
माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ ।
बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
असार ४ गते सोमबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकका तर्फबाट सहयोग प्रदान गर्ने बताउँदै पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूला वित्तीय अपराधहरू भइरहेकाले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्न सकेको खण्डमा अझ उपयुक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिनुभयो । उहाँले सैद्धान्तिक भन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

