“ए मोटी, कति खाएकी हो ? भूँडी फुट्ला ।”

म मोटीलाई कलेजको क्यान्टिनमा खाजा खाँदा प्रायः यसै भनेर जिस्काउने गर्थे । कलेज पढ्दा मेरी एउटी असाध्यै मिल्ने साथी थिई । उसको नाम प्रीति भए तापनि म उसलाई माया गरेर मोटी भन्थेँ । मोटी पनि मलाई माया गरेर काले भन्थी । हामी केवल विशुद्ध साथी मात्र थियौँ तर कलेजमा हामीलाई प्रेमिल जोडी भनेर जिस्क्याउँथे । हामीलाई त्यसको भेउ पनि थियो तर हामी वास्तै गर्दैनथ्यौँ तर एकदिन मोटी निकै हतास अनुहार लिएर कलेज आई । मैले उसलाई के भयो भनेर सोधेँ । अरे! मोटी त रुन पो थाली ।

मैले सोधेँ, “ए मोटी किन रोएकी ?” तर मोटी रातोरातो आँखाले मलाई हेर्दै रोइरही ।

मैले फेरि पनि सोधेँ, “ए प्रीति के भयो भन न ।”

मैले पहिलोचोटि होला उसको नामले बोलाएको ।

ए बाबा ! अब के चाहियो र ? मोटी डाँको छोडेर पो रुन थाली । मलाई अबचाहिँ पिर लाग्न थाल्यो, अरुले सुन्लान् भनेर ।

मैले मोटीलाई भनेँ, “भयो अब पुग्यो । अरुले सुन्छन् अनि देख्छन्, अब रुन बन्द गर ।”

त्यसपछि मोटीले आफूलाई सम्हाल्ने कोसिस गरी । तथापि मोटीको गलाबाट छिनछिनमा हिक्कहिक्क छुटिरहेको थियो । निकै बेरको मौनतापछि स्थिति केही सहज भयो ।

अब मैले भनेँ, “के भयो मोटी ? बोल न ।”

मोटीले अझै पनि रातै नै रहेको कर्के आँखाले मलाई हेर्दै भनी, “घरमा मेरो बिहेको कुरा चलेको छ, अब मेरो बिहे गर्दिने रे ।”

रोक्ने लाख कोसिस गर्दा गर्दै पनि मेरो हाँसो फुत्कियो । म बेस्सरी हाँसेँ ।

त्यसपछि भनेँ, “अनि यसमा रुन चैँ किन पर्यो ? हेर मोटी, जीवनमा ढिलोचाँडो सबैको एकपल्ट बिहा हुन्छ ।”

म हाँसेको र यसरी सम्झाउन खोजेको देखेर मोटीका आँखाबाट फेरि आँसु रसाए । ती आँसु, आँखाको डिलबाटा गाला, ओठ हुँदै चिउँडोबाट झरे । मलाई पश्चाताप लाग्यो, धत्तेरी किन हाँसेको होला म ?

अलि खिन्न भएर मैले भनेँ, “बिहे गरेपछि पढ्न पाइँदैन भनेर होला हैन तिमी रोएकी ?”

होइनको भावमा मुन्टो हल्लाई मोटीले ।

हँ, म सोच्न बाध्य भएँ, त्यसोभए मोटी किन रोई ? मैले अनुमान लगाउन छोडिनँ, घरपरिवारलाई छोड्नुपर्छ भनेर ऊ दुःखी भएकी हुनुपर्छ ।

मैले भनेँ, “हेर मोटी, छोरी मान्छे भएपछि यस्तै हो । बिहे गरेर अर्काको घर जानैपर्छ । केही समय त हो नि, त्यसपछि बानी लागिहाल्छ ।”

मोटीले रिसाएझैँ गरी मलाई पुलुक्क हेरी ।

आब्बुई! मलाई डर लाग्यो, मोटीले पहिले कहिले पनि यसरी हेरेकी थिइन । म असमञ्जस्यमा परेँ र मोटीको अनुहारमा हेरिरहेँ ।

मोटीले फेरि पनि मलाई खाउँलाझैँ हेरी अनि भनी, “म अरु कुराले होइन तिमीलाई छोड्नुपर्ला भनेर रोएकी हुँ ।”

मलाई भाउन्न होलाझैँ भयो । मैले केही विचार गर्नुभन्दा पहिले नै मोटी उठेर हिँडिसकेकी थिई । कक्षाका सबैजना वाल्ल परेर मोटी गएको हेर्दै थिए । मोटी फटाफट हिँडेर कक्षाको ढोका पार भई । अब सबैका आँखा मतिर थिए । उनीहरु वाल्ल परेर मतिर हेर्दै थिए । मैले आफूलाई सम्हालेँ, केही नभएजस्तो अभिनय गरेँ । तर जिउमा हज्जार भोल्टको करेण्ट लागेझैँ भइरहेको थियो । म चुपचाप केही नभएझैँ गरी बसिरहेँ । मनमा एकपछि अर्को गर्दै विचारका बाढीहरु आइरहे ।

मोटीले किन मलाई यसो भनी होली ?

आफैँलाई प्रश्न गरेँ, कतै मोटीले मलाई माया त गर्न थालिन ?

मलाई चक्कर लागेको अनुभव भयो । कलेजबाट हिँडे घरतिर, बाटोमा मोटीको कुनै चिन्ह थिएन । घरमा पुगेर सोच्न थालेँ, हामीबिच साँच्चै माया छ र ? हत् ! यो कदापी सम्भव छैन ।

मोटीसँग बिताएका हरेक पल मेरो मस्तिष्कमा नाच्न थाले, म ती क्षणहरुमा घोत्लिन थालेँ र कताकता उसको मप्रतिको व्यवहारमा मायाको झल्को रहेको अनुभूत गर्न थालेँ । अरे ! मैले त कैले यस्तो सोचेकै थिइनँ । दिनभर नुन खाएको कुखुराझैँ झोक्राइरहेँ, घरमा सञ्चो भएन भनेर ढाँटे । बेलुकी खाना खान पनि मन लागेन, त्यही कुरा दिमागमा खेलाउँदै खेलाउँदै खेलाउँदै कतिबेला निदाएछु पत्तै पाइनँ ।

सपनामा मोटीको बिहे भएको, मोटी रुँदैरुँदै बिदा भएको अनि मोटीलाई बिदा गरिसकेपछि मन भक्कानिएर आएको, आफूलाई एकदमै एक्लो महसुस भएको अनि मोटी क्षितिजबाट पार भइसकेपछि मनभित्रैबाट अब म मोटीबिना बाँच्न सक्दिनँ भन्ने आवाज आएको र एकदमै छटपटाहट भएपछि झसङ्ग ब्युँझेछु ।

ओहो ! पसिनाले सबै शरीर निथ्रुक्क भिजेछ, सास घाँटीमै अड्किएझैँ भइरहेको थियो, मन अत्यन्तै व्यग्र भएको थियो । त्यसपछि निदाउन सकिनँ, अब मैले आफूलाई मोटीबिना एक्ल्याएर सोच्न थालेँ, लौन ! खै कति बेलादेखि हो, ऊ त मेरो छाया पो बनिसकिछ । ऊबाट अलग्गिएको म, म होइन रहेछु, साँच्चै नै मोटी त मेरो पर्याय बनिसकिछ । ऊबिनाको मेरो जीवन जीवन नहुने भो । म सन्न भएँ, अब के गर्ने ? हत्त न पत्त मोबाइल निकालेँ, फोन डायल गर्न आँट आएन । मोटीलाई म्यासेज गरेँ, आई लभ यु मोटी… म तिमीबिना बाँच्न सक्दिनँ ।