बार्दलीबाट ठ्याक्कै देखिन्छ झ्याम्म परेको स्वामीको रुख जसमा सुन्दर गुँड बनाएर चराको जोडी बस्दछ । केही दिनदेखि पोथी ओथारो बसेकी थिई ।

अस्ताउँदो सूर्यको किरणले गोधुली साँझलाई निम्तो गरिरहेको थियो । सप्तरङ्गी किरणहरुले घरको आँगन, बार्दली र ओरिपरिको वातावरणलाइ मनमोहक बनाइरहेको थियो | बिहानैदेखि चारोको खोजीमा उडेका चराचुरुङ्गीहरु साँझ बासमा फर्किने ओइरो थियो । चिरबिर चिरबिर गर्दै सुमधुर स्वरमा गुन्जिएको चराचुरुङ्गीको  ध्वनी हरिकलाको कानमा गुन्जिन पुग्यो । उनि बार्दलीमा आइन् र डुब्दै गरेको सूर्यलाई हेरिन् ।

“ओहो ! साँझ परेछ घाम अस्ताएछन्, चराचुरुङ्गी पनि गुँडमा फर्किने बेला भएछ | गाँस ,बास र कपासको खोजीमा उडेका मेरा छोराछोरी घर फर्किने दिन कहिले आउला ?” भन्दै सुइया लामो सुस्केरा हालिन् ।

बार्दलीबाट ठ्याक्कै देखिन्छ झ्याम्म परेको स्वामीको रुख जसमा सुन्दर गुँड बनाएर चराको जोडी बस्दछ । केही दिनदेखि पोथी ओथारो बसेकी थिई । त्यो दृस्य देखेर हरिकला आफू सुत्केरी हुँदाको पल सम्झेर मुसुक्क मुस्कुराउँथिन् । जीवनमा पहिलो पटक आमा बन्दाको क्षण अत्यन्तै सुखद मिठो र अविस्मरणीय लाग्थ्यो उनलाई सायद संसारका सबै आमाहरुको अनुभूति यस्तै हुन्छ होला ।

साना साना बचेरा गुँडमा छोडेर पोथी चारो खोज्न जान्थी । भाले चरो खै कता जान्थ्यो कुन्नि ? पोथीले चारो ल्याएर चुच्चोबाट बचेरालाइ खुवाएको देख्दा हरिकलाका आखाँ रसाउँथे । प्रकृतिले के अचम्मको वरदान दिएको होला ? मान्छे हुन वा पशुपंक्षी हरेक जीवजन्तुमा सन्तानप्रतिको ममता पोथी जातिमा उत्तिकै हुन्छ  । कैयौं यस्ता जीवजन्तु र पशुपंक्षी पनि छन् सन्तान जन्मिदा साथ पिताको खतरा रहन्छ र  नयाँ ठाउँमा सारेर सन्तानको रक्षा आमाले गरेका हुन्छन् । वास्तवमा जुनसुकै जन्तुमा किन नहोस् आमा महान छन् आमा बन्ने सौभाग्य  पाएकोमा प्रकृतिलाई धन्यवाद दिइन् हरिकलाले ।

धेरैजसो समय हरिकला बार्दलीमा बिताउँथिन् । बाटोमा हिँड्ने बटुवालाई हेर्थिन् । बेलाबेलामा नजर स्वामीको रुखमा पुर्याउँथिन् । बचेरा कत्रा भए होलान भन्ने जिज्ञासा लाग्थ्यो उनलाई । हेर्दा हेर्दै बचेरा पनि भुर्र उड्न सक्ने भएछन् | पोथी तिनै बचेरासँग खेल्थी । रमाउँथे बचेराहरु । कति रमाइलो लोभ लाग्दो देखिन्थ्यो वातावरण । हरिकला आफ्नो बिगत सम्झन्थिन्, घरिघरि भावुक हुन्थिन्, घरिघरि मुस्कुराउँथिन् । मनै त हो आफ्नो बसमा कहाँ हुन्छ र ..?

बचेरा गुँड छोडेर उडे आकासमा जसरी हरिकलाका छोराछोरी सुन्दर भविष्यको खोजीमा   सात समुद्र पारि जानका लागि उडेका थिए जहाजमा ।

अब भने गुँडमा पोथी एक्लै हुन्थी जसरी घरमा हरिकला हुन्थिन् । दिनहरु बितेर गए बर्खा पनि लाग्यो । ठुलो हावाहुरी चल्यो चराको गुँडसहित हाँगा नै भाँचियो पोथीलाई सामान्य चोटपटक लाग्यो । केही दिन त उड्नै सकिन । समय सँगसँगै घाउ पनि निको भयो । अर्को हाँगामा गुँड बनाएर बस्न थालिन्। अशक्त र कमजोर हुँदै गएकी पोथी आजकल चारो खोज्न जान पनि सक्दिनथिन् । हरिकलाले केही दाना र पानी लगेर नजिकै राखिदिन्थिन् तर पटक्कै खाँदैन थिइन् पोथीले ।

एक्लोपनको महसुस गरेकी पोथी बचेरालाई सम्झेर बसेको आभास हुन्थ्यो । झन् झन् गल्दै गएकी थिइन् |यो माया भन्ने चिज पनि अनौठो हुँदो रहेछ | मायाको आभासले मात्र बाँच्ने हिक्मत दिन्छ कसैको माया छैन भने बाँच्ने इच्छाशक्ति मरेर जान्छ । माया ममता जीवित बस्तुलाई मात्र होइन निर्जीवित बस्तुलाई पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एक बिरुवा गमलामा रोपेर यत्तिकै छोड्यौँ भने त्यो हुर्किन्न सप्रिँदैन त्यसलाई स्याहारसुसार चाहिन्छ । मायालु स्पर्शले जीवित निर्जीवित दुवैलाई नयाँ जीवन दिन्छ ।

पोथी बिरामी थिइन् । यता हरिकला पनि उमेर अवस्थाले गल्दै गएकी थिइन् । एकदिन बार्दलीमा बसेर स्वामीको रुखतिर नजर पुर्याइन् हरिकलाले । त्यहाँ त चमत्कार पो भएछ बचेरा गुँडमा फर्केर आएछन सानोमा पोथीले जसरी चारो खोजेर ल्याएर चुच्चोबाट खुवाउँथिइन् अहिले बचेराले पोथीलाई त्यसैगरी खुवाएका थिए । बचेराको सामिप्याताले पोथी तङ्ग्रिँदै गएकी थिइन् । बाँच्नको लागि आफ्नाको माया चाहिने रहेछ । दाना पानी त पहिला पनि दिएकी थिइन् हरिकलाले तर त्यो आफ्नोपन सन्तानको सामिप्यता थिएन पोथीलाई । अहिले पोथी पूर्ण रुपमा स्वस्थ्य भएकी थिइन् |

पोथीका बचेरा आमा र गुँड सम्झेर फर्के जस्तै मेरा छोराछोरी पनि त्यै जहाजमा चढेर फर्किने दिन आउला कि नआउला भन्दै हरिकलाले आकासमा उडिरहेको जहाजलाइ हेरेर आसुँका ढिका तप्प झारिन् ।