उज्यालो हुनासाथ बाटो हिँड्ने बटुवाहरूले उसलाई देख्छन् । ऊ बाटोको किनारमा पल्टिरहेको छ । शायद ऊ निदाएको छ मृतकसरह ।

केहीबेरमा घाम पर्छ देहमा, हलचल देखिन्छ उसमा । मरणासन्न देखिने उसको शरीरका अङ्गहरू चल्न थाल्छन् । ऊ लडीबुडी खेल्छ । उठ्छ, भुइँमा हेर्छ अनि भाग्न खोज्छ । तर भाग्न सक्दैन ।  ऊभित्रको भाग्ने शक्तिले पनि उसलाई साथ दिँदैन | त्यहीँ उभिएर कराउँछ, चिच्याउँछ, आफ्नो कपाल लुच्छ । अनि फेरि भुइँमा हेर्छ । लात्तीले हिर्काउँछ । अलिकति शक्ति सञ्चित भएपछि भाग्न थाल्छ ।

पर गएर  उभिन्छ । शक्तिविहीन पुनः भुइँमा पछारिन्छ | दिनभरि यसै गर्छ | पुनः रात पर्छ | अन्धकारले सबैलाई ढाक्छ | ऊ पनि अँध्यारोमै ढाकिन्छ |  बेसहारा ऊ  पुनः सडकको किनारामा फालिन्छ, अनि भोकको पीडामा लडीबुडी खेल्दाखेल्दै अर्को बिहानसम्मको लागि निदाउँछ ।

बाटो हिँडन्तेहरू दिउँसोको उज्यालोमा उसको क्रियाकलाप ठिङ्ग उभिएर नियाल्छन् । दृश्य हास्यास्पद भएकोले केही हाँस्छन् पनि । अनि आफ्नो बाटो लाग्छन् । पसलेहरूले उसलाई सँधै देख्छन् । निरीह प्राणी ठान्छन् | आफ्नो पसलको ढोका खोल्नमा व्यस्त कुनै प्रतिक्रिया जनाउँदैनन् । राज्य पदाधिकारीहरूले पनि उसलाई नदेखेका होइनन् तर उत्तरदायित्वबाट मुक्त छन् | वास्ता गर्दैनन् । विद्यालय धाउनीहरूले उसलाई बौलाहा ठान्छन् ।

ऊ त्रिशङ्कु राज्यको नागरिक हो । केही समयअघि ऊ प्रजा थियो । प्राचीनकालमा यस देशका एकजना सज्जन राजाले आफ्नो राज्यलाई शान्तिको थलो भनेर नामकरण गरेका थिए | प्रजालाई नागरिकको दर्जा दिएका थिए | छिमेकी राज्यहरुमा सम्मान बढेको थियो । ती राजा षड्यन्त्रमा मारिए | आज त्रिशङ्कु राज्य दुर्दशाग्रस्त छ । वर्षेनी राज्याधिकारीहरू  फेरिन्छन् र वर्षेनी त्रिशङ्कुराज्यको दुर्दशामा वृद्धि हुन्छ । राज्याधिकारीहरू यस राज्यलाई पूर्ववत् शान्ति कालीन युगमा प्रवेश गराउन किमार्थ असमर्थ छन् | भ्रष्टाचार बढ्दो छ | राज्याधिकारी र प्रशासक सबै भ्रष्ट छन् |

सडकमा फालिएको त्यो निरीह अपाङ्ग मान्छे झैँ आज त्रिशङ्कु राज्य निरीह छ | वर्षौदेखि ओढिरहेको असभ्यताको खोल फ्याँक्न चाहन्छ । समस्त सामाजिक कुरीति, आपराधिक विसङ्गति तथा विकृतिहरुबाट मुक्ति चाहन्छ तर असमर्थ छ । आफ्नै शरीरको छायाबाट मुक्ति असम्भव हुन्छ |

शरीरमा विष फैलाइसकेपछि कुनै पनि औषधीले काम गर्दैन |