देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्र्रे बैंकले पोखराका तीन स्थानमा एकैपटक भव्य क्युआर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का.मु. निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा श्रीमती सृजना कार्कीको पनि उपस्थिति रहेको थियो ।
यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्। त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु. निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो ।
ग्राहकले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।