बनवासा नेपालीहरुले निकै नै कारोबार गर्ने भारतीय बजार हो । त्यहाँ बजारको हरेक सामग्री नेपाली उपभोक्तालाई हुने गरी ल्याइएको हुन्छ ।

“जाने होइन ?”

एकाबिहानै साइकलको घण्टी बजाउँदै सडक छेउ उभिएर विनालाई लछु बोलाउँदै थिई ।

लछु बाँकी काम थन्काउँदै, “साइकलको साँचो खोज्दैछु, आएँ” भन्दै जवाफ दिन्छे ।

हरेक दिन बिहानै घरधन्दा सकेर बनवासा जाने नित्यकर्मजस्तै थियो बिना र लछुको । बिना र लछु मिल्ने साथी थिए र सँगै जान्छन् । बाटोको गाह्रोअप्ठ्यारो पनि सँगै झेलेका छन् । बिना र लछु मात्र होइन यस्ता सयौँ मानिस बनवासा पुगेका हुन्छन् । बनवासा नेपालीहरुले निकै नै कारोबार गर्ने भारतीय बजार हो । त्यहाँ बजारको हरेक सामग्री नेपाली उपभोक्तालाई हुने गरी ल्याइएको हुन्छ ।

बनवासाको बजारबाट दैनिक उपभोगको भन्दा महेन्द्रनगरका व्यापारीको आवश्यकताको सामग्री ल्याइपुर्याउने र सो बापत पाउने निश्चित रकमका लागि निकै ठुलो जोखिम पनि उठाउन पनि तयार भएर जान्छन् धेरै युवायुवतीहरु । तिनै सिमापारीबाट पैठारी गर्ने कार्यमा लागेका मध्येका नै हुन् बिना र लछु ।

प्रायः सीमानजिक बजार भएका अधिकांश ठाउँमा यस किसिमको कारोबार हुने गर्दछ । लछु र बिनाकै टोलका बेलु, नन्दा, पदमा, मैना, लाले,चन्द्र, हरि पनि बाटोमा भेटिन्छन् । बाटोमा धेरै भेटिएका हुन्छन् तर सबै आआफ्नै समस्यामा हुन्छन् । सबैको एकै लक्ष हुन्छ दुबै तिरका सुरक्षा र भन्सारबाट कसरी मुक्त हुने र सुरक्षित सामग्री पुर्‍याउने । बिना र लछु साथै जान्थे समस्याको सामाधान पनि खोज्थे ।

“विना तिमीहरु त जहिले पनि सुरक्षित पुर्‍याउन सक्छ्यौ मेरो त हिजो समातियो । ” बाटोमा जाँदै गर्दा चन्द्रेले भने ।

“हो भन्या हिजो नचिनेको प्रहरी रहेछ निकै जाँच गरिरहेको थियो, मैले त घरमा बिहे छ बिहाको सामग्री हो भनी निकालेँ । ” विनाले भनी ।

“सागरको बिहाको कार्ड ल्याउन भनेकाले मैले कार्ड देखाएँ, धन्न बचेँ ।” लछुले थपी ।

“हिजो त धेरैको समातियो। जनक र लालेको त लिलाम चढाउने भन्दै थियो अलि बढी पनि थियो सामान पनि” चन्द्रेले साइकल स्पिड बढायो।

“हामी पनि त उतै जाने हो चन्द्रे दाइ सँगै जाउँ न ।” लछुले भनी ।

यस्तै संवाद गर्दा गर्दै गड्डाचौकी नाका पुगिसकेका थिए ।

“दुई चार दिन अलि गाह्रो हुन्छ चिनजान गर्न पछि त ठिक भैहाल्छ्न् सानोतिनो कुरा गर्न पाए पनि हुन्थ्यो ।” चन्द्रेले निन्याउरो गरी भन्यो ।

“हुन्छ केही मिलाउन सकिन्छ भने कुरा बढाऊ है हाम्रा लागि पनि ” लछुले पनि साइकलको गति बढाई ।

“तिमीहरुले पारी त मिलाएका छौ, मेरो त त्याँ पनि समस्या छ ।” चन्द्रेले भन्यो ।

“त्यहाँ पनि फेरि रहन्छ्न् चिनेको भए त ठिकै हुन्छ ।” विनाले कुरा थपी।

बेलु,नन्दा,पदमा,मैना, लाले ,जनक ,हरि ,लाले नहर छेउमा भेटिए । सबै जनालाई हिजो निकै कडाइ जाँच गर्‍यो धौ धौ भयो भन्ने समीक्षा गर्दै थिए र भेट भयो । तिनले पनि हो मा हो थपे।

विनाको सामान एसएसबीले समात्यो। घरका लागि हो लैजान दिनुपर्‍यो भन्दै लाख बिन्ती गरी केही सीप चलेन । पचास भारतीय रुपिँया मागे त्यति दिएर त्यहाँबाट छुटकरा पाई ।

त्यस्तै लछुको पनि भएको थियो । तिनै चिनेका सिपाही सहयोग गर्दथे । “लछु आईडियाका सौका रिचार्जाले के आना” एक सिपाहीले भने ।

“रिचार्ज कि क्या वात है चाहे तो दील दे देति हुँ” लछुले जवाफ फर्काई ।

सिपाही मुस्कुरायो मात्र । हरेकसँग यसै गरी आवश्यक सामग्री मगाई राख्थे डिउटीका सिपाहीहरु । सबै जसो मगाएका हप्ता दुई हप्तामा ल्याइपुर्याउँथे। सिपाही फेरिरहन्थे नयाँ आउने सुरुमा कडीकडाउ गर्थे बिस्तारै चिरपरिचित हुँदै जान्थे ।

भारतीय बजारबाट नेपाल पुर्याउन छ ठाउँमा झमेला झेल्नु पर्थ्यो । हरेकमा विभिन्न बहानामा रकम असुल्ने काम हुन्थ्यो । कर्मचारीको पनि केही बाध्यता होला । राम्रो भन्सारमा जान निकै ठुलो सोर्स लगाएरै आउनु पर्थ्यो । मिलाएर भन्सार साल दुई साल बस्न पाए घर, घडेरी, गाडी जोडन सामान्य हुन्थ्यो ।

नाकामा हुने निकासी, पैठारीमा ठूलो ठूलो तस्करी पनि हुने गर्थ्यो । आक्कल झुक्कल गाडी समातिने लिलाम गर्ने गरिए पनि चिनिएकै ओहर दोहर व्यापारी निश्चित प्रतिशतमा काम गर्दथे । कसै गरी समातिएछ भने पनि लिलामबाट तिनी आफैँ त्यो माल सामान उठाएर पनि सुरक्षित पार्दथे । ससानो पसल थापी व्यवसाय गर्नु भन्दा निकै कमाइ हुन्थ्यो ओहर दोहर व्यापारमा । यो गड्डाचौकी नाकामा मात्र होइन देशका हरेक नाका भैरहने प्रक्रिया हो । भन्सार पुग्ने पियन नै किन नहोस् सुकिलो मुकिलो बनी हाल्छन् । भन्सारमा मालामाल हुन्छ नै ।

ससाना झोला,गुण्टा बोक्ने पनि धेरै हुन्छ्न् । तिनीहरुभन्दा मोटरसाइकल वाला पनि निकै संख्यामा हुन्छन् भने साइकलमा क्यारिङ्ग गर्नेको संख्या त धेरै हुन्छ । भन्सारमा पुलिसले रोकेर एक एक गर्दै रकम असुल्दाको दृष्यले हाम्रा बेरोजगारको हविगत प्रस्तुत गरिरहेको हुन्छ । गरिबी बेरोजगारीले यो बाध्यात्मक अवस्था सृजना गरेको हो । कुनै चिजमा पनि हामी आत्मनिर्भर हुन सकेनौँ । दैनिकी चलाउने गाँस, कपासका लागि परनिर्भर हुनु परेको छ ।

छिमेकीबाट नुन ल्याएनौँ भने अनिलो खानु पर्ने हुन्छ। लुकाई छिपाई ल्याउनु गैर कानुनी हो । चोरी तस्करी राम्रो विषय त होइन तर वैकल्पिक रोजगारीको अवसर बनेको छ । सिमा पारिको पैसा पनि अलि बढी ल्याएको सामग्रीको पनि मोटो आम्दानी दैनिक उपयोग्यसँगै सानोतिनो नुन तेल किन्न हुन्र कमाइ हुने भएकाले मरिहत्ते गरिरहेका हुन्छन् । नगर्ने भनिएको, प्रतिबन्ध गरिएको कुरामा बढी परिश्रम लागाउँछन् ।

सयौँको भिडमा बेलु, नन्दा, पदमा, मैना, लाले, चन्द्र, हरि पनि सामेल भएका हुन्छन् । जीवनका सुख दुखका कुरा साटा साट गर्दछन् । लछु, बिनाको भने अति नै गहिरो सम्बन्ध छ सम्बन्धलाई मर्नु जिउनु एकैभन्दा हुन्छ । हरेक कर्ममा सामूहिक समावेस हुन्छन् । चुनौतीको सामना गर्न नसके अवसर हात पार्न सकिन्न भन्ने मान्यतामा अडिक छन् । हरेकाे चुनौतीको डटेर सामना गर्छन् । जीवन संघर्ष हो हरेक पल संघर्षमय बनाउन सक्नु पर्छ भन्ने संघर्षको कथा बुझेका छन् । बेइमानको काम गरे पनि इमानदारी पूर्वक गर्नु पर्छ भनी लागिपरेका छन्।

बनवसा जान त कम्तिमा पक्की पुल छ तर नदी सिमाना भएका ठाउँमा तुइन, ट्युव, मुडा, चिण्णाको सहायताले सिमा कटाउनु पर्ने हुन्छ जुन आफैँमा जोखिमपूर्ण छ । त्यसैमा पारीपट्टिको हेपाह प्रवृतिले जहिले पनि दुख दिइरहेको हुन्छ । उनीहरुले भनेको भएन भने तर्दै गर्दाको तुइन चुँडाल्ने, तुइनमा चडेको बेसाहारालाई ढुङ्गा हिर्काउने । सामूहिक रुपमा बस्तिमा पसी ज्यादती गर्ने गरेका कैयौँ उदाहरण छन् । खुला सिमाको जोखिम आफ्नै किसिमको छ । हरेक आपराधिक गतिविधि खुला सिमामा हुने गरेका छन् । चोरी तस्कारी त निकै हुने गरेको हुन्छ ।

” चन्द्रदाइ बनवासामा जुम्लीका कम्बल छन्, ल्याउन सक्छौ ?” बिनाले बाटोमा कुरा सुरु गरी।

“हामी तिनै मिलिल्याउन कति दिन्छ्न् कुरा गर न ।” चन्द्रेले जवाफ फर्काए ।

“पानीपथ हरियाणाबाट बिल्टी गरी बनवासा गोदाममा राखेका छन् । कति दिन्छ्न् त्यो त कुरा गर्नु पर्ला।” लछुले थपी।

जुम्लाका मानिस निकै मिहेनती धेरै परिश्रम गरी व्यापार गर्ने । हिउँदतिर उनी कम्बल घर घर गई बिक्री गर्ने । बजार आउने हरेक उत्पादनलाई दूर दराज बस्तीमा पुर्याउँछन् । एकै परिवारका, मन मिल्ने, इष्टमित्रको समूह बनाई कुनै गाउँमा डेरा गोदाम बनाउने । त्यो सामग्री बेची सक्दासम्म त्यही गाउँमा घरघर पुगी व्यापार गर्ने गर्छन् ।

घुम्ति व्यापारी संसारभरि पाइन्छन् । अफगानिस्थानको काबुलका मानिस आएर नेपाल भारतका तराई भूभागमा बरफ, आइसक्रीम बेचे र बेच्न सिकाए । बनियाहरुले रुखको फेदमा पसल थापेर भए पनि व्यापार गरे र व्यापार गर्न सिकाए । सामूहिक रुपमा प्रत्येक मानिसमा व्यापारिक मानसिकता जुम्लीमा मात्र पाइन्छ। देशका हरेक स्थानमा भारतका हरेक सहरमा भारी बोकेर व्यापार गर्ने देखिए जुम्लीभन्दा फरक पर्दैन । अभावले युक्ति सिकाउँछ । जन्मदा खाने मुख लिएर मात्र जन्मदैन । पौरखी हात र बुद्धि पनि सँगै हुन्छ । भोकले कोही पनि मर्दैन कुनै न कुनै उपायले जीवन निर्वाह गरिरहेका हुन्छन् ।

बेलु,नन्दा,पदमा,मैना, लाले, हरि पनि लछु,चन्द्र बिनाको योजनामा सामेल हुने भए । जुम्लीका सबै कम्बल ल्याउने भए । नियमित साहुजीको सामग्री ल्याई पुर्याएपछि कम्बल ल्याउने भए ।अतिरिक्त समयको उपयोग गर्दै कम्बल ओसार्न लागे उनी कम्बलको उत्पादन देशभित्रै भएकाले भन्सार अलि बढी नै थियो । चोरबाटो रोजे कम्बल पैठारीका लागि समूहगत रुपमा लागे अरुहरुले निकाल्न सफल तर लालेका कम्बल समातिए । चोरी पैठारीको अभियोगमा समातिए पन्ध्रौँ दिनमा लिलाम हुनेभयो । लिलाममा किने पनि आफूले पाउनेभन्दा निकै बढी तिर्नु पर्यो ।

मारेका माछा खोला फेरि माछा मार्ने भन्ने भयो । सबैलाई ज्ञात थियो बुरा कामका बुरा नतिजा तैपनि रोजगारीको माध्यम भएको थियो । धेरैका घर परिवारबाटै वारिपारि गर राम्रै कमाइ हुन्छ भनेर नयाँ साइकल किनिदिने गरेका हुन्छन् । व्यापारीहरु पनि वारिपारिका समन्वय गरेका हुन्छन् । परिचय नहुँदासम्म नगदमा लैजानु पर्ने हुन्थ्यो ।चिनजान भैसकेपछि विश्वासका आधारमा सामग्री उपलब्ध हुने गर्थ्यो । धेरैको यही कामबाट उठिबास लागेको थियो । धेरै पटक समातियो लिलाम अरुले नै उठाउ त्यही गरी घर घरानाबाट तिर्नु पर्दा चौपट भएका पनि थिए ।

 

जस्तो सुकै कठिनाइ भए पनि लछु,बिना निरन्तर रहे । उतार चढाव पनि दिनचर्याका लागि अरु विकल्प पनि थिएन र निरन्तरता कायम राखे । विद्यालय, क्याम्पसका विद्यार्थीहरु, गाउँ बस्ती बेरोजगार युवायुवतीहरु बढी हुन्थे । धेरैले विकल्प खोजे पनि । वारिपारि गर्ने होइन तिनीहरुले ल्याएका सामग्री बेच्ने पसले बने । निकै जोखिमपूर्ण हुन्थ्यो । अवैध चिज थमाइदिन्थे, त्यही कारणले जेलमा पुर्याएको पनि छ । यसै कारण अस्मिता लुटाउनु परेका धेरै घटना छन् । हुन त लछु र बिनाले परिवारका अन्य सदस्य पनि जोडे । ल्याउने लैजाने बाटो, उपाय बताए ।

एक दिन चरेसको व्यापारीले चरसको झोला लछुलाई थमाए । लछुले चन्द्रलाई बाँडेर लैजान सम्झौता गरे । लछु चन्द्र अवैध सामग्री लगेर सिमापारि त पुगे, बनवासा बजार पुग्नु अघिको चेक जाँचमा समातिए। भारतीय पुलिस हिरासतमा राखियो । नैनिताल जेल चलान भयो । लछुको त्यो घटनाले बिनाले त्यो काम त्यागिन् । लछु र बिनाको परिवारका अन्य मानिसले बरु खेतीपाती गरे, खोलाछेउ बालुवा छान्ने तर उक्त कार्य नगर्ने घोषणा गरी आफ्नो इलम सुरु गरे ।

 

वारिपारि व्यापार गर्दै गर्दा यसो मन मिलेका साथीहरु खटिमा, नैनिताल, पुर्णागिरी घुम्न पनि जान्थे । कहिले साँझ फर्कने कहिले उतै बस्ने पनि गर्थे । शहर गई नयाँ चलेको फिल्म हेर्ने गर्थे। चक्रपुरमा, पुर्णागिरीमा ठुलोमेला लाग्थ्यो । मेला भर्न पनि जान्थे । पदमा, मैना, नन्दा उपचारका लागि बरेली पुगे । बरेली अलि ठुलै सहर थियो । बरेलीको लस्सी निकै चर्चित मानिन्छ । बरेली सहरको नाउँ लिने बितिक्कै दीनानाथकी लस्सी जो कोही पनि जान्दछन् । उपचारको काम सिध्याएर पदमा, मैना, नन्दा दीनानाथको लस्सीमा लस्सी पिउँदै “लछु, बिना,चन्द्रे त देखिँदैन कता गए” मैनाले थाहा पाएको रहेनछ त्यसैले सोधी ।

“थाह पाएर पनि नजाने जस्तो नगर ।” नन्दाले भनी ।

“कसम मलाई थाह भएनँ ।” मैनाले भनी।

“चन्दे र लछु…” पदमाले भन्दै गर्दा मैनाले कुरा काटी “लछु र चन्द्रे भागे ।”

“होइन लछु र चन्द्रे जेल गए बिनाले यो काम नगर्ने भनी छोडी ।” पदमाले थपी।

“ए त्यसो भएको रहेछ । गर्नै लायकको काम त होइन तर के गर्नु ।” मैनाले जोडी ।

सबैमा मौनता छायो । परिस्थितिले बाध्य पार्छ। थाहा पाउँदा पाउँदै थप जोखिम मोल्न लागाउँछ परिस्थितिले । कसैको रहर हुँदैन जीवनको महत्त्वपूर्ण क्षणलाई तस्करीमा बिताउन । नुन तेल तथा आधारभूत जीवनयापन कठिनाइ भएर विभिन्न विकल्प खोज्छ । काम गर्ने क्रममा गल्ती त हुन्छन् नै तर गलत काम नै गर्दा परिणाम त्यस्तै हुने गर्छ । समय परिस्थितिले नचाहँदा नचाहँदै पनि बाध्य भएर धेरै काम गर्नु पर्ने अवस्था आउँछ ।