसिंह थापाको २०६ औं स्मृति दिवस साउन १६ मा सम्पन्न भयो ।

कार्यक्रममा राष्ट्रिय विभूति वीर अमरसिंह थापाका बारेमा कविता र गीत वाचन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजन गरिएको उक्त कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रमुख आतिथ्यता ग्रहण गर्दै वीर अमर सिंहको गुन नेपालीले बिर्सन नहुने बताउनु भयो ।

वरिष्ठ इतिहासविद प्राज्ञ डा. दिनेशराज पन्तले पृथ्वीनाराण शाहले सुरुवात मात्र गरेको एकीकरणलाई वृहत रूपमा अघि बढाउने कामको ठूलो श्रेय भने वीर अमरसिंह थापालाई जाने बताउनुभयो ।

वरिष्ठ संस्कृतिविद् प्रा.डा. धनबहादुर कुँवरले अमरसिंह थापालाई नेपालीले भुल्नु भनेको नेपालको स्वतन्त्र अस्तित्वलाई नस्वीकार्नु सरह हो ।

यसैगरी वरिष्ठ इतिहासविद् सुरेन्द्र के.सी.ले वीर अमरसिंह थापाजस्ता योद्धा यो देशले नपाउँदो हो भने नेपालीले विश्व ब्रिटिस सरकारको अधिन भएजस्तै अधिनमा रहनुपर्ने र स्वतन्त्र राष्ट्रको साख बचाउन नसक्ने ठोकुवा गर्नुभयो ।

त्यो बाटोमा आजका नेपाली नेताहरूले हिंड्न चुकेको उहाँको टिप्पणी थियो ।

संस्कृतिविद शशी थापा पण्डितले अमरसिंहको नेतृत्वका काँगडासम्म नेपालको भूभागलाई पु-याउन नेपाली योद्धाहरू सफल भए, ती भूमि नेपालीका लागि चार धामसरह रहेको बताउनुभयो । नेपालीहरू भारतका विभिन्न सहरका चारधाम जानुभन्दा बरु यी नेपाली वीरयोद्धाहरूका रगत बगेको र जीवन उत्सर्ग गरेका महाकालीदेखि पश्चिमका हाल भारतका अधिनमा रहेका किल्ला र दरबारमा नेपालीले जीवनको एक पटक भए पनि टेकेमा पितृहरूका आशीर्वाद पाएर जीवन धन्य बनाउन सक्ने बताउनुभयो ।

नेपाल प्रतिको राष्ट्रियता जगाउनका लागि विद्यालयदेखिका कलेजसम्मका विद्यार्थीहरूलाई अन्य देशका ऐतिहासिक र मनोरञ्जनमा टुरमा लैजानु भन्दा यी किल्ला र दरबारहरू घुमाउन सकेमा बच्चाबेलादेखि नै राष्ट्रियता जाग्ने धारणा राख्नुभयो ।

वरिष्ठ इतिहासविद् प्रा. डा. राजाराम सुवेदी, संस्थाका संस्थापक अध्यक्ष बाबुराम सिंह थापा, भीमबहादुर थापा, सिंहध्वज थापा, उक्त कार्यक्रममा बगाले थापा समाजका अध्यक्ष ८९ वर्षका वृद्ध लगायतले राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानको बारेमा बोल्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष बद्री थापाले यस कार्यक्रममा स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व राष्ट्रिय विभूति वीर अमरसिंह थापा प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर थापाले गर्नु भएको थियो । यस्तै कार्यक्रम सञ्चालन संस्थाका महासचिव राजकुमार थापाले गर्नु भएको थियो ।