त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभाग (सिएएस–टियु) ले आज मंगलबार डेटा एनालिसिस एन्ड साइन्टिफिक पेपर राइटिङसम्बन्धी तालिमको आयोजना गरेको छ ।
काठमाडौं सेन्टर फर रिसर्च उन्ड एजुकेसन तथा क्यास–टियुको संयुक्त आयोजनमा सम्पन्न यस क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमले विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुको क्षमता अभिवृद्धि तथा शैक्षिक उत्कृष्टता बढाउने बताइएको छ ।
कार्यक्रममा शिक्षा र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति थियो । उद्घाटन समारोहको अध्यक्षता भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा उमेशकुमार मण्डलले गर्नुभएको थियो । उहाँले आगामी दिनमा यसअघिझैं नेपाल र चीनबीच अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा थप सहकार्य र सहयोगको अपरिहार्यता दर्शाउनु भयो । उहाँले भूगोल केन्द्रीय विभागले आफ्नो जिआइएस केन्द्र स्थापना गरिसकेको र वैज्ञानिक अनुसन्धानलाई थप जोड दिने प्रष्ट पार्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले ज्ञानको विकास र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । उहाँले भूगोल केन्द्रीय विभागले यो पहल गरेकोमा प्रशंसा पनि गर्नुभयो । शैक्षिक भविष्यलाई आकार दिन यस्ता कार्यक्रमहरूको महत्वलाई उहाँले जोड दिनुभयो । उहाँले यसका विद्यार्थी र संकायलाई विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै यस तालिम कार्यक्रमले अनुसन्धान प्रतिभा प्रष्फुटनमा राम्रो नतिजा ल्याउने आशा पनि व्यक्त गर्नु भयो ।
नेपालका लागि जनवादी गणतन्त्र चीनका महावाणिज्य दूत वाङ जिनले विशेष अतिथिका रूपमा प्रतिनिधित्व गर्दै नेपाल र चीन आपसी मित्रताको सम्बन्ध कायम राख्ने र दुवै देशका विश्वविद्यालयले वैज्ञानिक सीप र ज्ञान प्रदान गर्न सहकार्य र व्यापक अनुसन्धान गरिरहेको बताउनुभयो ।
काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसिआरई)का कार्यकारी निर्देशक डा ताओ वाङले आफ्नो संस्थाले वैज्ञानिक अनुसन्धान र तालिम प्रवद्र्धन गर्न हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई प्रकाश पार्नुभयो । उहाँले केसिआरईको ऐतिहासिक विकास र यसको भावि सम्भावनाको बारेमा पनि संक्षिप्त जानकारी दिनुभयो ।
यसैगरी एएनएसओका कार्यकारी निर्देशक प्रा काओ जिङ्हुआले चीनबाट अनलाइन मार्फत आफ्नो भनाइ राख्नुभयो, आफ्नो टिप्पणीमा उहाँले साझा भविष्य र उच्च गुणस्तरको विकासका लागि मिलेर काम गर्न जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनका ठूला असरबारे सचेत गराउन वैज्ञानिक समुदायले ऐतिहासिक जिम्मेवारी वहन गरिरहेको पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल, मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्रा डा कुसुम शाक्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा बिनिल अर्याललगायत विभिन्न विभागका विभागीय प्रमुख सहितको विशेष उपस्थिति रहेको थियो । उद्घाटन समारोहको कार्यक्रममा भूगोल केन्द्रीय विभागका प्रा डा प्रेमसागर चापागाईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा केसिआरईका उपनिर्देशक डा. विनोद दवाडीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।