त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागद्वारा भूगोल वनस्पति विज्ञान, वातावरण विज्ञानका प्रध्यापकहरू, अनुसन्धानकर्ताहरू र पुरातत्व विभागका कर्मचारीसहित २० जना प्रशिक्षार्थीहरूलार्इ समावेस गरी अन्तरीक्ष विज्ञान तथा प्रविधिअन्तर्गत भू-उपग्रह दूर संवेदन सूचना तथा तथ्याङ्कसम्बन्धी क्षमता अभिवृद्धि तालिम जेठ १ गतेदेखि ७ गते सम्म सञ्चालन गरेको छ ।

तालिममा अप्टिकल रिमोटसेन्सिङदेखि माइक्रोवेभ रिमोट सेन्सिङसम्म लाइडर गुगलअर्थ इन्जिन सार लगायतका विषयवस्तुहरू समेटिने विभागका विभागीय प्रमुख प्रा. डा. उमेशकुमार मण्डलले बताउनु भयो । त्रिभुवन विश्वविद्यालय भूगोल विषयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा पाठ्यक्रममा भूउपग्रह दूर संवेदनसम्बन्धी पाठ्यवस्तु निर्माण गरेको हुँदा सोसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको मण्डलले बताउनु भयो ।

देशको सर्वाङ्गीण विकासमा यसको प्रयोग आवश्यक भएकाले त्यसलार्इ मध्यनजर गरी भूगोल केन्द्रीय विभागले भौगोलिक सूचना तथा दूर संवेदन केन्द्र (आरएस, जिआइएस सेन्टर) स्थापना गरी पहिलो पटक तालिमको आयोजना गरेको हो । वर्तमान समयमा विश्वमा भूउपग्रहको निर्माण तथा प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा नेपालले पनि नेपाली स्याट नामक भूउपग्रह अन्तरीक्षमा पठाइसकेको हुँदा विश्वविद्यालयले यससम्बन्धी विज्ञहरू उत्पादन गर्न आवश्यक छ ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीले भूगोल केन्द्रीय विभाग अन्य विभागको तुलनामा अनुसन्धान प्रकाशन र अन्य एकेडेमिक गतिविधिहरूमा पनि अगाडि रहेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि भूगोलले आफ्नो गौरवपूर्ण इतिहासको निरन्तरतालार्इ कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भूगोल केन्द्रीय विभागमा सञ्चालित भौगोलिक सूचना तथा दूर संवेदन केन्द्रको अधिकतम प्रयोग र स्तरउन्नतिको लागि विश्वविधालय केन्द्रको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा विश्वविद्यालयका प्रिन्सिपल प्राडा ध्यानेन्द्रबहादुर रार्इले आफू सोही विभागको प्राध्यापक पनि भएकाले विभागको अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यस तालिम कार्यक्रममा भूगोल केन्द्रीय विभागका प्राध्यापकहरू, नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी डिमापमेन्ट अफ अर्थ अब्जर्भेसन सिंगापुरका प्रध्यापक डा परमेस बनर्जी, इसिमोडका सिनियर आरएस, जिआइएस विज्ञ डा राजेशबहादुर थापा र लाइडार विज्ञ गणेश सिग्देल प्रशिक्षकको रूपमा रहनु भएको छ । कार्यक्रमको सञ्चालन विभागका उपप्राध्यापक शेरबहादुर गुरूङले गर्नु भएको थियो भने स्वागत मन्तव्य सहप्राध्यापक डा. पुष्पा शर्माले दिनुभएको थियो ।