मलाई त्यसबेला पटक्कै लागेको थिएन– हाम्रो संवादहीनता ६ महिनासम्म लम्बिनेछ भनेर । ६ महिनापूर्वको अप्रिय घटनाले  मलाई अहिलेसम्म सताइरहेको छ । आँखामा उदासी र मनमा छटपटी छ । म छु तर मसँग आफ्नै जीवन छैन जस्तो लाग्छ । कहिलेकाहीँ सोच्छु त्यति सानो कुराले यत्रो आकार कसरी लिन सक्यो ?

बिहेको पहिलो वर्ष थियो । ललिता र मेरो वैवाहिक जीवन निकै उल्लासपूर्ण बितिरहेको थियो । हामी दुईबीच राम्रो समझदारी थियो । बिहान म अफिस जाने बेला मुसुक्क हाँसेर विदाइ गर्थी अनि घर फर्कंदा आँगनमा उभिएर मलाई नै स्वागत गरिरहेकी हुन्थी । मेरो खानपिन, लुगाफाटो सधैँ समयमै तयार गरिदिन्थी । कहिलेकाहीँ मैले कलेजमा पढाउनुपर्ने विषयवस्तुको टिपोटसमेत गरिदिन्थी ।

बिहे पहिले एकपटक  देखेको नभए  पनि बिहेपछि उसलाई निकै कम समयमै धेरै माया गर्न थालेको थिएँ । उसले पनि साह्रै माया गर्थी । ललिता १–२ दिन माइत गएर बसी भने मेरो मनमा निकै छटपटी हुन्थ्यो । केही न केही निहुँ पारेर उसलाई भेट्न पुगिहाल्थेँ ।

‘ललिता, मलाई छोडेर टाढा न जाऊ है।’ मैले बारम्बार भन्थेँ ।

‘तपाईंलाई छोडेर अन्त म कसरी बाँच्न सक्छु र ?’ उसले निकै मायालु पाराले भन्थी ।

समय त्यसरी नै बितिरहेको थियो ।

छुट्टीको दिन थियो । ललिता र म कोठामा बसेर टी. भी. हेरिरहेका थियौँ । टी.भी. मा शायद कुनै सिनेमा चलिरहेको थियो । सिनेमाका नायकनायिका आफ्नो सानी छोरीसँग खेलिरहेको दृष्य हेरेर मैले ललितालाई जिस्काउँदै भने–“ हाम्रो घरमा यस्तै छुनुमुने कहिले आउने होली ?”

ललिताले चोर आँखाले एकपटक मतर्फ हेरी अनि लजाएर अर्कोतर्फ फर्किई ।

मैले पहिलेकै कुरा दोहोर्याउँदै उसलाई काउकुती लगाइदिएँ ।

‘फन्टुस् !’ ललिता रिसाएर झैँ गरी ‘किन चाहियो नि अहिले नै छुनमुने हजुरलाई ?’

‘लाटी, त्यति पनि थाहा छैन ।’ म पूरै जिस्किने मूडमा थिएँ ।

उसको गालामा प्याट्ट हिर्काउँदै भनेँ, “छुनुमुने भयो भने काखमा राखेर म्वाई खान पाइन्छ । उसलाई काँधमा राखेर घुमाउन पाइन्छ । ऊसँग खेल्न पाइन्छ । छुनुमुने भई भने बिहान अफिस जाँदा ‘बाबा टाटा’ भन्छे अनि घर फर्कंदा ‘बाबा आउनुभयो’ भन्छे । बुझ्यौ ?”

“अँ ….खुब बाबा भन्ली ? ”उसले लाजको पर्दा केही उघारी ।

“मलाई बाबा नभने के आमा भन्ली त ?” मैले हाँस्दै सोधे ।

“अठारौँ शताब्दीमा केको बाबा नि ? हाम्रो बच्चीले त ड्याडी भनेर बोलाउने छे ।” ललिताले भनी ।

“ड्याडी स्याडी होइन, मलाई बाबा नै भनेको मन पर्छ, उसले पनि बाबा नै भन्नेछ, बुझ्यौ ?” किन हो कुन्नी यो कुरा मैले केही ठूलै स्वरमा भनेँ ।

“दिदी दाइहरूका छोराछोरीले ड्याडी, मम्मी भन्छन् । हाम्रा छोराछोरीले बाबा, आमा भन्नुपर्दा अरूले ’पाखे’ भन्दैनन् कि क्या हो ? मैले त जन्मने बित्तिकै ड्याडी, मम्मी भन्न सिकाउने हो ।” – ललिताले बिना कुनै संकोच भनी ।

“मैले कुनै हालतमा पनि ड्याडी मम्मी भन्न दिन्नँ ।“ ममा थाहै नपाई झगडा गर्ने उत्तेजना चढ्यो ।

“आफ्नो भाषा बोल्दा पाखे भइने, अर्काको नक्कल गरेर बोल्दा सभ्य भइने ? तिम्रो जस्तै दास सोचाइले गर्दा त समाज बिग्रेको हो । मलाई मेरो भाषा संस्कार प्यारो छ । हाम्रा सन्तानले पनि मैले सिकेको संस्कारअनुसार चल्नुपर्छ ।”

“चलेनन् भने नि ?” उसले शंका व्यक्त गरी ।

“कसरी चल्दैनन् ? दुई झापड दिएपछि उनीहरूले नमानेर सुख पाउँछन् ?” मैले भनेँ ।

“खुब बल छ नि पाखुरामा । गतिलो कुरा सिकाउँछु भन्नु त परै जाओस् राम्रो कुरा सिके भनेर बच्चालाई पिट्ने कुरा गर्ने ?” ललिता मसँग निकै रिसाई ।

“बलको कुरा होइन , यो घरमा बस्नेले घरको संस्कार मान्नैपर्छ । कुसंस्कार बोकेर कोही पनि यहाँ बस्न पाइन्न । झापड लगाउने मात्र होइन गलहत्याउन पनि सकिन्छ । छोरी होस् कि मोरी !” म पनि रिसाएँ ।

“गलहत्याउने धम्की किन दिन पर्यो । यौटी छोरीलाई त माइत राखेर पनि पाल्न सक्छु ।” उसले घुर्की देखाई ।

माइतीमा राखेर छोरी पाल्ने कुरा गर्दा मलाई निकै रिस उठ्यो ।

मैले ठूलै स्वरमा भनेँ, “माइतीको धम्की दिनु पर्दैन । तिम्रा माइतीलाई पनि मैले राम्ररी जानेको छु ।”

कुरा यहीबाट सुरु भयो । छोरीको कुराले मेरो घरपरिवार र ललिताको माइती पक्षसमेत झगडामा तानिए । रिसको झोंकमा ललिताले घर छोडेर जाने कुरा गरी ।

मैले पनि “ढोका खुल्ला छ, जहाँ मन लाग्छ त्यहाँ जान सक्छेस् भनिदिएँ ।”

साँझसम्म ललिता र मबीचको दूरी निकै बढिसकेको थियो । साँझ खाना त पाक्यो तर खान भने दुवैले खाएनौँ । आमा बाले हामी दुवैलाई गाली गर्नुभयो । हामीहरू बोलेनौँ । राति छुट्टाछुट्टै सुत्यौँ ।

बिहान ललिताले सधैँ चिया ल्याउँथी तर भोलिपल्ट ल्याइन । हिजोको रिस मरेको रहेनछ, दिउँसोसम्म त नर्मल भैहाल्छे भनेर चिया नपिएरै क्याम्पस गएँ । दिउँसो घर आउँदा ललिता थिइन । आमालाई सोधेर थाहा पाएँ ऊ त माइत गइछे ।

सामान्य विषयमा परेको झगडाले गर्दा एक वचन पनि नभनी घर छोडेर गएकोले ललितासँग निकै रिस उठ्यो । आमाले ललितालाई फकाएर ल्या भन्नुभयो तर मैले रिस मरेपछि १–२ दिनमा आउँछे भनेर चुप लागेर बसेँ ।

ललिताले घर छोडेर गएपछि जीवनयात्रा निकै अस्तव्यस्त भयो । भोक, निद्रा, हाँसो खुसी एकैपटक हरायो । मनमा एकाग्रता नहुँदा पढाउनुपर्ने विषयवस्तुको तयारी गर्न सकिनँ । अध्यापन राम्रो हुन नसक्दा धन्न धन्न कलेजको जागिर चट् भएन । येनकेन जागिर भने जोगाएँ ।

१–२ दिनमा ललिता आउली भन्ने ठानेको थिएँ तर ऊ फर्किन । ललिताले फोनसम्म गरिन र मैले पनि गरिनँ । दिनहरू बित्दै गए । उसको अनुपस्थितिमा येनकेन जीवन चलिरह्यो । हरपल उसैको सम्झना आइरहन्थ्यो । ऊबिना बाँच्न कठिन भैरहेको थियो तर पनि उसले आफै घर छोडेर गएकोले उसलाई भेट्न र फोन गर्न भने मेरो अहंले दिएन । मेरो घर पक्षले उसलाई लिएर आउन भनिरहन्थे र उसको माइतबाट पनि मान्छेहरूले त्यस्तै खबर पठाउँथे । ऊ आफैँ किन आइन त्यो त थाहा भएन तर म भने जसले घर छोडेर गएको हो ऊ आफैँ फर्कनुपर्छ भन्ने अड्डी राखेर उसलाई लिन गइनँ । ऊ टाढा गएर बसे पनि मेरो मनमा उसको तस्वीर यथावत थियो, उसको माया पनि उत्तिनै थियो । साथीहरूले “झगडा गरेर माइत गएर बस्नेलाई पर्खेर बस्नु हुँदैन” भनेर उचाल्न खोजे पनि मैले ऊबाहेक अरूलाई मनमा आउन दिइनँ ।

६ महिना मन बाँधेर राखे पनि अन्ततः मन कमजोर भएरै छोड्यो । मायाकाे अगाडि अहं आफै हराएर जाँदाे रहेछ । एक साँझ उसलाई फोन गरेँ । मैले “हेलो” भन्ने बित्तिकै उसले मेरो आवाज चिनिहाली ।

“मेरो माया लागेन ?” मैले केही बोल्न नभ्याउँदै उसले भनी ।

“तिमी पनि त निष्ठुरी बन्यौ नि ।” मैले भनेँ ।

केहीबेरसम्म दुवैजना बोल्न सकेनौँ । गला त्यसै अवरूद्ध भयो ।

“तिमीले भनेझैँ छोरीले ड्याडी भने पनि मलाई नराम्रो लाग्ने छैन ।” मैले मौनता भङ्ग गर्न भने ।

“म गलत रहिछु । ड्याडी भन्नुभन्दा त ’’बाबा’ भनेकै राम्रो सुनिँदो रैछ ।” ललिताले ओसिलो स्वरमा भनी ।

“छोरीलाई नै सोधौँला, उसले के भन्छे ?” मैले मध्यमार्ग अपनाएँ । ललिता सुस्तरी हाँसी ।

“छुनुमुने छोरी खेल्ने घर लथालिङ्ग छ, सम्हाल्न आऊ न है ।” मैले अनुरोध गरेँ ।

’फन्टुस् ।’ ललिताले मायालु पारामा भनी “मन पनि त लथालिङ्ग भएका छन् नि ।”