‘एकपटक भए पो माफ दिनु, आज माफ दियो भने भोलिपल्टदेखि फेरि सुरु हुन्छ गफको जात्रा । कैयौँ महिलाहरू खेलौना बन्छन् बुढाका ।’ ती महिला झन् कड्किइन् ।
‘हेर केटा हो ! यौवन जीवनमा फेरि फर्केर आउँदैन । प्रकृतिले दिएको जीवनको सुनौलो आयाम हो यौवन । म बूढो भएर पनि यौवन सम्झेर अझै थुक निल्दैछु’ बरबोटे कान्छा बाले उचाले केटाहरूलाई ।
केटाहरू भन्ने गर्थे बालाई ‘बा उहिलेको जमानामा घ्यू खाएको बल अहिले पनि निकाल्दै हुनुहुन्छ । हामी पानी पिएर घ्यू खाएको सम्झन्छौँ अनि कहाँ सक्छौँ तपाईँसँग हामी ।’
गाउँका उरन्ठेउला घरमा काम नहुने केटाहरू बरबोटे कान्छा बाको गफ सुन्न सधैँ बरबोटमुनिको चौतारोमा जम्मा हुन्छन् । बैंशका कुरा गरेर कहिले नथाक्ने बरबोटे कान्छा बा आफू पनि भए नभएका उरन्ठेउला कुरा गरेर हँसाउने गर्थे । केटाहरू पनि बाको कुरामा निकै रमाइलो मान्थे र बासँग गफिनकै लागि घरको काम छाडेर बरको रुखमुनि चौतारोको सियालमा जम्मा हुन्थे ।
बरको रुखसँगै बाको घर भएकोले बरबोटे बा भनेर गाउँमा चिनिएका दुर्गन्ध काजीको हैसियत केटाहरूले पाजीको जस्तो बनाइदिएका थिए । यो जमानामा पुराना कुरामा बढी विश्वास गर्ने र समाजमा आफ्नो स्थान कहाँ पुगेको छ भनेर खुट्टयाउन नसक्ने बरबोटे बा आफ्नो बैंशमा अहिलेको कुराले दुर्गन्धित भएर बसेका थिए भन्न कुनै गाह्रो हुँदैन थ्यो । फेरि उनको नाम पनि दुर्गन्ध काजी । भनौँ जस्तो नाम छ उस्तै काम पनि गरिरहेका छन् समाजमा ।
गाउँको अभिभावकीय भूमिकामा रहेर काजीकै स्थानमा बस्नु पर्नेमा बरबोटे बा आफ्नै व्यवहार र कामले नाममा फोहोर दलेर बसेका छन् । जमाना अनुसार बैंशको कुरामा रमाउन मात्र जाने बूढाले । कुनै समयमा बिए पास गरेर शिक्षण पेशामा रमाएका बरबोटे बाले यौवन सम्हाल्न नसक्दा पेशाबाट हात धोएर बस्न बाध्य भए । बैंशमा उनको चकचकीको बयान गाउँघर अड्डा अदालत सबैतिर फिँजिएको थियो । स्कूलतिर त अझ अहिलेको भाषामा भन्ने हो भने ‘भाइरल’ नै भएका थिए बा । भनौँ उनी भाइरल बा भनेर पनि चिनिएका थिए जिल्लामा । बरबोटे वा गाउँघरमा प्रचलित नाम थियो भने भाइरल बा जिल्लाले चिन्ने नाम थियो उनको ।
बाको बैंशको बयान गरेर साध्य नै थिएन । लरक्क परेको घोर्ले स्यालजस्तो जुल्फी ढल्काएर मगमग बास्ना आउने तेल दलेर सुहाउँदो लुगामा सजिएर बाटोमा हिँड्ने मानिस पनि मख्ख पर्ने गरी हिँड्थे । बाटोमा अपरिचित महिला हिँडेको भेटाएमा ‘आहा यति राम्री बहिनीको घर कता पर्यो होला ?’ भनेर परिचय गर्न अघि बढ्थे । परिचय गरेर मात्र हुँदैनथ्यो उनलाई । अनेक प्रकारका उट्पट्याङ कुरा गरेर बोल्नु पर्ने उनको आदत थियो । कतिपयले त बालाई चड्कन चिउराको खाजा खुवाएका पनि थिए, यस्तै उट्पट्याङ कुराले गर्दा । तर पनि बाले चेतेका थिएनन् । असी पुगेर बसी खाने उमेरमा पनि अझै दोबाटो कुरेर भेटे महिला नभेटे उरन्ठेउला केटाहरूसँग भए पनि उट्पट्याङ कुरा गर्न छाडेका छैनन् ।
घुमन्ते विद्यामा चारसय बीस मानिएका बालाई एक ठाउँमा महिलाहरूले सारी चोलो लगाइदिएर घुमाए पनि । तर बाले यो कुरालाई जीवनमा गरिने रमाइलोको संज्ञा दिएर आफूलाई मनोरञ्जनको साधन बनाएकोमा महिलाहरूलाई धन्यवाद दिएर टन्न जाँड पिए । अनि फलाक्न थाले र खनिए ती महिलाहरू उपर ।
घरमा श्रीमती छोराछोरीले बालाई प्रहरीमा लैजान मात्र बाँकी थियो । बाको चर्तिकलाले घरमा सबै आजित थिए । कति दिनसम्म त बालाई घरमा खाना पनि पकाएनन् । तर पनि थाकेनन्, हारेनन् बा कसैसँग । कुकुरको पुच्छर बाह्रै वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै रहे झैँ बालाई जति सुकै तर्साए पनि कार्वाही गरे पनि स्वभाव र बानी व्यहोरा त्याग्न सकेनन् । यो उमेरमा पनि उनी बैंसको ऐस सम्झेर पुरानै बैंसमा आफू भएको सम्झिरहे ।
एकदिन एउटा उरन्ठेउलाले बालाई प्रश्न गर्यो, ‘बाले बैंसका धेरै कथा सुनाउनु भयो तर बैंसमा ऐस गरेको कथा भने सुनाउनु भएन ? अब त्यो पनि सुनाउनु हुन्छ कि ?’
बालाई उरेन्ठेउलाले जिस्क्याएझैँ लाग्यो र जवाफ दिए ‘मेरोजस्तै बैंस तिमेरुमा पनि आएको छ । यो उमेरमा त मैले धेरै थोक गरेको थिए तर तिमेरु पानी मरुवा रहेछौँ, म बुढाको गफमा रमाएर मात्र बस्छौँ केही गर्न सकेनौँ ।’
बाको कुरा सुनेर उरन्ठेउलो निरुत्तर भयो । निलोकालो अनुहार लाएर बस्यो । बाले चोटिलो जवाफ दिएपछि त्यहाँ जम्मा भएका अरु पनि बोल्न सकेनन् । तर बाले भने धेरै कुरा बोले । बैंसलाई प्रयोगमा ढाल्न खप्पिस मानिएका बा गाउँमा धन सम्पतिमा समेत अरुभन्दा कम थिएनन् ।
बाको अर्को एउटा बानी राम्रो थियो त्यो के हो भने अध्ययनशील हुनु । घरमा फुर्सदको समयमा बा पुस्तक पत्रपत्रिका पढ्न ध्यान दिन्थे । देश विदेशका खबर होस् वा अन्य नयाँ कुरामा उनको विशेष रुचि थियो । गाउँका उरन्ठेउला केटाहरूलाई बाले धेरै पटक ‘यो उमेरमा केही गर मसँग इत्तरिएर नबस विदेश जाओ कमाएर घर सम्हाल’ भन्ने शिक्षा पनि नदिएका होइनन् । तर कसैले कानमा बतास लाएनन् । बाको कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाइदिए ।
बाले दिएको अर्ती उपदेशमाभन्दा बढी जिस्किनमा ध्यान दिन्थे उरन्ठेउला केटाहरू । आफू बैंसले बिग्रिए पनि आफ्नो संगत्मा परेकाहरू कोही नबिग्रिउन भन्ने सोच चाहिँ बाभित्र थियो । त्यसैले केटाहरूलाई बा पटक पटक भनिरहन्थे आफ्नो गरी खाओ । यो उमेरमा केही गर । विदेशतिर गएर भए पनि कमाएर पठाओ बा आमालाई, यसरी बेकामे भएर नबस भनिरहन्थे ।
बा केही दिन बरको रुखमा आएनन् । गाउँका केटाहरू आउँथे । बा आउँछन् र रमाइलो बैँसालु गफ गरेर समय कटाउँला भन्ने ध्येयले आउने केटाहरूमात्र आ आफैँमा गफिन थाले । कैयौँ दिन भयो बूढा बरको चौतारोमा देखा परेनन् । केटाहरूले खोजी गरे बाको । घरमा गएर सोधे ‘बा कता हराउनु भयो देखिनु हुन्न त ?’ भनेर ।
बाको घरका मान्छेले हामीलाई थाहा छैन भने । भन्न हुने कुरा थिएन र थाहा छैन भन्ने जवाफ दिए । बा पल्लो गाउँकी एक महिलालाई लिएर सहरको सयरमा निस्केका थिए । घरका परिवारलाई पनि तीन दिनपछि मात्र यो कुरा जानकारी भएको थियो । बूढाको बुढेस कालको बैंस पनि अचम्मको थियो । अरुलाई जे जस्तो शिक्षा दिए पनि आफू भने आफ्नै पारामा र बैशको जोश निकालेर बुढेस कालको जीवन यापन गरिरहेका थिए । बेला मौकामा बा केही दिन हराउँथे । बा हराए पनि घरमा चासो हुँदैनथ्यो । बादेखि वाक्क दिक्क भएका थिए घरका सबै ।
बा निकै दिनपछि बरको चौतारोमा देखा परे । बा हराएपछि गाउँका उरन्ठेउला केटाहरू पनि चौतारोमा भेला हुन छाडेका थिए । सुसेला काढ्न सिपालु बा चोतारोमा कोही आएनन् भने सुसेला काढेर भेला हुन सूचना दिन्थे ।
बाले सुसेला काढेको केही छिनमा केटाहरू र अन्य मानिसहरू चौतारोमा भेला भए । भेला हुने मध्ये सकलसिंहले बालाई धेरै दिनपछि देखेकोले सोध्यो ‘बाले त सम्पति जोड्नु भयो रे भन्ने हल्ला चलेको छ गाउँमा के हो कुरो ?’
सकलसिंहको कुरा सुनेर बा झोक्किए ‘हल्लाको कुरा त धेरै हुन्छन्, यहाँ तिमीले देखेको त होइन नि ?’ सकलसिंहले नम्र हुँदै भन्यो ‘हल्लैको कुरा हो बा मैले देखेको होइन । तै पनि कुरा बुझौँ भनेर सोधेको नि !’
चौतारीमा जम्मा भएका अरुले पनि हामीले पनि सुनेको हो भने । बाले हाँस्दै भने ‘हेर साथी हो मन र तन मिलेपछि उमेरले छेक्दैन । बेलामा घ्यू खाएको थिए र पो अहिले पनि म बीस वर्षे तन्नेरीभन्दा कम छैन । बाका कुरा सुनेर सबै गलल हाँसे । आखिरी सकलसिंहले भनेको कुरा प्रमाणित भयो । यतिमात्र होइन बाको यो कुराले अब गाउँमा निकै चर्चा पाउने भयो । किनभने चौतारोमा जम्मा भएका मध्ये केही मानिसहरू हावा थिए । तीललाई पहाड बनाउन सिपालु कुरा कर्मीहरू समाजमा कुनै बेला अधर्मी र बेकामी भएर निस्कन्थे । भनौँ कुरा कम्पनीका महाप्रबन्धक हुन लायकका माइक नचाहिने माइकलालहरू थिए ।
बा उमेरले समाजमा सबैको बा भए पनि कामले भनौँ वा व्यवहारले बा हुन सकेनन् । बाको मुखबाट कुरा खुस्किसकेको थियो । बैश र यौवनका कुरामा सधैँ अगाडि हुने बाले यो उमेरमा पनि घरका जहान परिवार सम्झेर कुकर्मतिर लाग्नु हुन्न भन्ने सोंच राखेनन् ।
सकलसिंहले बालाई पुनः प्रश्न गर्यो ‘बा तपाईँ सुरुमा कसरी बैंस र यौवनको खेलामा झोला बोकेर हिँड्नु भयो ?’
सकलसिंहको प्रश्न नसकिदैँ आ गर्दा अलङ्कार बुझ्ने बाले जवाफ दिए, ‘संगत र हिम्मत चाहिन्छ बुझ्यौँ । तिमीहरू पानी मरुवा हौँ केही गर्न नसक्ने । छोरो भएर जन्मेपछि मौकामा हिरा फोर्न सक्नु पर्छ । तिमीहरू त नामर्दजस्तै छौँ के कुरा गर्नु र !’ बाको कुराले सबैको मुख बन्द भयो । बोली सक्नु भए पो बोल्नु बाका अगाडि ।
चौतारोमा बस्दा गाउँका उरन्ठेउला केटाहरूलाई जिस्क्याउन र उच्क्याउनमै बढी समय बिताउने बाका बारेमा गाउँमा गाँइगुँइँ कुरा चल्न थाल्यो । बाले गरेका विभिन्न काला कर्तुतहरू यतिबेला गाउँमा निकै चर्चाको विषय बनेको छ । आफ्नै गाउँमा गरेको केही बद्मासीहरू एक एक गर्दै बाहिर आउन थालेको थियो ।
यौन हिंसा, मिटर ब्याज, देहव्यापार, भ्रष्टाचार लगायतका कैयौँ विषयमा गाउँलेहरू बादेखि आक्रोसित भएका थिए । त्यसमा महिलाहरू त झन् बढी आक्रोसित बनेर उजुरी गर्ने तरखरमा थिए ।
चौतारोमा बा लगायतका केही मानिस बसिरहेको समयमा पल्लो गाउँकी महिला आएर बासँग भनिन्, ‘तपाईँ यो उमेरमा आएर छोरी चेलीसँग यौवनका कुरा गरेर समाज बिगार्ने ? अब हामी वल्लो पल्लो गाउँका महिलाहरू मिलेर प्रहरीकोमा उजुरी हाल्छौँ ।’
चौतारोमा भेला भएका सबै छक्क परेर ती महिलाको कुरा सुनिरहे । उता बालाई महिलाको कुराले छट्पटी भयो र भने ‘हो मैले केही गल्ती काम गरे हुँला, बोले हुँला त्यसका लागि म बूढो मान्छेलाई माफी दिनु पर्छ एक पटकको लागि फेरि यस्तो गर्दिनँ ।’
‘एकपटक भए पो माफ दिनु, आज माफ दियो भने भोलिपल्टदेखि फेरि सुरु हुन्छ गफको जात्रा । कैयौँ महिलाहरू खेलौना बन्छन् बुढाका ।’ ती महिला झन् कड्किइन् ।
चौतारोमा भेला भएका मध्ये सन्तलाल बोल्यो ‘बा तपाईँ त गाउँको सबैभन्दा जेठो बाठो बूढो पुरानो मान्छे, सबैको अभिभावक भएर समाजमा नपच्ने घृणित काम गरेर बाँच्नुको कुनै सार भएन, कसरी मुख देखाउन सक्नु भएको समाजमा ।’
सन्तलालको कुराले बाको होस् उड्यो । ठाउँको ठाउँ बा निलो कालो भए । केही बोल्न सकेनन् र बसेकै ठाउँमा खुइय खुइय गर्दै ढल्किए ।
चौतारो मै बसेको उरन्ठेउलो जीवनले पनि सन्तलालको कुरामा सही हान्यो ‘हो नि यस्तो बूढो मान्छे भएर हामीलाई उच्क्याएर बिगार्ने गफ बाहेक अरु केही जान्या होइनन् । सधैँ बैंसका कुरा, घर बिगार्ने भाड्ने कुरा, कसैलाई न आएको बैंस बालाई नै आएको ।’
चौतारोमा भेला भएका अरुले पनि हो मा हो मिलाएपछि त बा को बोल्ने ठाउँ नै रहेन ।
‘म त बालाई जानकारी दिन आएको उजुरीका बारेमा’ भन्दै ती महिला आफ्नो बाटो लागिन्।
बा ढल्किएकै ठाउँमा असिनपसिन भए । के गरौँ, कसो गरौँ, कहाँ जाउँ भयो बालाई । चौतारोमा भेला भएकाहरू एकापसमा मुखामुख गर्न थाले ।
बा केही समयपछि जुरुक्क उठे र हिँडे घरतिर । चौतारोमा बस्नेहरू सबै त्यही थिए । कसैलाई म गए पनि भनेनन् । अरुबेला ल है केटा हो म त हिँडे घरतिर भनेर जाने बा आज त्यत्रा मानिसका अगाडि आफ्नो बेइज्जत भएको ठानेर हो वा किन हो ? उठेर चुपचाप घरतिर लागे ।
उता गाउँ वरपरका पीडित महिलाहरूले बालाई विपक्षी बनाएर प्रहरीमा उजुरी हालिसकेका थिए । प्रहरीले उजुरी दर्ता गर्नु भन्दा पहिले उजुरीका बारेमा तथ्य कुरा बुझ्यो । उजुरीमा उल्लेखित व्यहोरा कसैलाई दुःख दिने वा प्रतिशोध साँध्ने नियतले लेखिएको हो होइन एकिन भएपछि प्रहरीले बालाई पक्राउ गर्न प्रहरी पठायो ।
बालाई विपक्षी बनाएर प्रहरी कहाँ सातवटा उजुरी दर्ता भएका थिए । सातैवटा उजुरीको निवेदक महिलाहरू नै थिए । यतिमात्र होइन बाका बारेमा मानव अधिकार आयोग, महिला आयोग, स्थानीय महिला अधिकार कर्मी, स्थानीय निकायको न्यायिक समिति लगायतका धेरै ठाउँमा उजुरी परेको थियो । उजुरी परेका सबै ठाउँबाट बाको खोजी भयो । यता प्रहरीले पनि बालाई खोजी गरिरहेको थियो ।
आखिर बा पक्राउ परे । प्रहरी कार्यालयको ठिङ्गुरामा बाले कैयौँ रात काट्नु पर्यो । घरबाट बालाई खाना त परै जाओस् भेट्नसमेत कोही आएनन् ।
हिरासतमा ’यो सबै मेरो बैंस र यौवनको खेला हो कर्मअनुसारको फल पाइन्छ भन्थे यही त होला नि‘ भन्ने सोचमा थिए बा । हुन पनि बा धेरै भाइरल भएका थिए पछिल्लो समयमा । उनको बैंस र यौवनका कुरा बाहिर नआएको भए बा सायद प्रहरी कार्यालय जानु पर्दैनथ्यो होला । ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ भन्ने उखानलाई चरितार्थ पारे बाले । जीवनको उतरार्धमा आएर मति बिग्रिएपछि कसको के पो लाग्दो रहेछ र ! बैंसमा पनि के के गरे होलान् भाइरल भए होलान् तर यो उमेरमा बाको बुद्धिको भाँडोमा बिर्को लागेकोले यो गति भोग्नु पर्यो ।
प्रहरीले अदालतबाट म्याद थप्दै अनुसन्धान गर्दै थियो । ठिङ्गुरामा बा धेरै दिन बसे । घर परिवार जहान छोराछोरी सबै सम्झिए भेट्न आओ भनेर घरमा खबर पनि पठाए, प्रहरीले पनि बाको घरमा खबर पठायो तर बाका आफ्ना भन्ने कोही पनि त्यहाँ उपस्थित भएनन् ।
प्रहरीले सातवटा उजुरीका बारेमा बासँग पटक पटक बयान लियो । बाले ‘म बूढो मान्छे कहाँ त्यस्तो काम गर्छु र’ भनेर टारेका थिए ।
प्रहरीले तपाईँले केही गरेको छैन भने उजुरी किन पर्यो त ? भन्ने जिज्ञासा राख्दा बा ले ‘कुनै बेलाको रिसबी थियो होला’ भने ।
प्रहरीसँग बाको निकै बेरसम्म सवाल जवाफ भयो । तर बाले आफू जोगिन सही कुरा भनेनन् । प्रहरीले उजुरी कर्ताहरूसँग पनि बाले उजुरीका बारेमा इन्कार गरेको कुरा गर्दा बाका अगाडि नै ‘यो बुढेस कालमा बैंसको जोस देखाइहाल्यौँ अहिले होइन भन्छौँ’ भन्दै बालाई कुटौलाझैँ गरी झम्टिए ।
बा पनि कडकिए ‘मैले मनपरि गरेको के प्रमाण छ, एउटा कागजमा निवेदन लेख्दैमा हुन्छ ? खै के छ ? प्रमाण र साक्षी देखाऊ ?
हुन पनि उजुरीकर्ताहरूले बिना प्रमाण नै ठाडो उजुरी दिएका थिए । तर बालाई बयानका क्रममा पछि प्रहरीले गलायो र बाले आफूले गरेको कर्तुत स्वीकार गरे । प्रहरीले मुद्दा अघि बढायो ।
अदालतमा बयानका क्रममा भने बाले पहिलेझैँ आफू निर्दोष रहेको र कुनै रिसवीका कारण आफूलाई फसाउन यो नाटक रचिएको बयान दिए ।
दुई दिनपछि अदालतले बा निर्दोष भएको फैसला गर्यो । बाले खोजेको यही थियो । बा अहिले चौतारोमा पहिलेझैँ गफ हाँकेर जीवन यापन गरिरहेका छन् । उजुरी कर्ताहरू भने आफूहरू अन्याय र यौन हिंसामा परेको दाबी गरिरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।