सर्लाही जिल्लाको वरथहवास्थित चक्र जनता सहिद गङ्गा माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाएको छ । विद्यालय स्थापनामा भूमिका निभाएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै विद्यालयले स्वर्ण जयन्तीलाई महोत्सवको रुपमा मनाएको हो ।
महोत्सवमा २०२८ सालमा विद्यालय स्थापनाका लागि ७ बिघा जग्गा दान दिनुका साथै तीन कोठाको भवनसमेत बनाइदिएका स्व. चक्रबहादुर अमात्यको परिवारका साथै विद्यालय स्थापनाका लागि सहयोग गर्ने अन्य व्यक्तित्व तथा तिनका परिवारहरुलाई अभिनन्दनसहित सम्मान गरेकाे छ । त्यस्तै, विद्यालयको स्थापना कालमा शिक्षकहरु, पूर्व शिक्षकहरु तथा विभिन्न ओदाहमा पुगेर काम गरिरहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा सहिद गङ्गालाई श्रेष्ठ र स्व. चक्रबहादुर अमात्यको सालिक अनावरणसमेत गरिएको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनकुमार अमात्यले आफ्नो हजुरबुबाले जग्गा र भवन दान गरी उहाँकै नामबाट सुरु भएको विद्यालयको स्वर्ण जयन्ती मनाउन पाउँदा खुसी लागेको बताए । उनले भने, “मैले पनि यसै विद्यालयबाट शिक्षा आर्जन गरेको हुँ । यो शिक्षा मन्दिरप्रति सदा समर्पित भई निःस्वार्थ सेवामा लागिरहने प्रण गर्दछु ।”
विद्यालयको स्वर्ण जयन्ती पुषमै मनाउनु पर्ने भए पनि विभिन्न कारणले चैत्रमा गर्नुपरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ अकेलाले बताए । पूर्वनिर्धारित योजनाअनुसार प्रमुख अतिथिका रुपमा शिक्षा मन्त्रीलाई ल्याउने तय भए पनि चुनावी आचारसंहिता लागु भएकाले त्यो सम्भव नभएको उनले बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक पदमबहादुर खड्काले आफूहरुले सुरु गरेको विद्यालयको स्वर्ण जयन्ती आफ्नै संयोजनमा मनाउन पाउँदा गर्व लागेको बताए । विगतलाई सम्झँदै उनले भने, “२०२३–२४ सालतिरको कुरा हो, हामीले गाउँटोलमा गएर बच्चाहरुलाई पढ्न आउन आव्हान गर्यौँ । गाउँ पञ्चायतका उप–प्रधानपञ्च बमबहादुर सिठुङलाई भनी उहाँकै गोठमा बच्चाहरुलाई पढाउन थाल्यौँ । त्यतिबेला पढाउन साथीहरुमा स्व. गोपालबहादुर खड्का, गोविन्द भट्टराई, स्व. मधुसुधनलाल श्रेष्ठ र केदार भट्टराई पनि हुनुहुन्थ्यो । युवा जोश थियो, प्रजातन्त्रका लागि जीवन अपर्ण गर्ने सहिद गङ्गालाल श्रेष्ठको नाममा विद्यालयको नाम सहिद गङ्गा अपर प्राइमरी बन्यो । पछि चक्रबहादुर अमात्यले सात बिघा जग्गा र तीन कोठे भवन विद्यालयका लागि प्रधान गर्ने भएपछि श्री चक्र पब्लिक निम्न माध्यमिक विद्यालय बन्यो । र, उक्त विद्यालयको प्रअ म बन्न पुगेँ । संस्थापक प्रधानाध्यापकको रुपमा विद्यालयको स्वर्ण महोत्सव जीवितै मनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।”
विद्यालयका वर्तमान प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यालयलाई “नमूना विद्यालय” बनाउने योजनाअनुरुप काम गरिरहेको बताए । उनले भने, “हाम्रो योजना स्वर्ण जयन्तीकै अवसर विद्यालयलाई नमूना घोषणा गर्ने थिए । तर यो त्यति सहज रहेनछ । अझै केही कामहरु गर्न बाँकी रहेछन् । तर सबैको साथले निकट भविष्यमा नै हामी हाम्रो योजनामा सफल बन्ने छौँ ।”
कार्यक्रममा समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा स्थानीयको विशाल उपस्थिति रहेको थियो । सीता बुढाथोकी र पवन बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साँस्कृतिक तथा मौलिक साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । विद्यार्थी तथा शिक्षकहरुले राष्ट्रिय भावना ओतप्रोत तथा स्थानीय गीत, सङ्गीत र नृत्यको प्रस्तुति दिएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।