पहिलो कथा –

बारीको छेउमा लगातार जान थालेको आज २७ दिन पूरा भएछ । त्यहाँ जानुका दुई कारण छन् – घाम ताप्न, फर्सीको झाल हेर्न।

अलिक ढिला गरेर घाम फल्छ अचेल आकाशमा । आकाशको पूर्वी हाँगोमा बिहान एउटा निख्खर रातो दाना झुन्डिन्छ । दिनभर हिँड्छ  आकाशमा । रङ बदल्छ । पहेँलो हुन्छ सुनजस्तै । जाडोमा महङ्गो हुन्छ सुनजस्तै । साँझपख आकाशको पश्चिमतिर फर्केको हाँगामा पुगेर झुन्डिन्छ एकछिन पाकेको आँपजस्तो पहेंलो भएर । कुन्नि कुन चराले चुच्चोले ठुङ्छ । फत्रक ! खस्छ डाँडोको उतापट्टि । अनि रात पर्छ । एउटा दिनले यसरी देहत्याग गर्छ ।

जब घाम हिँडेर बारीको टुप्पोमा आइपुग्छ, तब म पनि हिँडेर त्यहीँ पुग्छु अघिल्लो साल किनेको ज्याकेटको खल्तीमा हात राखेर । अनि तल्लो बारीको कुनामा रहेको फर्सीको झाल हेर्छु । बिहान सक्काउँछु।

घरको भुँइतलामा मेरो कोठा छ । केही दुरीमा गोठ छ। जहाँबाट भैंसीले मुतेको प्रष्ट सुनिन्छ मेरो कोठामा । घर र गोठको बीचछेउमा पानी राख्ने ट्याङ्की छ । ट्याङ्कीमा नाला जोतेर पानी भर्दा बुलबुल सहितको अर्कै आवाज आउँछ । त्यो पनि प्रष्ट सुनिन्छ कोठामा । अलिकति दूरीमा शौचालय छ। शौच गरिसकेपछि कसैले छ्वाल्ल ! पानी हालेको पनि प्रष्टै सुनिन्छ मेरो कोठामा । म यति अभ्यस्त छु कि मेरा कोठामा आउने प्रत्येक आवाजसँग शौचालयमा कसैले पिसाब फेर्दा आउने आवाज सुनेर थाहा पाउन सक्छु कि उसले भित्तामा मुतिरहेको छ कि साइफनमा। तर म बिहान उठेपछि एकछिन यी आवाज नआउने ठाउँ बारीको छेउमा पुगेर उभिन्छु। घाम ताप्छु। फर्सीको झाल हेर्छु।

फर्सीको झालबारे सानासाना कुरा ख्याल गर्छु म। जुन समयबाट मैले ख्याल गर्न थालेँ, त्यो समयमा फर्सीको झाल लहरा हाल्ने उमेरको भैसकेको थियो । उसले लहरा हाल्दै गयो, मैले हेर्दै गएँ । केही लहरा बारीको छेउतिर हिँडे मुन्टो उठाउँदै। कोही कता, कोही कता। केही दिनमै बारीको आधा हिस्सा ओगट्यो फर्सीको झालले। फर्सीका मुन्टाको उत्साह देखेर मलाई खुब आनन्द लाग्छ। हरेक बिहान म बारीको छेउमा आउँदा अघिल्लो दिनभन्दा टाढा पुगिसकेका हुन्थे मुन्टा।

जीवनसिवन उस्तो केही बुझ्नु थिएन मलाई। कुनै अनुसन्धान गर्नु पनि थिएन। मलाई त एकछिन घाम ताप्नु थियो । तर फर्सीका मुन्टा हेर्ने लत बस्यो। म हेर्थें आज कुन मुन्टा कहाँ पुग्यो, उसको नङ्ग्राले कत्तिको बलियो ठाउँमा समात्यो। कुनै दिन त म पहिल्यै अड्कल काटेर ती मुन्टाका केही टाढा ससाना थाक्रा गाढिदिन्थेँ । दुई तीन दिनमा कुनै मुन्टाका नङ्ग्राले थाक्रा समात्थे। मख्ख पर्थें । कुनै थाक्रो छोडेर केही टाढाबाट अगाडि जान्थे। म हिस्स पर्थें।

एउटा मुन्टा केही दिनमै म उभिएको बारीको छेउमा आइपुग्यो। अरुकोभन्दा उसको गति तीव्र थियो। कुनामा नङ्ग्राले समात्ने कुरा सजिलोसँग भेट्टाउँछ । त्यसैले पनि होला उसको गति तीव्र भएको ।

म कुनै मुन्टालाई पनि छुन्न। बिहान सितमा छुन हुँदैन झाललाई भन्दा रहेछन्। यसकारणले पनि ती मुन्टा मन लागेको दिशातिर हिँडिरहेछन् ।

केही दिनमै म उभिएको बारीतिर उक्लिएको फर्सीको मुन्टा बारीको बीचतिर पुग्यो। एकदिन बिहान आउँदा देखेँ, त्यो मुन्टाले कोपिला लगाएछ। अर्को दिन अचम्म सुन्दर देखिने गरेर फूल फुलेछ पनि । पहेंलो रङको कपजस्तो। कति धेरै सुन्दर देखिएको। फेरि अर्को बिहान हेरेँ। फूलको भित्र एउटा कालो भँवरा थियो । फूलको थोरै पत्र बिग्रिएछ। कुन्नि कुन किराले पत्र काटिदिएछ।

यस्तै तरिकाले म दिनदिनै ती फर्सीका मुन्टा हेर्थें। अन्त कतै फूल लगाउँछ कि भनेर हेर्थें। तलतिर झरेका मुन्टा छेउको बेडुलाको रूखमा चढे केही दिनमा। म उभिएको बारीतिर आएको मुन्टा पनि बारीको कुनाबाट माथि खेतको डिलमा पुग्यो।

हिजोसम्म कतै कुनै मुन्टामा फर्सीले चिचिलो लगाएको थिएन। म घुमिघुमी सबै मुन्टा हेर्थें। आज बिहानै देखें माथि खेतको डिलमा पुगेको मुन्टाले सानो बतिलो लगाएछ। मलाई धेरै खुसी लाग्यो। नाचूँ नाचूँ भएर आयो। म खेतको डिलमा धेरै बेर उभिएँ।

एकछिनमा मेरो खुसी बिस्तारै सेलाउँदै गयो। फर्सीले फल लगाएको जमिन मेरो थिएन ।

दोस्रो कथा-

मैले बजारबाट फर्किँदा एकदिन सोधेको थिएँ हजुरबालाई – ‘हजुरबा, त्यो चौतारो कसले बनाएको हो ?’

हजुरबा अघिअघि हिँडिरहनु भएको थियो। हातमा लौरो, आङमा घ्यु रङका दौरा सुरवाल। पछिपछि म। केही मिनेट हिँडेपछि चौतारो आउँछ। छायामा बसिसकेपछि हजुरबाले सोध्नुहुन्छ – ‘अघि के सोध्या थिस् रे मलाई ?’

यो चौतारो कसले बनाएका हुन् नि ?

– यो चौतारो मैले लगाको हुम् । काँ काँ पराट छपनी ल्यार चिनेको हुम् ।

मलाई फेरि सोध्न मन लाग्यो – ‘यी बुटा नि तपैंले लाउनु भको ?’

तर सोध्नुभन्दा अघि नै हजुरबाले लौरोले देखाउँदै भन्नुहुन्छ – ‘तो ढुङ्गो ल्यार त्याँ चिन् त।’

चौतारोका ढुङ्गाहरू खसेका थिए । हजुरबाका दाँत खसेका थिए। हजुरबासँग उत्तर छ – ‘ठुल्छोरीको छोरो रामुले बम्बै लएर दाँत हाल्देको हो।’ तर पीपलसँग त्यस्तो भनाइ केही छैन। जो आउँछन् , बस्छन् ,जान्छन् । कुनै चकचके ठिटाहरू त चौतारो च्यातेर ढुङ्गा पल्टाउँछन् ।

तल खसेका दुईवटा ढुङ्गा उचालेर चौतारोमा राख्छु म। हातमा लागेको माटो टक्टक्याउँदै सोध्छु – ‘यी दुइटै बुटा हजुरले लाउनो को ?’

– ‘तेरी हजुरामालाई ब्या गर्दाओ वर्ष लगाको हुम् यी बेर्ना । पीपलको बेर्नो खन्या बुटाँ उम्रेओ थ्यो। वर कताट ल्याएँ कुन्नि ! बिर्सें ।’

पीपल र वर टाढा छैनन् तर केही दूरीमा छन् । पीपल र वर केही दूरीमा छन् र पनि नजिक छैन ।

लगातार बढ्दै गए ती बिरुवा। पीपलका शरीरमा कुनै बढ्दो उमेरकी युवतीको छातीमा उठेका स्तनजस्तो गाँठा उठ्दै गए । वरका हाँगामा पनि वधुको केशराशिजस्ता लामा लामा लहरा झुन्डिए । ती दुबै बिरुवा अब त रुख भैसकेका छन् । दुबै रुखले चारै दिशामा हाँगा फैलाए, जरा फैलाए । जमिनमुनि दुबै वृक्षका जराहरुले एक आपसमा अंकमाल गरिसके । माथि हाँगाहरु पनि एकअर्कालाई स्पर्श गर्न सक्ने भए । एकअर्कालाई काउकुति लगाउन थाले हाँगा हाँगाले । सानो हावा लाग्दा पनि दुबै रुखका पातहरू बराबर नाच्थे ।

पीपलको रुखमा चढेर ‘छुनेबिकल’ खेलेका केटाकेटीहरू वरको रुखबाट ओर्लिन थाले।

तर फेंद भने सधैं अलिक टाढा नै रहेका छन् । आफ्नो मोटोपन जति बढाए पनि उनीहरुका फेंद कैले जोडिएनन् । अब त जोडियोस् भन्ने चाहना पनि बिर्सिसकेका छन् ती वर पीपलले ।

पीपल र वरको भाग्यविधाता हुनुहुन्थ्यो हजुरबा । कहाँ फरक फरक ठाउँबाट ल्याएर त्यहाँ रोप्नु भएको थियो। नजिकै रोप्नु भो तर सँगसँगै रोप्नु भएन। सँगसँगै रोपेको भए सायद आज त्यहाँ कि पीपल हुन्थ्यो । कि त वर मात्रै हुन्थ्यो । केही दूरीमा रोप्नाले दुबै छन् ।

तेस्रो कथा –

दोस्रो कथामा आएको चौतारोको छहारीनिर पिपल र वरजत्तिकै दुरीमा वाचन र श्रृङ्खला बस्छन्। आआफ्ना निधारमा बिनाकुनै पंक्ति उठेका पसिनाका थोपालाई बगिरहेको हावाले सुकाउँछन् । वाचनले आफ्नो गलामा रहेको रातो मफलर निकालेर भन्छ- “खै ! कसले कलेजको बेन्चमा मफलर छोडेर हिँडेछ । लिएर आएको पसिना पुछ्न गज्जप भयो । ”

लगत्तै श्रृङ्खलाले आफ्नो उठेका छातीभन्दा अलिक माथि घाँटीनिर हेर्छे लामा आँखा तल झारेर । उसको मफलर घाँटीमा हुँदैन। आत्तिदो क्रममा वाचनको हातमा हेर्छे । आफ्नो मफलर ऊसँग भएको थाहा पाएर हातबाट निकालेर आँखा वाचनको अनुहारमा फ्याक्छे जुन अनुहारमा हाँसो बगिरहेको छ । वाचनले मफलरले पसिना पुछ्न थालेजस्तो गर्छ । फेरि नाकबाट जबर्जस्ती नभएको सिंगान निकाल्न सिइइ गर्छ । मफलरले सिंगान पुछ्न खोजेजस्तो गर्छ ।

हत्तारिँदै श्रृङ्खला उठेर मफलर खोस्न जान्छे । वाचनले मफलरको एकछेउ छोडिदिन्छ । अर्को छेउ भने हातमा एक फन्को बेरेर बलियो गरेर समात्छ । एक छेउ समातेर श्रृङ्खलाले मफलर तान्छे । तानातान गर्दा कति बेला वाचनले श्रृङ्खलालाई नजिकै तान्छ । कति बेला श्रृङ्खलाले वाचनलाई नजिकै तान्छे । एउटा प्रेमिल दृश्य देखिन्छ ।

एकछिन मफलर खोस्ने प्रयासपछि जोडले मफलर तानिरहेको वाचनलाई हेरेर हाँस्छे श्रृङ्खला र अकस्मात हातबाट मफलर छोडिदिन्छे । वाचन लडबडाउँदै अलिक पछाडि पुगेर पुठ्ठालाई भार पर्ने गरेर थ्यचारिन्छ । श्रृङ्खलाको अनुहारको रङ उडेर कालो निलो हुन्छ। अलिक अफ्ठेरो गरेर वाचन उठ्छ । कालो पाइन्टमा लागेको धुलो टकटक्याउँछ । अनुहार र आवाजमा केही रिस मिसावट गरेर गाली गर्छ – ” बोक्सिनी! ”

श्रृङ्खलाले अब के गर्ने के नगर्ने दोधारमा आफूलाई राखिरहेकै बेला ‘बोक्सिनी’ भनेको सुनेपछि रिसाएजस्तो गरेर नजिकै पुग्छे र वाचनको देब्रे हातको कुमभन्दा थोरै तल जोडले टोकिदिन्छे ।

– ” तैंले मलाई बोक्सिनी भन्या हैनस् ? ल खा ।”

वाचनले ऐया ! शब्द उच्चारण गर्छ । वाचनको सेतो कमिजको बाहुलामा एकप्रति श्रृंखलाका राता ओठ छोडिन्छन् ।

स्त्री अङ्गको छुवाइले वाचन अलिक अर्कै कस्तो कस्तो महसुस गर्छ । जुन महसुस उसले बाँचेको उमेरमा पहिलो पटक गर्यो ।

सुस्तसुस्त हिँडेर चोकनिर पुगेपछि श्रृंखलाले कान समातेर उभिन्छे माफी मागेको भावमा । वाचनले उसको कानबाट हात छुटाइदिएर एकछिन आफूले समात्छ र छोडिदिन्छ । अब घर जाऊ भन्ने भावमा ।

दुखाइ समाप्त भए पनि लङ्गडोपन अझै समाप्त भएको हुँदैन । आफूलाई अलिक अफ्ठेरो हिँडाइमा कायम राखेर वाचन घर पुग्छ । गेटबाट भित्र पसेपछि अलिक छिटो पाइला चालेर आफ्नो कोठामा पस्छ,यानि कि कमिजको बाहुलामा टाँसिएर आएका एक थान राता ओठ घरका मान्छेले नदेखून् ।

किताबको झोला टेवलमा फाल्छ । अगाडि उभिएको दराजको सिसामा आफूलाई माथिबाट हेर्दै ल्याउँछ । देब्रे हातको कुमनिर चञ्चल आँखालाई अड्याउँछ । मानौं ती आँखा उसको भित्तामा झुन्ड्याएको फोटोमा भएका आँखा हुन्,जो दुई वर्षदेखि यता उता चलेका छैनन् ।

धेरै समय श्रृङ्खलाले कमिजमा छोडेर गएका ओठलाई हेर्छ । जतनसँग आफ्नो शरीरबाट कमिज फुकाल्छ । कतै ओठ बिग्रिन्छन् कि भन्ने त्रासका साथ । जब कमिज निकाल्छ शरीरबाट फेरि आफ्नो देब्रे कुमलाई सिसामा हेर्छ । माथि पाँच र तल चार ओटा दाँतको ठाम झर्लङ्ग देखिन्छ । एकछिन हेरेपछि ती दाँतका नजिकै केही छुटेजस्तो, केही नपुगेजस्तो लाग्छ उसलाई । नजिकै टेवलमाथि रहेको ब्लेट समातेर हलुकासँग थोरै थोरै काटेर दाँतको डामलाई भित्र पारेर ओठको आकार निर्माण गर्न थाल्छ । धेरै बेरपछि जब उसको खुट्टामा केही चुहिएर चिसो महसुस हुन्छ अनि बल्ल पो ऊ होसमा आउँछ । रगत बगिसकेछ धेरै।

देब्रे हातको कुमको केही नजिकबाट बगेको रगत कुहिनोको टुप्पाबाट तप्प गर्दै खुट्टाको बुढी औँलाको नजिकै चुहिएको छ । छेउमा रहेको अङ्गोछाले रगत पुस्छ। धेरै समयसम्म थोरै थोरै रगत बग्छ। रोपाइ गरेको खेतमा हतारहतार हरेक धानका गाँजलाई भेटेर छेउको गरीबाट तल्लो गरामा हाम फाल्न आतुर पानीजस्तो माथिबाट कुहिनाको हाडको छेउमा पुग्न आतुर देखिन्छ रगत । धेरै समयपछि त कुहिनाको छेउमा दुई थोपा जति रगत भूमिमा हामफाल्न नसकेर झुन्डिएर त्यत्तिकै सुक्छ। अग्लो भिरको ढुङ्गाको छेउमा अरिङ्गालले गोलो हालेजस्तो देखिन्थ्यो ।

अर्को दिन कलेजमा साथीहरूको समुहमा वाचन, श्रृंखला, भवामि, गातिस्था, घुपा, भूव्य, परस्मैपदेषु लगायतका सम्पूर्ण साथीहरूले गफ गरिरहेका थिए । घुपाले खै ! के हाँसो लाग्दो कुरा गरेर सबैलाई हसाई । श्रृङ्खलाको हाँस्दा थपडी पिटीपिटी हाँस्ने बानी छ । ठ्याक्कै ‘घामका पाइलाहरू’मा अमलेन्दु भट्टाचार्यकी छोरी, पिताम्बरको छोरो पवनकी साथी अणुको जस्तो । हाँस्ने क्रममा हात आपसमा पिटाएर पनि नपुगेर श्रृंखलाले दाइने हातले छेउमा रहेको वाचनको देब्रे कुमको नजिकै हिर्काई । वाचन झस्कियो । उसलाई भित्रबाट दुखेर आयो बाहिरी घाउ र साथमा सम्झना पनि आयो कि मैले हिजो ब्लेडले काटेर श्रृङ्खलाको रगत चुहिएलाजस्ता रक्तिम ओठ बनाएको छु । आज उसैले हाँसेर त्यही ओठमा हानी ।

कलेजबाट फर्किँदा श्रृङ्खलाले लाज मानेको भावमा भनी – “कमिज धुनु पर्दैन ? त्याँ कमिजाँ लिबिस्टिक छ अझै हिजोको ।”

वाचनले हिजो नै ख्याल गरेर त्यो कमिज मायाले सुम्सुम्याएर अर्को ह्याङ्गरमा जतनसाथ झुन्ड्याएको थियो । आज आफ्नो कमिजको कुममा नियाल्छ त उस्तै दाग छ रातो । उसले थाहा पाउँछ त्यो लिबिस्टिक होइन । रगत हो भन्ने । जुन अघि श्रृङ्खलाले हाँसीहाँसी उसले निर्माण गरेको ओठमा हिर्काउँदा आएको थियो ।

वाचनले श्रृङ्खलालाई कस्तो कस्तो मीठो प्रेम गर्छ तर कहिल्यै भनेको छैन । कुनै कुरा गर्न, केही भन्न समय र मन भएर मात्रै नपुग्दो रहेछ । साहस पनि चाहिदो रहेछ । यदि साहस कुनै पसलमा पाइन्थ्यो भने उसले वर्षैभरि क्यान्टिनमा नास्ता खाने पैसा जोगाएर पनि किन्थ्यो।तर त्यस्तो भएन।उसले सुनेको थियो साहस बढ्दो उमेरसँगै आउँछ।उसले हरेक महिनाको पल्टिदो क्यालेन्डरको पातोसँगै आफ्नो शरीरमा कतै साहस पलायो कि भनेर हेर्यो। तर साहस कहिल्यै पलाएन।

घर पुगेपछि वाचनले दराजको सिसामा आफूले आफ्नो देब्रे हातको कुम नजिकै निर्माण गरेको श्रृंखलाको ओठ हेर्यो।हेरिरह्यो। हेर्दा हेर्दा त्यो ओठका नजिकै अलिक माथि केही दूरीमा दुई आँखा देखिए। नाक देखियो। क्रमशः श्रृङ्खलाको अनुहारको भव्य उपस्थिति भयो। वाचनको शरीर व्यानरमा राखेको कभर फोटो जस्तो धमिलो देखियो अलिक टाढा र हराउँदै गयो।दराजको सिसामा अब केवल श्रृंखला मात्रै देखिई। आमाले, “खाना खान आइजा” भनेपछि वाचन झस्कियो।

आफ्नै नाङ्गो छाती देख्छ ऐनामा। वाचनको कुममा श्रृंखलाको ओठ उस्तै रातो छ, जस्तो उसको आफ्नै अनुहारमा छ। के फरक छ भने उसको अनुहारको ओठबाट रगत चुहिन थालेजस्तो देखिन्थ्यो। वाचनको कुमको ओठबाट चुहिएको नै छ।

प्रत्येक दिन वाचनले कुमको ओठ चलाइरहन्थ्यो। थाहा छैन उसले कस्तो आनन्द प्राप्त गर्दथ्यो।ओठ त उसको कल्पना मात्रै थियो, वास्तवमा त त्यो घाउ नै थियो । एउटा आलो घाउ जसबाट निरन्तर बगिरहेछ रगत। तर वाचनका निम्ति त्यो श्रृङ्खलाको ओठ नै थियो। त्यही ओठ जुन श्रृङ्खलाको मुहारमा टपक्क मिलेको छ। खुब सुहाएको छ।

हरेक दिन त्यो उसले देख्दो ओठ चलाइरहन थाल्यो। मुसारिरहन थाल्यो।एकदिन चलाएन भने घाउमा बाहिरबाट पातलो खाटा बस्दथ्यो। तर वाचनलाई सहन योग्य लाग्दैन थ्यो। श्रृङ्खलाको ओठ फुटेजस्तो लाग्दथ्यो। रङ उडेजस्तो लाग्दथ्यो।असह्य हुन्थ्यो। झन जोडजोडले घाउ आलो बनाउनमा ऊ लाग्दथ्यो। कुनै समय त्यो ओठ चलाउन पाएन भने खुब छट्पटिन्थ्यो।एउटा नमिठो आदत भैसकेको थियो वाचनका निम्ति ओठ चलाउनु । एउटा लत जसको भावी परिणाम वाचनलाई कत्ति थाहा छैन।

एकदिन राति वाचनको घाउ अधिक दुख्यो, सहन गर्न धेरै गाह्रो पर्यो। त्यस रात उसले आफूले बनाएको घाउलाई घाउ नै सम्झियो।बिहान कलेज जाने बेलामा श्रृङ्खलाले धमिलो मुख लगाएर भनी – “घरमा बिहेको कुरा चलेको थियो हिजो। मान्छे आएका थिए। चाँडै बिहे गरिदिने भनेका छन्।”

वाचन एक शब्द पनि बोल्न सकेन। छिटो छिटो पाइला चालेर श्रृङ्खला अगाडि गई।

ठिक विपरीत वाचनका पाइला गह्राैँ भए। ऊ क्रमशः पछाडि छोडिँदै गयो। केही समयमा नै श्रृङ्खलाले हिँडिसकेको बाटो र वाचनले हिँड्न बाँकी रहेको बाटोको दुरी धेरै लामो भैसकेको थियोे।वाचन धेरै पछाडि छोडियो।

वाचनले कुमको ओठ चलाइ नै रह्यो। ओठको आकार पनि बढ्दो क्रममा थियो । सधैँ ताजा जस्तो देखिन्थ्यो। मानौँ भर्खरै बनेको घाउ हो। भर्खरै टोकेकी हो श्रृङ्खलाले र भर्खरै काटेको हो ब्लेड प्रयोग गरेर ओठको आकारमा वाचनले। तर समय धेरै बितिसकेको थियो ।

वाचनको कुमनिर श्रृङ्खलाको ओठ अझै ठूलो भएको थियो । जब वाचनले ओठ चलाउँथ्यो। रगत बग्दथ्यो। तल तल बगिरहेको रगतले शृङ्खलाले लिबिस्टिक लगाउँदा बिगारेरजस्तो हुन्थ्यो। लत्पतिएजस्तो हुन्थ्यो।

एक दिन दिदीले उसको घाउ देख्नुभएछ। के भएको ? भनेर प्रश्न पनि गर्नु भो। वाचनले केही भनेन तर अस्पताल जानु पर्ने भो। दिदीले अस्पताल लगेर उपचार गरियो पनि। तर एक दिन नबित्दै वाचनले हातको पट्टी खोलिहाल्थ्यो।घाउको अवस्था झन् दर्दनाक र बीभत्स भैसकेको थियो, वाचन त त्यसै नाजुक थियो नै।

चौंथोपटक घाउ उपचार गराएर ल्याएर घरमा कडा निगरानीमा वाचनलाई राखे। तीन दिनसम्म कहीँ कतै निक्लिन पाएन।वाचनको अनुहार धेरै दिनदेखि रगत खान नपाएको बाघजस्तो देखिन आट्यो। कस्तो भोकोजस्तो देखिन्थ्यो। चौंथो रात अबेर आफ्नो कोठाबाट निस्किएर छतमा पुग्यो वाचन। लगत्तै भोकाएको सिंहले मदले युक्त हात्तीको घाँटी फोरेजस्तो, मान्छेले पाकेको कटरह च्यातेजस्तो घाउ च्यात्न थाल्यो, रगत बग्न थाल्यो ।च्यात्यो, बग्यो। च्याति नै रह्यो,बगि नै रह्यो।

हेर्दा हेर्दै वाचनले आकाशमा आफूले र श्रृङ्खलाले फिजाएर जोडजोडले मफलर तानेको देख्यो र रातो मफलरको रङ उडेर बेरङ भएको पनि देख्यो।आकाशमा लटरम्म फलेका ताराहरू क्रमशः पुरानो मैलो रङ उठेको श्रृङ्खलाको मफलरको बीचमा नियमभङ्ग रुपमा प्वाल परिरहेकोजस्तो देख्यो। आकाशमा भर्खर एकवित्ता जति हिँडेको जून कालो ताबामा भर्खर राखेको सुक्का रोटीजस्तो लाग्यो। तेजहीन, कान्तिहीन।

बिहान नदी स्नान गर्न आएका एक पल्टन बादल भर्खर स्नान गरेर खोलाको छेउमा रहेका अग्ला सिमलको रुखका हाँगामा पुगेका छन्। घरको छतमा वाचनको शरीर अचेतन अवस्थामा लडिरहेको छ।अल्लिपरसम्म बगेको रगतको धर्सो छ। र छेउमा कमिज पनि छ, जसको देब्रे बाहुलामा छन् श्रृंखलाका ओठ उस्तै रक्तिम।

******

…।

कुनै बच्चाको आवाज सुनेपछि बारीको छेउबाट सरासर घरमा आएँ म। पिँढीमा सानो लौरो समातेर बच्चाले बाख्राका पाठा धपाइरहेको छ। पाठाले भने उसलाई टेरिरहेका छैनन्। भित्र अँगेनामा आमा हुनुहुन्छ। साथमा अर्की कुनै नारी मान्छे पनि छे। भित्रबाट आइरहेको आवाजले म यत्ति भन्न सक्दछु। बच्चा भने मलाई कुनै वास्ता नगरीकन आफ्नै लयमा खेलिरहेको छ।

बारीको छेउ उक्लिएर साथी पनि टुप्लुक्क घरमा आउँछ। लगत्तै भित्रबाट नारी मान्छे बाहिर निस्किन्छे। अहो ! कस्तो अचम्म ! मेरा कथाका पात्रहरू हाम्रो घरमा अकस्मात भेटिन्छन् ।

पीपल र वरजस्तो केही दुरीमा वाचन र श्रृङ्खला ठिङ्ग उभिरहेका छन् । फर्सीको चिचिलोजस्तो कोमल बच्चा बाख्राका पाठा धपाइरहेको छ। हजुरबा मुस्कुराइरहनु भएको छ।

तर धेरै कुरा परिवर्तन भैसकेछ। शृङ्खलाले ओठमा कलेजी रङको लिबिस्टिक लगाउन थालिछ। वाचनको कुममा ओठको खत मात्रै बाँकी रहेछ। हजुरबा मुस्कुराइरहनु त भएको छ तर दैलोमाथिको फोटोमा ।