उनलाई पहिलो पटक कहिले देखेको थिएँ थाहा छैन, कहिलेदेखि ख्याल गर्न थालेँ त्यो पनि भन्न सक्दिनँ । सायद नियमित देखिन थालेपछि कुनै समयमा गएर ख्याल गरिँदो रहेछ । २०७० सालतिरबाट यसरी नै हाम्रो सम्बन्ध सुरु भएको थियो जुन समय मेरो अफिस डिल्लिबजारमा थियो अनि बसाइँ बसुन्धरामा । कति पटक ओहोर दोहोर गरियो कति मानिस देखादेख भए होलान् । कोही स्मरणमा बसेनन् र सामान्यतया बस्तैनन् पनि बाटोमा पैदलयात्री को हिँडिरहेको छ, सवारी साधनमा कति मानिस यात्रा गरिरहेका छन् ख्याल गरिँदैन र गर्न पनि सकिँदैन तर कहिलेकाहीँ नियमित रुपमा लामो समयसम्म कोही मानिसलाई देखिन्छ भने विस्तारै ख्याल गर्न थालिँदो रहेछ ।
दश बजेको आसपास बालुवाटार चोकदेखि नक्साल टेलिकम बिचको कुनै स्थानमा प्राय उनलाई देखिरन्थेँ । कहिलेकाहीँ हेराहेरसम्म हुन्थ्यो तर प्रतिकृयाविहीन अनायासै पनि हुनसक्छ । मैले ख्याल गर्न थालेछु । कालो पेन्ट, सेतो सर्ट अनि मौसम अनुसार कहिले कोट, स्वेटर त कहिले कुर्था सलवारमा हुन्थिन्, गर्मीको समयमा सन्ग्लास प्रयोग गर्थिन् । गोरो वर्ण औसत उचाइ कुनै अफिसमा काम गर्ने अब्बल कर्मचारी हुन् भन्ने अनुमान गर्न सकिन्थ्यो । मैले पनि त्यही अनुमान गरेको थिएँ । सायद हामी एउटै उमेर समूहका हुनुपर्छ वा उनी म भन्दा केही वर्ष कम होलिन् । पढाइ सकेर भर्खर भर्खर करियर सुरु गरेका अफिसर जस्ता थियौँ दुवै ।
उनी अविवाहित हुन् भन्ने अनुमान गरेको थिएँ । उनमा विवाहित हुन् भन्ने कुनै समान्य आधार पनि त थिएनन् ।अनि म एक विवाहित पुरुष र एउटा छोरीको बाबुसमेत थिएँ । सुरुका दिनमा अंग्रेजीमा भन्छु, जस्ट नोटिस । हो त्यति मात्र थियो । बिस्तारै, माया वा भ्रममा पनि थिइनँ, प्रेम हुने कुरै भएन, मनमा अरु कोही बसिसकेको थियो, भावनामा केही निमेषभरको लागि आएको भए थाहा भएन । त्यसैले कहीँ कतै बस्ने स्थान नभएर होला सायद । आँखाले उनलाई स्थान दिएको थियो ।
बेलुका हाम्रो भेट हुँदैनथ्यो । मेरो समय कहिले निश्चित नहुने, उनको अफिस टाइम फरक थियो वा अर्को बाटो प्रयोग गर्थिन, थाहा भएन । दिनहरु बितिरहेका थिए । करिब एक वर्ष सामान्य हेराहेरमा यसरी नै बिते होलान् । अब त यस्तो लाग्न थालेको थियो कुनै दिन उनलाई बाटोमा देखिन भने आज म कि ढिला भइरहेको छु वा चाँडै अफिस जाँदैछु । कहिले अफिसको काम विषेशले फिल्ड गएर आउँदा आज बाटोमा भेट होला कि नहोला भन्ने भइसकेको थियो । उनी दुईचार दिन नदेखिँदा कता गइन् होला भन्ने लाग्थ्यो ।
विदेशतिर गएर आउँदा यस पटक भेटेर चकलेट दिनुपर्ला भन्नेसम्म सोच्दथेँ, यसपालि दशैं तिहारको शुभकामना दिनुपर्ला भन्थे तर कहिले आँट आएन अनि गरिनँ पनि । कहिले फेरि सोच्ने गर्थेँ, मैले उनलाई ख्याल गरेजस्तै उनले पनि गर्छिन् होला कि ? आफैँ उत्तर दिन्छु म पनि पागल नै हो के , कहाँ म मोटरसाइकलमा हिँड्छु , उनी सडकपेटी प्रयोग गर्छिन् , तैपनि सडकमा म जस्ता सयौं हुन्छन् । पक्कै गर्दिनन् ।
एकदिन मोटरसाइकल सर्भिसिङ दिएर हतारहतार त्यही बाटो आउँदै थिएँ , टङ्गाल गणेशनेर जम्काभेट भो टक्क अडियौँ, दुवैका आँखाले केहीबेर हेराहेर भो । उनी मुसुक्क हासिन् । मैले आँखा झुकाए दुवैको मुखबाट कुनै आवाज निस्केन । सायद एक अर्कालाई एक निमेष नजिकबाट महसुस गर्यौं अनि अफिसतिर लाग्यौँ । त्यसपछिका दिनहरुमा सामान्य हात हल्लाएर हेल्लो हाईसम्म हुने गरे तर केहीछिन रोकिएर कहिले कुरा गर्न सकिएन । यसै त म अति लजालु स्वभावको छु त्यसमाथि पारिवारिक र सीमित मित्रतामा रमाएको मान्छे भएर होला सम्बन्ध बनाउन सक्दिनँ पनि ।
त्यसैले यहाँ भन्दा अगाडि नबढ्ने निर्णय गरेको थिएँ । दोस्रो पटक जाडो बेला हुनुपर्छ, अत्यन्त चिसो थियो । त्यसैले आज हिँडेरै जानु पर्यो भनेर हिँड्दै गएको थिएँ । भाटभटेनीतिर बाट आउँदै गरेको देखेँ , नजिकै पुगेपछि के गरुम् के गरुम् भयो सायद उनलाई पनि त्यस्तै भएको हुनुपर्छ । एकछिन दुवै रोकियौँ । मौनतामै कुरा भयो कि थाहा भएन तर दुवैका मुखबाट कुनै शब्द निस्किएन त्यत्तिकै छुट्टियौँ ।
अर्को पटक नाकाबन्दीको समय हुनुपर्छ मोटरसाइकलमा पेट्रोल नभएर हिँडेर अफिस जाँदै थिएँ । नक्सालतिरबाट आउँदै गरेको टाढैबाट देखेँ , सडक पार गरेर अर्को साइडबाट हिँड्न थालेँ । वारिपारि भएपछि हातको इसारा गर्दै हेल्लो भनेँ । उनले हाइ गर्दै हातले किन त्यता काट भनिन् । मैले नबुझेजस्तो गरी घडी देखाउँदै ढिला भएको संकेत गर्दै बाटो लागेँ । उनले हातले ह्या तिमी पनि भनेर हिँडिन् जस्तो लाग्छ । अर्को दिन पनि हिँडेर आउँदै थिए तर वालुवाटारनिर एक्कासि भेट भयो तर यो दिन उनी एकजना महिलासँग थिइन् । सायद अफिसकै कोही सहकर्मी हुनु पर्छ उनी साथीलाई एकछिन है भन्दै रोकिइन् । म एकछिन रोकिन बाध्य भएँ ।
मैले साेधेँ, “के छ तपाईंको हालखबर ? सन्चै हुनुहुन्छ ?”
उनले, “ठिक छु । तपाईं भन्दा कस्तो अप्ठ्यारो लाग्यो तिमी भन्नु न है ।” भन्दै हाँसिन् ।
मैले, “हस् । मलाई पनि तिमी भने हुन्छ भन्दै थिएँ ।”
उनले भनिन्, “नाइँ म त तपाईं नै भन्छु। कुरा मोडेर पेट्रोल नभएर हिँड्दै आएको होला हैन ? आज अफिसपछि कतै बसेर कफी भेट गरौँ न ।”
“अफिसपछि सहकर्मीसँग लिफ्ट पाइन्छ, दुईतर्फी हिँड्न त गाह्राे हुन्छ है , आज हैन कुनै दिन पक्कै बसौँला म भन्ने छु तिमीलाई !” मैले भनेँ ।
उनले, “हस्” भनिन् ।
छुट्दै गर्दा दशैँको शुभकामना आदान प्रदान गर्यौं, अनि लाग्यौँ अफिसतिर । भोलिदेखि त्यस वर्षको दशैँ लाग्दै थियो । बिचका केही दिन भेट भएन म एक महिने तालिमको लागि विदेश जाँदै थिएँ । त्यसैले तालिम अगावै विदेशमा रहेका साथीभाइ इस्टमित्र भेट्ने घुमफिर पनि गर्ने चाँजोपाँजो मिलाएर दशैँ तिहार विदा र केही अरु विदा थपेर दशैं अगावै विदेशतिर लागेँ । यसरी करिब दुई महिना हराएको थिएँ । लामो समयपछि अफिस जाने तर्खर गर्दै थिएँ, झल्याँस उनलाई सम्झिएँ ।
आखिर परिचय गर्दैमा के हुन्छ ? परिचय हुँदैमा सम्बन्ध भैहाल्ने हो र ? संसारका यतिका मानिसहरु परिचित छन्, तिनीहरु सबैसँग न मित्रता छ न कुनै स्थापित सम्बन्ध छ । त्यसैले मन मिले साथी नभए एक परिचित पात्रमा सीमित होउँला तर यो करिब दुई वर्षको अपरिचित साइनोलाई अन्त्य गर्ने मनसाय बनाएर झोलामा एक प्याकेट चकलेट छुट्टै उनलाई भनेर राखेँ ।
आज अफिसपछि साँझ वालुवाटारको एक कफिसपमा भेट्ने विचार गरेर हिँडेको थिएँ तर अफसोच एक महिना बितिसक्यो उनी देखापरेकी थिइनन् । यसरी करिब तीन महिना उनलाई नदेख्दा मनमा अनेक कुरा खेल्न थालेको थियो, कहिले आफैँलाई यतिका वर्ष परिचय नगरेर भयो अब किन गर्नु पर्यो भनेर सम्झाउँथेँ । कहिले एकदिन त पक्कै कसो नआउलिन् पृथ्वी गोलो छ । पक्कै कहीँ कतै अवश्य भेट हुन्छ भन्ने गर्थे सायद मनले त फेरि यसरी भेट हुँदैन भनेर आसा मारेको थियो होला तर आँखाहरुले खोज्न छोडेका थिएनन् ।
मंसिरको अन्तिम साता हुनुपर्छ अफिस जाँदै थिएँ , नक्सालमा परबाट आउँदै गरेको देखे नजिकै पुगेपछि रोकिएर भनेँ, “हेल्लो धेरै पछि भेट भयो है ।”
उनी टक्क रोकिएर फिक्का हाँसोमा हाई गरिन् ।
“यत्तिका समय कता हराउनु भयो भनेको त बिहे गर्नु भएछ, एनिवे बधाइ छ ।” भनेँ ।
उनको बिहे भएछ भन्नेकुरा उनको पहिरनबाटै प्रस्ट थियो, मलाई यत्ति यकिन गर्न कुनै दुविधा भएन । उनी पहिलाभन्दा अझ खुलेकी वा भनौँ अझै राम्री र सुहाएकी पनि थिइन् ।
उनी हल्का लजाउँदै शिर झुकाइन् अनि बिस्तारै भनिन्, “कता हराउनु भएको थियो ? मैले तपाईंलाई भेट्ने आशा राखेको थिएँ, भेट्छु भनेर पनि हराउनु भयो ।”
मैले बाहिर गएको थिएँ भनेँ । यत्तिकैमा ट्राफिक प्रहरी सिट्ठी फुक्दै मैतिर आउँदै गरेको देखेँ ।
“ल त है फेरि भेटौँला” भनेर अफिसतिर लागेँ ।
उनले हात हल्लाउँदै बाई भनिन् ।
आज फेरि पनि परिचय अधुरै रह्यो तर पनि किन यस्तो लाग्छ हामी वर्षाैंदेखि परिचित छौँ । हाम्रो यो सम्बन्ध आफैँमा एक परिचय होइन र ? आखिर किन चाहियो परिचय ? के छ त्यस्तो परिचयमा ? जसले अपेक्षा बढाउने तथा अरु कुनै मोड पनि त लिन सक्छ ? आखिर हामीलाई कहिले परिचयको अभाव खड्केको पनि त छैन ? अपरिचित भएर पनि हामीलाई यत्तिका वर्ष परिचय गर्नुपर्ने आवस्यकता भएन भने अब किन गर्ने ? कहीँ कतै समयले परिचय गर्नै पर्ने अवस्थामा पुर्यायो भने कुनै दिन अवश्य हुनेछ भन्दै यो सम्बन्ध यत्तिकै थाती राख्ने अवस्थामा पुगिसकेको थिएँ ।
अब ती नियमित हाई हेल्लो कहिले मोटरसाइकलको पछाडि सिटबाट आउँथ्यो अनि खुसी लाग्थ्यो । तिम्रो पनि घर बस्यो, साथी मात्रै हैन जीवन साथी पनि पायौ । पारिवारिक हुनु आफ्नो भनेको उही हो खुब माया गर्नु , आफ्नो कर्तव्य कहिले नबिर्सनु भन्दै मनोवादमा रमाउँदै अफिस जान्थेँ ।
एकदिन फेरि मेरो मोटरसाइकल अगाडि आएर एउटा स्कुटर टक्क रोकियो मैले हतारमा ब्रेक लागाएँ ।
उनले भाइजर खोल्दै हाइ भनेर हात हल्लाइन्।
मैले चिनिहालेँ, “नयाँ स्कुटर, ल बधाइ छ ! सन्चै छौ नि ?”
उनले भनिन्, ” धन्यवाद, म सन्चै छु । अनि तपाईं नि ?”
“म पनि ठिक छु, ल वाइ” भनेर आ आफनो अफिसतिर लागियो । अब हाम्रो भेट कहिलेकाहीँ अक्कल झुक्कलमा सीमित भैसकेको थियो । यसरी दिन महिना वर्ष गर्दै समयले कोल्टो फेर्यो । मेरो अफिस डिल्लिबजारबाट लाजिम्पाट सर्ने भयो । अनि मेरो नियमित बाटो फेरियो । उनीसँगको परिचय यदि समयले चाहेमा कुनै कालखण्डमा अवश्य भेट्ने वाचा गर्दै यही बिट मारेको थिएँ । कहिलेकाहीँ अझै पनि त्यो बाटो भएर आउँदा जाँदा त्यही परिचित अनुहार कतै टुप्लुक्क हाई भन्दै आइहाल्छ कि जस्तो लाग्दो रहेछ । सायद यी आँखाहरुले अझै पनि खोज्न छोडेका छैनन् कि ।
===
करिब सात वर्षपछि नगरकोटको एक होटलमा बिहानको ब्रेकफास्ट लिँदै गर्दा कता कता सुनेको आवाज कानमा ठोकिन पुग्यो ।
“हेल्लो ! सन्चै हुनुहुन्छ ?”
पछाडि फर्केर यसो हेर्दा उही अनुहार आज फेरि समयले भेटाइछाड्यो ।
“अहो ! धेरैपछि… मैले सोचेको थिइनँ, यसरी भेट होला भनेर ।” लामो सास फेरेर उत्तर दिएँ ।
हामी लाइनमा थियौँ । अरु सहभागीहरु पनि थिए । कुरा गर्न केही असहज जस्तो लाग्यो खाना लिएर आऊ ल भन्दै टेबलतिर लागेँ । अलिक भिड भएर होला हामीले सँगै बस्ने मौकै पाएनौँ तर एक अर्कालाई घरिघरि हेरिरहेका थियौँ । ब्रेकफास्ट सकेर कफी लिँदै बरन्डातिर लागेँ । उनले पछ्याइन् र अलिक पर पुगेर उभिएरै गफ गर्न लाग्यौँ ।
“तिमी कसरी यहाँ ?”
“मेरो अफिसको रिभ्यु मिटिङ छ आज र भोली । हिजो राति आएको,अनि तपाईं ?”
“अस्तिदेखि स्थानीय सरकारको तालिम चलिरहेको छ। त्यसैको सिलसिलामा क्लास लिन आएको, आज लन्चपछि सकिन्छ ।”
उताबाट कार्यक्रम सञ्चालकले, “ए सर ! ढिला भयो आउनुस्, सुरु गर्नु पर्यो” भन्दै बोलाउन थाले ।
उनले निरासा पोखिन्, “यो समय पनि ।”
“लौ त लन्चमा भेटौँला .” भनेर कफी घुट्काउँदै कार्यक्रम हलतिर दगुरेँ ।
कार्यक्रमको अन्तिम दिन भएकोले अलि लामो समयपछि सकियो लन्चको समय घर्किसकेको थियो । सायद उनको लन्च समय सकिएर कार्यक्रम सुरु भैसकेको थियो । साथीहरु चेकआउट भएर खाना खाँदै थिए, तर मलाई किन किन आज चेकआउट हुन मनै लागेको थिएन, भोलि पल्ट बिहान दश बजे नै पुग्नै पर्ने मिटिङ थियो तर मनले मान्दै मानेको थिएन । सरासर रिसेप्सनमा गएँ अनि एक दिनको बसाइँ लम्ब्याएर साथीहरुलाई म भोलि बिहानै आउने वाचा गर्दै बिदा भएर तल गएर खाना लिन थालेँ ।
“लन्चमा कतिबेर कुरेँ तर तपाईंको क्रार्यक्रम सकिएन ।” भन्दै उनी बिस्तारै टेबलमा आएर बसिन् ।
“के गर्ने यस्तै हो नेपाली पारा अनि तिमीले खायौ ?”
“खाइसकेँ नि ,तपाईंलाई वाइ भन्न आएको ।”
“अहो ! मैले भन्न बिर्सेछु, आज तिमीलाई भेट्न कै लागि यही बस्ने विचार गरेँ ।”
उनको अनुहारमा एक्कासी खुसीको लहर छाएर आयो ।
“मनको कुरा बुझिदिनु भएकोमा धन्यवाद ।” भनिन् ।
“भरे साँझ तलको रेस्टुरेन्टमा डिनरपछि सात बजे आउनू ल, अहिले कार्यक्रममा जाऊ, म पनि थाकेको छु । रुममा गएर रेस्ट गर्छु ।”
उनी “हस्” भन्दै हलतिर लागिन् ।
कोठामा गएर निदाउने प्रयत्न गरेँ तर मनमा अनेक तर्कना खेल्न थाले । एक मन यतिका वर्षसम्म नखुलेको पाटो आज आएर किन खोल्नु पर्यो ? भरे, केही कुरा गर्दिनँ । हँसीमजाक गरेर टार्छु । कत्ति पनि भावुक हुँदिनँ । जे भयो भयो पुरानो कुरा खोतल्ने प्रयास गर्ने छैन । अर्को मन फेरि कहिलेसम्म अतितको रहस्य मनमा राखेर बस्छस् ? आज समयले दोहोरो संवादको मौका दिएको छ । एक अर्काका अहिलेसम्म नखुलेका सबै पाटाहरु खुलाएर हलुङ्गाे भएर जान उचित हुन्छ ।
अन्तमा दोस्रो तर्कनाले जित्यो तर पहिले उनलाई सुन्ने विचार गरेँ । यत्तिकैमा घरबाट श्रीमतीको फोन आयो, “आज घर आउने भनेको जस्तो लाग्छ कतिबेला आउँछौ ?”
“ए ! सुन न मैले तिमीलाई भन्ने गर्थें नि, अपरिचित भएर पनि परिचित अनुहारको कथा आज समयले त्यही पात्रसँग भेटाएको छ । त्यसैले आज परिचित हुने मनसायका साथ यतै बस्ने विचार गरेँ ।”
“लौ त त्यसो भए पत्र पत्रहरु र पात्र पात्रहरुको संयोजन नै त रहेछ जीन्दगी । पात्रका रहस्य खुलेकै राम्रो हल्का भएर आउनु । शुभरात्री !”
शुभरात्री शब्दले झल्याँस्स भएँ, यसै त पुष महिनाका दिन साढे छ भैसकेछ । हतार हतार डिनर लिनतिर लागेँ । मैले उनलाई उनको साथीहरुमाझ कुनै असहज नलागोस् भनेर एक्लै डिनर लिने विचार गरेको थिएँ । त्यसै गरेर तल रेस्टुरेन्टतिर लागेँ । सजिलै कसैको आँखा नपर्ने कुनाको टेबल दिउँसो नै रिजर्भ गरेको थिएँ, त्यही गएर बसेँ ।
करिब सात बजेतिर निर्धारित समयमै उनी आएर लुसुक्क बसिन्, एकछिन मौनता छायो । दुवैले एकअर्कामा हेर्नै सकेनौँ ।
वेटर आएर तपाईंहरु के लिनु हुन्छ भनेसँगै मौनता तोडियो ।
मैले, “नब्बे एमएल रमपन्च अनि पिनट्स” भनेँ ।
उनले, “हटलेमन विथ हनि” भनिन् ।
उनी एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत रहिछन् , भैँसेपाटीमा परिवारका साथ बस्दी रहिछन् । अनि पाँच वर्षको छोरा भैसकेको बताइन् । मैले जागिरे जीवनको अन्त्य गर्दै फ्रिलान्सरको रुपमा कार्य गरिरहेको र परिवारसहित बसुन्धरामा बस्ने बताएँ । वेटरले हाम्रो अर्डर टेवलमा राखे । माहोल अलि सहज बनाउने कोसिस गर्दै चियर्स गर्दै फाइनल्ली हाम्रो भेट भयो भन्दै हाँस्यौँ ।
पहिलो चुस्कीसँगै पुरानो कुरा कोट्याउँदै साेधेँ, “पहिलो पटक कहिले ख्याल गरेकी थियौ मलाई ? भन त ।”
पहिला तपाईं भन्नू भनेर ढिपी कसिन् ।
“मैले पहिला भन्दा यस कथाको एक पाटो मात्र उजागर हुनेछ । तिमीले आफ्नो पाटो भन्न आवस्यक ठान्ने छैनाै ?” भनेपछि उनी सुनाउन तयार भइन् ।
“कहिले ख्याल गरेछु त्यो त थाहा भएन, त्यस बेला भर्खर पढाइ सकेर एउटा गैर सरकारी संस्थामा बालुवाटारमा काम गर्थेँ । बसाइँ नक्साल टेलिकम पछाडि थियो । सायद २०६९ को फागुनतिर हुनुपर्छ । अफिस जाँदै थिएँ । बन्दको दिन थियो । म टङ्गलनेर थिएँ । तपाईं परैबाट आउँदै हुनुहुन्थ्यो । पहिलो पटक त्यहीँबाट ख्याल गरेको थिएँ । मान्छे त हेन्सम हो के तपाईं ! हल्का हरियो सर्ट,सेतो पाइन्ट,कालो बुट, गोरो अनुहारमा कालो चस्मा । तपाईं छ फिट हुनुहुन्छ होला है ? त्यो दिन खुब हेरेको थिएँ तपाईंलाई ।”
एक छिन् खुब हास्यौँ ।
“त्यसपछि मोटरवाइकमा पनि हरेक दिन जसो ख्याल गर्न थालेँ, खासमा तपाईंले लगाउने उज्यालो रड्ढका सर्ट, सधैँ आइरन गरेर टिपटप भएर हिँड्ने गोरो अनुहार अनि अग्लो कदले गर्दा अत्यन्त स्मार्ट देखिनुहुन्थ्यो । किन किन त्यसपछिका दिनहरुमा तपाईंलाई देखेर हाँस्न थालेका, हाई भन्न थालेका दिनहरु असाध्यै रमाइला लाग्थे । झोला बोकेर अलिक इनफर्मल ड्रेसमा हिँड्दा फिल्ड जानलागेको होला भन्ने गर्थें र कहिले आउने होला भन्दै सोच्ने गर्थें । कहिलेकाहीँ त एकछिन रोकेर बोले पनि हुन्थ्यो । कस्तो निठुर होला केटा मानिस भएर पनि । यति बाल दिँदा पनि समय नदिने । बोल्दैमा के जान्थ्यो र भन्दै सुर्ता गरिरहन्थेँ । त्यो दिन पनि कसो नआउला र भन्दै हरेक दिन त्यही हजुरलाई हेर्ने बहानामा कति पटक हतार गरेँ कति पटक बिस्तारै हिँडे हाेला हिसाबै छैन । पहिलो पटक हाम्रो जम्काभेट भएको थियो नि त्यति बेला मैले हजुरसँगको हाईट नापेको थिएँ नि । घाँटीसम्म आउने रहिछु कस्तो लजालु केही बोल्नु भएन ।” हल्का हाँसिन् ।
“नाकाबन्दीताका तपाईं हिँडेर आउँदा आज भेट भयो भने तपाईं नबोले पनि मै बोल्छु भनेर आएको थिएँ तर तपाईं पारिबाट जानुभयो । म झर्केर रिसाएको पनि थिएँ । भोलिपल्ट पनि बहाना बनाएर टार्नुभयो । कहिले त यस्तो लाग्थ्यो कस्तो मानिससँग गएर मन अडेछ । यसै गरी समय कुर्दै थिए या दिन बितिरहेका थिए । घरबाट बिहेको लागि प्रेसर आइराखेको थियो । मैले मंसिरमा भनेर टारेकी थिएँ , त्यै पनि एक पटक भेटेर कुरा गर्छु, सोधिहेर्छु । भए प्रेमी नभए साथी बनाउँछु भनेर सोचेको थिएँ । त्यसैले एक पटक बालुवाटारमा भेट हुँदा भेटौँ भनेको पनि थिएँ । तर बहाना बनाएर भाग्नु भयो ।
त्यसपछि लगभग मलाई यकिन भएको थियो तपाईंको कोही वा केही पक्कै हुनुपर्छ भनेर । मेरो यो शङ्का पुरा हुन धेरै दिन लागेन । तपाईंलाई थाहा पनि छैन । दशैँको घटस्थापना पछिको दिन हुनुपर्छ, म अफिसबाट आउँदै थिएँ, तपाईं छोरीलाई अगाडि राखेर अनि पछाडि श्रीमती हुनुपर्छ सपिङ गएर आएको देखेको थिएँ । यत्ति ठम्याउन कत्ति समय लागेन, मलाई कसो गरौँ भयो हत्तपत्त पिपलको रुखको पछाडि छेल परेँ । धन्यवादको पात्र हुनुहुन्छ ! मेरो खासमा कुनै गुनासो छैन बल्ल मैले महसुस गरेँ । यथार्थमा तपाईंको मप्रतिको व्यवहार बुझ्न थालेँ । यसले मलाई आफूलाई समाल्न कुनै समय लागेन पनि । त्यसपछि हाम्रो सम्बन्ध एक असल साथीमा परिणत गर्न चाहन्थेँ तर त्यो पनि मौका दिनु भएन । त्यसमा मलाई गुनासो छ ।”
उसकाे कुरा नसक्दै मैले भनेँ, “सक्छौ भने मलाई माफ गर ! भगवानप्रति कृतघ्न छु ! अरु त तिमीले आफैँ बुझ्याै, तिमीप्रति आभारी पनि छु । कुरा रह्यो साथीको । त्यो त समयले हामीलाई वर्षाैंदेखि बनाइरहेको छँदैछ हैन र ?”
उनी रोकिएकी थिइनन्, “तपाईसँग भन्दा पनि समयसँग अर्को गुनासो छ । मैले बिहेको कार्ड लिएर करिव एक महिना हिँडिरहेँ । कहाँ जानु भएको थियो ? मेरो यत्ति नै हो धन्य आज आएर सबै खुलस्त गर्न पाएँ । हल्का भएको महसुस भइरहेछ । समय, भगवान र तपाईंलाई धन्यवाद ! आजको यस समयको लागि अत्यन्त आभारी छु । अब तपाईंको पाटो नसुनी यो सम्बन्ध कसरी पुरा हुन सक्ला र ?”
उनले आफ्नो पाटो सकेर हटलेमन घुट्काइन् ।
मैले बाँकी रम सिनित्त पारेर माथि उल्लेख गरेका कुरा फेहरिस्त्त सुनाउँदै हाम्रो अपरिचित सम्बन्धका दुवै पाटो खुले सँगै जिन्दगीका पत्र पत्र र पात्र पात्रको रहस्य करिब दश वर्षमा आएर उजागर हुन्छ ।
रातको एघार बजिसकेको थियो ।
“अब अर्को भेट समयलाई जिम्मा लगाएर हाम्रो यस कथालाई लिपिबद्ध गरेर प्रकाशन गर्न चाहन्छु, यदि अनुमति छ भने ।”
उनले, “निश्चय नै मैले अवश्य पढ्छु ।” भन्दै अनुमति दिइन् ।
“विहान अत्यन्त चिसो हुन्छ, मैले वाई भन्न भ्याउँदिन होला, राम्रोसँग जानु, शुभरात्री !”
मैले “हस् आफनो ख्याल राख्नु, शुभरात्री !” भन्दै एक अर्कालाई अंकमाल गर्दै आफ्नो आफ्नो कोठातिर लाग्यौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।