“रमेश प्रसाइँले कल्पनालाई नै बिहे गरेको भए हुने !” कुरै कुरामा दिव्याको अड्बाङ्गे कुरा सुनेर सबैजना गलल हाँस्यौँ ।
मेरा सहकर्मी कपिल र हरिहर अनि दिव्या र म काठमाडौँबाट दाङतिरको यात्रामा थियौँ । भोलिपल्ट दाङमा मेरो पुस्तकको विमोचन हुने कार्यक्रम थियो । आक्कलझुक्कल देखिने चिल्लो सडकमा गाडीको तीव्र गतिले अगाडि देखिएका दृश्यहरू तँछाडमछाड गर्दै पछि परिरहेका थिए ।
“रमेशले सबैभन्दा बढी नन्दालाई मन पराए होलान् । नन्दाले सबैभन्दा बढी रमेशलाई मन पराइहोलिन् । अनि पो दुईजनाको बिहे सम्भव भयो । यो त भाग्यको खेल पनि हो ।”चालक रामले गाडीको स्टेरिङसँगै कुरा पनि घुमाए ।
“प्रचण्डका बाबुले प्रचण्डकी आमाको सट्टा अर्कैलाई बिहे गरेको भए अहिलेको अवस्था के हुन्थ्यो नि ?” किरणले प्रसङ्गलाई बटार्न खोजे ।
हाम्रो अट्टहासले गाडीको गतिलाई नै मत्थर तुल्याइदियो ।
“मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ ।” हरिहरले रामकृष्ण ढकालको प्रचलित गीत सुसेले ।
रामले कता कताबाट त्यही गीत खोजेर गाडीकै स्पिकरबाट घन्काउन थाले ।
“पख्नुस् है, म यही गीतमा एउटा टिकटक बनाइहाल्छु ।” दिव्याले मोबाइल झिकेर क्यामेरा यताउता तेर्स्याउन थालिन् ।
“पर्दैन, पर्दैन । बन्द गर्नोस् रामजी यो गीत ।” मैले मुख बिगार्दै आदेश दिएँ ।
मलाई यो गीतले भित्रैसम्म चिमोटेजस्तो दुख्यो । अघिपछि यही गीत मलाई सबसे मन पर्थ्यो । अहिले दिव्या साथमा हुँदा यही सर्वप्रिय गीत मलाई पटक्कै मन परेन ।
रामले गीत बन्द नगरेर गीतको भोल्युम मात्र घटाए । मुख बिगार्ने पालो दिव्यामा सर्यो ।
“पिरतीबिनाको प्रेम !” दिव्याले काँडेदार शब्दझटारोले मलाई हानिन् ।
“प्रेमबिनाकी… पिरती ।” मैले पनि ओठेजवाफ फर्काइदिएँ ।
हाम्रो जवाफसवालले बाँकी यात्रीहरू वाल्ल परे । हामी दुवैजनालाई उल्ल्याउने पालो उनीहरूमा सर्योः
“प्रीतिबिनाको प्रेमको के अर्थ भयो र ? वाहियात ! जलबिनाको पानी भनेझैँ भैगयो नि यो उपमा त ।” कपिलले शब्दसँग खेल्न खोजे ।
कोही कसैको जोडी हुनु र अर्कै हुनुका सम्भावना, फाइदा, बेफाइदा आकलन गर्दै एकअर्कालाई सुनाउँदै गयौँ ।यात्राभरको यस्तै हाँसोठट्टा र मनोविनोदले दाङ पुगेको पत्तै भएन ।
०००
प्रमुख अतिथि र अतिथिहरूबाट पुस्तक विमोचनको कार्यक्रम सकिएपछि लेखकीय मन्तव्य र अनुभूति राखिदिन मेरो नाम बोलाए उद्घोषकले । म मन्चमा पुगेर दर्शकदीर्घातिर फर्किएँ । सयौँ दर्शकहरूको जिज्ञासामूलक अनुहारले आफैँतिर क्वार्क्वार्ती हेरेको देखी म केही आत्तिएँ र जिब्रो कमाउँदै सम्बोधनको सुरुवात गरेँ । प्रमुख अतिथि केही अतिथिहरू र केही उपस्थित दर्शकहरूको नाम लिएँ । अनि कसरी पुस्तक लेख्न पुगेँ भन्ने कुराको जरो खोतल्न कोसिस गरेँ । पुस्तक त लहडमै लेखिएको थियो । अटाउनुपर्ने स्मरणीय व्यक्तिहरू यो संस्मरण सङ्ग्रहमा धेरै छुटेका थिए । ती छुटेका अनुहारहरूको उपस्थितिले म अलिकति हडबडाएको थिएँ ।
मेरो प्रस्तुतिको कमजोरी कसैले चाल पाए कि भनी दर्शकहरूतिर नजर डुलाउन थालेँ । सबैले मख्ख परेर सुनिदिएजस्तो लागेकोले आफ्नै विषयवस्तुमा केन्द्रित हुन पुगेँ । बोल्दाबोल्दै फेरि दर्शकतिर नजर डुलाएँ । फेरि प्रस्तुतिमै केन्द्रित भएँ । यस्तै क्रममा पछिल्लो लहरमा बसेका एकजोर नजर मेरा नजरसँग लुकामारी खेलिरहेकोजस्तो अनुभूत भयो । मैले उता हेर्दा ती नजर झुक्ने गर्दथे । जब नजर अन्त डुलाउँथेँ ती नजर मेरै अनुहारतिर गाडिएजस्तो लाग्थ्यो । ती नजरहरू चिने चिनेजस्तो लागिरहेको थियो । तर ठम्याउन सकिरहेको थिइनँ । म विषयवस्तुमै केन्द्रित हुन खोज्थेँ, तर सक्दिनथेँ । नजर घरीघरी ती परिचित नजरतिरै अल्झिन थाले । मेरो प्रस्तुतिको श्रृङ्खलालाई भङ्ग गरिदिए ती नजरहरूले । अन्ततः मैले आफ्ना भनाइहरू अकस्मात बन्द गरेर मन्चबाट ओर्लिन बाध्य भएँ ।
तिमी को हौ भनी सोध्न म पछिल्तिर जान सकिनँ । त्यहाँ दर्शकहरूको बाक्लो उपस्थिति थियो । अघिल्तिर बसेका सयौँ दर्शकको नजर छलेर तिमी को हौ भनी ती नजरवालीलाई सोध्ने आँट मसँग थिएन ।
म कल्पनाको डुङ्गा खियाउँदै सुदुर विगतसम्म पुगेँ । ती नजर भेट्टाउन स्मृतिको महासागरमा मस्तिष्कको बल्छी हानिरहेँ । यसै क्रममा म यस्तो ठाउँमा पुगेँ जसले ती नजरलाई पक्रिछोडे । नजरकै अन्दाजले मैले ठम्याएँ । ऊ थिईः प्रीति ।
०००
हो, प्रीति । अजीवकी बालसखा । ८ कक्षादेखि १० कक्षासम्म हामीले सँगै पढेका थियौँ, खलङ्गादेखि गारापानीसम्मको बाटो सँगै खियाएका थियौँ । एउटै बेन्चमा बसेर उही विषयवस्तुका पुस्तक रटेका थियौँ । उही प्रश्नको उस्तै जवाफ दिएर पास भएका थियौँ । तर तीनतीन वर्षतक एकअर्कासँग हामी प्रायः बोल्दै बोलेनौँ ।
म कक्षामा अलि जान्ने कहलिएकोले प्रायः सरहरूले मलाई कक्षाको अगाडि बोलाएर पढाउन लगाउनुहुन्थ्यो । म शिक्षक बनेर पढाएजस्तो गर्थें, प्रीतिले मउपर आँखा गाडेर यसरी नै हेरिरहन्थी । जब मेरा नजर उसको अनुहारमा पर्थे, उसले झटपट यसरी नै नजर झुकाउँथी । हामीले सितिमिति एकले अर्कालाई हेर्ने साहस गर्दैनथ्यौँ, तर पनि नजर भने लुकी लुकी एकअर्काको भावभङ्गी हेर्न कुदिहाल्थे ।
यो के त्यही प्रीति नै थिई जसलाई मैले पिरती भनेर बोलाउने गर्दथेँ ? ऊ नहुन पनि सक्थी । किनकि उस बेलाकी पिरतीको गहुँगोरो मंगोलियन चेहरा भए पनि अलि होची र अलि पातली थिई । छोटोछोटो नबाँधिएको कैलो कपाल थियो । निलो स्कर्टमाथि छोडिएको सेतो सर्ट थियो । सेतो पछ्यौराले आधा जीउ ढाकेकी हुन्थी । तर यो महिलासँग त्यो प्रीतिको शरीरको ढाँचा मिल्दै मिल्दैन । यो त अग्ली, मोटी र थसुल्ली छे । आदिवासी मगरको पोशाकमा सजिएकी हुँदा अर्कै देखिन्छे । तर नजर भने काटीकुटी प्रीतिकै छन् ।
चटक्कै बिर्सिकेको विगत ताजा भएर झलझली मेरो आँखामा नाच्नथाल्यो ।
०००
मैले गाउँको स्कूलबाट ७ कक्षा पास गरेपछि सदरमुकामको हाइस्कुलमा उक्लिएँ । उतिबेला चौध वर्ष टेकेको थिएँ । एकदमै दुब्लोपातलो फुकीढल जीउको थिएँ । उहिले झन् होचो भएको हुँदा केही शिक्षक र विद्यार्थीको निम्ति दयाको पात्र थिएँ भने छुल्याहा र उपद्र्याहा केटाहरूको लागि हेलाको पात्र । कसैको हात चिलाए भने मेरै शरीर प्रयोग हुन्थ्यो । अगाडि जान खोज्दा पछाडि धकेलिन्थेँ । हेर्न खोज्दा छेकिन्थेँ । होचो हुनु अभिशापजस्तो लाग्थ्यो । केही गरी अग्लिन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । मेरो कक्षा अग्लिँदै गयो । तर मेरो उचाइ भने किमार्थ अग्लिएन । उमेर जतिजति बढ्दै जान्थ्यो, शारीरिक हिसाबले म हाँसोको पक्का पात्र बन्दै गएको थिएँ । विकलाङ्ग व्यक्तिसरह ।
८ कक्षा पढ्न जिल्लाका विभिन्न निमाविबाट ७ कक्षा उत्तीर्ण भएका विद्यार्थीहरू सदरमुकामको हाइस्कूलमा ओइरिएका थिए । फरक फरक अनुहार, लवाइखवाइ, बोलीवचन विविध प्रकारको थियो । तीमध्ये शारीरिक संरचना र उमेरको हिसाबले दुरुस्तै मजस्ती एउटी केटी पनि थपिई ।
कक्षामा अगाडि को बस्ने भन्ने विवाद नहोस् भनी आलोपालो बसाइँको व्यवस्था मिलाइएको थियो । पछिल्लो बेन्चमा बस्ने विद्यार्थी हरेक दिनको अन्तरमा सर्दै सर्दै अगाडि आउन पाउँथ्यो । अगाडि बस्ने विद्यार्थी पछि पुग्थे । तर सरहरूले मलाई र त्यो केटीलाई भने अरूभन्दा होचा भएकोले पछि सर्नु नपर्ने नियम बसालिदिनुभएको थियो । फलस्वरुप हामीले बसाइँमा सधैँ अग्राधिकार पाइरह्यौँ । तर ऊ दायाँपट्टिको बेन्चमा बस्दा म बायाँपट्टिको बेन्चमा बस्न पुग्थेँ । ऊ दायाँपट्टिको बेन्चमा बस्दा म बायाँपट्टिको बेन्चमा । कहिलेकाँही एउटै बेन्चमा सँगसँगै कुम जुधाएर बस्न बाध्य हुन्थ्यौँ ।
स्कूल सुरु भएको हप्तौँसम्म उसको नाम जान्ने चाहना ममा जागेन । सायद उसलाई पनि त्यस्तै लागेको थियो हुँदो हो । ऊ मबाट तर्किएर हिँड्थी । म ऊबाट तर्किएर हिँड्थेँ । एकअर्काको नामै सुन्न नपाएहुन्थ्यो जसरी । क्लास टिचरले हाजिर लगाउने क्रममा रोल नं २ भन्दा मैले ‘एस्सर !’ भन्थेँ । रोल नं ५ भन्दा उसले ‘एस्सर !’ भन्थी । केही समयसम्म एकअर्काको नाम नै थाहा भएन । कुनै दिन सरले उसलाई प्रश्न सोध्दा थाहा लाग्यो उसको नाम ‘प्रीति’ पो रहेछ । पछि के जानकारीमा आयो भने उसको जात खड्का मगर रहेछ । तर खड्का मात्र लेख्दिरहिछ । त्यसैले पो उसको अनुहार मंगोलियन देखिएको रहेछ ।
०००
एक दिन घरमा मेरो मामा आउनुभयो । उहाँ रुँघाको स्कुलमा पढाउनुहुन्थ्यो ।
उहाँले ठट्टैठट्टामा मलाई सोध्नुभयो, “प्रीतिलाई चिन्यौ त भान्जा ?”
म लाजले फन्किएर झ्यालतिर भागेँ । रुँघाबाट आउने त थुप्रै विद्यार्थी छन् त ? किन प्रीतिको नाम मात्र लिए यी मामाले ? मामाप्रति मेरो भाउन्ने रिस उठ्यो ।
“प्रीति भन्ने को हो र भाइ ?” आमाले तत्कालै जिज्ञासा राखिहाल्नुभयो ।
“प्रीति रुँघा डाक्टरकी छोरी हो दिदी । भान्जाको र उसको उचाइ, पढाइ, बानीबेहोरा सब थोक मिल्छ ।”
मामाले पनि उचाइलाई नै प्राथमिकता दिएकोले म भित्रभित्रै चिमोटिएँ । आफूलाई हेला गरेकोजस्तो लाग्यो । म सुकसुकाएँ ।
आमाले भक्कानिएको थाहा पाइहाल्नुभयो, “केटीको नाम सुनेर पनि किन आँसु चुहाउँछस् ? त्यहीँ केटीसँग बिहे गरिदिन्छु भनेको त छैन नि मामाले ।”
“कहाँ हुनु दिदी ? यिनीहरूको बिहे नै गरिदिने विचारले त मैले कुरा राखेको हुँ ।” मामाले मभित्र बलिरहेको रिसको आगोमा घ्यू थपिदिनुभयो । म डाँको छोडेर विरोधमा उत्रिएँ । मेरो रुवाइ आमा र मामालाई हाँसोको खुराक हुन गयो । उहाँहरू पेट मिचीमिची हाँस्न थाल्नुभयो । मेरो पालो त्यस बिहानीको खाना नै बहिष्कार गरेर घरबाहिर निस्किदिएँ ।
मामाले दिएको परिचयले प्रीतिउपर अरु रिस थपियो, “पढ्न पनि यसलाई यही हाइस्कुल आउनुपर्ने ? उचाइ, पढाइ र बानीबेहोरा मेरै ल्याउनुपर्ने ? अरू कोही छैनन् र यो संसारमा ?” प्रीतिसँग पहिलेदेखि कायम राखेको दुरी अझै बढ्न पुग्यो । त्यसपछि ऊ हिँड्ने बाटो समेत हेर्न नसक्ने भएँ म ।
केही दिनपछि मामासँग एकजना नौलो व्यक्ति मेरो घरमा आइपुगे । परिचयको क्रममा थाहा भयो कि रुँघाका डाक्टर भनेका यिनै रहेछन् । उनी घरमै आइपुगेको देखेर मेरो सातोपुत्लो उड्यो । उनीबाट छेलिन मैले बाहिर निस्कने बहाना खोज्न थालेँ ।
म बाहिर निस्कँदै गर्दा मामाले मलाई देखिहाले र तान्दै डाक्टरलाई देखाए, “यही हो मेरो भान्जा । नाम प्रेम हो । एऽऽ प्रेम ढोग गर डाक्टर मामालाई ।”
म मामाको बाहुपाशमा परेकोले चलमलाउन नसकी टाउको निहुराइरहेँ ।
“ससुराबालाई कसरी ढोग्नु भन्ने थाहा नपाएर होला नि ।” मामा हाँसे ।
डाक्टरले पनि उत्तिकै हाँसो थपे । मलाई भने अपराधबोधजस्तो भयो ।
०००
८ कक्षामा प्रीतिसँगै उसका दुईजना दिदीहरू पनि पढ्थे । म पनि मेरी दिदीसँगै पढ्थेँ । मेरी दिदी र प्रीतिका दिदीहरूको खुप्पै साथ जमेको थियो । सँगसँगै बस्थे । सँगसँगै भएर कुरा गर्थे । साउनको एक शुक्रबारको दिनमा प्रीतिसँगै उनका दुवैजना दिदीहरू मेरो घरमा आए । उनीहरूको रुँघास्थित घरमा पुग्न दुईवटा ठूला खोलाहरू तर्नुपर्थ्यो । साउने भेलले दुवै खोलाका साँघुहरू बगाइदिएकोले त्यो शुक्रबार प्रीतिहरू आफ्नो घरमा जान सकेका थिएनन् । मामा र प्रीतिका बा मिल्ने साथी भएकोले हामीले पनि प्रीतिका बाबुलाई डाक्टर मामा भन्न थालेका थियौँ । डाक्टर मामाका चेलीहरू हाम्रो घरमा आउन अर्को नाता जुराउन आवश्यक थिएन ।
भोलिपल्ट शनिबारको विदाको बिहान म प्रीतिसहित दिदीहरूसँगै घाँस काट्न गएँ । दिउँसो सँगै दाउरा काट्न र सल्लीकुसुम सोहोर्न जङ्गलमा गयौँ । तथापि त्यो दिनभर प्रीतिसँग मेरो बोलचाल भएन । दिदीहरूले हामीबीच बोलचाल गराउन आवश्यक पनि ठानेनन् ।
उनीहरू भन्ने गर्थे, “यिनीहरू मस्तै लाजपात्रे छन् । झ्याम्मिएपछि आफै बोलिहाल्छन् नि !”
त्यस वर्षको साउनको शनिबारको दिन र विदाका दिनहरूमा प्रीति र उनका दिदीहरू हाम्रै घरमा आइरहे । म प्रीतिका दिदीहरूसँग खुलेर कुरा गर्न सक्ने भएँ । तर प्रीतिसँग कुरा गर्ने वक कसै गरी फुटेन ।
आठ कक्षाबाट नौ कक्षा र नौबाट दश कक्षामा पनि हामी सँगसँगै उक्लियौँ । तर हामी दुवैजना एकअर्कासँग नबोल्ने अडान यथावत रह्यो । दश कक्षाको सेन्टअप परीक्षा पनि नजिकै आउन थालिसकेको थियो । अरू साथीहरूसँग समेत बोलचाल पातलिन थालेको थियो ।
एकदिनको शुक्रबार दिदीहरूसहित प्रीति हाम्रो घरतिर झर्दै थिई । स्कूल र घरको बीचमा बाक्लो सालघारी थियो । त्यस बेलुका सालघारीबाट सालको पात टिपेर ल्याउनुपर्ने उर्दी थियो आमाको । दिदीहरू र प्रीति सालको पात टिप्न थाले । सालघारीमा दिदीहरू पात टिप्दै जाँदा धेरै पर पुगिसकेछन् । म सालघारीको बीच बाटोमा उनीहरूलाई पर्खिबसेको थिएँ ।
नजिकैको सालको रुखमा सोर्याम्म आवाज आयो । मैले आवाज आएतिर हेरेँ । प्रीति रुखबाट चिप्लिएर भुइँमा खस्तै थिई । उसलाई बचाउन म रुखको फेदतिर हामफालेँ । सालघारीको सतह ढुङ्गिलो थियो । मेरो खुट्टा त्यही ढुङ्ग्यानमा ठोक्किन पुग्यो । मेरो दायाँ खुट्टाको पाइतालाभन्दा माथिको भाग तिखा ढुङ्गाले ताछेर सेतो मासु देखियो । खुट्टाको औँलामा घाउ लाग्यो । बुढी औँलाको त नङै चोइटिएछ । प्रीतिलाई केही भयो कि भनी हेरेँ । उसले त रुखमा सुर (चिप्लेटी) खेलेकी पो रहिछ । ऊ मेरो अवस्था देखेर मुसुमुसु हाँसिरहेकी थिई । उसलाई केही भएको रहेनछ ।
एकैछिनमा मेरो घाउको सेतो मासुमा रगत भरिएर आयो । खुट्टाबाट रगत भलभल बग्न थाल्यो । म पीडाले अत्तालिन थालेँ । म चलमल गर्न नसक्ने अवस्थामा पुगेँ ।
प्रीतिले वनको झार मिचेर मेरो गोडामा झोल लगाइदिई । आलो घाउ चर्किएकोले मैले ऐया भनी चिच्याएँ । मेरो बुढीऔँलाबाट बगिरहेको रगत थामिएन । प्रीतिले मलाई घाउमा थुक्न अह्राई र आफ्नो थुक पनि घाउमा लगाइदिई । घाउमा पिसाब फेर्न लगाई । घाउमा माटो हाली तर पनि रगत बग्न रोकिएन । आफ्ना कापीका पानाहरू च्यातेर बाँध्ने कोसिस गरी तर पनि रगत रोकिएन । घाउ बाँध्न मिल्ने टालाटुली यताउता खोजी केही भेटिएन । अनि आफ्नै पछ्यौरा धर्राधर च्याती र मेरो खुट्टाको घाउ बाँधिदिई ।
“सल नै त नच्यात्नुपर्ने । यो के गरेको पिरती तिमीले ?” म घाइते खुट्टा समातेर अरर्रिंदै पछुतो व्यक्त गरेँ ।
“मौकामा हीरा फोर्नु भन्ने उखान थाहा छैन ? मेरो सल महत्त्वपूर्ण काममा प्रयोग भयो ।” उसले अलि गम्भीर भएर बोली ।
“महत्त्वपूर्ण कुरा त त्यो सलले बढाएको तिम्रो सुन्दरता हो । त्यो सेतो कमिज र निलो स्कर्टमा त्यो पछ्यौरी कम्ता सुहाएको थिएन ।” मैले घाउको दुखाइ बिर्सिएर उसलाई फुलाउन खोजेँ ।
“होस् । मलाई सुन्दरी हुनुछैन । यो जीउलाई यत्तिकै ठीक छ ।” ऊ नहार्ने हिसाबले बोली ।
हामीबिच पहिलोचोटि दोहोरो संवादको सुरुवात यसरी भएको थियो । केही बेर रोकिएर ऊ फेरि बोली, “प्रेम ?”
“अँ भन, पिरती ।”
“गोडाको घाउ निकै दुखिरहेको होला है ? बिस्तारै घाउ बिस्तुरिन्छ । नआत्तिनू ।” ऊ कत्तिको टिठाएकी थिई भन्ने कुरा उसका फरफराइरहेका ओठले बकिरहेका थिए ।
“छैन । तिम्रो पछ्यौरीको मुलायमपनले शितलता दिइरहेको छ पिरती ।” म भावुक हुन खोजेँ ।
“भो भो । नफुर्काऊ । तिमीले फुर्काउँदैमा फुर्किने मान्छे म होइन ।” उसले मुख बिगारी ।
“प्रेम, अनि सुन ।”
“भन पिरती । तिमीबाट धेरै कुरा सुन्ने इच्छा छ । के सुनाउँछ्यौ छिटो भन ।”
“मैले पछ्यौरी च्यातेर तिम्रो घाउमा बाँधिदिएको कुरा दिदीहरुलगायत अरु कसैलाई पनि कहिल्यै नबताउनू है । बतायौ भने मेरो मासु खाउला ।” सालको पातहरू बिटो पार्दै उसले मलाई कसम खुवाई र “ल बिस्तारै आउनु है ।”भन्दै मलाई एक्लै छोडेर खुर्र तलतिर दौडिई । म हेरेकोहेरेइ भएँ ।
०००
त्यो घटनापछि उसका नजरहरू मेरो अनुहारतिर कम र घाइते गोडातिर बढी गइरहेका हुन्थे । मेरा नजर भने उसको नयाँ पछ्यौरीमा ।
एक दिन स्कूलबाट घर फर्कंदै गर्दा प्रीति पछि परेको मौका छोपी म पनि पछाडि रहेँ र बोलाएँ: “पिरती !”
“तिमीलाई नामको सही उच्चारण गर्न पनि आउँदैन ? म पिरती होइन, प्रीति हुँ ।” उसले नाकमुख बङ्ग्याउँदै झर्किई ।
“अर्थ त उही हो ।” मैले जिद्दी कसेँ ।
“पिरती कसैको नाम हुँदैन । प्रीति नाम हुनसक्छ तर नामको अर्थ हुनैपर्ने आवश्यक छैन । पिरती र प्रीतिमा धेरै अन्तर छ । अरुले प्रीति भनेर बोलाउँदा मेरो चित्त दुखिरहेको हुन्छ । मलाई मेरो यो नाम नै मन पर्दैन ।” ऊ सदाझैँ विरोधमा उत्रिई ।
“मेरो नाम पनि त प्रेम छ । मलाई प्रेम भनी अरूले बोलाउँदा म त झन् खुसी हुन्छु । दुखेको घाउसमेत शितल भए सरी हुन्छ ।”
“तिम्रो नाम प्रेम हुनु र मेरो नाम प्रीति हुनुमा धेरै फरक छ प्रेम । मेरो नामको निहुँले ममाथि हिंसक पशुहरूले शिकार गर्छन् । कम्तीमा तिमी त मलाई प्रीति नभन । तिमीलाई तिम्रो नामको निहुँले कसले पो शिकार गर्छ र ?”
“ठीक छ, विशुद्धरुपमा प्रीति नै भनुँला ।”
“प्रीति पनि भन्नुपर्दैन । प्रीतिको सट्टा बहिनी भने हुन्छ ।”
“ओके । अहिले त बहिनी नै पुकारुँला । तिमी कहिलेसम्म बहिनीभन्दा ठूली हुन्छ्यौ र तिमीलाई कहिलेदेखि म प्रीति भनी बोलाउन पाउँला त ?” म जिस्किन खोजेँ ।
उसले मतिर आँखा तरी । कुइनोले मलाई घचेटी र अर्कोतिर भागी ।
उसको शरीरले मेरो तन र मनमा विद्युतीय झड्काको काम गर्यो । त्यसपछिका दिनहरूमा मेरो मन मस्तिष्क प्रीतिले नै ओगटी ।
०००
मेरो गोडाको घाउ बिसेक भइसकेको थियो । तर त्यस घटनाको स्मृति बिसेक हुन कदापि सकेन । प्रीतिलाई त्यो गुणको पैँचो के गरी तिरूँ भन्ने उपाय खोजिरहेको थिएँ ।
एकदिन नेपाली कक्षामा निबन्ध लेख्ने प्रतिस्पर्धा गराइयो । विद्यार्थीहरूले लेखेका निबन्ध विद्यार्थीहरूले नै अदलाबदली गरेर जाँच्नुपर्ने भयो । प्रीतिको कापी मेरो भागमा आइपुगेछ । मैले प्रीतिको निबन्धलाई १०० पूर्णाङ्कमा ९९ नम्बर दिएँ र प्रतिक्रियामा लेखिदिएँ, “प्रीति, पूर्णाङ्क ल्याउने गरी अझै प्रगति गर्दै जानु है ।”
सबै कापी सङ्कलन गरिसकेपछि नेपाली सरले सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नाम घोषणा गर्नुभयो । त्यो नाम प्रीति नै थियो । दोस्रो हुनेभन्दा उसको नम्बर झन्डै दोब्बरले बढी थियो । सबैले ताली बजाए, तर ऊ भने बेन्चबाट उठ्नै सकिन । घोसेमुन्टो लगाएर बसिरही । उसको अनुहार निलोकालो देखियो । उसका निधारभरि पसिनाका थोपाहरू उम्रिए ।
नेपाली विषयमा पनि अत्यधिक अङ्क पाएको देखी डाह गर्ने साथीहरूलाई गतिलो खुराक मिल्यो । दिदीहरू भने मेरो लहड देखेर हाँस्न थाले । मैले अत्यधिक अङ्क किन दिएँ भनी शिक्षक तथा विद्यार्थीहरूलाई स्पष्टीकरण दिनुपर्यो । प्रीतिको निबन्धमा विषयवस्तु पर्याप्त छँदै थियो त्यसको सुन्दर र परिपूरक व्याख्यान मैले गरिदिएँ । मेरो व्याख्याले नेपाली सर खुसी देखिनुभयो । त्यस दिनदेखि प्रीति पनि कक्षाकी अब्बल विद्यार्थीमा दर्ज हुन पुगी ।
तर त्यसको परिणाम के निस्कियो भने त्यस दिनदेखि प्रीति मसँग बोल्नै छोडिदिई । मसँग तर्की तर्की भागी भागी हिँड्न थाली । त्यसपछि उसकी दिदीहरू मेरो घरमा आउँदा पनि ऊ कहिल्यै आइन ।
यस्तैमा सेन्टअप परीक्षा पनि सकियो । सेन्टअप परीक्षा सकिनेबित्तिकै तल्लो कक्षाका विद्यार्थीहरूले हाम्रो विदाइभोजको आयोजना गरे । प्रीति र म सँगै बसेर फोटो खिचायौँ । बिदाइ हुँदा समेत हामी निशब्द थियौँ । हाम्रो बोलचाल बन्द नै थियो । बोलाएर उसको मन दुखाउन मैले चेतिसकेको थिएँ ।
एसएलसी परीक्षा आइपुग्यो । एसएलसी परीक्षाले केही महिना पहिले छुटेका प्रीतिलगायतका सहपाठीहरूलाई फेरि नजिकै ल्याइदियो । साथीहरूसँग बिताएका क्षणहरू पुनः ताजा हुन पुगे । परीक्षा सकिएपछि हामीहरू फेरि टाढियौँ । त्यस बेला न फोन थियो न त प्रविधिमैत्री सामाजिक सञ्जाल । टाढाटाढाका साथीहरूको सम्बन्धहरूलाई बचाइराख्नको लागि उपाय र आवश्यकता दुवै थिएन हामीसँग । ती मीठा सहपाठीहरूका मीठा स्मृतिहरू अतितका गर्तमा नराम्ररी पुरिए । प्रीतिले भनेजस्तै बाल्यकालीन स्मृतिका सबै डोबहरू समयान्तरमा बिस्तुरिन पुगे ।
०००
ती सहापाठीहरूमध्ये एक थिई प्रीति । प्रीतिसँग अन्तिम भेट भएको चालीस वर्ष बितिसकेका थिए । मेरो पुस्तक विमोचनको कार्यक्रमको जानकारी कताबाट पाएर ऊ पनि यही कार्यक्रममा आइपुगिछ । उसले आफ्नो पछ्यौरी च्यातेर घाउ बाँधिदिएको शितलताभन्दा बढी शितलता उसको यो उपस्थितिले दियो मलाई ।
तर ती एकजोर नजरबाहेक यो प्रीति र ऊ प्रीति पटक्कै मिल्दैनन् । के यो त्यही प्रीति थिई त ? उतिबेलाकी प्रीति गाजरजस्तै सलक्क परेकी थिई तर यो अग्ली भए पनि गान्टेमुलाजस्तै चेप्टी थिई । उही बालसखा प्रीति होली भनी ठम्याउनै मुस्किल पर्यो मलाई !
मैले हतपत कार्यक्रमको उपस्थिति रजिष्टर हेरेँ । उपस्थितिमा ११ औँ नम्बरको नाम थियोः प्रीति खड्का ।
उसको वास्तविक पहिचानले मेरा गहमा जमेको आँसुको हिमताल फुटाइदियो ।
त्यो उही प्रीति नै रहिछ । लुकी लुकी हेर्ने ती एकजोर नजरहरू मेरी अमुक बालसखा प्रीतिकै रहेछन् भन्ने कुरामा म निश्चित भएँ । हाइस्कूलका सयौँ सहपाठीहरूमध्ये ऊ मात्र टुपुल्किएकी थिई यो मेरो जीवनकै महत्त्वपूर्ण कार्यक्रममा । अद्यापि उसले मलाई उत्तिकै महत्त्व दिइरहेकै रहिछ । मैले पो उसलाई महत्त्व नदिएको रहेछु । म औधि ग्लानिले छटपटाएँ ।
विडम्बना ! रजिष्टरमा उसले आफ्नो नाम मात्र लेखेकी थिई । हस्ताक्षर दुरुस्त उही लाजपात्रे प्रीतिका थिए । ठेगाना, मोबाइल नम्बर र इमेल एड्रेसको कोलममा केही लेखेर पनि नबुझिने गरी मेटिदिएकी थिई । उसले उपस्थित भएर पनि सम्पर्क नम्बर किन दिन चाहिन ? ठेगाना लेखेरै पनि किन मेट्न पुगी ? मेरो मथिङ्गलमा प्रश्नहरूको ऐजेरु जेलियो ।
कार्यक्रमको अन्त्यतिर सहभागीहरू बाहिर निस्कँदै थिए । मैले प्रीतिसँग प्रत्यक्ष भेटेर कृतज्ञता व्यक्त गर्ने तीव्र इच्छाले उसलाई खोज्दै पछिल्तिर हानिएँ । हल र हलबाहिर जताततै उसलाई खोजेँ तर ऊ फेला परिन । ऊ कार्यक्रम हलबाट पहिल्यै निस्किसकिछ । बाँकी सहभागीहरूसँग सोधपुछ गर्दा कसैले पनि ‘प्रीति खड्का’ नामकी महिलालाई नचिनेको जवाफ दिए । उपायहीन भएपछि म छटपटाएँ । मुटु भड्किन थाल्यो । म भित्रभित्रै भुटभुटिएँ । पुरानो घटनाले बिसेक भएको गोडाको घाउ ताजा भएर छड्किन थाल्यो । केही चोट यस्ता हुँदारहेछन् जसलाई समयले पनि बिस्तुरिन दिँदो रहेनछ ।
कार्यक्रमबाट फर्किँदा मेरो गला अवरुद्ध थियो । आँखा रसिला भएका थिए । म झनै भावुक हुन पुगेको थिएँ ।
मोबाइलमा टिकटक हेर्दै दिव्याले फेरि उही कुरा उप्काइन्, “रमेश प्रसाइँले कल्पनालाई बिहे गरेको भए ?” साथीहरूको हाँसोको फोहरा फैलियो । तर मैले हाँसो मिस्याउन सकिनँ ।
यसको जवाफ साथीहरूले मबाटै चाहेकोले मैले भनेँ, “पदार्थको परमाणु र शरीरका क्रोमोजोमजस्तै समयका पनि आफ्नै सूक्ष्मतम अंशहरू हुन्छन् । ती अंशहरूमा घटनाका सूक्ष्मतम अंशहरू व्यवस्थित रूपमा उनिएका हुन्छन् । जसलाई हामी भाग्य नाम दिन्छौँ । समयको एक अंश मात्र यताउता परेमा सम्बद्ध परिघटनाहरू पूरै अदलबदल हुन पुग्दछन् । समयको सूक्ष्मतम अंशलाई बदल्न खोज्ने वा नखोज्ने आफूमै निर्भर रहन्छ ।”
मैले दिएको व्याख्यानउपर चित्त नबुझेर होला साथीहरू आफ्नै गफतिर लागे ।
म भने सोचाइको डुबानमा भासिँदै गएँ । प्रीतिले जीवनसाथीको रूपमा कस्तो प्रेम छानिहोली ? उसका प्रेमका शर्तहरू केकस्ता थिए होलान् ? उसले ती शर्तहरू किशोर वयमा पुग्दा पनि मबाट किन लुकाइराखी ? उसले उस्तै आकार, प्रकार र विचारको सहपाठीबाट पर भाग्नुको कारण के थियो होला ? ऊ पर भागेकी हो कि म नै पर भागेको थिएँ ? मेरो मनमा अनेक विचारहरू रङमङिन पुगे ।
मेरो वैचारिक डुबान देखेर दिव्याले मलाई फेरि झटारो हानिन् “पिरतीबिनाको प्रेम !”
मलाई भिडाइएको यो वास्तविक विशेषणले म अरू चिमोटिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।