हर्क बहादुर नेपालीको साथी श्यामप्रसाद एउटा मिठाई लिएर आयो । हर्कको नजिकै गएर उसलाई मिठाई दिँदै खान भन्यो । हर्क अक्क न बक्क पर्यो ।

श्यामप्रसादले कर गर्दै भन्यो, “खाऊ न खाऊ, मैले दिए पछि पनि किन अकमकाएको ?”

हर्कले सकारात्मक संकेत स्वरुप टाउको हल्लायो, “खोइ ल्याऊ न त ।”

श्यामप्रसादले हर्कको हातमा मिठाई राखिदियो । उसले मिठाई निकै स्वादिलो मानेर खान थाल्यो ।

श्यामप्रसादले भन्यो, “जन्मदिनको अपार शुभकामना मित्र, सधैँसधैँ यसरी नै जन्म दिन सँगसँगै मनाउन पाइयोस् ।”

उसले यति भने पछि बल्ल मिठाई दिनुको रहस्य खुल्यो । आजबाट हर्कबहादुर १६ वर्षमा लागेछ ।

 

हर्कबहादुर र श्यामप्रसाद सँगसँगै पढ्ने एउटै गाउँका साथीहरु हुन् । उनीहरुले भरखर गाउँकै विद्यालयबाट एस. ई.ई. परीक्षा दिएका छन् । हर्कबहादुर जन्मेको दुई महिनामा उसको बाबु कामको सिलसिलामा कुवेत गएको थियो । एक वर्ष जति त उसले राम्रोसँग घर परिवार हेरेको थियो । घरमा पनि चाहिने जति पैसा पठाएको थियो । त्यसपछि खै के भयो उसको पैसा त के फोन पनि आउन छोड्यो । यता घर खर्च नभएपछि साह्रै गाह्रो हुन थाल्यो । उसकी आमाले घर गाउँमा अर्मपर्म तथा निमेक गरेर हर्केलाई हुर्काउँदै गई । दुई तीन वर्ष यसरी नै चले । गाइगुईं हल्ला आयो हर्केको बाउ कुवेतमा नै मर्यो भनेर । यी हल्ला झनझन फैलन थालेपछि हर्केकी आमालाई विधुवा, अलक्षिना, पोइटोकुवा भन्न थालियो । यो आरोप थेगेर पनि उसले अरु एक दुई वर्ष गुजारी । हर्केलाई हुर्काएर ठुलो मान्छे बनाउने चाहनामा उसले समाजले लगाएका अनेक लाञ्छना सहेकी थिई ।

देवीदत्त गाउँका गने चुनेका मान्छे हुन् । उनले गाउँमा धेरैलाई विभिन्न कुरामा सहयोग गरेका छन् । गाउँलेहरू उनलाई सम्मानका साथ देवी बा भन्थे । देवी बा अरुलाई सहयोग गर्न पाउँदा खुसी हुन्थे । गाउँमा आइपरेका सानातिनाझैँ झगडा पनि उनले मिलाउँथे । उनले भनेका कुरा गाउँलेहरूले सितिमिति काट्न सक्दैनथे ।

हर्केकी आमा देवी बालाई भेट्न गई, “बा नमस्ते म त हजुरलाई एउटा बिन्ती बिसाउने आएकी ।”

देवीदत्तले नमस्कार फर्काउँदै भने, “के कति काम लिएर आयौ त नानी ? कस्तो छ हर्केलाई ? सबै कुरा ठीक त छ नि ?”

“के हुनु बा ! गरिबका दिन कहिले फिर्लान् र ? सधैँ यस्तै त हो नि । अब हर्के पनि अलि ठुलो भयो । स्कुल पठाउन पाए हुन्थ्यो। हजुरको सहयोगको आस गरेर आएकी ।”

“मैले के गर्न पर्यो ?” देवीदत्तले सोधे ।

“साँझ बिहान हर्केले हजुरकोमा हातेसारो गर्छ दिउँसो स्कुल जान्छ । यति गर्न पाए राम्रो हुन्थ्यो ।”

“तिम्रो इच्छा यस्तो छ भने ठीक छ नि त । हुन्छ हर्केलाई मेरो घर ल्याऊ न त उसको कुरा पनि सुनौँ ।”

देवी बाले यसो भनेपछि हर्केकी आमाले हर्केलाई लिन गई । उसले हर्केलाई सम्झाईबुझाई गरेर लिएर आई । हर्केले देवी बाकहाँ बसेर स्कुल जाने अनि साँझ बिहान घर खेतको काममा सघाउने भयो । हर्के पढाइमा लगनशील थियो । घरका काम पनि मन लगाएर फटाफट गर्थ्यो । ऊदेखि देवी बा पनि निकै खुसी थिए । आफ्नै छोरालाई जस्तै माया गर्थे । कक्षामा सधैं जसो प्रथम हुन्थ्यो, कुनै वर्ष द्वितीय भयो भने त्यो वर्ष यति मिहेनत गर्थ्यो कि अर्को साल ऊ प्रथम नै हुन्थ्यो । यस्तो लगन देखेर विद्यालयका शिक्षकहरू समेत खुसी थिए ।

हर्के हुने बिरुवाको चिल्लो पात भनेझैँ सानैबाट बुझकी थियो । कसैलाई रुखो बोली गर्दैन थियो ।

तीन चार वर्षपछि हर्केकी आमा गाउँमा देखिन छाडी । कसैले के हल्ला चलाए कसैले के, भनेर साध्यै छैन । कोही कोहीले त कलकलाउँदो छोरो छोडेर पोइल गई पनि भने । यदि त्यसो हुँदो हो त छोराको भविष्यको चिन्ता किन गर्थी उसले ?

कतिले देवी बाको खोलापारीको खेत रोप्न जाँदा खोलाले बगाएको हो पनि भने । जे भएको होस् कि त उसैलाई थाहा होला कि त दैवलाई नै थाहा होला । जो जसलाई साँचो कुरा थाहा भए पनि, हर्केको काख हराएको थियो, उसको सर्वस्व गुमेको थियो । बाबुको पिरको घाउ खाटा नबस्दै अर्को घाउ लागेको थियो । समय बलवान् हुन्छ किनकि उसैले सारा घाउ लगाउँछ भने खाटा पनि उसैले बसाउँछ । घाउमा खाटा बस्दै गएको थियो ।

हर्क बहादुर र श्याम प्रसाद दुवैले एस. ई. ई. को जाँच दिए । दुवैको जाँच राम्रो भएकोमा दुवै फुरुङ्ग थिए । परीक्षापछि उनीहरू घरका अन्य परिवारसँग पोखरा घुम्न गए । त्यो फेवाताल अनि त्यसैमा पौडी खेलिरहेको माछापुच्छ्रे हिमालको सेतो छाया कति रमणीय थियो त्यो क्षण । चमेरे गुफा, महेन्द्र गुफा, पाताले छाँगो कसरी बनेका होलान् ? रानीवनमाथिको बौद्ध गुम्बा अनि त्यहाँबाट चियाउँदा देखिने दृश्य आँखामा भरेर कहिल्यै नसकिने लाग्थ्यो । बेगनास र रूपाको मनोरम दृश्य कसरी भुल्न सकिन्छ र ? हर्के र श्याम दुवै औधी खुसी थिए ।

आज एस. ई. ई. को नतिजा प्रकाशित हुने भनिएको दिन । दुवैको प्रतीक्षा व्यग्र थियो नतिजाको लागि । नतिजा प्रकाशित भएको खबर पाए उनीहरुले । दुवै राम्रो ग्रेडका साथ उत्तीर्ण भए । हर्क बहादुरको ए प्लस ग्रेड आएको रहेछ भने श्यामप्रसादको ए ग्रेड आएको रहेछ । दुवैको खुसीको सीमा थिएन । अस्ति मात्र हर्केको जन्मदिन आज यस्तो राम्रो नतिजा । लाग्थ्यो सारा खुसी उसैको झोलामा हालिदिएका छन् भगवानले । हर्केले आज जताततै राम्रो मात्र देखेको थियो ।

भत्केको खोलाको ढिकसमेत कति राम्रोसँग मिलेर भत्केको भन्दै श्यामलाई सुनायो, “प्रकृति पनि कति अनौठो छ है, अचानक खस्ने खोलाको ढिक पनि यति राम्ररी खसालेर कस्तो राम्रो आकृति बनाएको छ ।”

श्यामले भन्यो, “त्यति मात्र हो र ? ऊ हेर त आकाशमा बादलको आकृति कति राम्रो छ ।”

चराको चिरबिर चिरबिर आवाज पनि कति मिठो लागेको थियो उनीहरूलाई ।

हर्क बहादुरले भन्यो, “सुन त श्याम आज त चराहरूले पनि कति मिठो गित गाएका है ।”

मन खुसी भएपछि सबै राम्रो हुँदो रहेछ । मनमा चङ्गा त लोटामा गङ्गा भनेको यही रहेछ ।

दुवैले गाउँकै विद्यालयमा एघार कक्षामा नाम लेखाए । दुवै पढ्नमा अब्बल थिए । सरकारले दिने छात्रवृत्तिका लागि नागरिकता चाहिने भयो । यो कुरा हर्केले देवी बालाई सुनायो । भोलिपल्ट देवी बा र हर्के वडा कार्यालय गए । सिफारिस दिन वडाध्यक्ष अन्कनाए । धेरै कुरा भने सबै दु:ख बिसाए । वडाध्यक्ष बल्लतल्ल राजी भए तर भोलि आउनु भनेर पठाए ।

जब भोलिपल्ट उनीहरू वडा कार्यालय पुगे वडाध्यक्षले भने, “तपाईं आफैँ बाबु बनेर सनाखत गर्छु भन्नुहुन्छ भने म दिन तयार छु ।” दे

वी बा अलि अक्मकाए । के गरौँ के गरौँ भयो । उनले कुरा बुझे यो वडाध्यक्षले काम गर्दैन भनेर । उनले भने भोलि आउँला । देवी बा र हर्के घर फर्के ।

देवी बाले यो कुरा घरमा भने । सबैले आ-आफ्नो विचार व्यक्त गरे । कसैले वडाध्यक्षले भने जस्तै गरी गर्ने भने कसैले हुन्न भने । आफैँ बाबु हूँ भन्दा भोलिको दिनमा आइपर्ने समस्या बारे कुरा उठाए । हर्केलाई अहिले नागरिकता नबनाउने सल्लाह दिइयो । उसलाई फर्काइयो । छात्रवृत्ति नपाए पनि पढाउँछु भने देवी बाले । अहिलेको अवस्थामा त समस्या टर्यो ।

हर्केले राम्ररी पढेर ठुलो मान्छे बन्ने सपना साकार पार्न रात दिन मेहेनत गरेर पढिरहेको थियो । पढाइमा श्यामप्रसाद र उसको कडा प्रतिस्पर्धा भइरहेको थियो । समय बित्दै गयो । उसले राम्रो ग्रेडमा कक्षा ११ र १२ उत्तीर्ण गर्यो । गाउँमा सबैले आफ्नो छोरा छोरीलाई हर्केकै उदाहरण दिएर भन्ने गर्थे “हर्के जस्तै हुनु” ।

यसरी गाउँभरिकै उदाहरण र प्यारो थियो हर्के । आफ्ना आमा बुवा नभए पनि अरुको घरमा बसेर उनीहरुले अह्राएको काम गरेर खाली समयमा पढेर पनि उत्कृष्ट ग्रेडका उत्तीर्ण हुनु चानचुने कुरा थिएन । उसको पढाइप्रतिको लगाव देखेर देवी बाले स्नातक पनि पढाउने जमर्को गरे । सहर बजारमा पठाए क्याम्पसमा भर्ना गरिदिए ।

हर्केले पनि मेहनत गर्यो, प्रथम वर्षमा उसले क्याम्पस टप गर्यो । क्याम्पसका प्राध्यापकहरूको प्यारो विद्यार्थी थियो ऊ । आफ्नो खर्च टार्न उसले सहरकै एउटा बोर्डिंग स्कुलमा पढाउन पनि थाल्यो । यसले उसलाई धेरै राहत दिएको थियो । स्नातक पनि राम्रो श्रेणीमा उत्तीर्ण गर्यो । गाउँमा आयो फेरि देवी बाकै घर आगनीमा मेलापात र दाउरा घाँस गर्न थाल्यो । त्यतिबेला सम्ममा पुराना वडाध्यक्ष परिवर्तन भएर नयाँ आइसकेका थिए । समयले कोल्टे फेरिसकेको थियो ।

हर्केले देवी बालाई भन्यो, “बुवा नागरिकता बनाउनको लागि एकपटक फेरि वडा कार्यालय जाउँ कि ?” देवी बालाई पनि हर्केको कुरा मनाशिव लाग्यो । दुवै जना भोलिपल्ट वडा कार्यालय पुगे । वडा कार्यालयमा दुई घण्टा कुरेपछि वडाध्यक्षको प्रवेश भयो । खै, कता हो के को उद्घाटन थियो रे ? देवी बाले “नमस्कार वडाध्यक्ष ज्यू ! एउटा काम लिएर आएको हजुर” भन्दै गर्दा वडाध्यक्षले, “नमस्ते नमस्ते भित्र आउनुहोस् ” भन्दै भित्र पसे ।

देवी बाले आफ्नो दुःखेसो पोखे, “यो बाबुको नागरिकता बनाउनको लागि सिफारिस लिन आएको ।”

वाक्य नसकिँदै वडाध्यक्षले भने, “बाबु तपाईंको छोरा हो ?”

उनले थपे, “हो नि हजुर ।”

वडाध्यक्षले भने, “हुन्छ नि त्यसो भए ।”

फेरि थपे, “यतिका उमेरसम्म पनि किन नबनाउनु भएको त ?”

देवी बाले सबै कुराको बेलिविस्तार लगाए । यो सुनेपछि वडाध्यक्ष अन्कनाए ।

उनले भने, “यस्तो त गाह्रो हुन्छ त ।” सिफारिस दिन मानेनन् । निरास हुँदै दुवै घर फर्किए । एउटा होनहार कर्णधार विरक्तिएर निस्क्यो । आखिर कसरी अयोग्य ठहरियो हर्के ? किन सिफारिस नपाएको होला ?

देवी बाले यस्तै कुरा मनभरि खेलाउँदै भने, “अब के गर्ने त हर्के ?”

हर्केको मन अमिलो भएर आयो, “के म यो देशको नागरिक हैन र ? हो भने किन सिफारिस नपाएको होला ?”

हर्केलाई आफूले टेकेको जमिन भासिएको जस्तो लाग्यो, चारैतिर एकछिन अँध्यारो भएझैँ मान्यो । दुबै जना नुन खाएको कुखुराजस्तै देखिए । केहीपछि सुनियो हर्के कालापाहार गयो भनेर ।