आज ठ्याक्कै दुईहप्ता बितिसक्यो, रेश्माको मोबाइलमा म्यासेज टोन नबजेको । एताबाट फोन गर्छिन् कुनै रेस्पोन्स छैन, ह्वाट्सएपमा ब्लक छ । नबोले पनि उताबाट मेसेज त आउला कि भन्ने आशा गर्यो तर त्यो पनि छैन। उनको शरीरमा कुनै फुर्तीपन पनि छैन । करिब २० वर्षदेखि यस्तो कुनै दिन पनि भएको थिएन ।

दुईहप्ता अगाडिसम्म रेश्मा र सम्पादकज्यू बिहान बेलुकै बोल्ने गर्थे, सम्पादकज्यू मिटिंगमा बिजी हुँदा त के, बेस्सरी पिसाबले च्याप्दा पनि रोकेरै भए पनि रेश्माको मेसेजको रिप्लाइ गर्थे । चुम्मनवाला र लभवाला इमोजी पठाइराख्थे ।

यसो हुनाको कारण थियो, रवि लामिछानेको पत्रकार सम्मेलन । युट्यूबमा रविको पत्रकार सम्मेलनको भिडियो हेर्ने बितिक्कै रेश्माको सासै रोकिएर आएको थियो । जीवनभर चुपचाप घरधन्दा गरेर, बालबच्चा हुर्काएर बसेकी सम्पादकनी भाउजु कतै आफ्नो श्रीमानको मोबाइल बोकेर रविको अफिसमा त पुगिनन् ? कतै हाम्रो सम्बन्धको बारेमा थाहा भएर फोन नआएको पनि हुनसक्छ । अरु त के नै हुनसक्ला र ? यस्तै अनेक कुराहरु तर्कना आइरहेका थिए । जे सुकै भए पनि आफ्नो जीवनकै सबैभन्दा नजिकको मान्छे पीडामा छन् भन्ने चाहिँ पक्का नै थियो ।

फेरि अर्को मनले रेश्माले सोचिन्, म पनि त उसकी एउटी प्रेमिका हुँ । मैले पनि त माया गर्थें , अब हाम्रो प्रेम चाहिँ के हुन्छ होला ? पत्रकारिता पनि के हुने हो ? मनमा अनेक तर्कनाहरुको ज्वारभाटा नै चल्न थाल्यो । सोच्दा सोच्दै उनी सम्पादकज्यूसँग चिनजान भएका ती दिनसम्म पुगिन् ।

हुन पनि रेश्मा उहिल्यै गाउँबाट त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर गर्न भनी काठ्माडौँ आएकी थिइन् । केटी साथीहरुसँग कोठा सेयरिंग गरेर बस्थिन् । खानलाई चामल तरकारी गाउँबाटै ल्याए पनि डेरा भाडा तिर्न निक्कै मुस्किल थियो । जागिर कतै पनि नपाइने । पढिसकेर पनि कतै जागिर मिल्छ नै भन्ने ग्यारेन्टी पनि थिएन । कुनै सपना पनि थिएनन् । गाउँघरमा अरु केटीहरुले जस्तै कि त पढाइ, कि त बिहेमध्ये एक रोज्दा उनी पढ्नतिर लागेकी हुन् । बिए पढिसकेर बिहे गर्ने सर्तमा उनी काठ्माडौँ आएकी थिइन् । त्यसै बेलामा सम्पादकदाजुको पत्रिकाले रिर्पोर्टर, विज्ञापन संकलक र टाईपिस्ट मागेको विज्ञापन गरेको रहेछ। अनुभव नभए पनि रेश्माले यसै के रहेछ त भनेर निवेदन हालिन् ।

अन्तर्वार्तामा उनी छानिइन् । के कारणले र कुन योग्यता क्षमताले उनी छानिइन् भन्ने कुरा उनले अहिले सम्म पनि भेउ पाएकी छैनन् । जीवनमा छोरीमान्छे पनि पत्रकार हुन्छन् भन्ने कुरा उनलाई थाहासम्म थिएन । सबैभन्दा अनौठो कुराको अनुभूति भयो । शिक्षक, कलाकार , प्रहरी वा लोकसेवा लडेर सरकारी सेवामा महिलाहरुले जागिर खान सक्छन् भन्नेसम्म त उनलाई थाहा थियो तर पत्रकार ? सुन्दै डरलाग्दो पेशा, कसरी गर्ने होला ? पहिलो दिन डराउँदै डराउँदै पत्रिकाको अफिसमा पुगिन् ।

परिचयपत्र बनाउने काम भयो, रिपोर्टर रेश्मा मल्ल ठकुरानी । सम्पादकले रिपोर्टिंग गर्न जाँदा यो अनिवार्य लगाउनु भनेर हातमा थमाइदिए। अनि दोस्रो दिन बिहान नौ बजे नै रेश्मा अफिसमा पुगिन् । सम्पादकले रिपोर्टिंगका लागि दुई ठाउँमा खटाइदिए ।

एउटा जावलाखेलको स्टाफ कलेजमा हुने १२ बजेको पत्रकारसम्मेलन र त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेपमा ) हुने ४ बजेको पत्रकार सम्मेलनमा को को वक्ताहरुले के बोल्छन् सबै कापीमा टिपेर ल्याउने अनि अफिसमा बसेर समाचार लेखेर टाइप गर्न दिने । रेश्मा अलमल्ल परिन् । न त त्यो स्टाफ कलेज कहाँ पर्छ भन्ने नै थाहा छ न त कुन बस कहाँ जान्छ भन्ने र रुट नै थाहा छ। मानिसहरुलाई सोधिखोजि गर्दै बल्लतल्ल स्याँ फ्याँ गर्दै कार्यक्रम स्थलमा पुगिन् । तर अब रिपोर्टिंग भनेको के हो ? कसरी गर्ने भन्ने नै थाहा थिएन । मान्छे देख्दा थुरथुर काँप्थिन् रेश्मा ।

कार्यक्रम हलमा पछाडिको कुर्सीमा गएर डराउँदै बसिन् । अरु मिडियाका पत्रकारहरुले जस्तै कलम र कपी निकालेर लेखे जस्तो त गरिन् तर उनले बोलेको बुझ्दै बुझिनन् । वक्ताहरुको पुरा नाम र पद पनि राम्रोसँग टिप्न सकिनन्। त्यो कार्यक्रम सकियो।

अनि अर्को कार्यक्रममा पुगिन् । झनै खेल क्षेत्रको पत्रकार सम्मेलन , केही पनि बुझिनन् र रिपोर्टिग त गर्नै कुरै भएन । लखतरान भएर पत्रिकाको कार्यालयमा पुगिन् । तर समाचार एकहरफ पनि लेख्न सकिनन्। सम्पादकले बेस्सरी हप्काए। अनि अरु मिडियामा काम गर्ने चिनजानका रिपोर्टरलाई फोन गरेर समाचार आफैँले लेखिदिए । रेश्माको नाममा भोलिपल्ट समाचार प्रकाशित भयो । सर्वत्र बजारमा आयो। रत्नपार्कमा बिहानै हल्काराले उनकै नामको समाचारको हेडिंग कराई कराई बेचिरहेको थियो। उनी कम्ता खुसी भइनन् । उनले पत्रिका कोठामा लगेर करिब दर्जन साथीहरुलाई सुनाइन् होला ।

त्यसपछि फेरि सम्पादकले सजिलो सजिलो ठाउँमा रिपोर्टिंग गर्न पठाए । समाचार लेख्न नजाने पनि सबैले उनलाई पत्रकार भनेर नमस्कार गर्न थालिसकेका थिए । घरमै पत्रिका देखेपछि घरबेटीले पनि पत्रकार भनेर खुब इज्जत गर्न थाल्यो। टोलछिमेकमा पनि सबैले नमस्कार गर्न थाले । बिस्तारै समाजमा मानसम्मान इज्जत ह्वात्तै बढ्न थाल्यो । उनलाई पनि छुट्टै आत्मसम्मानले भरिएजस्तो लाग्यो ।

अब जसरी भए पनि पत्रकार नै बन्ने उनको अठोट भयो । तर कुन कुरो रिपोर्टिंग गर्ने ? समाचार कस्तो हुन्छ ? कुन कुरालाई किकर बनाउने ? कुन हेडलाईन बनाउने भन्ने कुरा थाहै थिएन । न त उनले पत्रकारिताको अध्ययन नै गरेकी थिइन्, न त सम्पादकज्यूले काम लगाउनुअघि तालिम नै दिए । आज हायर गरे र भोलि रिपोर्टिंग गरेर ल्याउन भनेर पठाए । नजान्दा बल्डेग्रे आँखा फुकालेर बेस्सरी गाली गरे । तर गाली गरे पनि सम्पादक दयालु नै थिए र रेश्मालाई आफैं समाचार लेखिदिने गर्थे।

यसरी नै महिना दिन बित्यो र तलब बुझ्ने दिन भयो, अनि रेश्मालाई थाहा भयो, पत्रकारको खासै तलब हुन्न रहेछ भन्ने कुरा। विज्ञापनको पैसा साहुजीले नै राखेर अलिअलि परेवालाई चार्हो जस्तो रिपोटर्लाई दिएजस्तो गर्दा रहेछन्। सिर्फ पत्रकारलाई चौथो अंगको रुपमा सबैले मान्ने, फाईभस्टार होटलहरुमा पत्रकार सम्मेलन, एनजिओ आईएनजिओका सम्मेलन र गोष्ठी भइरहने हुँदा मिठा स्वाद र परिकार पेटभरि खान पाइने, ठूला बढाहरुसँग भेटघाट गर्न पाइने र म फलानो पत्रिकामा काम गर्ने भनेर ठूला कुरा गरेर आत्मरतिमा रमाउन पाइने, बेला बेला अर्काको टिकेटमा विदेश पनि जान पाइने मात्रै रहेछ । लेख्नु र छाप्नुपर्ने समाचारहरु छापिँदा रहेनछन् र सम्पादक राख्नाको कारण पनि पत्रिकाको व्यापारमा घाटा हुने खालका समाचार नछपाउनको लागि भनेर सम्पादकज्यू अलिकबढी तलब र सुविधा दिएर पत्रिकाको मालिकले राखेको हुँदोरहेछ भन्ने कुरा पनि उनले थाहा पाइहालिन् ।

आफूलाई न्यूज लेखिदिने गरेकोमा रेश्मालाई पनि निक्कै अप्ठेरो लाग्न थालिसकेको थियो। बिस्तारै सम्पादकले कसरी समाचार लेख्ने रहेछन् भनेर नजिकै बसेर हेर्न थालिन् र सिक्न थालिन्। कम्प्यूटर टाइप, पेज मेकिंग इत्यादि पनि सिकिन् । उनले बिस्तारै पत्रकारिताका निक्कै कुराहरु सिक्न थालिन् । यसरी सिक्ने क्रममा नै उनी सम्पादकसँग नजिकिन पुगिन् । पढाइ छोडेर उनी पनि फुल टाईमर पत्रकार भइन् । रिपोर्टिंग गर्न र मुद्दाहरु उठाउन सक्ने भइन् ।

बिस्तारै दैनिक रिपोर्टिंग गरेर ल्याउन पनि सक्ने भइन् । उनको आफ्नै नाममा बाइलाईन आउन थाल्यो । उनी दरिलो महिला पत्रकारको रुपमा उभिन थालिन् । सम्पादकज्यूले सधैं साथ दिई नै रहे । उनीहरुको हिमचिम पनि बढ्दै गयो र नजानिँदो पाराले प्रेम पनि विकसित हुँदै गैसकेछ । तर सम्पादक दाजु विवाहित परे । विवाहित भए पनि देश विदेशमा हुने ठूल्ठुला सभा सम्मेलनमा सेटिंग मिलाएर उनीहरु दुबैजना सँगसँगै जान्थे । कहिले बेइजिंग, कहिले इश्लामावाद त कहिले कोलम्बो अनि टोकियो सहर । सम्पादकज्यूको हात समाएर हिँड्न पाइने। प्रोग्रामहरुमा सम्पादकले समाचार लेखिदिई हाल्थे । जीवन त्यसै रमाइलो । मान, सम्मान, इज्जत, पुरस्कार सबै आफ्नै पोल्टामा आइरहेको । तर यो सबै हुनुमा सम्पादक दाजुकै योगदान छ ।

उनलाई जीवनमा बिहे गरेर घरजम गर्न पनि मन थियो, बिहेका लागि धेरै पटक धेरै जनासँग कुरा नचलेको पनि होइन तर केटी असाध्यै राम्री , मिजासिली तर पेशा चाहिँ पत्रकार भनेपछि कुरा टुङ्गिहाल्थ्यो । उनीजस्ता आफ्नै स्वतन्त्र पहिचान बनाएर हिँड्ने र आफ्नै नामले चिनिने महिलाका लागि बिहे सजिलो विषय पनि थिएन । किनकि पुरुषहरु बौद्धिक श्रीमती हैन, घरको सम्पूर्ण काम सित्तैमा गरिदिने नोकर भित्र्याउन चाहन्छन्, आफ्नै नामले चिनाउन चाहन्छन् भन्ने कुरा उनलाई राम्ररी थाहा थियो र उनले यसलाई कुनै ठूलो इस्यु पनि बनाइनन् । महिला पत्रकारको श्रीमान हुँ भन्ने हिम्मत कुनै पुरुषले नराखेका कारण रेश्माको बिहे भएन । जे , जति र जस्तो सम्बन्ध भए पनि सम्पादकज्यूसँगै थियो र त्यो अटुट थियो ।

सम्बन्धका दुईदशक बितिसक्दा पनि सम्पादकज्यूले कहिल्यै पनि आफ्नी प्रेमिकालाई समकक्षी बनाउने योग्यता उनीमा देखेनन्। सम्पादकज्यू नाम चलेका मिडियाहरुमा कहिले कता कहिले कता गर्दै जहिल्यै पनि सम्पादक भइरहे । तर रेश्मालाई रिपोर्टरबाट माथि उठाउने र कुनै राम्रो भूमिका दिने विषयमा सम्पादकज्यूले कहिल्यै पनि सोचेनन् ।

उनी लेख्न, बोल्न मुद्दाहरु पनि राम्रोसँग उठाउन सक्छिन् । इस्यु पनि बुझ्छिन् र देशविदेशका सबै घटनाक्रमहरु पनि उनलाई थाहा हुन्छ । उनी महिला पत्रकारको दह्रिलाे खम्बा पनि हुन्। तर पनि उनी समकालीन मिडियाकर्मी माझ सिर्फ सम्पादक दाजुकी गर्लफ्रेण्ड र एउटी महिला रिपोर्टर मात्रै हुन् । उनले जति नै राम्रो लेख्दा पनि सम्पादक दाजुले राम्रै लेखिदिएछन् भनेर बुझ्छन् ।

पत्रकारिताका बिस वर्षमा उनीसँग एउटा स्क्यूटर , १५ लाख बैंक ब्यालेन्स छ । आफ्नो पहिचान र परिचयका निम्ति कोठामा थाक लागेका पुराना पत्रिकाभित्र हरेक पानामा कालो अक्षरमा उनको आफ्नो नाम लेखिएको छ । बेला बेला उनी आफ्नै नामसँग डराउँछिन् । भित्तामा केही अवार्डहरु पनि टाँगिएका छन् । उनी भाडाको एउटा अपार्टमेण्टमा बस्ने गर्छिन्। पछिल्लो समय त सोसियल मिडिया र युट्युबरेहरुले बजार खाइदिएका कारण जागिर पनि जोखिममा छ । अब रिपोर्टिंगमा जान पनि कुनै तागत छैन । कति रिपोर्टिंग गर्नु ? त्यही राजनीति, त्यही सत्ता, तिनै महिला हिंसा, लैंगिक विभेद । वास्तवमा अब त उनलाई कसले के बोल्छ र के कार्यपत्र पेश गर्छन् भन्ने कुरा बडी लेंग्वेजबाटै बुझ्छिन् । कपी र कलम पनि चाहिन्न र टिपोट पनि गर्नु पर्दैन।

उनी बेला बेलामा ऐना अगाडि अनुभवले खारिएको आफ्नै तिलचामले कपाल सुम्सुम्याउँछिन् र आफैंले आफैंसँग प्रश्न गर्छिन्, “सम्पादक दाजुकी गर्लफ्रेण्ड भनेर त मलाई सम्बन्धित मिडियाका प्रायले चिन्छन्, र कुरा काट्छन् तर योभन्दा बाहेक मिडियाले म र मेरा लागि के पहिचान र परिचय दियो त ?”

बीस वर्षमा पहिलो पटक सम्पादकदाजुसँग सम्पर्क विच्छेद भएपछि भ्यालेण्टाइन डे पनि खल्लो भयो । सम्पादकज्यूलाई दिन भनेर किनेको गुलाबको फूल पनि टेबुलमा त्यसै ओइलाएरहेको थियो । त्यसै त्यसै एक्लो र रित्तो महसुस भइरहेको छ ।