फ्रान्समा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई मानार्थ नागरिक (अनरी सिटिजन) पदवीले सम्मान गरिएको छ । फ्रान्समा भइरहेको मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेका मेयर महर्जनलाई एक कार्यक्रमका बिच “लामोद गोवास” नगरले पदक र प्रमाणप्रत्रका साथमा उक्त सम्मान गरेको हो ।

हिमाली नगर “लामोद गोवास”का मेयर आल्याँ इस्कुदेलारो (Alain Scudellaro) हुन् । उनैकै निमन्त्रणामा मेयर महर्जन फ्रान्स पुगेका हुन् । क्षेत्रीय मेयरहरूकाे संगठनका उपाध्यक्षसमेत रहेका प्रभावशाली तथा युवा मेयर इस्कुदेलारो बीसपटकभन्दा धेरै नेपाल आइसकेका छन् । साथै, नेपाललाई आफ्नो क्षेत्रमा चिनाउने काम गरिरहेका उनले संस्थागत रूपमै ‘जेर्स हिमालय’मार्फत् नेपालीसम्बन्धी विभिन्न कार्यक्रम तथा अभियान चलाउँदै समेत आएका छन् ।

मेयर इस्कुदेलारोकाे क्षेत्रमा २ जडीबुटीबाट अत्यावश्यक सामानहरू बनाउने कम्पनी छन् । मेयरका साथै ती कम्पनी जडीबुटीका लागि नेपाल लगानी गनर्का लागि उत्साहित छन् ।

मेयर महर्जन लामोद गोवास नगरले “मानार्थ नागरिक”बाट सम्मान गरेको पहिलो नेपाली नागरिक भएका छन् । मेयर महर्जनसहित नेपाल-फ्रान्स मैत्री सङ्घका अध्यक्ष विनोद खकुरेललाई पनि उक्त नगरले पदकका साथमा सम्मान गरेको छ ।

मेयर महर्जनले त्यस क्षेत्र (हिमाली क्षेत्र) का जनप्रतिनिधिहरुसँग भेटघाट तथा छलफल पनि गरेका छन् । साथै, उनले एक नेपालसम्बन्धी प्रदर्शनीमा सहभागिता जनाएका छन् । प्रदर्शनीमा स्थानीय कलाकारहरुले नेपालसम्बन्धी मुर्ति, चित्रकला तथा अन्य विविध सामग्रीहरु प्रदर्शनमा राखेका थिए ।

पेरिसमा नोभेम्बर १६ बाट भइरहेको मेयरहरुको सम्मेलनमा भाग लिन आल्याँ इस्कुदेलारोको निमन्त्रणामा महर्जनसहितको तीन सदस्यीय टोली फ्रान्स पुगेका हो । मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रको भ्रमण गर्ने तथा विभिन्न क्षेत्रका मेयरहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरहरुसँग शिष्टचार भेटघाट तथा द्विपक्षीय विषयमा छलफल गरेका छन् । उनले नेपाल र फ्रान्सका मेयरहरुको साझा संघठन बनाउन पहल गर्ने जानकारी नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलले दिएका छन् ।

फ्रान्समा प्रत्येक वर्ष मेयस सम्मेलन हुने गरेको छ । यो १०३ औँ मेयर सम्मेलन हो । फ्रान्सका मेयरहरुको संगठनमा त्यहाँका करिब ३३ हजार मेयरहरु आबद्ध छन् । नेपालको तर्फबाट पहिलोपटक सो सम्मेलनमा भाग लिन ललितपुर महानगरपालिकाका मेयर महर्जन तीन सदस्यीय टोलीका साथमा फ्रान्स पुगेका हुन् । फ्रान्स बसाईका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरु तथा अन्य उच्च ओदाहका व्यक्तित्वहरुसँग भेटघाट गर्नेछन् । साथै, विभिन्न ठाउँ तथा पर्यटन क्षेत्रहरुको भ्रमण तथा अवलोकन पनि गर्नेछन् ।

तस्बिरहरू : अन्तुवान बाेँफिस