
एनआरएनए जर्मनीको अध्यक्ष पदमा निनाम्मा राईको उम्मेदवारी दिएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साहले माहोल तातेको छ । जर्मनीमा बस्दैआएकी राई लामो समयदेखि त्यहाँ रहेका नेपालीको सुखदुःखको नजिकको साथी बन्न सफल बनेकी छन् । बहुआयामिक व्यक्तित्व राई बलियो दाबेदार हुन् । जर्मनीमा उनले कुनै पनि दल, गुट, उपगुट तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई रचनात्मक ढङ्गबाट एकजुट गराउँदै आएकी छन् । उनले नेपालको कला, संस्कृति र प्राकृतिक अनुपमतालाई जर्मनीमाझ प्रचार प्रसार गर्दै नेपाली भाषा, संस्कृति र मौलिक परम्परालाई पुस्ता हस्तान्तरण गर्ने कार्यको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन् ।
उनी नेपाली समुदायका अग्रज अविभावकहरूका विज्ञता तथा अनुभवहरूलाई अहिलेका ऊर्जावान् तथा सिर्जनशील युवाहरूको वौद्धिक र व्यवसायिक सफलताका लागि उत्प्रेरकको रूपमा प्रयोग गर्दै जर्मनीको नेपाली समाजलाई एउटा उदाहरणीय समाज बनाउन दत्तचित्तले लागिरहेकी छन् । राणा शासन हटाऊ अभियानका सक्रिय अभियन्ता राजनीतिज्ञ जननायक रामप्रसाद राईकी नातिनी निनाम्मा राईको पारिवारिक पृष्ठभूमि नै सुशासन, लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका साथै मुलुकको परिवर्तनका लागि निरन्तर संघर्ष र निस्वार्थ सेवा गर्नु रहेको छ । आमा शिवकुमारी राईको कोखबाट सन् १९७१ मा भोजपुरको बासिखोरा, सान्दिलुङ हालको रामप्रसाद राई गाउँपालिका–७ मा जन्मिएकी निनाम्मा राईका बुवा स्वर्गीय नेत्रप्रसाद राई हुन् ।
काठमाडौँको पिपुल्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण राई सन् १९९२ देखि जर्मनमा बसोवास गर्न थालेकी उनी भने सन् २००९ बाट एलसीसी सदस्य बनेर विधिवत एनआरएनए अभियानमा जोडिएकी हुन् । राई एनसीसी महिला संयोजक, कोषाध्यक्ष हुँदै उनले उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छन् । त्यसो त उनी, नेपाल तथा जर्मनीका विभिन्न संघसंस्थामा आवद्ध रही समाजसेवा कार्यमा पनि उत्तिकै सक्रिय रहेकी व्यक्तित्व हुन् ।
करीब तीन दशकदेखि जर्मन बसिरहेकी राईले एनआरएनए अभियानमा उल्लेखनीय भूमिका खेलेकी छन् । सक्रियता, नेपाली समाजप्रतिको उनको लगाव अनि भावी पुस्ताप्रतिको उत्तरदायीत्वबोधका कारण सुसंस्कृत र एकीकृत समाज अनि मातृभूमिको सेवाका लागि रचनात्मक कार्ययोजनाका साथ आगामी कार्यकालका लागि अध्यक्ष पदको उमेम्दवारी दिएकी छन् । हालसम्मका जर्मन बसाईका क्रममा एउटा नेपालीको नाताले भोगेका अनुभवहरू र देखेका समस्या अनि समाधानका सम्भावनाहरूलाई संस्थागत रुपमा सम्वोधन गर्दै, जर्मनभरि रहेका हरेक नेपालीहरूमा एनआरएनए संस्थाप्रति अपनत्वको भावना जगाउँदै यो संस्थामा सक्रिय सहभागिता जनाउन उत्प्रेरित गर्ने किसिमका अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्यक्रमहरू उनले अगाडि सारेकी छन् । चाहे त्यो आकस्मिक घटनाहरूलाई तुरुन्तै सम्बोधन गर्ने आकष्मिकक सेवा कोष होस् या अनलाईनको माध्यमबाट नेपाली भाषा पढाउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्द्धन गर्न उनी लागीपरेकी छन् । जर्मनीमा पढ्दा, कामगर्दा, व्यवसाय सञ्चालन गर्दा वा हिँँड्दा अपनाउनुपर्ने सावधानीहरू, कनुनी व्यवस्थाहरू, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरूसहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी गराउन डिजिटल एनआरएनको अवधारणा होस्, उनका हरेक कार्ययोजनाहरू पृथक र जनमुखी रहेका छन् ।
नेपाल सेन्टरको स्थापनाको पहल, मातृभूमि परोपकार अभियान, जर्मन सरकार तथा संस्थाहरूसँग सम्वन्ध विस्तार, जर्मनीमा रहेका नेपाली विज्ञहरूको समूह बनाई नेपालको राष्ट्रिय निति तथा कार्यक्रमका लागि सुझाव प्रतिवेदन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण, वार्षिक रुपमा बालबालिका तथा अग्रज भेला, एक संस्था एक चाड–पर्व लगायतका कार्यक्रमहरुका पनि उनको सक्रियता रहँदै आएको छ । हरेक नेपाली परिवारसँगको सामीप्यमा रही समाजसेवी कार्य गरिरहेकी उनी महत्वपूर्ण कार्ययोजनासहित अध्यक्ष पदमा उठेकी हुन् ।
त्यसो त, जर्मनीको यो पटकको एनआरएन–एनसीसीको चुवावमा अध्यक्षका आकांक्षीहरू अरु पनि नदेखिएका होइनन् । तर, एनआरएन अभियानमा सक्रियता, अनुभव नेपाल र जर्मनवासी नेपाली समाजप्रति इमान्दारितापूर्वक समर्पित भएकी उनी जनमुखी कार्ययोजनाहरूका कारण अध्यक्ष पदका दाबेदारहरूमध्ये प्रभावशाली उम्मेदवार हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

