डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले वीरगंज तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
वीरगंज तरकारी तथा फलफूल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गर्नुभएको हो ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नुहुनेछ ।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, वचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यसै कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।