डि जि शर्मा
युएई ।

विगत ६ महिनादेखि क्यान्सरबाट पीडित सुनसरीका भक्तवीर विश्वकर्माले आफ्नो उपचारका लागि सहयोग गरिदिन सबैमा अपिल गर्नुभएको छ । सुनसरीको बर्जु गा.पा. वडा नम्बर ४ निवासी ४९ वर्षीय विश्वकर्मा पेन्क्रियाजको क्यान्सरबाट पिडित हुनुभएको छ ।

हाल धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा विश्वकर्माको केमो थेरापी भइरहेको छ । यसअघि उहाँको उपचार काठमाण्डौ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको थियो । अहिलेसम्म ६ पटक केमो थेरापी गरिसकिएको र उपचारमा १४ लाख रुपैयाँ भन्दा धेरै रकम खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

थप उपचारका लागि आफ्नो आर्थिक अवस्थाले धान्न नसक्ने भएका कारण सबैमा सहयोगको अपिल गरिएको विश्वकर्माले बताउनु भयो ।

यसै क्रममा युएईमा रहेर रोजगारीसँगै साहित्य कर्ममा सक्रिय रहँदै आउनुभएका श्री भवानी नेपालको संयोजनमा विश्वकर्माको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ ।

नेपालले आफ्नो फेसबुक एकाउन्टमा पीडित विश्वकर्माको तस्विरसहित उहाँको उपचारमा सहयोग गरिदिन आग्रह गर्दै शुक्रबार दिउँसो स्टाटस राख्नुभएको थियो ।

स्टाटस राखे लगत्तै स्वदेश तथा प्रवासमा रहनुभएका नेपालीहरुबाट सहयोग जुट्ने क्रम सुरु भएको संयोजक नेपालले जानकारी गराउनु भयो । त्यसैगरी यस अभियानमा साथ दिँदै सुनसरीको इटहरी – १२ खनार निवासी सुरेन्द्र चौधरी र अष्ट्रेलियामा आयुशा कट्टेलको संयोजकत्वमा पनि रकम संकलनको काम भइरहेको छ ।

यो समाचार तयार पर्दासम्म एकै दिनमा करिब एक लाख रुपैयाँ बराबरको बोलकबोल भइसकेको संयोजक नेपालले जानकारी गराउनु भयो । उता बुर्जु गाउँ पालिकाले समेत विश्वकर्माको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ । एक गार्मेन्ट कम्पनीमा काम गरेर परिवारको गुजारा चलाउँदै आउनुभएका विश्वकर्माको श्रीमती सहित एक छोरा र एक छोरी हुनुहुन्छ ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुले विश्वकर्मालाई सिधै सम्पर्क गर्न सकिने अथवा उहाँको बैँक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ । युएईमा रहनु हुने सहयोगी मनहरुले अभियान संयोजक नेपाललाई सम्पर्क गर्न सकिनेछ ।

 

थप जानकारीको लागि :

भक्तवीर विश्वकर्मा (सुनसरी) : +९७७- ९८११३२०८८०
श्री भवानी नेपाल (युएई) : +९७१- ५८८२३८५९४

रकम सहयोगको लागि:

सिद्धार्थ बैंक : भक्तवीर विश्वकर्मा
खाता नम्बर: ०३०१५१५३०८९