सेनन वेट, बिबिसी स्केच

कहाँ काम गर्छौ भनेर कसैले सोध्यो भने सेनन वेटको गर्वले छाती उँचो हुन्थ्यो र भन्थिन्, गुगलमा तर यो गर्व केही महिना मात्र रह्यो । खास गरी गएको वर्ष कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण उनको काम यति थपियो कि उनले यहाँ किन काम गर्न आएछु भन्ने लाग्न थाल्यो ।

अर्को कारण चाहिँ यहाँ भनेको बेला पानी पनि खान पाइन्नथ्यो । कहिलेकाहीँ जब तलब कम भएको गुनासो गर्न मन लाग्थ्यो, अफिसमा यस्ता कुरा गर्नु हुन्न, साथीभाइसँग पनि यसबारे चर्चा नगरेकै राम्रो भनी फट्कारिन्थ्यो ।

कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ, जब मानिसको धैर्यको बाँध टुट्छ । यस्तो धैर्यको बाँध तोड्ने बहाना चाहिँ साह्रै मामुली पनि हुनसक्छ । जस्तो कि सेननको रह्यो । उनले पानीको बोतल चलाइरहेकी थिइन्, अचानक फुट्यो । गुगलको जुन डेटा सेन्टरमा उनले काम गरिरहेकी थिइन्, त्यहाँ ज्यादै गर्मी थियो । फुटेको बोतलको साटो अर्को बोतल चाहियो भनेर उनले मागिन् तर गुगलका लागि यी कुराको जिम्मेवारी लिएको संस्थाले उनलाई बोतल नै दिन अस्वीकार गऱ्यो ।

यसपछि त एकपछि यस्ता घटना सतहमा आउन थाले, जसका कारण गएको महिना गुगलले सार्वजनिक रूपमा नै एउटा विज्ञप्ति जारी गरी कम्पनीभित्र काम गर्ने कर्मचारीलाई काम गर्ने थलोको वातावरण र पाइरहेको तलबमा चित्त नबुझे चर्चा चलाउने वा गुनासो गर्ने अधिकार छ र यो अधिकार उनीहरूबाट खोसिनु हुँदैन ।

गुगलजस्तो कम्पनीले यस्तो बयान जारी गर्नुपर्छ र भन्ने लाग्न सक्छ तर वास्तवमा यो सेनन र कम्पनीका बिच चलेको लामो लडाइँको अन्तिम मोड बन्न पुगेको छ ।

सेननको लडाइँको कथाले यति ठूलो प्रविधि कम्पनीको व्यवस्थापनको तौरतरिकाका बारेमा बयान गर्छ । कहिलेकाहीँ व्यवस्थापनले आफ्नो सीमारेखाभन्दा बाहिर गएर कसरी कर्मचारीलाई पाठ पढाउन खोज्छ भन्ने यो गज्जबको उदाहरण हो ।

सन् २०१८ मा इतिहासको डिग्री लिएकी सेननले साउथ क्यारोलाइनामा गुगलको एउटा डेटा सेन्टरमा काम थालेकी थिइन् । उनले घण्टाको १५ डलर पाउँथिन् । उनको काम भनेको बिग्रेका सर्भर बनाउनु, ठूला हार्ड ड्राइभ परिवर्तन गर्नु, मदरबोर्ड फेर्नु, ठूला भारी भरकम ब्याटरी उठाउनु र राख्नुजस्ता काम पर्थ्यो । खासगरी एउटी महिलाका लागि ब्याटरी उठाउनु अलि गाह्रै काम थियो ।

गुगलको कार्यालय संसारकै काम गर्न लायक कार्यालय रहेको र यहाँका कर्मचारीहरू जुन बेला पनि मस्तीमा हुन्छन् भन्ने जुन छवि प्रचारित छ, वास्तवमा त्यस्तो नरहेको सेननको भनाइ छ । कम्पनीका केही भागमा त्यस्तो हुने भए पनि डेटा सेन्टरमा चाहिँ फिल्ममा देखाइए वा अखबारमा लेखिएभन्दा निकै नै फरक हुन्छ ।

खासमा भन्ने हो भने सेनन गुगलमा ठेक्कामा काम गर्थिन् । यसको अर्थ, उनी गुगलका लागि त काम गरिरहेकी थिइन् तर उनी गुगलको कर्मचारी थिइनन् । उनलाई एउटा मोडिज नामक कम्पनीका लागि काम गर्थिन् । मोडिज चाहिँ एडेको नामक कम्पनीको एउटा अंश हो, यस्ता अन्य विभिन्न कम्पनी एडेकोले चलाउने गर्छ ।

यस्ता कम्पनीले ठूलो रकममा गुगल, याहू या अन्य ठूला कम्पनीका सानातिना समस्या हेर्ने ठेक्का लिन्छन् र कुस्त नाफा कमाउँछन् । कर्मचारीले भने निकै कम पैसामा काम गर्नुपर्ने हुन्छ ।

सन् २०२० मा जब महामारी बढ्न थाल्यो, त्यसपछि उनको काम गाह्रो हुन थाल्यो । उनले जुन सिफ्टमा काम गर्थिन्, त्यसको अवधि बढ्न थाल्यो । त्यो पनि उनका लागि खुसीकै कुरा थियो किनभने उनको काम गर्ने घण्टा बढ्दा पैसा पनि बढी आउँथ्यो ।

सेनन भन्छिन्, ‘सन् २०२० को मे महिनामा गुगलले यस्तो महामारीमा पनि आफूहरूले डटेर खट्ने र महामारीको सामना गर्ने वक्तव्य निकाल्यो । कम्पनीले हरेक कर्मचारीले बोनस पाउने र त्यस्तो बोनस पाउनेमा सेननजस्ता ठेक्कामा काम गर्ने कर्मचारीहरू पनि पर्ने बताएको थियो ।

सेननको फेसबुकबाट लिइएको तस्बिर

बोनस पाउने बेला भने उनको बैङ्क अकाउन्टमा त्यो बोनस रकम थपिएन । महामारीका बेला एक एक पैसाको महत्त्व हुन्छ । झन् मन लगाएर काम गरेको अवस्थाको बोनस नआउँदा उनको चित्त दुख्यो । उनले कम्पनीमा गुनासो गरिन्, हामीलाई दिने भनी घोषणा गरिएको भत्ता आएन नि !

उनको गुनासो सुनेपछि उनका व्यवस्थापकले आफ्ना साथी कर्मचारीहरूसँग आफ्नो तलबका बारेमा यसरी गुनासो गर्नु ठिक नभएको भनी इमेल लेखे । गुनासो गरेपछि मात्रै उनले बोनस पाइन् तर जुन बेला उनले त्यो बोनस पाइन्, त्यतिञ्जेल उनलाई ठेक्कामा काम दिने कम्पनीले यति धेरै दिक्क लगायो कि उनले पैसा पाउने आशा नै मारिसकेकी थिइन् र अब काम नै छाडिदिनेबारे सोचिरहेकी थिइन् । उनलाई एउटा लोभ थियो, कम्तीमा उनका बारेमा राम्रो रिपोर्ट कम्पनीले दियो भने गुगलले काममा स्थायी रूपमा राखिदेला । घण्टे जागिरको झन्झटबाट मुक्त भइएला !

तर बढीभन्दा बढी नाफा खोज्ने गुगलजस्ता कम्पनीले स्थायी कर्मचारीभन्दा पनि अस्थायी कर्मचारी राख्ने प्रवृत्ति बढेर जान थालेको अवस्थामा उनले जतिसुकै प्रयास गरे पनि वास्तविक रूपमा गुगलमा जागिर खाने उनको सपना पूरा हुने सम्भावना थिएन ।

कम्पनीहरूको यस किसिमको व्यवहारबाट उनलाई दिक्क लागिरहेको थियो । त्यसपछि उनको जीवनमा यस्तो क्षण आयो कि उनलाई भाउन्न भएर आयो । उनले भनिन्, ‘डेटा सेन्टरमा साह्रै गर्मी हुन्छ । गुगलले हामीलाई एउटा पानीको बोतल दिएको थियो । त्यसको बिर्को फुट्यो । मेरी एक जना साथीको पनि त्यस्तै भयो । उनी चाहिँ गुगलको स्थायी कर्मचारी थिइन् । गुगलकी कर्मचारीले चाहिँ नयाँ बोतल पाइन्, मैले पाइनँ । यसपछि त मेरो दिमाग खराब भयो ।’

जब उनको काम सकियो र घर फिरिन्, फेसबुकमा एउटा स्टाटस पोस्ट गरिन् ।

त्यो पोस्टमा गुगलको ठेक्का लिएको कम्पनीमा मात्र होइन, गुगलमै पनि भुइँचालो गयो । भोलिपल्ट उनी काममा पुग्दा उनलाई बैठक कोठामा डाकियो । त्यहाँ ठेकेदार कम्पनीका व्यवस्थापक पनि थिए र गुगलका व्यवस्थापक पनि थिए । उनीहरूले फेसबुकमा लेखिएका कुराहरू कम्पनीका साथ गरिएको सम्झौताका विरुद्ध छ । यस्तो व्यवहार कम्पनीका लागि खतरा भएकाले तुरून्त राजिनामा दिएर घर जाने आदेश दिए । सेननले आफ्ना कुरा राख्ने मौका पनि पाइनन् । उनको कम्पनीले उनलाई दिएको ल्यापटप र कम्पनीको कार्ड खोसियो । सुरक्षा दिने कर्मचारीले उनलाई बाहिरसम्म पुऱ्याइदिए ।

गुगलका कर्मचारीले जनवरी २०२१ मा अल्फाबेट वर्कर्स युनियन बनाएका थिए । यसलाई अमेरिकाको नेसनल लेबर रिलेसन्स बोर्डले मान्यता नै दिएको थिएन । कैयौँ पटक यसलाई माइनोरटी युनियन पनि भनिन्छ किनभने यसमा गुगलमा काम गर्ने अधिकांश कर्मचारी सदस्य छैनन् । सेनन यसको सदस्य थिइन् र युनियनले उनको समस्याका बारेमा बोल्यो ।

फेब्रुअरीमा युनियनले सेननका तर्फबाट अनुचित श्रम कानुनअन्तर्गत दुई वटा मुद्दा दायर गऱ्यो । पहिलो मुद्दामा उनले युनियनको समर्थनमा कुरा गर्दा अवैध तरिकाले निलम्बन गरिएको र दोस्रो मुद्दा चाहिँ उनको म्यानेजरले तलबका बारेमा चर्चा गर्नु हुन्न भनेर लगाएको प्रतिबन्धका बारेमा थियो ।

गएको महिना गुगल, मोडिज र अल्फाबेट वर्कर्स युनियनबिच सम्झौता भयो र सेननको खोसिएको जागिर पुनः थमौती गरियो ।

सो सम्झौतामा गुगलले हस्ताक्षर गर्न बाध्य भयो । सम्झौतामा कर्मचारीहरूले आफूले पाउने तलब, बोनस र काम गर्ने ठाउँको कुव्यवस्थाका बारेमा छलफल गर्ने अधिकार छ र त्यसो गर्न पाउनुपर्छ ।

यो सेनन र नयाँ बनेको युनियनका लागि एउटा ठूलो जित थियो । सेनन भन्छिन्, ‘खर्ब डलरको कम्पनीको गोदाम र डेटा सेन्टरमा काम गरिरहेका कर्मचारीहरूले साना साना हक अधिकारका लागि पनि मन मारेर बस्नुपर्थ्यो । कैयौँले दिक्क मानेर कम्पनी नै छाडिदिए । यो जितले कम्तीमा कार्यस्थलमा भइरहेका बेथितिका बारेमा कुरा गर्ने छुट त पाइयो !’

गएको साता अलाबामास्थित अमेजन कम्पनीमा काम गर्ने कर्मचारीहरूले युनियन बनाउनका लागि भोट हाले । अमेजनले तिनका कर्मचारीले युनियन बनाऊन् भन्ने चाहँदैन । ठूला कम्पनी साना कर्मचारीप्रति कति जवाफदेही र गम्भीर छन् भन्ने कुराको यो ताजा उदाहरण हो । यस्तो गर्दा ठूला कम्पनीले साना कर्मचारीलाई महत्त्व दिँदैन भन्ने सन्देशमात्र जाँदैन, कर्मचारीको मनोबलसमेत घटिरहेको तर्फ तिनको ध्यान जाँदैन । यसले कम्पनीलाई नै ठूलो घाटा पुऱ्याइरहेको हुन्छ ।

सेनन भन्छिन्, ‘मेरो मुद्दा सार्वजनिक हुँदा कम्पनीका बारेमा संसारभरि जुन भ्रम थियो, त्यो चिरिएको छ । गुगलका सबै कर्मचारीले कुस्त पैसा पाउँदैनन् । साथै, गुगलको सबैभन्दा पिँधमा काम गर्ने कर्मचारीले नीच मारेर बस्नु जरुरी छैन । कानुनी लडाइँमा तिनीहरू पनि कुनै ठूलो कम्पनी होइनन् । तिनले पनि मानवीय मुद्दामा ध्यान दिनैपर्छ ।’

के भन्यो गुगलले ?
हुन त यो मुद्दामा आफ्नो गल्ती नरहेको बताइसकेको छ । ठेक्कामा काम गर्ने कर्मचारी (कन्ट्राक्ट स्टाफ)लाई उसले काममा लगाउँछ भन्ने कुरा पनि उसले स्वीकार गरेन । बिबिसीले जब सेननको मुद्दाका बारेमा गुगललाई सोध्यो, गुगलले यसका बारेमा आफूलाई कुनै जानकारी नभएको भनी टक्टकियो । ठेकेदार कम्पनी एडेकोले पनि यसबारेमा कुनै टिप्पणी गर्न रुचाएन ।

यस घटनापछि सेनन गुगलको सो डेटासेन्टरमा काम गर्न चाहन्नन् । बरू आफ्नो रुचि रहेको क्षेत्र इतिहासमा आफ्नो अधुरो रहेको पिएचडी पूरा गर्न चाहन्छिन् । सेननले यति ठूलो कम्पनीविरूद्धको लडाइँ जितिसकेपछि इतिहासको किताबमा आफ्नो नाउँ लेखाइसकिन् । यस किसिमको मुद्दामा एउटा ठूलो कम्पनीविरूद्ध सानो कर्मचारीले मुद्दा हाल्नु र जित्नु दुर्लभ घटना हो ।