लाछी अर्थात् घरमा गाँसेको पाखोको छानो । लाछी अर्थात् भेट्नोसहित टिपिएको भोर्लाका पातको मुठो । लाछी अर्थात् साहस नभएको कातर, निर्दो । तर कुरा ‘लाछी’को होइन, ‘लाछि’को हो । लाछि अर्थात् रेस्टुरेन्ट – स्थानीय खाना, रहनसहन तथा उत्पादनको केन्द्रविन्दु ।
तपाईं काठमाडौं उपत्यकाभित्रै हुनुहुन्छ भने ‘लाछि’सम्म पुग्न गाह्रो छैन । गुगल म्यापले तपाईंलाई ठ्याक्कै ‘लाछि’को प्रवेशद्वारमै पुर्याउँछ । ललितपुर महानगरस्थित खोकनामा रहेको यो रेस्टुरेन्ट पुग्न एकान्तकुनाबाट भैंसेपाटी हुँदै करिब ५ किलोमिटरको दुरी नाप्नुपर्ने हुन्छ । भने नि, गुगल म्यापमा ‘लाछि, थालाछि’ गन्तव्य राखेर अघि बढ्नु भयो भने तपाईं गन्तव्यमा पुगिहाल्नु हुन्छ ।
‘लाछि’का पुग्नुअघि थोरै खोकनाका बारेमा बुझ्न जरुरी हुन्छ ।
जितापुर अर्थात् खोकना
काठमाडौंको दक्षिणी भागमा अवस्थित खोकना मल्लकालीन ग्राममध्येको एक हो जसको मध्यकालीन नाम ‘जितापुर’ हो । यहाँ अझै पनि मध्यकालीन कला, संस्कृति, सभ्यता र जीवनशैली भेट्न सकिन्छ । भक्तपुर, ललितपुर, र्कीतिपुरलगायत मध्यकालीन सहरहरुको झैं खोकनाको पछि छुट्टै पहिचान छ । भक्तपुरको नवदुर्गा नाच र ललितपुरको बाघभैरव नाच जस्तै खोकनाको पहिचान सिकाली नाच हो । सिकाली नाचको ऐतिहासिक महत्त्वसँगै खोकनाको ऐतिहासिकता पनि जीवित छ ।
अँ, खोकनावासीको मुख्य पर्व सिकाली जात्रा हो । सिकालीसँग दानव महिषासुरको किंवदन्ती जोडिन आउँछ ।
महिषासुरदे देवताहरुलाई दिएको दु:खको कथा हामीलाई थाहै छ । देवताहरुले महिषासुरको बास पत्ता लगाउने प्रयास गरे । तर सकेनन् । दानवले धेरै दु:ख र कष्ट दिन थालेपछि स्थानीयवासीले मायादेवीको क्षमापूजा गरे । भैरव, कुमारी, काली तथा वराहीलाई बलि चढाए । तत्काललाई समस्या समाधान भयो । तर महिषासुरबाट मुक्ति भने मिलेन ।
अनि ? अनि राक्षसबाट बँच्न बस्ती नै सार्ने निर्णय गरियो । कुदेशबाट बस्ती खोकनामा सारियो । पौराणिक कुदेश भनिएको स्थानमा अहिले सिकाली मन्दिर छ । मन्दिर पुग्न खोकनाबाट करिब आधा घण्टाको दूरी नाप्नु पर्छ ।
बस्तीसँगै स्थानीयवासीले देवीदेवताको बासस्थान पनि सारे । खोकनामा रुद्रायणी मन्दिर स्थापना गरे । देवी नयाँ स्थानमा बस्न मानिन् तर भोग लिन मानिन् । त्यसैले, अहिले पनि कुदेश (सिकाली) मै पुगेर देवीलाई भोग दिने गरिन्छ ।
अँ, कुरा लाछिको हो । तर खोकनाको कुरा नगरी लाछि अपूर्ण बन्छ । तोरीको कुरा नगर्दा खोकना अधुरै रहन्छ ।
तोरी खोकनाको पर्याय बनेर रहेको छ । यहाँका बान्सिदा तोरी खेती मात्र गर्दैनन्, फलाएको तोरी काठको कोलमा आफैं पेल्छन् । र, शुद्ध तोरीको तेल बिक्री गर्छन् । खोकनाको तोरीको तेल भनेपछि मिसावटको कुनै गुञ्जायस नै रहँदैन ।
राणाकालमा मात्र होइन, पञ्चायतको समयमा पनि खोकना हुँदै हेटौंडासम्मको पदमार्ग प्रसिद्ध थियो । यो मार्ग भएर हिँड्नेहरुका लागि खोकनाको तोरीको तेल सबैभन्दा अब्बल कोसेली थियो ।
खोकनाको बारेमा यति नै, अब ‘लाछि’तिरै ध्यान केन्द्रित गरौं ।
लाछि: इथ्निक फुट, लिभिङ, क्राफ्ट
लाछिले मुख्यत: तीन कुरालाई प्राथमिकतामा राखेको बताउँछन् यसका सञ्चालक हरिनाथ डंगोल जुन कुराको अनुमान रेस्टुरेन्टको नामबाटै पनि थाहा पाउन सकिन्छ, ‘लाछि: इथ्निक फुट, लिभिङ, क्राफ्ट’ । र, लाछिको प्रमुख उदेश्य भनेको पनि यही हो – खोकनाको स्थानीय खाना, रहनसहन र उत्पादनलाई प्रवर्धन गर्दै संवर्धनसमेत गर्नु ।
हाललाई नेवारी परिकारहरुको आधिकारिक स्वाद चखाउँदै आएको लाछिको उदेश्य पूरा बस्तीलाई नै समुदायिक होमस्टेका रुपमा विकास गर्नु रहेको बताउँछन् हरिनाथ डंगोल । उनी भन्छन्, ‘विविध कारणले सबै कुरा अहिले नै गर्न सकिरहेका छैनौं । तर बस्तीलाई नै कम्युनिटी होमस्टेको रुपमा विकास गरेर लैजाने हाम्रो योजना रहेको छ । जस्तो: होमस्टेको प्रवर्धनका लागि हरेक वर्ष म्ह:पूजाको कार्यक्रम गर्छौं हामी । त्यसमा विभिन्न क्षेत्रका गेस्ट तथा पर्यटकहरु ल्याएर, कम्युनिटीमै राखेर उक्त पूजा गराउँछौं । नेपाली–विदेशी, जस–जसलाई चासो छ उहाँलाई त्यसमा सहभागी हुन पाउनु हुन्छ ।’
लाछिले खाना र रहनसहनको अलवा स्थानीय उत्पादनलाई पनि विशेष जोड दिइरहेको छ । रेस्टुरेन्टमा सुकुल, फर्निचरका सामग्रीलगायत स्थानीय रुपमै उत्पादित सामग्रीहरु प्रयोगमा ल्याइएका छन् । अर्थात्, लाछिले हालको बजारमा उपलब्ध फेन्सी सामानहरुलाई स्थानीय रुपमै उत्पादित सामग्रीहरुले प्रतिस्थापन गर्ने योजनाअनुरुप अघि बढिरहेको छ ।
आफ्नो समुदायको पहिचान नै सङ्कटमा पर्ने खतराले हरिनाथ डंगोललाई ‘लाछि’को योजनातर्फ केन्द्रित गराएको हो । आफ्नो समुदायको संस्कृति, इतिहास, सभ्यता र चालचलनलाई समुदायिक स्तरबाटै संरक्षण गरेर यसलाई व्यावसायिक रुपमा अगाडि बढान सकिने देखेर नै डंगोल यसतर्फ केन्द्रित भएको बताउँछन् । डंगोलको यही योजनामा रहेर अन्य जुझारु युवाहरुले पनि काम गरिरहेको हुनाले यसले चाँडै मूर्त रुप लिने कुरामा डंगोल विश्वस्त देखिन्छ ।
‘लाछि’को सुरुवात कोरानाकालअघि नै भए पनि कोरोनाका कारणले गति लिन भने सकेन । तर डंगोललाई कोरोनाले रोक्न भने सकेन । त्यस समयमा धेरै स्टार्ट–अपहरु बन्द भए, तर डंगोलले लाछिलाई जीवितै राखे । योजनाअनुरुप काम हुन सकेन, तर योजनालाई पूर्ण रुपमा मर्न दिएनन् । पारिवारिक मानवसंसाधनको प्रयोग गरेर जीवितै राखे । र, ‘लाछि’लाई व्यवसायिकता दिन जोडियो नबिल बैङ्क पनि । नबिल बैङ्कले उपलब्ध गराएको व्यवसायिक तालिमले व्यवसायको योजना बनाउन र त्यसलाई कार्यन्वयनमा ल्याउन सजिलो भएको बताउँछन् डंगोल ।
आर्थिक रुपमा भने अहिले पनि धेरै समस्याहरु भएको बताउँछन् हरिनाथ डंगोल । तीन तहको सरकार भए पनि स्टार्ट–अपहरुलाई सम्बोधन गर्ने गरी नीतिगत कामहरु नभएको उनको गुनासो छ । अझ स्थानीय संस्कृति, सभ्यता र उत्पादनलाई व्यावसायका रुपमा अगाडि बढाउन चाहनेलाई नीतिगत तथा आर्थिक दुवै रुपमा स्थानीय तहहरुले सहयोग पुर्याउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । तर जेहोस् – लाछिलाई लिएर डंगोलको उर्जा र आफ्नो पहिचानप्रतिको प्रेम अभुतपूर्व छ । उनी भन्छन्, ‘खोकना आजसम्म तोरीका लागि प्रसिद्ध थिए, अब लाछिले सुप्रसिद्ध र आर्थिक रुपमा आत्मनिर्भरसमेत बनाउने छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।