माछापुच्छे« बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन चार स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकै दिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्युरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गर्नुभएको हो ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नुहुनेछ भने नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकमसमेत क्यु.आर. कोडबाट भुक्तानी गर्न सक्नुहुनेछ ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, वचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका सुविधाका कारणले क्यु. आर. कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यसै कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्धति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।