माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यावसायिक सीपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एवं सीपको विकास गर्ने उद्देश्यले बैंकले Engineers Without Borders नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सीपमूलक तालिम आयोजना गरेको हो । बैंकले Engineers Without Borders नामक संस्थासँग सहकार्य गरी एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी २०८० पुस ८ मा उक्त कार्यक्रम समापनको गरेको थियो ।
उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवं बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
एकसातासम्म सञ्चालन भएको उक्त सीपमूलक तालिम कार्यक्रममा गोबर ग्याँसबाट बायो ग्याँस निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामान बनाउने व्यावसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।