तिनले बाउले लाउने गरेको एउटा पुरानो कुर्था ल्याएर दिँदै भनिन्, “मनु यो लगाऊ,  तिम्रो बाबाको कुर्था ।”
कोटेश्वरको जामले गर्दा दिक्क लाग्छ जहिल्यै । आज आकाश पनि अलिक कालो थियो। छाता लान बिर्सिएछु। भोक पनि लागेको थियो। एकदिन जानुपर्छ भन्ने चाहिँ मनमा लागेकै हो। “तिमी कहिले आउँछौ छिटो आउन” भनेर बेला बेलामा फोन आउने गर्थ्यो । मैले भने खासै मतलब राख्दैनथेँ। आमाको सौता भएर आउने महिलामाथि मैले खासै त्यस्तो कुनै सहानुभूति राखेको थिइनँ। र माया पनि लागेन कहिले पनि । मेरी सीता जस्ती आमाको सौता हुन आएकी हुन् तिनी। खैर,जे होस अब त न आमा न बाबा। सबै मायाको इन्द्रेणी हराइसकेको छ जिन्दगीको आकाशबाट। आमा हुँदा र नहुँदा कति फरक पर्छ जिन्दगी त्यो भोगियो र बाबा नहुँदा कति असहज हुँदो रहेछ बाँच्न । त्यो पनि अनुभुती भयो।
जिन्दगी भनेकै अनुभुती हो जो भोग्दै र भिज्दै गएपछि यसकाे मादकताले छुँदो रहेछ। ती सौतेनी आमा भक्तपुरतिर बस्छिन भन्ने सम्म चाहिँ थाहा थियो। तिनी कसकी छोरी हुन्। के जातपातकी हुन्। कसरी बसेकी छिन्।कसरी जीवन निर्वाह गरेकी छिन् । हामी  कसैलाई केही थाहा थिएन। बेला बेलामा ठुली दिदी चाहिँ जानुहुन्थ्यो। आमा ज्युँदो हुँदा तिनलाई बाबाले घरमा ल्याउने साहस कहिले गर्न सकेनन् । आमा बितेपछि बाबालाई पनि अप्ठ्यारो महसुस भयो होला।
घरमा ल्याउँछु भनेर कहिले भन्न सक्नु भएन हामीसँग । र उनले पनि घरमा आउने साहस कहिले गरिनन्  । टुहुरो भएपछि मात्रै सौतेनी आमाको याद आयो मलाई । कस्तो अचम्म छ मान्छेको जात। आफ्नी आमा हुँदासम्म सौतेनी आमा फूलमाथिकाे काँडा बनिन्। आज आफ्नी आमा छैनन् । फेरि तिनै सौतेनी आमा काँडाले सुरक्षा दिएको फूल बनिन्। अँध्यारोमा घामको महत्व भए जस्तै आमा नभएपछि सौतेनी आमाको महत्व । गज्जब छु म । गज्जब छ मलाई हुर्काउने दुनियाँ । म जे हुँ यो दुनियाँको कारण हुँ। म जे हुँ दुनियाँ मेरै कारण हो।
कसैले पनि यहाँ अजम्बरी चोला लिएर आको हुँदैन । जब हामी बाँचिरहेको पृथ्वी माताको त निश्चित आयु छ भने हामी मनुष्य जाबाेको त के कुरा। बाबा आमा हजुरआमा हजुरबाउ सबैलाई अघि लाइसकियो। अब बाँकी त आफैँ हो। पालो त आइहाल्छ एकदिन । फेरि यो रिसारिस केका लागि कसका लागि र किन?
बाबालाई पशुपतिमा विसर्जन गरेर आएपछि मनमा केवल  यस्तै यस्तै गम्भीर भावनाको ज्वार भाटा उर्लिरहन्थ्यो  । बिचरी ती सौतेनी आमाको पो के दोष । मेरा बाबाले ल्याएर पो आइन्। आउनेको के दोष ल्याउने पो दोषी । ल्याउँदा सबै कुरा ढाँटे होलान् बाबाले।
जवानी स्त्री देखेपछि पुरुष मन कति छिटो घायल हुन्छ। तिनलाई फकाउन बाबाले आफूलाइ राम्रो भने होलान् । आफूलाई धनी भने होलान् । आफूलाई खान्दानी भने होलान् । आफूलाइ अविवाहित पनि सके भन्न भ्याए होलान् । पहिलाको प्रधानपन्च पनि भने होलान् । यति मुरि धानको बीउ लाग्ने खेत पनि छ भने होलान् । कान्तिपुर सहरमा घर पनि छ भने होलान् । भन्ने जति राम्रा कुरा केही बाँकी नराखी सबै सबै भने होलान् ।
अनि भन्न पर्ने मुख्य कुरो नौ जना छोराछोरीको बाउ हु भनेनन् होला। जेठी छोरीको बच्चाको हजुरबाउ हुँ पक्कै भनेनन् होला। गाउँको दुख र  वेदना भनेनन् होला। जुवातास खेल्छु त्यो पनि भनेनन् होला । कान्तिपुरमा घर त होइन डेरा छ पक्कै भनेनन् होला। दाजुभाइबीच अन्सबन्डा हुँदा एउटा सिलाबरको डिक्ची र कोदोको रोटि पकाउने तावा अनि ढिँडाे ओडाल्ने फलामे खिया परेको ताप्के मात्रै आएको पक्कै  भनेनन् होला। हामी छोराछोरीलाई पढाउँदा लागेको  तिरी साध्य नलाग्ने ऋण पनि छ भनेनन् होला।
भन्नुपर्ने कुरा भनेनन् अनि नभन्नुपर्ने कुरा चाहिँ भने होलान् पक्कै यसैका कारण हो तिनी जवानी बिसाउन र मिसाउन आएकी मेरा बाबासँग। तिनीलाइ मेलाबाट भगाएर ल्याउनु भएको रे मेरा बाबाले। दुईचार दिन हराए त्यो बेला। जता जान्छु भनेर निस्केका थिए त्यता नगएर बाबा अन्तै पो हान्निएछन्। ती आमालाई हाम्रा बाबाले ल्याउँदा खै के भने के भनेनन् होला त्यो कुरा छोडाैँ अब। बैशाखमा त सुकेको रुख पनि हरियो देखिन्छ भन्छन् त्यस्तै भो होला। ल भो जे भो भो। घाउ जति कोट्यायो त्यति दुख्छ।
===
म पहिलो चोटि सौतेनी आमाको डेरामा पुगेँ। बाटोमा पानी पर्यो। म भिजेँ। बल्लतल्ल डेरा पत्ता लगाएँ। लुगा पनि निथ्रुक्क भको थियो। केही दिन अगाडि खबर गरेको थिएँ कि म सोमबार आउँछु भनेर। कति बजे आउँछु त्यो चाहिँ भनेको  थिइन। आँगन त खाली छ। उनीपट्टि बाट जायजन्म भने भएन किनकि त्यतिबेला सम्म मेरा बाउले परिवार नियोजन गरिसकेको कुरा मलाई थाहा छ। ती आमा एक्लै छिन्। तिनका माइती असाध्य धनी  छन् भन्ने सम्म सुनेको हुँ।
कहिलेकाहीँ बबाले मसँग भन्नुहुन्थ्यो, “तेरि कान्छी आमा खान्दानी खरेलकी छोरी हुँ भनेर धक्कु लगाउँछे” ।
बाबालाई कहिलेकाहीँ लुकिछिपी बरु म नै सौतेनी आमाकोमा जानू भनेर पठाउँथे त्यो पनि मेरी आमा मामाघर गएको बेलामा।
कोठाबाहिर पुगेपछि ढोका ढकढक्याएँ। भित्रबाट चुकुल खोलेको आवाजसहित एउटी अधवय पार गरेकी महिला उज्यालो मुहार लिएर ढोकाको आधा खब्लेटाे सँगै देखिइन्।
“बाबू मनु ! तिमी आयौ मेरो छोरा”
यो प्रिय शब्द अनायास गुन्जियो कानमा । भित्र लिएर गइन्। खाटमा राखिन्। लुगा भिजेको थ्यो। भिजेको लुगा फुकाल भनिन् । म निशब्द छु। अघिको त्यो प्रिय सम्बोधनले नै मलाई घायल बनाएको थियो। आखिर आमा त आमा नै थिइन् जो मेरी आमा आजभन्दा सात बर्ष अगाडि मलाई टुहुरो पारेर गएकी थिइन्। यी आमा फेरि मेरो अगाडि स्नेहको संसार लिएर उभिएकी छिन्। काटिकुटी स्वर्ग गएकी मेरी आमा जस्तै पो लाग्यो। म रन्थनिएँ केहीबेर। केहीबेर आकुल भए । सर्ट भिजेको थियो। फुकालेँ ।
तिनले बाउले लाउने गरेको एउटा पुरानो कुर्था ल्याएर दिँदै भनिन्, “मनु यो लगाऊ,  तिम्रो बाबाको कुर्था ।”
बाउले सधैँ जसो घरमा लाउने कुर्था देखेर झल्याँस्स भएँ । ती आमाले कोल्टे फर्किएर आँसु पुछेको देखेँ। कुर्था कतै कतै हल्का च्यातिएको थियो। कुर्था हातमा थमाउँदै तिनी भान्सामा गइन्। कुर्थामा बाबाको उपस्थिति थियो। एकछिन त आफै रन्थनिएँ । बाबाले लगाएको एउटा पुरानो कुर्थाले एक्कासि बाबाको याद आयो। कुर्था लगाएँ। अलिकति बाबाको पसिनाको हरक कतै अल्झिए जस्तो लाग्यो काखीतिर। त्यो हरकमा बाबा नै सिङ्गो अगाडि उभिएको अनुभूती भयो।
भित्रबाट ती आमाले प्रिय सम्बोधनले बोलाइन- ” मनु माम खान आऊ । “
उहिले आमा हुँदा भान्साबाट यसैगरी स्नेहको जुनेली शब्द बिस्फारित हुन्थ्यो मतिर । मनुष्यले आर्जन गरेको भौतिक प्रपन्च अन्तत: खरानी हुन्छ तर उसले भोगेको र बाँचेको प्रिय पल भने अजम्बरी बनेर छातिमा बाँचिरहँदो रहेछ। “जीवनको बृद्ध अवस्थामा नोटको बिटा सिरानीमा राखेर सुते पनि त्यो सिरानीमुनिको धनले भन्दा मीठो अतितको यादगारले धेरै आनन्द दिँदोरहे छ ।” बुबाले अस्पतालको शैयामा भनेको कुरा सम्झिएँ।
भान्सामा पसेँ। एउटा सानो पित्तले कसौंडीमा भात भर्सिरहेकोको थियो। भान्सा सानो भए पनि सामानहरु कस्तो चटक्क पारेर मिलाएर राखेकी थिइन् तिनले। छेउमा प्लास्टिकको झोलामा अलिकति चामल थियो। केलाएर बाँकी भएको अलिकति फर्सीकाे  मुन्टा थियो। थोरै धनियाँ, डल्ले खुर्सानी लसुनको पोटी अनि एउटा सानो हरियो काँक्रोले भन्दै थियो कि भान्सामा सबै कुरा छ्न्।
आमा सिलौटामा अचार पिन्न थालिन्। म आमाको त्यो गरिबी र अभावका बारेमा घोत्लिन थालेँ। कठैबरा जीवनभर एक्लै बसेर कति अभाव झेलेर यिनी मेरो बाबाको सतित्त्व नडगमगाई बाँचिन् होला। एक पटक अचार बनाउँदा गोलभेडा सक्किए। चामल अब एक छाकलाई मात्रै बाँकी होला। त्यहाँ धेरै भनेको नुन मात्रै थियो। यति अभावमा विवशताको आँसु पिएर कसरी यत्रो उमेर बसिन् यहाँ अचम्म लाग्यो।
यी आमाको यस्तो कन्तबिजोक देखेर  स्वर्ग पुगिसकेका बाबालाई धिक्कार्न मन लाग्यो। के गल्ती थियो र यी अनजान स्त्रीको जो तपाईंले ल्याउनु भो, आइन् । तपाईंको मायामा हिउँ झैँ पग्लिएर आइन् यिनी। तपाईंकाे भर र  विश्वासमा त आइन् यिनी । तपाईंको दन्ते मोहनी र बैंसको धुपमा रन्थनिएर आइन् यिनी। यी  अनपढ, सोझीलाई बिधवा बनाएर तपाईं त स्वर्ग त जानुभो तर यिनकाे दिन दिनैको मरण कसले हेर्ने बाबा ?
 पस्किएर दिएको भातको थालमा आँसुको ढिक्का चुहियो मेरो । आमा उता कोल्टे फर्किएर रुन थालिन्। एउटा बिरानो जस्तो लाग्ने शून्यता भान्साभरी दौडिए जस्तो लाग्यो।
दसौं बर्षसम्म एक्लै यसरी नै बाँचिन यिनी। बाबा बितेको खबर पनि समयमा पाइनन् यिनले। मेरी आफ्नै आमाले बिधवा जीवन भोग्न परेन। उनी त रातो सिउँदोमै सजिएर गइन् परलोक । तर यिनी बिधाताको आँगनमा बिधवा बाँच्न विवश भइन्।
कठैबरा के गल्ती थियो र यिनकाे जो आजीवन बाबाको एउटा भुलको कारण  सजाएको भागिदार बनिन्, बनिरहिन्। न मेरी आमाले यिनीलाई घरमा ल्याउने अनुमति दिइन्। न बाबाले परिवारमा सँगै मिलाएर राख्न नै सके। न यिनी आफ्नो कानुनी हक खोज्दै पतिको घरमा आउनै सकिन्। सबैभन्दा ठुलो त्याग त यिनैले गरिन् जो परिवारमा विरोध र विग्रह आउला भनेर आफू एक्लै बसिन्। कहिले त्यो परिवारमा मिसिन गइनन्। त्यहाँ आफू मिसिन गएपछि शान्त गतिमा बगिरहेको एउटा पारिवारिक डुङ्गा डगमगाउन सक्छ भन्ने पिरले यिनले आँसु पिएर भए पनि एक्लै बसिन्। कसैलाई दुख दिइनन्। कसैलाई  पिर पार्न गइनन् त्यो घरमा ।
ओछ्यानमा हालेको झुल पनि ठाउँ ठाउँमा प्वाल परेको थियो।
यो दृश्यले मन झन गल्यो। एउटी नारीमा कति सहन सक्ने अद्भुत शक्ति हुँदो रहेछ मैले अनुमान गरेँ। आखिर हामीलाई त खान लाउन मनग्गे जोडिदिएका थिए बाबाले । यता भने किन यस्तो कन्तबिजोक छोडेर गए। हुनसक्छ बाबालाई मेरी आमाको डर थियो । आखिर पुरुष त पुरुष हो नि युद्धमा बन्दुक बोकेर भिडन्त गर्न जाने सामर्थ्य भएको जात। तर ! दुईवटा श्रीमतीलाई किन बराबर गरेर राख्न भने असफल हुन्छ ?
कोठाका भित्ताहरु ओसले भिजेका थिए। खाने चामल सक्किसकेको थियो। झुल च्यातिएर लामखुट्टेले टोक्ता आमाका निधारभरी भमौरा जस्ता फोका उठेका थिए। हात, कान, निधार, नाक सबै बुच्चा थिए। मानौँ यिनी यहाँ श्राप भोग्नका लागि बसिरहेकी छिन् बर्सौंदेखि एक्लै । खाना खाएर एकछन खाटमा आराम गर भनिन् । परेली मेरा पनि भिजेका छन्। परेली उनका पनि रुझेका छन्। के भन्ने के नभन्ने म अलमल्लमा छु। के बोल्ने के नबोल्ने आमा पनि अल्मलमा छिन्। नबोले पनि त्यहाँ एक प्रकारको वाकयुद्द भएको जस्तो प्रतीत भैरहेछ। म यो कारुणिक दृश्यले भक्कानिएको छु। झ्यालबाट बग्दै आउने हावामा पनि कतै बाबाले लामो श्वास फेरेको  हो कि जस्तो लाग्छ।
“यता आउँदा तिम्रो बाबाले जहिले पनि तिम्रो कुरा गर्नुहुन्थ्यो ।”
“के भन्नुहुन्थ्याे आमा ! बाबाले मेरो बारेमा ?”
“त्यो असाध्य पढ्छ लेख्छ दयालु छ ।”
“यतिमात्रै ।”
“कि तिम्रो कुरा गर्नुहुन्थ्यो कि दुख पाएकी माइली छोरीको ।”
“आमा ! तपाईं किन हाम्रो घरमा नगएको आजसम्म ।”
“तिम्रो बाबाले त हिँड भनेकै हुन् तिम्रो आमादेखि डर लाग्थ्यो ।”
“आखिर महिलाको शत्रु त महिला नै हुँदा रहेछन् नि है आमा ।”
आमा फिस्स हाँस्दै भाँडा माझ्न थाल्नु भो। उता फर्किंदा आमाका कुर्कुच्चा फुटेको देखेँ। हातका औंला र खुट्टाका औंलाका काप बेस्सरी सुन्निएको देखेँ। खाटमा आराम गर्न यसो पल्टन मात्रै के लागेको थिएँ।
बाहिरबाट कसैले ढोका घचघच्यायो। उठेर गएँ। ढोका खोलेँ। बाहिर  एउटी भर्खरैकी छोरी मान्छे हातमा पैसा लिएर  “आमा हुनुहुन्छ” भन्दै आइन् र मलाई दिइन्। “केको पैसा हो” मैले सोधेँ । “सात दिन बालुवा चालेको पैँतिस सय छ यो ज्याला आमालाई दिनु है म हतारमा छु ।” भन्दै उनी फुत्त गइन्।
आमा कसरी बाँचेकी रहिछन् मलाई थाहा भो अब। बालुवा चालेर भए पनि मेरो घरको इज्जतमा कुनै धब्बा नलगाई एकान्त बाँचेकी यी आमालाई सोध्न मन लाग्यो कि आमा !
“बुढ्यौलीले मक्किसकेका यी हातहरु त अब ईश्वरको आरतीमा चल्नुपर्थ्यो तर आज आफ्नो भोक शान्त पार्न बालुवा चाल्दै हुनुहुन्छ । आखिर  कर्म ठुलो हो कि धर्म ठुलो हो त आमा ? तिमी नै भनिदेऊ !”
आमाका हातमा पैसा थमाउँदै भनेँ, “आमा भो अब धेरै दुख नगर्नु घर हिँड्नु। म पाल्छु। बाबाको बर्षदिनको काम पनि आउन लाग्यो। अब उतै बस्ने। छोडेर हिँड्नु यो एकान्तलाई। बिर्सिनु अब हिजोलाइ जे जे भो भो। म आमा र बाबाको तर्फबाट माफी माग्छु। अलिकति गल्ती तपाईंको। धेरै गल्ती मेराे बाबाको। अनि ठुलो गल्ती मेरी आमाको जसले तपाईंलाई घरमा प्रवेश गर्न रोक लगाइन्। अब पनि तपाईंलाई यहाँ एक्लै छोडेर गएँ भने सबैभन्दा ठुलो गल्ती मेरै हुनेछ ।”
बिसौँ बर्षसम्म पनि आफ्नो पतिको घर कस्तो छ भनेर नेदेख्ने स्त्रीहरु पनि छन् यहाँ । यो विवशताको जडता अन्त्य हुनुपर्छ । आमा आखिर आमा हुन् । चाहे आफ्नी आमा हुन् । चाहे सौतेनी आमा हुन् । चाहे धरती आमा हुन्। आफ्नै देशको माटाे टेकेर हिँड्ने कुनै पनि छोरा कहिले टुहुरा हुनेछैन।
घरमा ल्याएर आमालाई सबैको अगाडि परिचय गराए कि यी हाम्री आमा हुन। यिनको स्थान हाम्रो शिरमा हो।
” कस्तो लाग्यो त आमा तपाईंको घर ।”
” रमाइलो छ मनु तिमीहरूकै काखमा मर्न पाऊँ । बस यति भए पुग्यो अब ।”