काठमाडौँ / गएको जेठ १८ र १९ मा त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलजी (रिकास्ट)को सभाकक्षमा मानव तथा जीवमण्डल (Man and Biosphere) समितिको आयोजनामा “Biosphere Reserve and Sustainable Tourism Development in Nepal” (नेपालमा जीवमण्डल र दीगो पर्यटनको विकास) विषयक गोष्ठी सम्पन्न गरियो ।

गोष्ठीको अध्यक्षता प्रा. डा. उमेशकुमार मण्डलले गर्नु भएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सांसद विजुला रायमाझी, विशेष अतिथि तथा स्रोत व्यक्तिको रुपमा युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइट, प्रो. इमरेट्स रामप्रसाद चौधरी, अतिथिहरूमा रिकास्टका निर्देशक प्रा. डा. मीना राजभण्डारी, रिकास्टकै पूर्व निर्देशक प्रा. डा. रामेश्वर अधिकारी, युनेस्कोका प्रतिनिधि डा. दिव्य दवाडी हुनु हुन्थ्यो।

कार्यक्रमको सञ्चालन प्रा. डा. मोतिलाल शर्मा र डा. हरिप्रसाद अर्यालले गर्नु भएको थियो।

उद्घाटन सत्र र प्राविधिक सत्रको रुपमा सञ्चालित गोष्ठीमा प्रा. डा. मण्डलले अध्यक्षता ग्रहण गर्दै विश्वका १३६ देशहरूले ७५९ वटा Biosphere Reserve (आरक्षित जीवमण्डल) क्षेत्र घोषणा गरिसकेको परिस्थितिमा नेपालले पनि आरक्षित जीवमण्डल क्षेत्र घोषणा गरी युनेस्कोजस्तो गरिमामय ब्रान्डिङबाट देश र जनतालाई प्राप्त हुने फाइदाहरू लिन ढिलाइ गर्न नहुनेमा जोड दिनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट सांसद विजुला रायमाझीले उक्त आरक्षित जीवमण्डल क्षेत्र घोषणामा आवश्यक कानूनी प्रावधानहरू निर्माणमा आफूले सकारात्मक भूमिका निभाउने प्रतिध्दता व्यक्त गर्नु भयो।

यस्तै प्राविधिक सत्रमा डा. दिव्य दवाडीले मानव तथा जीवमण्डल कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। यस्तै जाको डु टोइटले आरक्षित जीवमण्डलको प्राविधिक पक्षमा प्रकाश पार्दै यसबाट हुने फाइदाहरूका बारेमा जनतालाई जागरूक गर्नु पर्ने औंल्याउँदै, नेपालस्थित युनेस्को कार्यालयले नेपाल सरकारको सुझाव एवं सल्लाह तथा मानव तथा जीवमण्डल समितिसँगको सहकार्यमा कञ्चनजंगा संरक्षित क्षेत्रलाई आरक्षित जीवमण्डल क्षेत्र घोषणा गर्ने काम भैरहेको जानकारी दिनु भयो।

सोही सत्रमा प्रा. डा. मण्डलले मानव तथा जीवमण्डल समितिले विगत करीव ५० वर्ष अगाडिदेखिका गतिविधिहरूबारे प्रकाश पार्दै वन तथा वातावरण मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच समन्वय अभाव औँल्याउँदै हालसम्म पनि आरक्षित जीवमण्डल क्षेत्र घोषणा नहुनु विडम्बना रहेको र यसमा नेपाल सरकार उदासीनप्रति खेद व्यक्त गर्नुभयो ।

यसैगरी डा. अम्बिका खतिवडाले आरक्षित जीवमण्डल क्षेत्र घोषणाका समस्या र भावि कार्ययोजनाका बारेमा प्रस्तुति दिनु भयो। प्रस्तुतिमा आरक्षित जीवमण्डल क्षेत्र निर्धारणमा आर्थिक स्रोत र साधनमा कमी साथै सबै निकायको आरक्षित जीवमण्डल क्षेत्र बारेमा समान धारणा हुनुपर्ने र आरक्षित जीवमण्डल क्षेत्र घोषणामा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नु भयो। प्राविधिक शत्रको अध्यक्षता गर्दै प्रा. इमिरेट्स रामप्रसाद चौधरीले टप डाउन र बटम अप अप्रोचहरूबाट आरक्षित जीवमण्डल निर्धारण र घोषणा गरिनुपर्ने सुझाव दिनु भयो।

सहभागीहरू मध्येबाट शेरबहादुर गुरुङले प्रभावकारी आरक्षित जीवमण्डल बनाउन लाङटाङ नेशनल पार्कलाई आरक्षित जीवमण्डल घोषणा गरिनु पर्ने धारणा राख्नु भयो। त्यसैगरी डा. दीपेन्द्रबाट वडास्तरीय क्षेत्रहरु पनि आरक्षित जीवमण्डल हुन सक्ने धारणा राख्नु भयो । यस्तै डा. चन्द्र सुवेदीले वन तथा वातावरण मन्त्रालयलाई आरक्षित जीवमण्डल घोषणामा प्रत्यक्ष संलग्न गराउनु पर्ने धारणा राख्नु भयो।

युनेस्कोका तर्फबाट वर्षा लेखीले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो ।