
तिनीहरूमध्ये कल्पना नाम गरेकी केटी पनि थिइन् र “कल्पना, यता तिर ढल्कन” भन्दै रामेश्वरले जिस्काइरहेको देख्थेँ !
यसलाई धरान धनकुटा राेड बन्ने बेलाको कथा मान्नुपर्छ । त्यतिबेला म पेटी ठेकदार भएर काम गर्थें । पेटी ठेकदारको बारेमा अन्याैल भयो ? छाडिदिनुस् । किनभने यो पेटि ठेकदारको होइन, मजदुर रामेश्वरको कथा हो ।
त्यो जमानामा कुनै पनि विषयमा विशेषज्ञता गरेका मान्छेहरू खासै पाइँदैनथ्यो, इन्जिनियर त के, ओभरसियर पाउन पनि मुस्किल थियो ।
मेरोमा काम गर्ने २~४ हुल मान्छेहरूमध्ये सप्तरीबाट आएको रामेश्वर साह ओभरसियरको रुपमा काम गर्थ्यो भने केही राजमिस्त्री अनि धेरै जसो लेभर !
रामेश्वर मिजासिलो थियो !
बिहे नभएको रामेश्वरलाई “फस्लासै केटा” भनेर जहिले चेतावनीसहित जिस्क्याउने गर्थें । किनकि त्यहाँ थुप्रै काम गर्ने लेभर केटीहरूसँग रामेश्वर जस्ता धेरै केटाहरू जवानीको आवेगलाई थाम्न नसकेर समागम भएको कारणले बिहे गर्न परेको देखेको थिएँ !
धरान-भेडेटारको पहिलो खण्ड बनाउने क्रममा शुरुवाती ताका जिरोप्वाइन्ट मास्तिरको बेस क्याम्पमा टिन बजार राख्यो ।
टिन बजारको स्वरूप अरु बजार भन्दा अलि फरक हुन्थ्यो ! टिनले छापेर बनाएको टिनको दोकानहरू हुन्थ्यो । बाटो जता जता बन्दै गयो टिन बजार पनि त्यता त्यता नै सर्दै जान्थ्यो, भन्नै पर्दा अस्थायी रुपमा राखिएको भएता पनि प्रायः जसो अत्ति आवश्यकताका सम्पूर्ण चिज-वस्तु त्यस बजारमा पाइन्थ्यो ।
कतैकतै कोहीकोही चाहिँ बजार सरे पनि त्यहीँ पुरानो बजारमा नै बस्थे, त्यहीँ घरजम गर्थे।
हाम्रो पहिलो टिन बजार बेस क्याम्पबाट सरेर आँपगाछीतिर लाग्यो । आँपगाछी सरे पछि हाम्रो समूहमा सागुरीगढीबाट २२~२३ बर्ष उमेरका केही तरुनीहरू पनि काम गर्न आए । तिनीहरूमध्ये कल्पना नाम गरेकी केटी पनि थिइन् ।
कहिलेकसो “कल्पना, यता तिर ढल्कन” भन्दै रामेश्वरले जिस्काइरहेको देख्थेँ !
टिन बजार भएपनि म कहिले घरयासी कामले त कहिलेकाहीँ रासन चामल लिन पनि धरान झर्ने गर्थें । म धरान झरेको बेला रामेश्वरलाई सबै कामको जिम्मेवारी दिएर झर्थें । हामी टिन बजारमा स्थानीय चाडबाडमा रमाइलो पनि गर्थ्यौं ।
बाटो बनाउने क्रम बढ्दै गयो ।
हाम्रो टिन बजार भेडेटार बसाइँ सर्यो । भेडेटार सम्ममा पुग्दा रामेश्वर मेरो घर कै भाइ जत्तिकै भइसकेको थियो ।
मेरो परिवारसँग राम्रै घुलमिल भइसकेको थियो ।
त्यो बेला भेडेटारमा २~४ घर बाहेक खासै केही थिएन तर हाम्रो टिन बजार भेडेटार सरेपछि बस्ती पनि बाक्लिँदै गयो ।
बाटो तमोरतिर बढ्ने र बन्ने भएपछि हाम्रो टिन बजार पनि कार्कीछापतिर सर्यो तर टिन बजारको लगभग ३० प्रतिशत जति मान्छेहरू भेडेटारमा नै घरजम गरेर बसे ।
हाम्रो टिन बजार कार्कीछाप सर्ने बेलामा रामेश्वर र कल्पना सप्तरीतिर भागेर गयो रे, भन्ने हल्ला सुनियो ।
मैले रामेश्वर जस्तो इमान्दार मान्छे भेटिन । घरमा पनि श्रीमती, छोराछोरीहरू मात्रै भएकोले, मेरो पेटी ठेक्कापट्टालाई कार्कीछाप सम्म मात्र सीमित राखेँ र धरानतिर नै फर्किएँ ।
फेरि म पनि धरानको सबै घरजग्गा बेचेर बानेश्वरको थापा गाउँमा बसाईं सरेँ । मैले काठमाडौंमा नै घर बनाउने ठेक्कापट्टा गर्न थालेँ, कहिले जग्गा प्लटिङ गर्थें त कहिले घर बनाएर बेच्ने पनि गर्थें । यस्तै काम गर्दा गर्दै २० बर्ष जस्तो बिताएँ ।
मेरो छोराले पनि मेरो काम देखेर होला, इन्जिनियर पढ्न थाल्यो ! एकदिन छाेराले उसको साथी लिएर आयो ।
छोराको साथीले “नमस्कार अंकल ” भनेर सम्बोधन गर्यो ।
मैले साेधेँ, “तिम्रो नाम के हो, बाबु ?”
उसले भन्याे, “राम बहादुर ।”
“अनि घर कता नि ?” फेरि सोधेँ ।
“सप्तरी ।” सटिक जवाफ
छोराको साथीले सप्तरी भन्नासाथ “त्यहाँ राई लिम्बुहरू पनि बस्छन् ?” भनेर सोधेँ ।
किनकि उसको अनुहार मधेसीमुलको जस्तो थिएन, हेर्दा राई लिम्बु जस्तो देखिन्थ्यो ।
“हैन अंकल, मेरो बाबा साह भए पनि मेरी आमा राई भएकीले, म पनि राई जस्तै देखिन्छु ।” उसले आफ्नाे यथार्थता बताइरहेको थियो ।
“कतै तिम्रो बाबाको नाम रामेश्वर अनि आमाको नाम कल्पना त हैन ?” के भनेको थिएँ।
मेरो छोरा र उसको साथीले मलाई ट्वाल्ल परेर हेरिरहे।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

“प्रतिबन्ध” लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण सम्पन्न
