“ मलाई पनि त्यस्तै लाग्छ । उहाँ भएर मैले नियमित काम पाएकी छु । उहाँको ठाउँमा अरु कोही भएको भए हाम्रो के अवस्था हुँदो हो ।”
तराईको प्रचण्ड गर्मी, बैशाख महिना ।
घाम अस्ताउँदै गरेको तातो र रापिलो समय थियो । हावा चलेको थिएन । पृथ्वी हप्प तातेर गर्माएको थियो । आकाशमा बादलका साना साना झुण्ड कतैकतै देखिन्थे । तत्कालै पानी पर्ने सम्भावना नभएजस्तो देखिन्थ्यो ।
बाहिरको हपहपी गर्मीसँगै मुकेशको मनभित्र पनि छट्पटी र बेचैनले घर बनाएको थियो । उसको आँखाअगाडि निराशाका ठुला ठुला पहाड खडा थिए । छोराछेरीको सुदुर भविष्यको चिन्ताले उसको मन अस्थिर भई उसले केही सोच्न सकेको थिएन । सोच्न सक्ने अवस्थामा पनि थिएन ।
उसको मन भारी भएको थियो । सम्झनाका अनगिन्ती दुःख र सुखहरु एकैपटक छचल्किएर बाहिर पोख्खिन खोज्दै थिए । अभावका ती दिनहरुको सम्झना आइरहेको थियो । मजदुरी गर्दा गर्दै गौरीसँग माया बसेर गरेको प्रेम विवाहपछिका कैयौं अनिदा रातहरुको याद आउँथ्यो । आफ्नो सुकुम्बासी छाप्रोभित्रका ती कैयौँ अभावको कहाली लाग्दो दृश्यहरुको सम्झनाले मन भतभत पोल्थ्यो । घरमा अन्नको दाना नभएर भोकै बसेका कैयौँ रातहरु थिए । कैयौं दिन भोकभोकै भौतारिँदै काम खोज्न हिँडेको दिनको याद आउँथ्यो । गरिबको जीवनमा अभावको चाङ र समस्या नै समस्या कति थिए कति ।
तर ती सबै अँधेरी रातहरु गौरीको माया र उसको व्यवहारले भुलाइदिएको थियो । अभावमा पनि माया पाएपछि बाँच्न सकिन्छ भन्ने कुराले आत्मबल बढेको थियो । गौरीको अनुहार नियालिरहँदा ती भोका दिनहरु र अनिदा रातहरु एकसाथ बिताउँदा मायाप्रेमको अगाडि अभावले नतमस्तक भएर आफैँ घुँडा टेक्दो रहेछ ।
हो यही विगत सम्झिँदा मुकेश छट्पटिएर घरी बाहिर गएर आकाश नियाल्थ्यो । घरी भित्र पसेर खटियामा पल्टन्थ्यो । उसको मन अस्थिर थियो । लामो सुस्केरा हाल्थ्यो । छट्पट छट्पट गर्दै के गरौँ र कसो गरौँ गरेर आत्तिएको थियो । उसको अनुहार निलोकालो भएको थियो । ओठ कलेटी परेका थिए ।
आफ्नो मन जति चिन्तित भए पनि, जति धेरै पिरले थिचिए पनि छोराछोरीको मलिनो अनुहार हेरेर उनीहरुको नैरास्यपनलाई अरु बढ्न दिनु हुँदैन भन्ने कुरामा भने ऊ सचेत थियो । उनीहरुको दुःख सुख बिसाउने एउटै चौतारी आफैँ थियो । आफैँले मन सानो बनाएपछि ती अन्जान निर्दोष छोराछोरीहरुको हालत के होला ? त्यसैले जति पिर परे पनि छोराछोरीको मायाले गर्दा आफ्नो मनलाई आफैँ बाँधेर थामथुम पारी सान्त्वना दिने प्रयत्न गरेको थियो । उसको अवस्था देखेर झन छोराछोरीहरु त्यसै त्यसै निराश भएर रनभुल्ल परेका थिए ।
साँझ पर्दै गएपछि अर्चनाले बुबालाई खाना खान कर गरी । तर मुकेश केही नबोली मौन बस्यो । मुकेश टोलाएर एकोहोरो भुइँ नियाली रहेको थियो । हुन त छोरी अर्चनाको पनि अनुहार उज्यालो कहाँ थियो र ? भाइ गणेश पनि दिदीको आडैमा बसेर दिदी र बुबाको अनुहार नियालिरहेको थियो ।
गरिबका सपना के नै पो हुन्थ्यो र ? बिहान र बेलुकाको चुलो कसरी बाल्ने र हात मुख कसरी जोर्ने भन्ने चिन्ताले नै उनीहरुको जीवन समाप्त भएको थाहा हुँदैनथ्यो । त्यहीँ खरको झुपडीमा कसरी चुलो बाल्ने र छोराछोरीको भोकलाई कसरी शान्त पार्ने भन्दै श्रम गरेर पसिना बगाउँदा बगाउँदै हात मुख जोर्न सधैँ धौ धौ हुन्थ्यो ।
चुनावको समयमा “हाम्रो पार्टीले बहुमत ल्याएमा सुकुम्बासी ले खनजोत गर्दै आएको जग्गा, जसरी पनि तिनै सुकुम्बासीहरुको नाममा लालपुर्जा दिने हो” भनेर भोट माग्न धेरै थरिका टाठाबाठा नेताहरु आएर गुलिया आश्वासन बाँडेका थिए । तर सुकुम्बासीका समस्या भने कहिल्यै समाधान भएन । आयोगका कर्मचारीले जग्गा नापेर नाम थर ठेगाना र तिनपुस्ते लेखेर लगे पनि वास्तविक सुकुम्बासीले आफ्नो नाममा जग्गाको लालपुर्जा कहिल्यै पाएनन् । गरिबमाथि खेलेर राजनीति गर्नेहरु मालामाल भए । गरिबलाई सधैँ भोट बैंक ठानेर स्वार्थीहरुले गरिबहरुको गरिबीमा खेल्न सम्म खेले ।
मुकेश र गौरीको चार जनाको परिवार थियो । दुईजना बुढाबुढी , दुईजना छोराछोरी मात्र थिए । उनीहरुको सम्पत्तिको नाममा पाँच कठ्ठा ऐलेनी जग्गा र त्यही जग्गामा खरले छाएको एउटा झुपडी थियो । बिहान बेलुका हात मुख जोर्न दुबै लोग्ने स्वास्नीले अरुको घरमा गएर श्रम नगरे मुखमा माड लाग्दैनथ्यो । त्यसैले दुबैजना लोग्ने स्वास्नी अरुको घरमा गएर ज्यालादारी मजदुरी गर्थे । त्यही ज्यालादारीको कमाइबाट आएको सीमित पैसाले जिन्दगीका तमाम दुःखहरु कटाउने मेलो बनेको थियो ।
मुकेश एउटा साहुको घरमा ट्रयाक्टरमा मजदुरी गर्थ्याे । साहुको ट्रयाक्टरमा एका बिहानै बालुवा, गिट्टी र मोरङ लिन खोलामा जानु पर्थ्याे । एउटा ट्रयाक्टरमा ऊ सहित दुईजना मजदुर थिए । ट्रयाक्टर चालकले अप्ठ्यारो पर्दा मात्र सघाउने गर्थ्याे। खोलाको गिट्टी बालुवा मोरङ दुईजना मजदुरले ट्रयाक्टरमा भरेर ल्याउने गर्थे ।
खोलाबाट मोरङ लोड गरी हाइवयमा ट्रयाक्टर कुदिरहेको थियो । माघ महिनामा अचानक बिहान हुस्सु लागेको अवस्थामा एक्कासि स्पीडमा कुदेको ट्रयाक्टरले बिपरित दिशाबाट आएको लडियालाई ठक्कर दिदा घटनास्थलमै दुईवटा राँगा मरे । लडिया मालिक गम्भीर घाइते भयो । मुकेश हुत्तिएर सडकमा बजारिन पुग्यो । उसलाई तत्कालै अस्पताल लगेर भर्ना गर्दा हात भाच्चिन पुग्यो । शरीरका अन्य भागमा पनि चोटपटक लाग्यो । मालिकले लामो समय अस्पताल राखेर उपचार गरी दाहिने हातमा रड हालेर अस्पतालबाट डिस्चार्ज भई ऊ घरमा गयो ।
श्रम गरेर खाने दाहिने हात नै नचल्ने भएपछि एउटा श्रमिकको रोजीरोटी नै खोसियो । उनीहरुलाई बिहान बेलुका हात मुख जोर्न धौ धौ भयो ।
श्रीमती गौरीलाई आर्थिक बोझ थपियो । गौरीले जेनतेन मजदुरी गरेर श्रीमान र छोराछोरीको भोको पेटलाई आधा भर्ने प्रयत्न गरेकी थिई । अरु आम्दानीको श्रोत केही नभएका सुकुम्बासी गरिब परिवारमाथि यो भन्दा बढी दुःख अरु के नै हुन्थ्यो र ?
बर्दियामा बबई सिँचाइ आयोजनाको नहर धमाधम बन्दै थियो । धधवारदेखि डेउडाकला हुँदै मोतिपुरको बाँसगढीसम्म नहर खन्न विभिन्न स्थानमा ठेक्का लिएका ठेकदारहरुले आ आफनो साइडमा पाल टागेर जोड्तोड्ले नहर खन्न जेसिबी लगायतका आवश्यक साधन सहित ठुलो संख्यामा कामदार लगाएका थिए । मजदुरी काम गर्न सयौं मजदुर काममा जुटेका थिए । मुकेशको घरदेखि केही तलबाट नहर खन्दै पूर्वतर्फ अगाडि बढेको थियो ।
गौरी नहरमा मजदुरी गर्न जान थालेकी थिई । आफ्नै गाउँको लौटनले गौरीलाई काम लगाइदिएको थियो । लौटनको काम मजदुरहरु खोजेर नहरको विभिन्न काममा लगाउँने र हाजिर गरी मजदुरको कामको रेखदेख गर्ने ठेकदारको सुपरभाइजर भएको थियो । नहरमा जोडतोडले काम भइरहेको थियो । गौरी काममा नगए उनीहरुको परिवारमा मुखमा माड लाग्न सक्ने अवस्था थिएन । त्यसैले गौरी नियमित नहरमा काम गर्न गएकी थिई ।
ठेकदार रामगोपाल एक दिन अचानक मुकेशको आँगनमा टुप्लुक्क पुग्यो । भित्र खटियामा सुतेको आफ्नो लोग्ने मुकेशलाई गौरीले वहाँ ठेकदार साब हुनुहुन्छ भनेर चिनाइदिई । ठेकदार रामगोपाल घरमा पुग्दा मुकेशलाई साक्षात् भगवान नै पुगे जस्तो भयो । मुकेशले ठेकदारलाई शिर झुकाएर नमस्कार गर्यो । ठेकदारले पनि नमस्कार फर्कायो ।
“म यो साइडको ठेकदार रामगोपाल” ठेकदारले आफ्नो परिचय दियो ।
“ तपाईं घाइते भएको खबर गौरी बहिनीबाट थाहा पाएको थिएँ । अहिले तपाईंलाई कस्तो छ ?” उसले मुकेशलाई सोध्यो ।
“ मैले आराम गरिरहेको छु । दाहिने हात भाँच्चिएर रड हालेको छ । तिन महिना पछि ठिक भएमा रड खोल्नुपर्छ, डाक्टरले भनेको छ । खुट्टामा पनि चोट छ ।” मुकेशले भन्यो ।
“ सबै बिस्तारै ठिक हुन्छ । आत्तिन हुँदैन ।” ठेकदारले भन्यो ।
“ भगवानको भरोसा हो हजुर, धन्न ठुलो कालबाट बचे ” मुकेशले भन्यो ।
गौरीले चिया पकाएर ठेकदार र उसको सहयोगीलाई दिई । ठेकदारले मुकेशको घरको अभाव र गरिबी आफ्नै आँखाले राम्रोसँग नियाल्ने मौका पायो । तर ठेकदारका भित्री आँखाले भने गौरीको कसिलो शरीर माथि नजानिँदो तरिकाले नजर डुलायो । ठेकदार रामगोपालले चिया पिएर हिँड्ने समयमा मुकेशलाई सम्झायो ।
“ चिन्ता नगर्नु होला केही समस्या भएमा भन्नुहोला, मैले सक्ने सहयोग अवश्य गर्नेछु । गौरी बहिनी नियमित काममा आइरहनु होला ।” भन्दै मुकेशलाई आराम गर्ने सल्लाह दिँदै ठेकदारले बिदा मागेर गयो ।
मुकेश केही समय टोलाएर भुइँमा एकोहोरो हेरेर घोरियो ।
“कोही नहुनेको भगवान हुन्छन् भन्छन्, कतै यो ठेकदार पनि हाम्रो परिवारको भगवान् बनेर प्रकट भएको त होइन ? नहर बनेर नसकुन्जेल गौरीले नियमित काम पाई भने पनि हाम्रो गुजारा चल्ने थियो । त्यति बेलासम्म मेरो हात पनि ठिक होला ? म पनि हात ठिक भयो भने बिस्तारै सानोतिनो काम गरुँला ।” भन्दै मनमनै सोचेर मुकेश आफ्नो खटियामा पल्टियो ।
छोरी अर्चना र छोरो गणेश नजिकैको सरकारी स्कुलमा पढन जान्थे । गौरीले दिनहुँ खाना पकाएर मुकेश र केटाकेटीलाई खुवाएर आफू काममा जान्थी । छोरी अर्चना स्कुलबाट आएर बुबालाई चिया नास्ता दिन्थी । घरमा काम केही नभएपछि छोराछोरीहरु खेल्ने र पढ्ने काम गर्थे ।
गौरी घर नजिकै नहरमा सधैँ काममा व्यस्त थिई । त्यहाँ ठाउँठाउँबाट आएका सयौँ कामदारहरु आआफ्नो काममा व्यस्त थिए ।
घरमा ठेकदार आएर गएपछि मुकेशको मनमा ठेकदारप्रति सकारात्मक सोचाइ आयो । गौरीसँग ठेकदारको बारेमा जान्न चाह्यो ।
“गौरी तेरो काम त राम्रो छ नि ?” मुकेशले सोध्यो ।
“मजदुरको काम के राम्रो भन्नु के नराम्रो भन्नु थियो र ? पैसा पाएकै छु, घरको गर्जो टरेको छ ।” गौरीले जवाफ फर्काई ।
“ठेकदार त सारै असल जस्तो लाग्छ मलाई, तँलाई कस्तो लाग्छ गौरी ?”
“मलाई नि सारै असल लाग्छ, केही समस्या परे नडराई दाजु सम्झेर मलाई भन्नु है बहिनी भन्नुहुन्छ ” । गौरीले भनी ।
“हामी सोझा गरिबका पनि कोही न कोही सहयोग गर्ने उदार मन भएका मानिस हुँदारहेछन् ” मुकेशले मन प्रफुल्ल बनायो ।
“ मलाई पनि त्यस्तै लाग्छ । उहाँ भएर मैले नियमित काम पाएकी छु । उहाँको ठाउँमा अरु कोही भएको भए हाम्रो के अवस्था हुँदो हो ।” गौरीले ठेकदारको प्रशंसा गरी ।
श्रीमती गौरीको यति मिठा कुरा सुनेर मुकेशको अनुहार चम्किलो देखियो । छोराछोरीहरु पनि आमा बुबाका कुरा सुनेर मख्ख भए ।
===
एक दिन साँझ ठेकदारले आफ्नो सहयोगीलाई मासु र बियर बोकाएर गौरीको घरमा पुग्यो । मासु देखेर केटाकेटीहरु खुसी भए । गौरीले मासु पकाएर ठेकदार र उसको सहयोगीलाई दिई । उनीहरुले बियर खाए । मुकेशलाई पनि खान कर गरे । मुकेशले ठेकदारको वचन हार्न नसकेर उसले पनि बियर खायो । केटाकेटीले मासु खान पाए त्यो दिन ।
नसाको मातमा ठेकदारले गौरीको उज्यालो अनुहार धित मरुन्जेल नियाल्यो । गौरीले मुन्टो तल झुकाई । नसा खाएको तालमा ठेकदारले धेरै कुरा गर्यो । मुकेश पनि ठेकदारको कुरा सुनेर मख्ख पर्यो ।
“ तपाईंहरुलाई परेको समस्या मलाई भन्नु होला म ज्यान दिन पनि तयार छु ।” ठेकदारले गौरीतर्फ फर्केर आफ्नो दाहिने आँखा झिमिक्क झिम्क्यायो । गौरीले लाज मानी । अरुले नदेख्ने गरी ठेकदारले गौरीसँग आँखाले जाने इसारा गर्यो । गौरीले मुन्टो हल्लाएर जाने स्वीकृती दिई ।
हरेक हप्ताको एकदिन ठेकदार बिना सहयोगी माछा, मासु र मदिरा बोकेर एक्लै गौरीको घरमा पुग्थ्यो । माछा मासु पाकेपछि सबैलाई भाग लगाएर दिन्थी गौरीले । ठेकदारलाई मदिरा धेरै लाग्दै गएपछि केटाकेटीहरु आफ्नो बिस्तरामा जान्थे । निशुल्क पाएको मदिरा मुकेश पनि लाग्ने गरी टन्न खाएर निदाउँथ्यो । ठेकदार कतिबेला निस्केर जान्थ्यो, गौरीलाई बाहेक अरुलाई थाहा हुँदैनथ्यो ।
हरेक हप्ता ठेकदार गौरीको घरमा आउँजाउँ गर्न अब कुनै रोकतोक थिएन । उदार मनकारी ठेकदार त्यो परिवारको सदस्य जस्तै भएको थियो । गौरीको घरमा ठेकदार आउँने सिलसिला लामो समयसम्म चल्यो । गौरीले काम पाएर घरको चुलो बलेको थियो । केटाकेटीले बेलाबेलामा मासु खान पाएर मुख फेर्न पाएका थिए । मुकेशले पनि निशुल्क पाएको मदिरा लाग्ने गरी टन्न खाएर आनन्दका साथ सुत्न पाएको थियो । केटाकेटीहरुले ठेकदारलाई मामा भन्थे । गौरीले दाइ भन्थी । मुकेशले ठेकदार साब भन्थ्यो । अरुको दुःखमा सहयोग गर्ने ठेकदार सारै मनकारी थियो । मानौँ गरिबहरुको उदार भगवान् बनेर ठेकदार त्यो गरिब परिवारको झुपडीमा समय समयमा प्रकट हुन्थ्यो ।
केही समयसम्म निश्चिन्त रहेको मुकेशका मनमा कुरा खेल्न थाले । यसरी बिना रोकतोक घरमा आइरहने ठेकदारले गरिबको गरिबीमाथि खेलेर भविष्यमा कुनै नाजायज फाइदा लिने दाउँ त खोजेको छैन ? मदिरा नखाएको समयमा मुकेशले यस्तै कुरा सम्झेर उसको मनमा भूकम्पका धक्का जान थाले । यिनै कुराहरु रातभर खेलाएर कैयौं दिन मुकेश अनिदो रहन थाल्यो । दिनमा पनि टोलाएर सुस्ताउन थाल्यो । ठेकदार न ऊ नातामा दाजुभाइ हो, न इष्टमित्र नै । तै पनि सहयोग गर्छु भनेर सहानुभूति भने दिइरहेको थियो । यिनै कुराहरु मनमा खेलाउँदा खेलाउँदै धेरै दिनदेखि शङ्कालु भएर मुकेशको निद्रा हराएको थियो । मुकेशले एकदिन राती गौरीको मनसाय बुझ्ने प्रयत्न गर्यो ।
“गौरी, हैन ठेकदार किन आइरहन्छ हिजो आज हाम्रो घरमा ?”
“ठेकदारको कुरा म के थाहा पाउँ ? तिमीसँग ठेकदारलाई सोध्न सक्ने ह्याउँ छैन ?”
“हैन कि तैले नै बोलाइरहन्छेस् हँ ठेकदारलाई घरमा ?”
“अँ काम नपाएर मैले नै बोलाउँछु नि घरमा ? कस्तो पाप सोच्न सकेको होला यो असतीले ।”
“मैले पाप सोचेको होइन । तर हिजो आज ठेकदारको चालामाला राम्रो लागेन मलाई ।”
“अँ तिमी यसरी नै शङ्का गरेर बस, यहीँ कुरा ठेकदारको कानमा पर्यो भने पाएको मजदुरी पनि खोसिएला फेरि ? ”
“त्यहाँ काम नपाए के अरु ठाउँमा काम पाउन सकिँदैन ? मजदुरी काम त हो नि ।”
“तिमी नालायक नामर्दले केही काम गर्न सक्ने होइन । मजदुरी गरीगरी तिम्रो भोको पेट मैले भरिदिएकी छु । अहिले मलाई अनाहकमा शङ्का गर्ने काम नगर है । अब तिम्रो के काम छ र ? शङ्का गर्ने ? घरमा थेचारिएर बस्ने त हो नि ।” गौरी बेस्करी च्याँठ्ठिई ।
“मेरो अवस्था यस्तो छ । छोराछोरी साना छन् । छोराछोरीको बिचिल्ली होला भनेर मैले तँलाई सजग गराउन खोजेको हो । शङ्का गरेको होइन ।” मुकेश पनि जोडले बोल्यो ।
एउटा सुकुम्बासी मजदुर परिवारभित्र अनेकौं समस्या र अभाव थिए । तर पनि उनीहरुले एक आपसमा प्रेमपूर्वक सुख दुखका साथ मिलेर दिनहरु बिताइरहेका थिए । दुबै लोग्ने स्वास्नीबिचको एकता, मायाप्रेम र समझदारीले गर्दा यस अगाडि उनीहरु बिच कहिल्यै मनमुटाव भएको थिएन ।
तर उनीहरु दुबैजना बिचको माया प्रेमको तगारो बनेर अप्रत्यासित रुपमा कुत्सित मनसाय राखेर ठेकदार रामगोपाल त्यो घरमा प्रबेश गरेको थियो । गौरी र मुकेश एक आपसमा मिलेर प्रेमपूर्वक आफ्ना दुख सुखका दिनहरु गुजाराका साथ कटाइरहेका थिए । तर अचानक ठेकदारको प्रवेशले उनीहरुको घरमा कलह, आपसी शङ्का, वैमनुष्य, कटुता र एकले अर्कोलाई शङ्कालु नजरले हेर्नु पर्ने वाध्यात्मक परिस्थितिको सृजना हुँदै गएको थियो ।
गरिब परिवारभित्र सहयोग गर्ने उदारता देखाउँदै उनीहरुको परिवारभित्र खेलेर ठेकदारले उनीहरुको घर भत्काउन खोज्दै थियो । त्यसरी बाहिरका व्यक्तिहरुबाट बिना स्वार्थ सहयोगको कल्पना गर्नु र त्यस प्रकारको व्यवहारलाई समयमा चिन्न नसक्नु पक्कै पनि मुकेशको ठुलो कमजोरी थियो । त्यसमाथि ठेकदारले ल्याएको निशुल्क मदिरा खाएर आफैँ लठ्ठ बनेर बिस्तरामा घोप्टिनु र ठेकदारका शङ्कालु गतिविधि माथि निगरानी राख्न नसक्नु मुकेशको महाभुल थियो ।
केही दिन यता गौरीको दैनिक बानी व्यवहारमा परिवर्तन देखा पर्दै थियो । मुकेशसँग बोल्दा झर्को मान्ने, बोल्नै परे अपाच्य शब्द प्रयोग गर्ने गरेको हुँदा गौरीसँग मुकेश सशंकित थियो । तर पनि छोराछोरीको भविष्यको लागि भए पनि गौरीलाई चिढाउने पक्षमा मुकेश थिएन । तर दिनप्रति दिन गौरी भने फरकफरक ढङ्गले प्रस्तुत हुँदै गइरहेकी थिई । छोराछोरीहरुप्रति पनि खासै चिन्ता र चासो नभएजस्तो देखिन्थ्यो ।
ठेकदारको विषयलाई लिएर बेलाबेलामा घरमा छोराछोरीकै अगाडि भनाभन र चर्काचर्की पनि हुन्थ्यो । गौरी जहिल्यै ठेकेदारको बचाऊँ गर्दै ऊ गलत नभएको तर्क प्रस्तुत गर्थी । तर मुकेश भने गौरीलाई सचेत पार्दै आफू भने झन्झन् शङ्कालु भइरहन्थ्यो र कचकच गर्थ्याे ।
तर एकदिन छोराछोरी स्कुल गएको मौका पारेर आफू काममा नगई नयाँ कुर्था सुरुवाल लगाएर गौरी चिटिक्क परेकी थिई । हातमा ब्याग लिएर ढोका बाहिर निस्कँदै गौरीले आँगनबाट ढोकातर्फ पुलुक्क हेर्दै थिई । त्यो देखेर मुकेशको मनमा शङ्का उब्जियो । गौरी पक्कै ठेकदारसँग कतै घुम्न जान थाली भनेर मुकेश रिसले आगो भयो र गौरीलाई चर्को स्वरमा करायो ।
“हैन, तेरो के चाला हो गौरी ? तँ काममा नगई कहाँ मुन्टिन लागिस् ?” मुकेश जाेडले करायो ।
“म जहाँ गए पनि अब तँ नामर्दलाई के मतलब ? मेरो कमाइको पैसा खर्च गरेकी छु ।” कोहीं नामर्दसँग मैले एक पैसा माग्न परेको छैन ।” गौरी जोडले बोली ।
“तेरो चालामाला ठिक छैन, तेरो सबै कुरा मलाई थाहा छ । तँ गलत बाटो हिँड्दैछेस् । पछि पछुताउनु पर्ला तँलाई गौरी ।”
“एउटी आफ्नी श्रीमतीको भोक शान्त पार्न नसक्ने नामर्दलाई मजदुरी गरी गरी त्यो भोको पेटलाई अब देखि म भर्न सक्तिनँ ।”
“तँ के भन्दैछेस् ? तँ ठिक ठाउँमा त छेस् गौरी ?”
“हो, म अहिलेसम्म ठिक ठाउँमा थिइनँ । अब भने ठिक ठाउँमा जाँदै छु । आजदेखि तँ नामर्दको बाटो अलग, मेरो बाटो अलग हुँदैछ ।” भन्दै गौरी घरबाट फटाफट् बाहिर निस्की ।
मुकेश भने गौरीलाई हेरेको हेर्यै भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।