“यो घरका मान्छे कहाँ गएछन् ? म लगातार पाँच दिनदेखि धाएको छु तर कसैलाई पनि भेट्तिनँ ।
जहिलेसुकै दैलो मात्र लगाइराखेको हुन्छ ।” एउटा अपरिचित मान्छेले सोधे ।

मैले उनलाई राम्ररी निहालेँ तर कहिले कतै देखेजस्तो लागेन । हेर्दा सुकिला–मुकिला देखिन्थे तर उनको अनुहारमा भने कालो बादल मडारिरहेको भान हुन्थ्यो । सायद आफूले खोजेको मान्छे नभेटेर होला भन्ने लाग्यो । ए ! मैले त उनको प्रश्नको उत्तर नदिई मनमनै आफैसँग पो कुरा गर्न थालेछु । म मौन रहेको देखेर होला उनले फेरि प्रश्न गरे –“के तपाईं यो गाउँको होइन ? कि तपाईं पनि मजस्तै पवनलाई खोज्न आउनुभएको हो ?”

“होइन, होइन, म यहीको हुँ । मेरो घर ऊ त्यो डिलको रूखले छेलेको छ, बरु भन्नुहोस् न तपाईं कहाँबाट आउनुभएको अनि पवन भाइलाई किन खोज्नुभएको हो ?” मैले आफ्नो परिचय नदिई हतारहतारमा प्रश्नोत्तर गरेँ ।

“उनीसँग जरुरी काम थियो । फोन गर्दा लाग्दैन । धेरैजसो स्विचअफ हुन्छ । आकलझुकल लागिहाल्यो भने पनि उठाउँदैनन् । त्यही भएर घरमै भेट्नुपर्यो भनेर आको तर कहिले भेटिनँ । घरका अन्य सदस्य पनि हुँदैनन् । बिहान, बेलुका, दिउँसो कतिखेर पनि ढोका खुल्ला हुँदैन । मलाईं त दिक्क लागिसक्यो । पहिले त इमानदार नै थिए । अहिले त के भएछ ?” उनले दिक्दारी र सङ्का एकैचोटि प्रकट गरे ।

“मानिस त इमानदार नै हुन् । केही गरौँ भन्ने जोस–जाँगर भएका तर परिस्थितिले उनलाई बैमान बनायो । अहिले त उनले काठमाडौँको गेस्टहाउसमा आत्महत्या गरे अरे भन्ने हल्ला चलेको छ तर पुष्टि भइसकेको अवस्था चाहिँ होइन । सत्यतथ्य बुझ्न सबै परिवार उतैतिर गएका छन् । घर र गाईवस्तुको रेखदेख हामी छिमेकीहरू मिलेर गरिरहेका छौँ ।” मैले उनको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरेँ ।

“राम ! राम ! यो के सुन्नुपर्यो नि ! म त बर्बाद भएँ । सहकारीमा जवानी बसेर मैले रु. पचास लाख ऋण निकालिदिएको थिएँ । त्यसको साँवा–व्याज दुई वर्षदेखि दिएका छैनन् । कोरोना महामारीले व्यापार चल्न सकेन, यसको रोकथाम भएपछि सबै तिर्छु भन्दै भाका सारेको सारै गरे । होला त नि, परिस्थिति पनि त्यस्तै बन्यो भनेर सहकारीलाई थुमथुम्याएँ । अब के गर्ने होला ? मेरो त जहाजै डुब्यो… ।” उनी फतपताउँदै भुइँमा ढले ।

“ए ! ए ! को हो ? के भयो ? कृष्ण उठा न, चिनेका मानिस त होइनन् । कहाँबाट आएका रहेछन् ?” यतैतिर आउँदै गरेका पल्ला घरका काका कराए । उनी पनि यहीको हेरचाह गर्न आएका रहेछन् । हामी दुवै भएर ती मानिसलाई स्वास्थ्य चौकी पुर्यायौँ । स्वास्थ्यकर्मीले चेक जाँच गरे । केही समयपछि उनी पनि होसमा आए । त्यति बेलासम्म गाउँलेहरूको भीड लागिसकेको थियो ।

पर भीडबाट आवाज आयो –“यी त पल्लो गाउँको ‘जनसेवा’ सहकारीका अध्यक्ष हुन् । के भएछ यिनलाई र यहाँ आएर बेहोस भएछन् ?”

“यिनले पनि पवनलाई पैसा चलाउन दिएका रहेछन् । उनको फोन नउठेपछि यिनी खोज्दै घरै आएछन् । त्यहाँ मसँग यिनको भेट भयो । पवनका बारेमा मैले सुनेको कुरा भनेपछि यिनको अवस्था यस्तो भएको हो ? के तिमी यिनलाई चिन्छौ ?” वडाध्यक्ष कृष्णले जवाफ फर्काउँदै पुनः जिज्ञासा राखे ।

“विचारा ! ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भएछ । यिनले सहकारीबाट चौध प्रतिशत व्याजमा ऋण निकालेर चौबिस प्रतिशत व्याजमा पवन दाइलाई लगानी गर्थे । ऋणीको अवस्था थाहा पाएपछि यिनलाई ठूलै वज्रपात परेछ । हामी वचतकर्ता ऋण माग्न गयो भने अनेकथरिको नियम लगाएर झुलाको झुलाई गर्छन् । आफूहरू चाहिँ कहाँकहाँको खोलाले बगाइसकेको जगाको पुर्जा राखेर करोडौं निकालेर महङ्गो व्याजमा अन्यत्र लगानी गर्छन् । यस्तालाई त ठिक्क पर्यो ” पल्लो गाउँका श्यामले पीडा मिश्रित आक्रोश पोखे ।

“साँच्ची पवनको अवस्था अहिले कस्तो छ ? केही खबर आयो ?” रमिला मिसले बुझ्न खोजिन् ।

“डाक्टरहरूले बचाउने प्रयास गर्दागर्दै पनि सफल भएनछन् । हिजो पशुपति आर्यघाटमा उनको दाहसंस्कार भइसकेछ । परिवारले उही बसेर काजक्रिया गर्ने अरे अनि सरकारलाई दबाब पनि दिने भनेर हामीलाई उतै बोलाएका छन् । हामी पनि व्यवहार मिलाएर दई–चार दिनका लागि जानुपर्छ । मर्ने त मरिगो तर बाँच्नेलाई त सबैले सहयोग गर्नुपर्छ । ऋण धेरै छ भन्ने सुन्नमा आको छ । कसरी तिर्छन् ? बालबच्चा सानै छन् । त्यसैले तिनीहरूको लालन–पालन, शिक्षा–दीक्षाको व्यवस्थाको साथै ऋण पनि सरकारलाई तिर्नका लागि दबाब दिनुपर्छ । एउटा कर्मशीलले अकालमै ज्यान गुमाउन बाध्य भएको छ ।

उसले आफैँले उत्पादन गरेको सामान बेच्दा कुनकुन पसलले कतिकति पैसा दिएका छैनन् ? अनि कुनकुनले चेक लिन बोलाउने तर नदिएर महिनौँ दिन झुलाउने गर्थे । ती सबैको नाम र उठ्न बाँकी रकमसमेत सुसाइड नोटमा उल्लेख गरेको रहेछ । अहिले त्यो भाइरल भइरहेको छ । ऊ परिश्रमी, इमानदार थियो । स्वदेशमै केही गरौँ भन्ने सोचले विदेशबाट कमाएर ल्याएको पैसाले गाउँमै उद्योग खोलेर व्यवसाय गरिरहेको थियो भन्ने कुरा हामीलाई थाहा भए पनि बाहिरकालाई थाहा थिएन तर त्यो नोटले उसको वास्तविकता उजागर भएको छ । उसप्रति सहानभूति राख्ने मानिसको पनि ओइरो लागेको छ । यस्तो दुःख परेको बेलामा हामी छरछिमेकीले पनि सकेको सहयोग गर्नुपर्छ ।” वडाध्यक्षले रमिला मिसको जिज्ञासा तृप्ति गर्ने प्रयास गर्दै आफ्ना विचार पनि प्रस्तुत गरे ।

“पवनको ऋण सरकारले तिर्यो भने त नेपालमा मर्नेको लर्को लाग्छ । कोरोनाको महामारीले व्यापार–व्यावसाय धमाधम बन्द भइरहेका छन् । बैंकले ब्याजदर नघटाएकाले हरेक व्यापारी सङ्कटमा परेका छन् । गाउँघरमा मिटरे व्याजमा लगानी भइरहेको छ । जसले जति व्याज लिए पनि त्यसको निष्पक्ष छानबिन गर्ने कुनै नियम नकारी संघसंस्था छैनन् ।

किसानले दुःख गरेर उब्जाएको सामग्रीको उचित मूल्य नपाउँदा उनीहरू मानसिक रोगको सिकार भइरहेका छन् भने कतिपय चाहिँ फोनका भरमा अरूलाई ठगेर (जगा दलाल गरेर, बिचौल्या बनेर) धेरै कमाउने अनि ऐसआराम गर्दागर्दै ऋणमा चुर्लुम्म डुबेर पनि मानसिक रोगको सिकार भएका छन् । ती मानिसहरूले दैनिकजसो आत्महत्या गरेका समाचार आइरहेका छन् । यदि मर्नेहरूको ऋण कहींकतैबाट तिरियो भने त यहाँ कति मर्छन् कति ? त्यसोहुनाले मलाई चाहिँ सम्बन्धित निकायले त्यस्ता कुरामा सतर्कता अप्नाउनुपर्छ भन्ने लाग्छ ।” रमिला मिसले आफ्ना धारणा राखिन् ।

“के तपाईंलाई पवनको परिवारको अलिकति पनि माया लाग्दैन ? उसले तपाईंको के बिगारेको थियो नानी ! किन त्यति धेरै निष्ठुरी हुनुभएको ?” पवनकी काकीले मलिन स्वरमा भनिन् ।

“तपाईंले मेरो कुरा बुझ्नु नै भएन । मेरो आशय उनीहरूलाई सहयोग नगर्ने हुँदै होइन । म उनीहरूलाई माया गर्छु, दया होइन । मृत्यु अन्तिम सत्य हो तर समस्याको समाधान होइन । उसले बाँच्नका लागि विकल्प खोज्नुपर्थ्याे । उसलाई ठग्नेहरूको विवरण जसरी अहिले सुसाइड नोटमा उल्लेख गरेको छ त्यसलाई जिउँदो हुँदा नै बाहिर ल्याएर सजाएको भागिदार बनाउन कोसिस गर्नुपर्थो तर उसले त्यसो गरेको देखिँदैन । एक्लै पीडा भोग्यो र थेग्न नसकेर मृत्यलाई रोज्यो तर बाँचेका उसका ती चारचार वटा बालबालिका, डाँडामाथिका घाम भएका आमाबा अनि आधा बैँस पनि नढलेकी श्रीमती ती सबैको अवस्था कस्तो भयो होला ? दुईचार दिन सहानुभूति दिनेको ओइरो लाग्छ ।

कसैकसैले त रकम पनि उपलब्ध गराउलान् तर ती सबले परिवारमा खुसी ल्याउँछ र ? केही समयपछिदेखि तिनै सहानभूति दिनेहरूले व्यङ्ग्य हान्न थाल्ने छन् ।

विद्यालयमा छोराछोरीका साथीले गिज्याउने छन्, “तिमीहरूको बाउ त ऋण तिर्न नसकेर मरेको अरे अनि मरेपछि सबै ऋण सरकारले तिरिदियो अरे …।” यस्ता कुराले बालबच्चाको दिमागमा कस्तो असर पर्छ होला ? के उसले ती सबका बारेमा सोच्न पर्दैनथ्यो ? त्यसैले कोही कसैले पनि उसको ऋण तिरिदिने होइन बरु उसकी श्रीमतीलाई आफ्नो योग्यता र क्षमता अनूसारको रोजगारी दिलाएर आत्मनिर्भर बनाउने काममा चाहिँ हामीले सहयोग गर्नुपर्छ । स्वयम् आत्मनिर्भर भइन् भने परिवारको भरणपोषण गर्न सक्षम हुनेछिन् । केही पैसा बचत गरेर ऋण पनि बिस्तारै तिर्दै जानेछिन् साथै मर्न बाध्य पार्नेहरूको विवरण उपलब्ध गरेर सत्यतथ्य छानबिन गर्न पहल गर्ने । यदि दोषी ठहरिए कानुनको कठघरामा ल्याउन सहयोग गर्नुपर्छ ताकि अरूले त्यो बाटो रोज्नु नपरोस् ।” रमिलाले आफ्नो विचार प्रकट गरिन् ।

“मिसले भनेको कुरा ठीक लाग्यो । तपाईंले हाम्रो आँखा खोलिदिनुभयो । आत्महत्या गर्ने सबैको ऋण सरकाले तिर्यो भने त गलत परम्पराको थालनी हुन्छ । मानिस अल्छी अनि परनिर्भर बन्छन् । यसो गर्नु हुँदैन ।” रमिला मिसको कुरामा वडाध्यक्ष सहमत भए ।