
सुभदीकाे दृष्टिमा…
सुभदी कहिलेदेखि मेरो जीवनमा आइपुगी ?– त्यो मलाई अहिले राम्रो सम्झना छैन । मलाई यतिसम्म याद छ– मैले उसलाई भेट्दा सानी सिंगाने केटी थिई । मैले भर्खर एस एल सी पास गरेर स्कुलमा जागिरे हुन पुग्दा ऊ जीवनको गोरेटो कोर्न स्कूलमा पाइला टेकेकी थिई । कहिल्यै घर नछोडेकी आमाको काखमा खेलेकी सुभदी स्कूलको नौलो परिवेशमा निकै आत्तिएकी हुन्थी अनि म भर्खर विद्यार्थीबाट माडसा’व भएर दिनभरि जागिर खानुपर्दा निकै छट्पटाएको हुन्थेँ ।
सुभदी र मेरो लागि स्कूल निकै बेस्वादिलो उराठलाग्दो हुन्थ्यो । मैले अध्यापनमा आफूलाईअभ्यस्त बनाउन विद्यार्थीहरूसँग नै रम्न खोज्थेँ । भर्खर स्कूलमा पाइला टेकेका साना केटाकेटीहरूलाई पढाउँथेँ , उनीहरूका कुरा सुन्थेँ नचाउथेँ र नाच्थेँ । साँच्चै म उनीहरूको सामु आफू पनि केटाकेटी भएको थिएँ ।
सभदी किन मसँग नजिक भई त्यसको खासै कारण त थाहा छैन । उसको घर र मेरो डेराको बाटो एउटै थियो । प्रायः जसो सँगै स्कुल आउने जाने गर्दथ्यौँ । सुभदी म जस्तै दुब्ली पातली थिई । उमेरमा बाउ–छोरी भन्न नसुहाए पनि कसैकसैले सुभदीलाई मेरी छोरी भनिदिन्थे । नजानिँदो किसिमले ऊ मेरी छोरी बनी । अरुले भन्दाभन्दा मेरो मनले उसलाई छोरी मान्न थाल्यो ।
बिरानो शहरमा आफ्नो भन्ने सुभदी मात्र हो जस्तो लाग्थ्यो । स्कूलमा मात्र होइन बाहिर पनि सुभदी मसँगै हुन्थी ।
“यो त सरकै छोरी भएर जन्मिनुपर्ने, झुक्किएर हाम्रो घरमा जन्मिछ ।” उसका आमाबाले बारम्बार भन्थे ।
’म अब सरकी छोरी भएर जन्मिन्छु है ।’ सुभदीले बालसुलभ भावमा भन्थी ।
समय बगिरह्यो । यात्राहरू फेरिँदै गए सुभदीसँगै मेरो अध्ययन र अध्यापन तह पनि बढ्दै गयो सुभदी जत्री भए पनि सम्बन्ध उस्तै रह्यो । सुभदीले १० कक्षा पास गरेपछि मलाई समयको याद भयो । समय निकै बितिसकेछ । सुभदीले स्कूल छोड्दा मलाई नरमाइलो लाग्यो । सुभदीले स्कुलमा विदाइको अविर र माला लगाउँदा मलाई ऊ पराई घर जान लागे झैँ लाग्यो । साँच्चै त्यसदिन मेरो मन छोरीलाई अन्माएर होलीमा चढाएर पठाउन लागेको बाको भै थियो । मनभित्रभित्रै द्रवित थियो ।
मेरी छोरी सुभदी अब पराई हुने हो कि भन्ने अज्ञात भयले मन निकै आत्तिएको थियो ।
…
मेराे दृष्टिमा…
सुरुका केही दिन सुभदीलाई स्कूल जान दिक्क लागेपनि पछिपछि उसलाई स्कूल रमाइलो लाग्न थाल्यो । स्कूलमा उसले यौटा ’सर’ भेटाएकी थिई जो उसके बोली बोल्थ्यो । उसलाई कथा सुनाउँथ्यो, लेख्न पढ्न सिकाउँथ्यो अनि कहिलेकाही सँगै खेल्थ्यो पनि त्यो सर सुभदीकाे साथी बनेको झण्डै वर्षदिनपछि सुभदीले भन्न जानेकी थिई – “थन्दय थल ।” सुभदीको थन्दय थल अर्थात सन्जय सर सुभदीको मनमिल्दो मान्छे थियो । स्कूलमा सन्जय सुभदीको सर थियो । स्कुल छुटेपछि सन्जय साथी थियो ।
सुभदीलाई गाली गर्ने माया गर्ने पढ्ने सिकाउन बजार घुमाउने सन्जय नै थियो ।
सुभदीलाई चाहे स्कूलमा होस् या गाउँ टोलमा होस् साथीको जरूरत परेन अर्थात उसले साथी बनाउन सकिन ।
“सर जस्तो मान्छे साथी पाएपछि हामी किन चाहियो ?” सुभदीले आफ्ना साथीहरूका यस्ता वचनहरू सानैदेखि पचाउँदै आएकी थिई । सन्जय सुभदीको अबोधपनले गर्दा साथी बनेको थियो । सुभदी बाल्यकाल छोडेर चञ्चले किशोरी हुँदासम्म पनि सुभदीको साथी भइरह्यो ।
सन्जयले सुभदीलाई ’मेरो छोरी’ भने पनि सुभदीले उसलाई साथी नै ठानी । सुभदी कल्कलाउँदो बैंशमा टेकेको बेला युवा अवस्थाको सरलाई साथी जस्तो ठान्दा अरूहरूले धेरै कुरा पनि काटेका थिए होलान् । तर भगवानको कृपाले सुभदीका कानमा ती कुराहरू परेनन् । उसले सुनेकी भए त भन्ने मान्छेलाई काँचै निल्थी ।
समय बितिरह्यो । सुभदीले १० पास गरी स्कुलमा विदाई कार्यक्रम राखियो । सुभदीलाई लाग्यो अब सन्जय सरसँग टाढा हुनुपर्नेछ । स्कूल छाडेपछि सरले वास्ता नगर्ने पो हो कि भन्ने भय उसको मनमा उठिरह्यो । “आज मैले मेरो साथी गुमाउँदैछु ।” सुभदीको मनको कुनाबाट कतै यो आवाज निस्क्यो । साथी गुमाउनुपर्ने कुराले सुभदी स्तब्ध भई । उसको आँखाबाट बरर आँसु खसे ।
दश वर्षसम्म पढेको स्कुल छोड्नु परेकोले सुभदी रोई, उसले स्कुललाई खुबै माया गर्दिरहिछ – साथीहरूले लख काटे ।
…
हामीहरूकाे दृष्टिमा…
सुरुका दिनहरूमा उनीहरूको सम्बन्ध अनौठो लागेको थियो । हामीहरू कसैले फुल्याउन नसकेकी सुभदी सन्जय सर आएपछि आफै तह लागेकी थिई । सन्जय सर स्कुलमा नयाँ भएकोले गर्दा साना विद्यार्थीहरूसँग बढी समय बिताउँथ्यो । उसको यो व्यवहार नराम्रो ’लत’ नै बन्यो ।
सुभदी सानी छँदा त उनीहरूको सम्बन्धलाई स्वाभाविक मान्न सकिन्थ्यो तर सुभदी तरुनी बनिसक्दा पनि उनीहरूको सम्बन्ध ‘नजिक’ रहेको कुरालाई हामीहरूले कदापि स्वाभाविक मान्न सक्दैनथ्यौँ । सुभदी मेरी छोरी जस्तै हो भनेर सन्जय सरले बारम्बार हामीहरूलाई सुनाउँथ्यो । तन्नेरी सन्जय सरले तरुनी हुँदै गरेकी केटीलाई ‘मेरी छोरी’ भन्दैमा कहाँ पत्याउन सकिन्थ्यो र ?
सन्जय सरको आड पाएकोले सुभदीले हामीहरूलाई त पटक्कै नटेर्ने भएकी थिई । सन्जयसँग त अलिअलि डराएझैँ गर्थी तर हामीहरूलाई उसले गन्दै गन्दिनथी । सन्जयले ‘छोरी जस्तै’ भनेर हाम्रो आँखामा छारो हाल्न कोसिस गरे पनि उनीहरूले वास्तवमा अर्कै सम्बन्ध बनाइसकेका थिए ।
स्कूलमा त हजारौँ विद्यार्थी थिए नि, तर सन्जय सरले सुभदीको बारेमा बढी चासो किन राख्थ्यो भन्ने हामीहरूले नबुझेको हो र ? सन्जय र सुभदीले एक अर्कालाई प्रेम गर्थे । त्यही भएर त सँगै स्कुल आउने जाने गर्थे । सरले उसलाई घुमाउन पनि लैजान्थ्यो । आफ्नै विद्यार्थीसँग प्रेम गर्न कति लाज नलागेको हो ? हामीहरूले स्टाफरूममा बसेका बेलामा उसैको कुरा गर्थ्यौं ।
सुभदी राम्री थिई । ’सन्जयले जालमा राम्रै माछा फँसाएकै हो, है । आफू त उमेर ढल्केको मान्छे त्यस्तो चान्स कसरी पाउनु ?’
सुभदीले स्कुल छोडी । अब त सन्जय र सुभदीको बाटो खुल्यो । उनीहरूले बिहे पनि पक्कै गर्छन् उनीहरूको बिहेभोज मज्जाले खाइनेछ । अरु त ठिकै छ, तर सुभदीलाई म्याडम पो कसरि भन्ने होला ?
हामीहरु यही प्रश्नको उत्तर खोजिरहेका छौँ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

