डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लि.ले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एवं पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौतापश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरूले POS, QR लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ग्रिन एकोनमीलाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी डिजिटल कारोबारहरूको सम्झौता गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले वास्तविकरुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकीलिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरू तथा सचेतना कार्यक्रमहरू आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराउनुभयो ।

त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले पेट्रोलियम पदार्थको बिक्री गर्ने विक्रेता एवं खरिद क्रेता दुवै पक्षले क्युआर कोड तथा अन्य डिजिटल माध्यमहरू खोज्ने हुँदा बैंकसँगको सम्झौतापश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

सम्झौतापश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरूमा डिजिटल सचेतना कार्यक्रमहरूसमेत सञ्चालन गर्नेछ । माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिक रुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरूमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुनेछ ।