आफ्नो सुनौलो भविष्य कोर्न दोलखा जिल्लाबाट काठमाडौँ झरेकी भिममाया आज ३७ वर्षकी भई । आज समाजले पत्याउने खालको जीवन निर्वाह गर्न सफल छिन् । उनको बाहिरी यथार्थ मान्छेले हेर्दा जति सहज देखिन्छ भित्री यथार्थ गहिरो छ। मानिस भौतिक रुपमा सम्पन्न हुँदैमा ऊ चौतर्फी रूपमा खुसी र सुखी हुन्छ भन्ने हुँदैन। यो यथार्थ हो। जो जुन फलफूल हामी बाहिरबाट हेर्दा सर्लक्क परेको देखिन्छ तर काटेर,फोरेर, निचोरेर हेर्दा भित्री जसरी अस्तित्व हराउने गरी किराले खत्तम पारिदिन्छ त्यस्तै छ, बनावटमा बाँचेका मानिसहरुको परिचय। जसबाट धन,जात,धर्म र रूपमा घमण्ड गर्नेहरु झोक्राएर ङ्याच्च हुने गर्छन् ।

पन्ध्र वर्षको उमेरमा गाउँमा एस. एल सी सकाएर काठमाण्डौँ झरेकी उनी एक गरिब परिवारको छोरी थिइन् । छात्रवृत्तिको भरमा दस कक्षा पास गरेको उनको परिवारमा बुबा र आमा मात्र हुनुहुन्थ्यो। गरिब साथै गरिब व्यवहारबाट आजित भएर नै भिममायाले गाउँ छाडेकी थिइन् । बुबा,आमा गाउँभरि अनावश्यक डुल्ने कसैको वास्त नगर्ने सामन्तीहरुले जसो भन्यो त्यसो गर्दै हिँड्ने गर्थे। सामाजिक,नैतिक साथै आर्थिक रूपमा कमजोर परिवारमा बाँच्नु भनेको गर्मीको समयमा आगो ताप्नुभन्दा पनि कठिन कुरा थियो ।

जसकारण पेट मात्र नभएर चिन्ताले मस्तिष्क नै काम नलाग्ने हुनसक्छ भनी मरितुल्य अवस्थामा बाध्यताले उनले गाउँ छोडेकी थिइन् । काठमाडौँ आएर सकेको काम गर्ने र उच्च शिक्षा अध्ययन गर्दै सामान्य जीवन निर्वाहको लागि उनी काठमाडौँ आई । काठमाडौँको एक सरकारी स्कुलमा भर्ना भई । गाउँकै टाढाको आफन्त पर्ने काकाले उनलाई एक पानी कम्पनीमा काम मिलाएका थिए । मासिक आठ हजार कमाउथिन् । सामान्य जीवन पार गर्दै, पढ्‌दै गर्दा कलेजमा एउटा रामबाबु नामको केटोसँग भेट भयो, मान्छे हेर्दा अग्लो, चिटिक्क आकर्षक खालको थियो ।

धादिङतिरको भन्थ्यो, ऊ पनि एउटा सामान्य होटेलमा काम गर्दै उच्च शिक्षा पढ्दै थियो । बैँशले भनौँ या वास्तविक प्रेम अथवा अपरिपक्वता मन बिस्तारै बिस्तारै उनीहरुका प्रेम हराभरा हुँदै थिए । भिममाया थोरै समयमा पनि कलेज, प्रेम, र पानी कम्पनीमा यी सबै कुरामा समयको व्यवस्थापन गर्नमा मायुर थियो । यतकता उनीहरू फुर्सदको समयमा भेटिरहन्थेँ । यसरी नि अपत्यारिलो परमा बसेको उनीहरुका प्रेम बसेको पनि दुई वर्ष भएको थियो । भिम माया भन्छिन्, ” हामी भेटेका दुई वर्षपछि हामी विवाह बन्धनमा बाध्यौँ ।

म विवाह भएपछि उसको घर जान चाहन्थेँ तर उसले उनको घरमा कहिल्यै लाने कुरा गरेन त्यैपनि म सन्तुष्ट थिएँ । रामबाबु इमानदार थियो, त्यसैले गर्दा नै उसले मेरो मन जितेको थियो । मेरो उच्च शिक्षा सकिसकेको थिएँ तर रामबाबुले कटाउन सकेन बिचैमा पढाइ छोड्यो । पास गर्नुपर्छ भन्दा “हामी जस्तो सामान्य व्यक्तिहरु पास गरे पनि राम्रो कामको लागि कसैको खुट्टा नै ढोग्नुपर्छ” भन्थे । अरुको खुट्टा ढोगेर आफ्नो शिर उठाउने पक्षमा थिएन ऊ । विवाह गरेपछि मैले पानी कम्पनीको काम पनि छाडेँ ।

रामबाबुले कमाएर ल्याउँथ्यो । म बसीबसी खाने, दिनभर बिना काम बस्नुपर्दा झर्को लाग्थ्यो। मनमा विभिन्न कुराहरू उठ्‌यो मेरो विगत, वर्तमान अनि मेरो भविष्य कहाँ पुगेर टुङ्गिने भन्ने अत्तोपत्तो थिएन । बुबा आमा सम्पर्कमै थिएनन्। एक मनले सोच्थेँ व्यर्थै कुराहरु दिमाग मात्र तताउने खालको, यो पनि बेरोजगारको उपलब्धि सम्झन्थेँ म ।

यसरी दिनहरू ढल्दै थिए । बिस्तारै मेरो गर्भमा रामबाबु र मेरो प्रेमको अङ्कुर टुसाउँदै थियो । प्रस्तुत कुराप्रति म धेरै खुसी थेँ । एउटी महिलाको लागि आमा बन्नु जतिको खुसी अरु के हुन सक्छन् । मेरो खुसीहरु त्यति नटिक्ने भयो, मैले गर्भमा बच्चा रहेको कुरा सुनाउँदा बाबु बन्ने अवसरमा खुसी हुन्छ भन्ठानेको थिएँ तर रामबाबु त्यसको ठिक उल्टो उभियो । मलाई जसले जेसुकै भने पनि म बच्चा जन्माएरै छोड्ने वालामा थिएँ । रिसाएर गर्भपतन गर भनेर भन्न थाल्यो । फाल्न चाहन्छ तर म एउटी आमा बन्ने करारमा गर्व लाग्थ्यो । हेमन्तका दिनहरुझैँ हाम्रो खुसीहरू बिस्तारै छोटिँदै थियो ।

उसको कुरामा मैले सहमति नजनाएपछि हाम्रो मन फाट्दै गयो । बिस्तारै खाट, बास, रात हुँदै हाम्रो सम्बन्ध टाढिँदै थियो, जसबाट मेरो संकटको दिनहरु सुरु हुँदै थियो । ऊ कहाँ जान्थ्यो, के खान्थ्यो,कहाँ बस्थ्यो अत्तोपत्तो हुँदैनथ्यो । उसको कुनै ठेगान नभएपछि मैले एउटा नाङ्लो पसलको सुरुवात गरेँ । व्यापार ठिकै हुन्थ्यो एक छाक सामान्य र कोठाभाँडा तिर्न पुग्थ्यो । नाङ्लोमा पानी, चुरोट, खैनी, करेन्ट र चाउचाउ बेच्ने काम गर्थें ।

मनमा लाग्थ्यो मैले यस्ता कुराहरू बेच्न नहुने किन बेचिरहेको छु ? अनि फेरि सम्झिन्थें ठुला ठुला होटलहरुमा हजारौं पर्ने रक्सीहरु बेचिएको कुराहरु । सडकको छेउछाउभरि सबैजना यसरी नै जीविकोपार्जनको लागि सडकभरि चिसो, धुलोधुवाँ नभनी आफ्नो एक सास बचाइराखेका हुन्थ्यो । यही रहेछ यो सहरको विशेषता । कहिलेकाहीँ नगर प्रहरीले बिचल्ली बनाउँदा लाग्थ्यो मान्छेमा कसरी मानवता हरायो ? अनि सोच्थेँ बिचराहरुले पनि कहाँ आफूले जानीजानी गरेको हुनु माथिल्लो सामन्तीवादहरुको निर्देशनमा त भइरहेको छ यो सब पेटमा जब बढ्दै गयो तब चिसोमा व्यापार गर्न सामर्थ्य भएन ।

जुनबेला व्यापार गरेर पैसा जोगाउनु पर्थ्यो, त्यही बेला थला परेर म उठ्न नसक्ने भएँ । जसबाट म प्रत्येक दिन भोलि सम्झेर आत्तिरहेका थिएँ । जुन बेला कसैको सहयोग आवश्यक थियो, त्यही बेला म एक्लो भएँ । त्यसैले मनमा जीवनप्रति वितृष्णा जागेर आउँथ्यो।

जसोतसो मैले छोरीको जन्म गराएँ । जसबाट म जति खुसी हुनुपर्थ्यो तर मेरो जीवनमा थिएँ खुसी लेखिएन मात्र दुख लेखेँ रामबाबुको अत्तोपत्तो थिएन, छोरी बिस्तारै बढ्दै थिइन् । पक्कै मन पग्ल्यो होला भनेर रामबाबुलाई सम्पर्क गर्न खोज्दा उसको फोन लाग्दैथ्यो। छोरी सात महिना भएदेखि नै मैले फेरि नाङ्‌लो पसलमा निरन्तरता दिएँ। अवस्था निकै दर्दनाक थियो। सुत्केरी हुँदाको अवस्था घरमा माइतमा मिठो मिठो तागतिलो खाना साथै पछि कमजोरी भइन्छ भनेर न्यानो घाममा बसेर तेल लाइदिने कुराहरु सम्झन्थेँ तर सबैको निम्ति सबै कहाँ लेखिएको हुन्छ भन्ने कुराले सन्तोष पार्थेँ मन ।

व्यापार त्यति राम्रो थिएन छोरी च्याप्दै चोसो बस्दा कसैले दया देखाएर सामान नलिकन नै पैसा दिन्थेँ भने कोही देख्नेबित्तिकै नाक खुम्च्याउँदै हिँड्थे । नाङ्लोबाट छोरी र मेरो लागि सामान्य कुराहरू पनि नपुग्ने अवस्था भएपछि मैल फेरि जुत्तामा पालिस लगाउने काम गर्न थालेँ तर नजिकैको मेरो जस्तै काम गर्ने केटा भएको ठाउँमा मान्छेको भिड देखिन्थ्यो भने मेरोमा कोही हुन्नथ्यो । जसबाट मलाई लाग्थ्यो कर्मको निउँमा पनि महिला र पुरुषमा कति असमान छ यो समाज । पालिस लगाउने काममा पनि त्यति राम्रो नभएपछि क्रमशः कहिले जुत्ता सिलाउने, कहिले प्लास्टिक र बोत्तल उठाउने, कहिले चिया पसलमा काम गर्ने गर्दा पनि पाँच वर्ष बिताइसकेँ तर मेरो आर्थिक स्थिति सयबाट उनानसयमा पनि झरेन ।

छोरीलाई विद्यालय पठाउने उमेर भएको थियो । जसोतसो मैले छोरीलाई एउ‌टा सरकारी विद्यालयमा भर्न गराएँ । भर्ना निशुल्क थियो, साथै अनाथको नाम दिएर सबै कुरा निशुल्क गराएर केही राहत मिल्यो । जसबाट विद्यालयका मानिसहरु मलाई भगवान् जस्तै लाग्यो भने विद्यालय मन्दिर । छोरीलाई बिहान पुर्याउन जानुपर्थ्यो र बेलुका लिन । यसरी दिनहरु घटनाहरु साथै समय परिवर्तन हुँदै थियो । दिनरात कष्टकरमा बितिरहेको थियो । जसरी नि आफ्नो एक पेट र छोरीको भविष्य राम्रो पार्नु थियो। कहिलेकाहीँ दोस्रो विवाह गर्नुपर्छ भन्ने भावना मस्तिष्कमा आउँथ्यो ।

अनि लाग्थ्यो म त राम्री छु, आजसम्म कसैले पत्याउँछ । मेरी छोरीको हालत के होला ? यदि विवाह गरे पनि फेरि यसरी नै अलपत्रमा पारेर गयो भने यस्तायस्तै कुराहरूले गर्दा म विवाहबाट पछि हट्थेँ ।

छोरीको बढ्दो उमेरसँगै मनमा डर थियो । सानामा जसोतसो मिलाएर भर्न गराए, अब उसलाई को भनेर चिनाउने ? के परिचय दिने ? प्रत्येक व्यक्तिको आमाबाबु हुन्छ, आमाबाबु बिना छोराछोरी जन्मिदैन भन्ने कुराको ज्ञान विद्यालयबाट सिकेकी मेरी छोरीले कहिले मस्तिष्क झस्काउने प्रश्न गर्थी र म भनिहाल्थी “मरिसके” ।

===

नेपालमा हेमन्त ऋतुको अन्य हुँदै शिशिरको आगमन हुँदाको समय थियो। सिङ्‌गो सहर कठोर तुवाँलोले भरिएको बिहानपख सबैजना अनुहार मात्र देखाएर हिँड्थे, सुरक्षाको निम्ति होला, कुनै अपराधी नचिनोस्, जाडो नहोस्, चिसो सिरेटोले शरीरको अंगहरू नफुटोस् भनेर होला, यी सबै कुराहरू धनीमानीहरुको निम्ति लागु देखिन्थ्यो । गरिबहरु त टिसर्ट कट्टुमै देखिन्थे । खाली खुट्टा र च्यातिएको भेषमा थरथर काम्दै हिँडेको देखिन्थेँ ।

सहरको ढलन र पिच सडक गर्मीमा टेक्न नसक्ने गरी तातो जाडोमा टेक्न नसक्ने गरी जाडो जसबाट लाग्थ्यो, यो सहर धनीमैत्री छन् अपाङ्ग मैत्री छैनन् ? बालमैत्री छैनन्, महिलामैत्री छैनन् र गरिब मैत्री छैनन् । यहाँ नीति निर्माता सबै धनीकै लागि बनेको लाग्थ्यो । यहाँको समाज, सरकार सबै सबै त्यसैले त नेपालको राजनीति शासन पद्धतिको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने गर्छन्, नेपालाई नजिकबाट चिन्नेहरु । पौषको महिना जाडो बढ्दो थियो । छोरीलाई न्यानो लुगाकपडा किन्नुपर्ने
थियो, गोजीमा पैसाको खडेरी परेको थियो ।

व्यापार त्यति राम्रो थिएन, नगरपालिकाको व्यवहारले हिजोआज दिक्क पार्थ्यो, सबै समान भेट्यो कि छरपस्ट फाल्ने गर्थ्यो । कस्तो मानवता हराएको जस्तो,संवेदना नभएको जस्तो राम्रो कुराहरु लोप हुँदै थियो। गरिबहरु कराउँथे, रुन्थे, चिच्याउँथे तर कसले सुन्छ तिनीहरुका रोदन, क्रन्दन ? यो सहर त नर्क भइसकेको छ । छोरी ठुली हुँदै थिई, म आफ्नै अस्तित्व हराए‌को मानिसले छोरीको सुन्दर भविष्य कसरी कोर्ने यसैले पिराल्थ्यो ।

===

समय ठ्याक्कै एकिन भएन, विदेशीहरूको नयाँ वर्षको अवस्था नेपालको पुष महिनाको बिचतिरको कुरा थियो ।

हिजो अस्ति बाटोमै नाङ्लाे पसलले चिनाएको नानी रोक्काले फोन गरी, “दिदी कता हुनुहुन्छ ? एउटा अवसर आएको छ । आज राति ठमेलको एउटा होटलमा ठुलो कार्यक्रम छ, जसमा ११ जना केटीहरुको आवश्यकता रहेको छ, दुई हजार आउँ छ रे ।”

म झसङ्ग भएँ, राति दुई हजार जस्ता कुरा सुन्ने बित्तिकै मैले बुझेँ, यो अवसर पक्कै पनि आफ्नो शरीर बेच्ने पेसा अङ्गाल्नेको निम्ति हो, मेरो मस्तिष्क मडारिन थाल्याे।

मैले भने, “तिमीले के सम्झेर भनेकी बरु भोकै मर्छु तर यस्तो काम गर्दिनँ म ।”

उसले थपिन्, “त्यस्तो धेरै सोच्नु पर्दैन रातमा धनी, धनी मानिसहरू आउँछन्, हाम्रो काम मात्र तिनीहरुलाई आकर्षित पारेर होटलको व्यापार गर्न मात्र हो । अनि थपी काम ८ बजेदेखि ११ बजेसम्म मात्र हो र भनी तपाईं नजाने भए म अन्तै भन्छु, जाने भए २० मिनेटभित्र फोन गर्नुहोला ।”

मलाई के गरौँ के गरौँ भयो । छोरीलाई कपडा किन्नुपर्ने, व्यापारको ठेगान नहुँदा भान्सा रित्तो हुँदै थियो । यस्तै म सोचेँ, पक्कै पनि काम गर्नुपर्छ, त्यसैले तत्कालै नानी रोक्कालाई फोन गरेँ, “म आउँछु ।”

त्यो रात छोरीलाई सुताएर म हिँडेँ, अपरिपक्व मस्तिष्कले दिएको निर्णयमा, टुंगो नभएको बाटोमा, बाध्यताले भोगको निम्ति भोकको निम्ति, राति आठ बजेको थियो । राति लगाउने साडीहरुको व्यवस्था उनीहरुले नै गरेका थिए । आज रुद्रमाया बेहुलीझैँ राम्री भएकी थिई, जीवनमा एकचोटी गरिएको विवाहमा समेत यस्तो राम्रा लुगा लाउन नपाएकी उनी छानीछानी आफ्नो अनुहार सुहाउँदो, शरीर सुहाउँदो लुगा लाउन पाएर दङ्ग थिई, उनलाई त्यो पनि थाहा थियो कि यो त चैतमा परेको पानी जस्तै हो, त्यसैले ऊ ङिच्च पनि थिई ।

रङ्गीचङ्गी थियो, वातावरण कसैले कसैलाई राम्रोरी ठम्याउन नसक्ने जस्तो थरीथरीका बत्तीहरु निभ्ने बल्ने, कहिले एउटा रङ्ग कहिले अर्को रङ्ग देख्दा लाग्थ्यो यो पृथ्वीमा केही स्थिर छैन । कानै फुट्ला गीतको जस्तो ध्वनिले दिमाग खलबलिएको जस्तो भइरहेको थियो । जति रात बढ्दै थियो, गायकदेखि नायक सामान्य व्यक्तिदेखि अरबाैँका मालिकहरु सम्मको उपस्थिति बाक्लो हुँदै थियो ।

लाग्थ्यो पृथ्वीमा जे जति छ, तिनीहरुका मनोरञ्जन निम्ति त उत्पत्ति भएका हुन् । मलाई लाग्थ्यो यहाँ कस्तो कस्तो मान्छेहरु आउँछन् होला बाहिर पार्किङमा विभिन्न निजी सवारीसाधन साथै नौ दस वटा सरकारी नम्बर प्लेटको गाडी पनि देखेँ । यहाँको प्रत्येक कुराहरु मेरो लागि नौलो थियो । त्यसैले प्रत्येक कुराहरू हेर्दै सोच्दै गर्दै थिएँ ।

रातिको एघार बजेतिरको कुरा हो, मेरो काम कुनकुन ठाउँमा के कति कुराहरु पुग्यो, पुगेन हेर्न जाँदा एक जना आधबैँसको उमेरको केटाले तानेरे भन्यो; “रक्सी खान्छ्यौ ?”

मैले भने, “खान्न कहिले खाएको छैन, मन पनि पर्दैन।”

यसरी मेरो कुरा सुनेपछि काउन्टर गएको त्यो व्यक्तिले के भने त्यो मलाई थाहा भएन ।

तर त्यो लगत्तै त्यहाँका मेनेजरले एकान्तमा बोलाएर गाली गर्यो, “तिमीले एक गिलास रक्सी खाँदा उनीहरु खुसी हुन्छन् भने त्यो किन नगर्ने तिमीहरूलाई राखेको के मतलब, अब यसो नगर ।”

मेरो मन आत्तिरहेको थियो कसैको बोलीले व्यवहारले ।

राति बाह्र बजेतिर मानिसहरू पातलिँदै थिए । नजिकैको टेबुलमा बसेका एक जना केटोले बोलायो र भन्यो, “म एक्लै भएँ मलाई रक्सी खान साथी गर न ल ।”

मन थिएन तर फेरि गाली खानुपर्छ भन्ने कुरा सम्झेर सचेत हुँदै थोरै मात्र है भन्दै खान बसेँ । बिस्तारै चुस्की लाउँदै गर्दा धेरै खाएछु । कहिले रक्सी नखाएको म बिस्तारै रक्सीमा लठ्ठिँदै बेहोसीमा परिणत हुँदै थिएँ। उसले बिस्तारै मेरो अङ्गहरुमा स्पर्श गर्दै उसको अङ्गालोमा बेर्याे । बेहोसी भनौँ, यौवनले भनौँ । छ, सातवर्षसम्म रामबाबुसँग छुटेदेखि कुनै पुरुष नजिकसम्म नपरेको मलाई रामबाबुको स्पर्श भइरहेको थियो, त्यतिकैमा म बेहोसीमा निदाएछु।

रक्सीले मात्तिएको म, भोलिपल्ट उठ्दा कुनै अपरिचित केटोसँग एउटै ओछ्यानमा बिना वस्त्र नाङ्गै थिएँ । शरीरको अङ्गप्रत्याङ्गहरु गलिरहेका थिए । म झसङ्ग भएँ, आकाशले थिचिएको जस्तो,कालो रातहरुले लखेटिए जस्तै भएँ, आत्मा ग्लानि , हीनताबोधले लखेट्न थाल्यो, नजिकैको बाथरुममा गएर आफैँले आफैँलाई थुकेँ ।

यति गर्न नपाउँदै फेरि छोरीको सम्झना आयो। मेरी छोरी के गर्दै होलिन् ? यत्रो लामो रातमा आफ्नै छोरीलाई एक्लै छोड्ने म कस्ती मान्छे यस्ता यस्तै सोच्दै थिई ऊ । रुद्रमाया होटलबाट निस्किने बेलामा एउटा अग्लो केटाले उनको नजिक आयो । भिममाया मौन थिई, नजिकै आएर उसले भन्यो, माफ गर यो सब जानीजानी भएको थिएन, केवल रक्सीको मातमा भएको हो । बिहानैदेखि तिम्रो क्रियाकलापले मलाई बिहानैदेखि झस्कायो भन्दै उसले दस हजार रुपैयाँ हातमा थमाउँदै केही समस्या परे सम्पर्क गर्दा हुन्छ भन्दै एउटा कार्ड पनि थमाएर ऊ त्यहाँबाट हिँड्यो ।

===

त्यसपश्चात् छोरीलाई पाँच वर्षको लागि बास, गाँस र कपासको व्यवस्था त्यहीँ हुने गरी सम्झौता गर्दै, प्रत्येक दिन पेन किलरको सहारा लिँदै, कसैको भोक मेटाउन, कसैको अतृप्त यौन इच्छाहरु पूरा गर्न त्यहीँ पेसा अङ्गालिरहेँ । आज उनीसँग भनेको जस्तो घर छ, सुखसुविधा छ । छोरीलाई भनेजस्तो ठाउँमा पढाउन पाएको छु । सुकिला, मुकिला छे बाहिरबाट। सबै कुरामा खुसी र सुखी देखिन्छिन् तर भित्री वास्तविकमा उनी भित्रभित्रै जलेकी छिन् । परिचयविहीन छिन् । कहिलेकाहीँ आफैँलाई मार्ने योजना बनाउँछिन् र फेरि सोच्ने गर्छिन्, “आखिर बाँच्नकै लागि जीवनमा सबथोक गरेँ । मैले कुनै पाप त गरेको छैन।”

“आफैंलाई पाल्न सबथोक गरिरहेछु भने त्यो पनि जायज हुन्छ” यो नै सृष्टिको प्रकृतिको नियम हो !”